बीपीले भनेको ‘लोकतान्त्रिक समाजवाद’मा सायद मोहियानी हक नहुनु पर्ने काँग्रेस पार्टी

नैन छिन्दन्ति शस्त्राणी नैनं दहति पावक: । न चैनं क्लेदयन्त्यापो न शोषयती मारुत: ।।

पूर्वीय संस्कारका अनुयायी प्राय: सबैजसोले बुझेकै विषय हो कि यस गीताको स्लोकमा रहेको दर्शनअनुसार न त आत्मा आगोबाट पोलिन्छ न त शस्त्रअस्त्रद्वारा काटिन्छ । न पानीले पगालिन्छ न त वायुवेगले नै शोषण गर्न सक्दछ । त्यसैले त हाम्रो पूर्वीय साहित्यिक वाङ्मयले शरीरको जन्म हुनुपूर्व र शरीरको मृत्युपश्चात् पनि आत्म जीवित नै रहन्छ । भूमण्डमा यदि कुनै चिज अदृश्य रूपमै भए पनि जीवित रहन्छ भने त्यो हो आत्मा भन्ने कुरा माथि संसय गर्दैन हाम्रो पूर्वीय दर्शनले । यो दैवी जगत्मा के हुन्छ र हुँदै छ भन्ने विषयमा शास्त्राचार्य गर्नेहरूको विषय हो भनेर उनीहरूमथि नै माथापच्ची गर्ने जिम्मेवारी थोपरिदिऊँ भने पनि रह्यो यही भौगोलिक संसारम राज्य व्यवस्था सञ्चालन गर्ने राजा महाराजादेखि लोकतान्त्रिक गणतन्त्रवादी युगको सुरुवाती अवस्थामा हाम्रो दोस्रो कदम सुरु भइसकेको छ । विगतमा एक तान्त्रिक शासन प्रणालीमा दबदबा देखाउने महाराजा महेन्द्र शाहले समेत जमिनमा पुस्तैनी जोतपोत गर्दै आएका मोही जसको जमिनमाथिको हक कायम थिएन त्यसको उचित व्यवस्थापन होस् भन्नाका खातिर भूमिसुधार कार्यक्रम पञ्चायतकालमा लागु गरेर केही किसानलाई गुण लगाएका थिए भन्नेहरूको समेत कमी छैन ।

उल्लिखित प्रसङ्गले भूमिमाथिको हकअधिकारलाई यसरी विवेचना गरे तापनि हालको अवस्थामा त्यतिका भूमि त भलै नहोला यद्यपि लेखकले सो भूमि र किसानबीचको अन्तरसम्बन्धजस्तै जनता, राजनीतिक सङ्गठन र शासन व्यवस्थाबीचको अन्तरसम्बन्ध र त्यसमाथिको स्वामित्वको आधार र हालसम्म त्यसभित्र भए–गरेका चलखेल र चरित्रमाथि चिरफार गर्ने जमर्को गर्दा हालसम्मकै नेपालको प्रजातान्त्रीकरणको इतिहासलाई मध्यनजर गर्ने हो भने जेठो, समृद्ध प्रजातान्त्रिक अन्तर्राष्ट्रिय मान्यताप्राप्त, पटकपटक जनताको मन जित्न सफल भएको एक मात्र पार्टी भनेको इतिहासदेखि वर्तमानसम्म नेपाली काङ्ग्रेस नै हो भन्दा अत्युक्ति नहोला । यति ठूलो इतिहास भएको पार्टी निकट भविष्यमै पार्टीको लोकतान्त्रिक आचरणअनुसार १३औँ महाधिवेशनमा उन्मुख भइनै रहेको अवस्थामा पार्टीको विभिन्न तह तप्कादेखि समाजको सानोभन्दा सानो इकाइसम्म गरमागर्मी बहस चलिनै रहेको छ । त्यो बहस पैरवीदेखि सङ्गठनको उच्चतम निकायसम्म नै युवा शक्ति आफूलाई स्थापित गर्न उद्यत् नभएको होइन र पार्टी सङ्गठनको ठूलो हिस्साले परिवर्तन आमूल रूपमा हुनुपर्छ भन्ने विषयमा संसयसमेत गर्दैन ।

