सुशील कोइरालाको बिर्सनै नसकिने पक्ष

मानिस जीवित रहँदा आलोचना ज्यादा हुने र मृत्युपश्चात् प्रशंसा मात्र गरिने पूर्वीय परम्पराको सीमा नाघ्नु कठिन कार्य हो । मरेपछि पनि हिटलर आलोचित छन्, स्टालिनप्रति पनि संसारका अधिकांश मानिस सहानुभूतिसम्म राख्दैनन् । इदी अमिन र बिन लादेनहरू त सातपटकसम्म मर्दा पनि उनीहरूप्रति सहानुभूति पैदा हुने स्थिति छैन । तर, नेपाललगायत यस दक्षिण एसियाली भूक्षेत्रमा बाँचिन्जेलका खलनायकलाई मरेपछि देवतासरहको हैसियतमा पुर्‍याइन्छ, गल्ती या कमजोरीको सबै पाटो लुकाइन्छ र मृतकका ‘महान् गुण’हरूको मात्र चर्चा प्रारम्भ गरिन्छ । मरिसकेपछि नकारात्मक पाटोको चर्चा गरिनुलाई अशोभनीय मानिन्छ यहाँ, त्यसैले नेपालमा अहिलेसम्म जति मानिस मरे ती सबै ‘अति मिलनसार, मृदुभाषी, समाजसेवी भावनाका, इमानदार, कर्तव्यनिष्ट, तेजस्वी, अर्काको दु:ख हेर्नै नसक्ने, प्रतिभाशाली, क्षमतावान, कर्मशील, निष्कपट र सहृदयी’ थिए भन्नुपर्ने अवस्था छ ।

मृत्युपश्चात् मानिसलाई गरिने प्रशंसाका आधारमा भन्नुपर्दा यो मुलुकमा अहिलेसम्म एउटै खराब वा बेठीक मानिस जन्मिएकै छैन भन्नुपर्ने हुन्छ । त्यस्तै ढोंगी परम्पराको जगमा उभिएका कारण मानिस गिरिजाप्रसाद कोइरालाका बारेमा समेत सही र स्वतन्त्र धारणा बनाउन असमर्थ छन् । अब सुशील कोइरालालाई पनि सम्भवत: बीपी कोइराला नै होचिने हो कि झैं गरी रातारात महान् बनाइनेछ । तर, यस आलेखमा सुशील कोइरालाका बिर्सनै नसकिने केही पाटाहरूबारे उल्लेख गर्न खोजिएको छ ।

कांग्रेसको सभापति बन्नुअघि सुशील कोइराला एक त्यागी, तपश्वी, इमानदार, सत्जन, साधारण जीवनशैलीका तर अन्तरमुखी भएका कारण रहस्यमयी व्यक्ति मानिन्थे । कांग्रेस पार्टीभन्दा बाहिरको संसारसँग सुशील परिचित थिएनन् र बाहिरी संसारका लागि उनी कोइराला परिवारका रहस्यमयी पात्र थिए । कांग्रेसभित्र कतिपयले उनलाई ‘खतरनाक षड्यन्त्रकारी’का रूपमा पनि बुझ्ने गर्दथे । वास्तवमा सुशील कोइराला न त्यागी, तपश्वी र इमानदार व्यक्ति थिए, न षड्यन्त्रकारी । षड्यन्त्रकारी बन्न पनि मानिसमा क्षमता आवश्यक पर्छ, सुशील कोइराला राजनीतिक क्रियाकलापमा जडवत् संलग्न एक मानव आकृति मात्र थिए, उनी बाहिर चर्चा गरिएजस्तै न निस्वार्थ र त्यागी थिए न षड्यन्त्रकारी र रहस्यमयी ।

सुशील कोइराला खराबहरूभन्दा कम खराब, राष्ट्रहितको स्वच्छ कामना राख्ने, भ्रष्टाचारीहरूको ताँतीमा तुलनात्मक रूपले स्वच्छ, साधारण जीवनशैलीका र सानो संसारमा रमाउने ‘सिम्पल’ नेता अवश्य हुन् । उनको यो पाटो इतिहासले स्मरण गरिरहने आशा गर्न सकिन्छ । आफूले तय गरेको गन्तव्य हासिल गर्न धैर्यपूर्वक लागिपरिरहने, कम बोल्ने र कुरामा भन्दा काममा विश्वास गर्ने उनको स्वभाव–चरित्र हो । त्यसैले उनी धेरै नेपालीको मनमा सहानुभूति र सम्मानको पात्र बनेका छन् ।

