नेपाली काङ्ग्रेसको १३औँ महाधिवेशन: सिटौलाको उदय र विगतको इतिहास

अनुमान र विश्लेषणको खेती सबैभन्दा धेरै फस्टाउने भनेको राजनीतिमै हो । तर धेरैको अनुमान गलत सावित हुने भनेको पनि राजनीतिमै हो । यतिबेला नेपाली कांग्रेसलाई १३औं महाधिवेशनको चटारोले छोएको छ । महामन्त्री कृष्णप्रसाद सिटौला यतिबेला सर्वाधिक चर्चामा छन् । युद्धमा रहेको माअ‍ेवादीलाई शान्ति प्रकृयामा ल्याएको र संविधान मस्यौदा समितिको संयोजक भएका कारण उनी चर्चामा रहेका भने होईनन् ।

गत १२औं महाधिवेशनको पूर्वसन्ध्यामा उनलाई केन्द्रीय सदस्य पनि जित्ने या नजित्ने टुंगो नभएको नेताका रूपमा हेरिएको थियो । तर मुस्किलले उनले केन्द्रीय सदस्य पदमा चुनाव जिते । चुनाव जित्नासाथ सभापति सुशील कोइरालाले महामन्त्रीमा मनोनीत गर्दा नेपाली कांग्रेसभित्र ठूलै तहल्का मच्चियो । सुशील कोइरालाको टिममै ज्यादै ठूलो असन्तुष्टि देखिएका कारण सिटौलालाई गरिएको मनोनयनको निर्णय नौ महिनासम्म अनुमोदन हुन सकेन । नौ–नौ महिनासम्म तत्कालीन सभापति कोइरालाले केन्द्रीय समितिको बैठक राख्न सकेनन् । यसरी महामन्त्री पदमा अनुमोदन हुन मुस्किल भएका नेता सिटौला १३ औं महाधिवेशनको संघारमा आइपुग्दा नपुग्दै सभापतिको उम्मेदवारका रूपमा सर्वाधिक चर्चामा पुगेका छन् । महामन्त्री मनोनयन नै बोकाको मुखमा कुभिण्डो भनेर भन्ने नेताहरू सिटौलालाई भावी सभापतिका रूपमा देख्न थालिेसकेका छन् । उनको टिममा बसेर महामन्त्रीको चुनाव लड्न आकांक्षा राख्नेहरूको जमातमा गगन था नै देखिएका छन् । सभापति पदका अर्का प्रत्यासी कार्यबाहक सभापति रामचन्द्र पौडेलले संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीका लागि अफर गरेको, तर सिटौलाले इन्कार गरेको समाचार बाहिर आइसकेको छ ।

नेपाली कांग्रेस लामो समयदेखि त्रयनेताको अवधारणामा चलिआएको छ । पछिल्लो कालखण्डमा सुशील कोइराला, शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई त्रयनेताका रूपमा कार्यकर्ताहरूले हेर्ने गर्दथे । सुशीलको निधनपछि त्रयनेताको एउटा कोटा खाली भएको छ । खाली कोटामा सिटौलाले बाजी मार्ने सम्भावना देखिएको छ । यसरी अनुमान गरिएभन्दा बेग्लै ढंगले राजनीतिको खेल अघि बढ्ने गरेको नेपाली कांग्रेसमा यो पहिलो घटना होइन ।