अब रह्यो विरासत र पारिवारिक हिस्सेदारीका कुरा । क्षमता, दक्षता र जनविश्वासको आधारलाई लिएर पाउने हिस्सेदारी अलग विषय हो । तर, विरासत र बिर्ता करणले थलिएको हाम्रो समाजले लोकतन्त्रपश्चात् केही खुकुलो महसुस गर्न नपाउँदै फेरि समाज र राज्यको हरतह र तप्कामा यस्तो महारोग जटिल रूपमा देखापर्दै र निरन्तर रूपमा अगाडि जाने हो भने जनताको स्तरबाट गरिएको आजसम्मको योगदान अझ परिस्कृत हुनुको सट्टा हक खोसिएको मोहीजस्तै हुन बेर लाग्दैन । एकपछि अर्को, अर्कोपछि अर्को गर्दै विरासतलाई मात्र पछि लगाउने हो भने जनस्तरबाट भएको महायोगदानको कदर खै त ? मेरा स्वर्गीय पिता कुनै बखत बीपी बाबुको सहयोगी, सहयात्री र सहकार्य गर्नमा उद्यत थिए । राजनीति कर्ममा हामीले तेस्रो पुस्तासम्म पनि निरन्तर योगदान गरिनै रहेका छौँ । यस्तो योगदान गर्नेहरू देशमा धेरैको सङ्ख्यामा होलान् र त पार्टी आजसम्म जीवित र सशक्त छ । जनताको माग यो होइन कि योगदानलाई मात्र मूल्याङ्कन गरेर पद र प्रतिष्ठा देऊ । तर, जनता कार्यकर्ता हँुदै नेतृत्वसम्मकै माग भनेको क्षमता र दक्षताको मूल्याङ्कन होस् । मात्रै विरासतलाई हेरिरहँदा सङ्गठन निरङ्कुश बन्दछ । जसरी एउटा राणापछि अर्को राणा, अर्को राणापछि झन् अर्को राणा यसरी नै राजा र राणाहरूको निरन्तरताको अन्त गर्न जनताको ऐक्यबद्धता भयो त्यसरी नै कार्यकर्ताहरू पनि विरासतको राजनीति अन्त गर्न चाहन्छन् ।

कालान्तरमा योग्य र क्षमतावान भएर आउँदा पुन: फर्कनु स्वाभाविक ठहर हुन सक्दछ । तर, जात र पुस्तैनी निरन्तरताका नाममा जनतामाथि शासन थोपरिनु वास्तवमा लोकतान्त्रिक विधि होइन । जसरी पूर्वीय दर्शनले भनेअनुसार आत्म अविच्छिन्न निरन्तर हुन्छ भन्ने सावित गर्न खोजेको छ, त्यसरी नै लेखकलगायत अन्य धेरैका पिता र बीपीबाबुको आत्माबीच अन्तरङ्ग हुँदै गर्दा मोही हक खोइ त बीपीबाबु ? भन्ने प्रश्न खडा भयो भने बीपीबाबुको आत्माले के उत्तर दिन सक्ला ? जुन बेला जनता र कार्यकर्ताको बलमा बीपीको नेतृत्वमा देश र देशवासीको हकहितका लागि ठूलै परिवर्तनको महसुस गराइएको थियो, आज आएर तिनै बीपीबाबुको आत्माले पारिवारिक वा जहानियाँ राजनीतिक अन्त गराउन चाहने पङ्क्तिकारलगायत मेरा सहृदयीहरूको आन्दोलनले गर्भमै तुहिनुपर्‍यो भन्ने वाक्य ओकल्नुपर्‍यो भने त्यसमाथिको न्याय कसले प्रदान गर्न सक्ला ? लोकतन्त्रमा क्षमता र योग्यताको कदर हुनुपर्छ । क्षमतामाथि विश्वास नगर्ने हो भने समाजको अग्रगामी पाइलामाथि कुठाराघात हुन सक्दछ । देशलगायत पार्टी सङ्गठनको समेत आवरणमा लोकतन्त्र भन्ने व्यानर टाँगिएको छ । तर, अन्तरङ्गमा समेत लोकतन्त्र जन्मनु र हुर्कनु जरुरी छ । लोकतन्त्र नाम कुनै जादुको छडी होइन । यो त उच्चतम राजनीतिक सामाजिक प्रणालीको विकास हो । जसभित्र मेरिटलाई मुख्य आधार बनाइन्छ ।