२०४८ सालमा गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बनेपछि बालुवाटारस्थित निवासस्थानमा चौबीसै घन्टा पहरेदारझैँ देखापरेपछि सुशीलको चर्चा देशव्यापी भएको हो । गिरिजाप्रसाद कोइरालासँग भेट गर्न आउनेहरू प्रधानमन्त्रीनिवासमा सुशील कोइरालासँग ठोक्किन्थे र फर्कन्थे । प्रधानमन्त्रीलाई भेटिसकेपछि या भेट गर्न नपाएपछि मानिस सुशीलसँग भेट गर्थे र आफ्ना ‘समस्या’ राख्थे । सुशील प्रजातन्त्र र पार्टीको संस्थागत विकास गर्न आवश्यक भएको व्यहोरा सुगाले झैँ दोहोयाई–तेहेयाई सुनाउँथे । उनले यस्तो वाक्य सायद बीपी कोइरालाबाट सुनेका थिए । प्रधानमन्त्रीको तहबाट भएका कतिपय निर्णय गलत भएको भन्दै एकथरी मानिस बालुवाटार पुग्थे, त्यसरी आक्रोशित भएर आउनेहरूलाई गिरिजाले सम्झाइबुझाई गर्दै भन्ने गर्थे, ‘खै यो सुशील पनि के गर्छ–गर्छ, बद्मास छ ।’ यसरी गिरिजाप्रसाद सुशीलले गल्ती गरेको र उनी बद्मास भएको बताइरहन्थे, तर प्रधानमन्त्रीनिवासबाट सुशीललाई बाहिर पठाउने सोच पनि राख्दैनथे ।

मेकियावेलीको सूत्रअनुसार ‘राम्रा काम आफैँले र नराम्राजति अर्काले गरेको’ देखाउनुपर्छ भन्ने राम्ररी बुझेका गिरिजाप्रसादले सुशीललाई एकप्रकारको ‘डम्पिङसाइट’ नै बनाएका थिए । गिरिजाप्रसादले विवादास्पद या गलत निर्णयको कारकका रूपमा सुशीललाई देखाइरहँदा त्यसको एउटा सन्देश के गयो भने ‘बालुवाटारमा सबभन्दा शक्तिशाली सुशील रहेछन्, गिरिजाले लिने हरेक निर्णयमा उनको मुख्य हात हुँदोरहेछ ।’ यस्तो सन्देशको लाभ सुशीललाई प्राप्त भयो र मानिस उनका अघिल्तिर लम्पसार पर्न थाले, मान्दामान्दै सुशील त्यागी, स्वच्छ छविका इमानदार नेता बनेर उदाए । उनी कति त्यागी, स्वच्छ र इमानदार हुन् त्यसबारे यहाँ चर्चा गरिनेछैन, तर उनका बारेमा जे–जस्तो जनधारणा बनेको थियो त्यो पूराका पूरा सही थिएन ।

गिरिजाप्रसाद प्रधानमन्त्री हुँदा सुशील कोइरालालाई परराष्ट्रमन्त्री बन्न प्रस्ताव गरिएको र त्यसलाई उनले अस्वीकार गरेको भन्ने हल्ला–चर्चाले सुशीलको उचाइ बढायो, उनी पदलोलुप होइनन् भन्ने सन्देश प्रवाहित भयो । पछि कृष्णप्रसाद भट्टराईले आफू प्रधानमन्त्री बन्दा पनि सुशीललाई मन्त्री बनाउने इच्छा राखेका थिए । किसुनजी सायद सुशीललाई ‘एक्स्पोज’ गर्न चाहन्थे । प्रधानमन्त्री ताकेर बसेका सुशीलले मन्त्री बन्न गरिएका ‘अफर’हरू अस्वीकार गर्दै आफू पदलोलुप नभई ‘महान् त्यागी’ व्यक्ति भएको सन्देश दिइरहे । संविधान जारी भइसकेपछि पुन: प्रधानमन्त्री बन्न अग्रसर नभइन्जेल र पुन: कांग्रेस सभापतिको उम्मेदवार हुने तत्परता नलिउन्जेलसम्म पनि मानिसलाई सुशील कोइराला पदलोलुप छैनन् भन्ने भ्रम परिरह्यो । उनको पृष्ठभूमि, ‘सत्चरित्र’, इमानदारी र त्याग–तपस्याबारेका वास्तविकता खोल्न यो सङ्क्षिप्त लेखमा सम्भव भएन ।