पञ्चायतकालको उत्तराद्र्धतिर गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला त्रयनेताका रूपमा चिनिन्थे । उनीहरूपछि दोस्रो पुस्ताका त्रयनेताका रूपमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल र शैलजा आचार्यको नाम थियो । यीबाहेक अरु नेताहरूको चर्चा धेरै नै तल थियो । त्यतिबेला सुशील कोइरालाको खासै नाम थिएन । तर २०५३ सालमा सम्पन्न नवौं महाधिवेशनपछि तत्कालीन पार्टी सभापति कोइरालाले जब सुशील कोइरालालाई महामन्त्री पदमा मनोनयन गरे, तब नेपाली कांग्रेसभित्र ठूलै तरंग उत्पन्न भयो । देउवा, पौडेल र शैलजालाई पछि पार्दै एकाएक सुशीललाई अगाडि ल्याइएपछि कृष्णप्रसाद भट्टराईले वक्तव्य नै दिएर असन्तुष्टि जाहेर गरे । जसरी १२औं महाधिवेशनलगत्तै सिटौलालाई महामन्त्री बनाउँदा तरंग उत्पन्न भएको थियो त्यो भन्दा ठूलो तरंग नवौं महाधिवेशनपछि सुशील कोइरालालाई महामन्त्री पदमा मनोनयन गर्दा उत्पन्न भएको थियो । तर दोस्रो पुस्ताका नेताहरू देउवा, पौडेल र शैलाजाका लागि यो निर्णय स्वीकार गर्नुबाहेक अर्को विकल्प रहेन । यी तीनमध्ये स्वास्थ्यका कारण शैलजा राजनीतिबाट पाखा लागिन् । देउवाले सुशीललाई स्वीकार गर्दै गरेनन् । अविश्वासका बाजुद पौडेल भने सुशील कोइराला नेतृत्वमा उपसभापति बनेर बसे ।

देउवा, पौडेल र आचार्यलाई दोस्रो पुस्ताका त्रयनेता भनिँदै गर्दा नेपाली कांग्रेसको राजनीति वृत्तमा बिग फोरको चर्चा भइसकेको थियो । देउवा, पौडेल र शैलजापछि सुशीलको नाम थिएन । सिटौलाको त झन् हुने कुरै थिएन । त्यतिबेलाको राजनीतिमा सिटौलाको कुनै गणना नै थिएन । चार सयजना उपल्लो दर्जाका कांग्रेसका नेताहरूको नाम लिँदासमेत सिटौलाको नाम आउँदैनथ्यो । बरु बिग फोरका रूपमा एकेजीबीको नाम चर्चामा थियो । अर्जुननरसिंह केसी, खुमबहादुर खड्का, गोविन्दराज जोशी र विजयकुमार गच्छदारलाई तेस्रो पुस्ताका नेताका रूपमा चर्चा गरिन्थ्यो । देउवा, पौडेल र शैलजापछि एकेजीबीकै हातमा नेपाली कांग्रेसको बागडोर जान्छ भन्ने अनुमान र विश्लेषण धेरैले गर्दथे । तर आजको दिनमा आइपुग्दा गच्छदार पार्टीबाटै बाहिरिएका छन् । गोविन्दराज जोशी केन्द्रीय सदस्यमा पटक पटक चुनाव हार्ने मात्रै होइन, समानुपातिक सभासद्का लागि उम्मेदवारको लिस्टमा समेत नपर्ने गरी पन्छिएका छन् । खुमबहादुर खड्का वरिष्ठ नेता देउवाको टिममा रहेर पनि सेकेन्ड म्यानका लागि संघर्षमा छन् । अर्जुननरसिंह केसीले आफूलाई जसले महामन्त्रीको टिममा राख्छ, उतैतिर लाग्ने संकेत गरेका छन् । यही बीचमा सिटौलाको उदय भइसकेको छ भने प्रकाशमान सिंहको नाम पनि सभापतिका रूपमा आउन थालिसकेको छ ।