यहाँ मेरिट भन्ने शब्द क्षमता र योग्यतालाई मात्र नभएर अवसर नपाएकालाई अवसर प्रदान गरिनु पनि हो । जब मौका नै प्राप्त गर्दैन तबसम्म उसको काममाथि कसी लगाउन सकिँदैन । देशमा कैयौँ यस्ता युवा शक्ति छन् जसले काम देखाउने अवसरसमेत पाएका छैन । गणेश र कुमारलाई शिव र पार्वतीले जसले पहिला सुमेरु पर्वत घुमेर आउँछ उस्कै पूजा पहिले हुन्छ भन्दै गर्दा बाहन पनि गतिलो नभएका र शारीरिक क्षमता पनि गतिलो नभएको गणेशले आमबाबुकै वरिपरि घुमिरहेको अवस्थामा उनैलाई उत्कृष्ट सम्झी पितृ मातृभक्त गणेशकै पूजा पहिले गर्न निर्देशन दिएका थिए । वैदिक कालमा भएजस्तो अबको संसारमा सम्भव नहोला । क्षमता र योग्यता भएकाहरूलाई समेत दृष्टि लगाउने अवस्था सिर्जना भइसकेको छ । धृतराष्ट्रजस्तै अन्धभक्त भएर नितान्त पुत्रमोहमा पर्दा अन्तमा पारिवारिक मात्र नभएर राष्ट्रिय रूपमै शोक बोक्नुपर्ने अवस्थालाई आत्मसात् गर्नुपर्ने अवस्था पार्टीभित्र देखा परिसकेको छ । पुत्रमोहमा परेका धृतराष्ट्रले भीमसेनरूपी लौह प्रतिमालाई समेत आक्रोश व्यक्त गरिसकेर मात्र मृत्युलाई अँगाल्ने हो भने त्यो निश्चय गर्ने जिम्मा जनता र कार्यकर्ताले नेतृत्वलाई नै लगाएका छन् ।

यतिखेर जनता र कार्यकर्ता भूमिमाथिको हक तथा भूस्वामित्वविहीन मोहीजस्तै भएका छन् । धेरैको पुस्तैनी लगानी र निरन्तरता पार्टीभित्र भए पनि नेतृत्वका लागि अन्त्यमा जात र विरासतलाई मात्र खोजी गरिनु लोकतन्त्रको हितविपरीत हुन सक्दछ । लोकतन्त्र एउटा परिस्कृत राजनीतिक, सामाजिक प्रणाली हो । यसलाई जोगाइराख्न सकियो भने जनताद्वारा जनताकै लागि गरिने शासन व्यवस्था स्थापित हुन सक्दछ । अन्यथा जनस्तरदेखि नेतृत्वसम्म नै यो व्यवस्थामाथि विश्वास छ भने योग्यता, क्षमता र परिवर्तनलाई समेत आत्मसात् गर्न सक्नु आजको मुख्य आवश्यकता हो । होइन भने बीपीबाबुको आत्मालाई अन्य तड्पिरहेका आत्माहरूबाट प्रश्न–प्रतिप्रश्नको खातैखात लाग्न सक्दछ । जसका कारण बीपीको महान् आत्माले निरुत्तर हुन नपरोस् । जनतालाई रैतीबाट जनार्दन बनाउने अभियानले निरन्तरता पाओस् । यही १३औँ महाधिवेशनका लागि जनताको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ ।

२६ माघ २०७२, मंगलवार ००:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

महाशिवरात्रीमा पशुपतिः चारै ढोका खोलिए, लाखौ भक्तजनको लाइन

काठमाडौँ, ९ फाल्गुण । महाशिवरात्री पर्वका अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरलमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । आज बिहान बिहान..

मन्त्री बाँस्कोटाले कमिसन माग गरेकोबारे स्वीस दूतावास बोल्यो

काठमाडौँ, ८ फाल्गुण । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७४ करोड रुपैयाँ कमिसन मागेको सम्बन्धमा..

मन्त्री बाँस्कोटाबारे बालुवाटारमा छलफल, राजीनामाको सम्भावना कति ?

काठमाडौँ, ८ फाल्गुण । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिशन माग गरेको अडियो रेकर्ड सार्वजनिक..

चिनियाँ दूतावासद्वारा जारी विज्ञप्तिको सम्पादकहरूले गरे भर्त्सना

काठमाडौँ, ७ फाल्गुण । कान्तिपुर पब्लिकेसन्सको अंग्रेजी पत्रिका ‘द काठमान्डु पोष्ट’मा प्रकाशित लेखबारे..

प्रजातन्त्र दिवसमा प्रधानमन्त्रीको शुभकामना, ‘जन्मसिद्ध श्रेष्ठताको शासन प्रणाली सकियो’

काठमाडौँ, ७ फाल्गुण । प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मसिद्ध श्रेष्ठताको शासन प्रणाली अन्त्य भईसकेको बताएका..