०५० सालमा कृष्णप्रसाद भट्टराई काठमाडौं एक नम्बर क्षेत्रको उपनिर्वाचनमा (मदन भण्डारीको निधनपश्चात् रिक्त भएको) उम्मेदवार बनेपछि बालुवाटारमा तनाव बढ्यो । किसुनजी एउटा मामुली सांसद मात्र बन्नका लागि उम्मेदवार भएका हुन् भन्ने विश्वास ‘गिरिजाप्रसादको बालुवाटार’लाई थिएन । त्यसैले निर्वाचनमा पराजित गरेर किसुनजीलाई ‘ठहरै’ पार्ने र गिरिजाप्रसादको आसन जोगाउने योजना बालुवाटारमा बनेको थियो र उक्त योजनाको कार्यान्वयन सुशील कोइरालालाई अघि सारेर गरिएको थियो । किसुनजीलाई उक्त निर्वाचनमा कसरी पराजित गरिएको थियो भन्ने ऐतिहासिक तथ्यको विवरण बेग्लै सन्दर्भमा हुने नै छ । त्यस प्रकरणमा सुशील कोइराला प्रमुख संयोजकको भूमिकामा थिए भन्ने स्मरण मात्र यहाँ गर्न खोजिएको हो ।
sushil-koirala 5
०५१ को मध्यावधि निर्वाचनअघिसम्म सुशील कोइरालासँग यस लेखकको विश्वासपूर्ण घनिष्टता रहेको हो । त्यसताक काठमाडौं उपत्यकामा कोइरालाहरूको स्थिति कमजोर थियो, ललितपुरका कांग्रेस नेताहरू (ओमकार श्रेष्ठ बाहेक)लाई गिरिजाप्रसादसँग जोड्न हामीले सर्वाधिक महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थियौँ । मध्यावधि निर्वाचनमा एकथरी कांग्रेसले अर्काथरीका विरुद्ध बागी उम्मेदवार खडा गर्ने प्रतिस्पर्धा चलेको थियो । त्यसक्रममा ०५१ असोजको कुनै दिन सुशील कोइरालाले ललितपुर कांग्रेसका तत्कालीन नेता उपेन्द्रकुमार भट्टराईलाई लिएर बालुवाटार आउन खबर गरे । हामी दुई निर्धारित समयमा सुशीलसमक्ष पुग्यौँ । त्यसरी बोलाउनुको कारण खोल्दै सुशीलले भने, ‘तपार्इंहरू आ–आफ्नो निर्वाचन क्षेत्रमा विद्रोही उम्मेदवार बन्नुपर्‍यो । ललितपुरको तीन नं. क्षेत्रमा ओमकारप्रसाद श्रेष्ठका विरुद्ध उपेन्द्र भट्टराईले र धादिङको तीन नं. क्षेत्रमा तपाईंले उम्मेदवारी दिनुपर्‍यो ।’ उपेन्द्रजीले सुशीलको आग्रह स्वीकार गर्दै बागी उम्मेदवार बन्न तयार भएको जवाफ दिए । तर, मैले उनको प्रस्ताव स्वीकार गर्न सकिनँ र भनेँ, ‘पार्टीले टिकट नै दिएको अवस्थामा मात्र म उम्मेदवार बन्ने हुँ, मलाई बागी या विद्रोही उम्मेदवार बन्नुछैन । मेरो विचारमा उपेन्द्रजी पनि विद्रोही उम्मेदवार नबन्नुहोस् ।’ मेरा कुरा सुनेपछि सुशीलको अनुहारको रङ बदलियो, एकप्रकारले मप्रति उनले असन्तुष्टि प्रकट गरे भने उपेन्द्रजीका प्रति प्रशन्नता ।

त्यस घटनापछि सुशील कोइरालासँगको मेरो घनिष्टतामा आँच आयो । म सुशीलबाट बोलाइन छोडेँ र उपेन्द्रजी उनको घनिष्टतममध्ये एक बने । विद्रोही उम्मेदवार बनेकै कारण उपेन्द्रजीको राजनीतिक भविष्य सङ्कटमा परे पनि उनीहरू दुईबीचको मित्रता सङ्कटमा परेन, सुशीलको निधन हुनुअघिसम्म दुईजनाबीच विश्वासपूर्ण घनिष्टता कायम रह्यो । यस प्रकरणले पनि सुशील कोइराला कस्ता थिए र उनको सोचको स्तर कुन तहको थियो भन्ने अवश्य झल्काउँछ । यस्ता कैयन घटना–सन्दर्भसँग सुशील कोइराला जोडिएका छन् । उनको इमान, जमान या बेइमानीबारे खुलस्थ चर्चा गर्ने उपयुक्त समय यो नहुन सक्छ । बरु भनौँ, ‘नेपालले एक महान् प्रजातन्त्रवादी योद्धा, इमानदार र त्याग–तपस्याभावका प्रतिमूर्ति, संविधानसभाबाट संविधान निर्माण गर्न सफल, स्वच्छ छविका सन्त व्यक्तित्व नेपाली कांग्रेसका लोकप्रिय नेता आदरणीय सुशील कोइरालाप्रति हार्दिक श्रद्धाञ्जली, उनको निधनबाट राष्ट्रको अपूरणीय क्षति भएको छ ।’

२८ माघ २०७२, बिहीबार १२:०४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ..

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..