नेपाली कांग्रेसको इतिहासको दोस्रो कालखण्डमा बलबहादुर केसी, राजेश्वर नेपाली र युवराज खातीको नाम निकै चर्चामा थियो । जसरी यतिबेला गगन थापाको नाम चर्चामा छ, २०३६ सालको सेरोफेरोमा बलबहादुर केसी, युवराज खाती र राजेश्वर नेपालीको नाम त्यसरी नै चर्चामा थियो । तर इतिहासको कालखण्डमा खाती र नेपाली बिलाइसकेका छन् । बलबहादुर केसीले येनकेन प्रकारेण आफ्नो अस्तित्व कायम राखेका छन् । तर पार्टीको भावी सभापतिका रूपमा त परै जाओस्, महामन्त्रीका रूपमा पनि उनको नाम छैन । नेविसंघका पूर्वसभापतिमध्ये शेरबहादुर देउवा र बलबहादुर केसीका अलावा सम्भावना बोकेका नेताका रूपमा विमलेन्द्र निधि र बालकृष्ण खाँणको नाम सबैभन्दा अघि छ । निधि त पार्टीको महामन्त्री भइनै सके । तर खाँणको अवस्था के होला ? भन्न सकिने स्थिति छैन । पार्टीको पदाधिकारी नै भए पनि नेतृत्वमा पुग्न धेरै खुड्किला बाँकी हुँदो रहेछ र ती खुड्किला उक्लने क्रममा कहिलेकाहीँ चिप्लेर भुइँमा पुगिँदो रहेछ भन्ने कुराको उदाहरण तारानाथ रानाभाट, गोपालमान श्रेष्ठ र केबी गुरुङ नै छन् ।

त्यसैले विमलेन्द्र निधिको हकमा पनि ढुक्क हुने अवस्था छैन । किनकि उनी नेतृत्व तहमा पुग्नका लागि अझै चारवटा सिंढी छन् । पहिलो सिंढी हो उनी अहिले जुन टिममा छन्, त्यो टिमले सभापति पदमा चुनाव जित्नु । दोस्रो सिंढी हो, देउवाले चुनाव जितेपछि उनलाई उपसभापति पदमा मनोनयन गर्नु, तेस्रो सिँढी हो आफ्नो टिमको तर्फबाट आगामी १४औं महाधिवेशनमा सभापति पदका लागि सर्वसम्मत उम्मेदवारका रूपमा छानिनु । चौथो सिंढी हो, उक्त चुनाव जित्नु । त्यति माथिल्लो तहसम्म पुगिसकेका निधिले अझै चारवटा सिँढी पार गर्नुपर्ने अवस्था छ र यी सिँढी पार गर्नेक्रममा बीचमै सुशील कोइराला र सिटौला जस्तै पात्रहरू टुप्लुक्क आइपुग्ने सम्भावना पनि त्यत्तिकै छ । अझ खाँणका लागि भने निधिका भन्दा धेरै सिँढीहरू उक्लनुपर्ने अवस्था छ । खाँण जस्ता नेपाली कांग्रेसका तेस्रो पुस्ताका होनाहार नेताका निम्ति चर्का नारा दिएर स्थापित हुन खोजेका गगन थापा मार्काका युवाहरू जति चुनौतीपूर्ण छन्, त्यसभन्दा बढी चुनौतीपूर्ण छन्, पारिवारिक विरासत बोकेका अराजनीति तर भावनात्मक लिगेसी जाडिएका नेता तथा नेतृहरू ।

१८ फाल्गुन २०७२, मंगलवार १२:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । आज बिहान बिहान..

मन्त्री बाँस्कोटाले कमिसन माग गरेकोबारे स्वीस दूतावास बोल्यो

काठमाडौँ, ८ फाल्गुण । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७४ करोड रुपैयाँ कमिसन मागेको सम्बन्धमा..

मन्त्री बाँस्कोटाबारे बालुवाटारमा छलफल, राजीनामाको सम्भावना कति ?

काठमाडौँ, ८ फाल्गुण । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिशन माग गरेको अडियो रेकर्ड सार्वजनिक..

चिनियाँ दूतावासद्वारा जारी विज्ञप्तिको सम्पादकहरूले गरे भर्त्सना

काठमाडौँ, ७ फाल्गुण । कान्तिपुर पब्लिकेसन्सको अंग्रेजी पत्रिका ‘द काठमान्डु पोष्ट’मा प्रकाशित लेखबारे..

प्रजातन्त्र दिवसमा प्रधानमन्त्रीको शुभकामना, ‘जन्मसिद्ध श्रेष्ठताको शासन प्रणाली सकियो’

काठमाडौँ, ७ फाल्गुण । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध श्रेष्ठताको शासन प्रणाली अन्त्य भईसकेको बताएका..