कांग्रेसजन ! दक्षिणपन्थी हुनुमा गौरव किन नगर्ने ?

नेपाली कांग्रेस विचारविहीन बनेको छ भनियो भने रामचन्द्र पौडेललगायत कतिपय नेताहरूको असहमति रहन सक्छ । लोकतन्त्र सहितको समाजवाद र सङ्घीयता सहितको समावेशिता नै कांग्रेसको विचारमार्ग भएको दाबीसहित रामचन्द्र पौडेल धर्म निरपेक्षता र गणतन्त्रलाई पनि कांग्रेसकै विचार निर्णयको उपलब्धिका रूपमा बुझ्न या व्याख्या गर्न सक्नुहुन्छ । यसरी हेर्दा कांग्रेस विचारविहीन भएजस्तो प्रतीत नहुन पनि सक्छ । आजको कांग्रेसलाई बुझ्नुअघि हिजो र भोलिको कांग्रेसलाई हेर्नु उपयुक्त हुनेछ ।

नेपाली कांग्रेसले हिजो राष्ट्रियता र प्रजातन्त्रसहितको समाजवादी कार्यक्रमलाई आफ्नो आदर्श, विचार र नीतिका रूपमा अवलम्बन गरेको थियो । संवैधानिक राजतन्त्र र बहुलवादमा आधारित संसदीय प्रजातन्त्रलाई कांग्रेसले नेपाली सन्दर्भमा वास्तविक लोकतन्त्रका रूपमा बुझेको हो । गरिब र गरिबीको उच्चदर घटाउन समाजवादी आर्थिक कार्यक्रम उपयुक्त हुने विश्वासका आधारमा बीपी कोइरालाले समाजवादमा जोड दिँदै आएका हुन् । एकातिर राष्ट्रियता, धर्म, संस्कृति र परम्पराको रक्षा–प्रतीकका रूपमा राजसंस्था रहेको र अर्कोतर्फ गणतन्त्र, धर्मनिरपेक्षता, बहुराष्ट्रियता र राजनीतिक समाजवादको वकालत गर्ने वामपन्थी कम्युनिस्टहरूको प्रभाव बढोत्तरी हुँदै गरेको पृष्ठभूमिमा नेपाली कांग्रेस मध्यमार्गी शक्तिका रूपमा स्थापित भएको हो । मध्यमार्गी कांग्रेसले समाजवादी आर्थिक कार्यक्रमलाई स्वीकार गरेर प्रतिस्पर्धात्मक प्रणालीमा प्रतिस्पर्धा गर्न नसक्ने कमजोर वर्गलाई अघि बढाउने प्रतिबद्धता जाहेर गरेको थियो भने यसले प्रजातन्त्रविमुख हुनसक्ने विपन्न समुदालाई प्रजातन्त्रकै पक्षमा उभ्याइराख्ने राजनीतिक अभीष्ट पनि राखेको हो । त्यस्तै राष्ट्रियता र संवैधानिक राजसंस्थाका पक्षमा उभिएर कांग्रेसले राष्ट्र, धर्म, परम्परा र संस्कृतिका पक्षमा आफ्नो बलियो साथ–समर्थन रहेको सन्देश पनि दिएको थियो ।

तर, वि.सं. २०६३ को राजनीतिक परिवर्तनपछि नेपाललाई बहुराष्ट्रियतातर्फ धकेल्दै गणतन्त्रात्मक धर्मनिरपेक्ष मुलुकको पहिचान दिने प्रयास भएको छ । २०७२ असोज ३ गते संविधानसभामार्फत नाटकीय ढङ्गले जारी गरिएको संविधानले नेपाललाई धर्मनिरपेक्षतासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनाएको छ । हिजो राजसंस्थाले एकात्मक राष्ट्रियताको रक्षा गर्दै मुलुकको मौलिक धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्ने काम गर्दथ्यो । आज राजसंस्था विस्थापित हुँदा एकात्मक राष्ट्रियता मात्र धराशायी भएको होइन, राष्ट्रको मौलिक धर्म, परम्परा र संस्कृति रक्षाको कामसमेत उपेक्षित हुन पुगेको छ । त्यसैले अब नेपालीको राष्ट्रियता, धर्म, परम्परा र संस्कृतिको रक्षा एवम् जगेर्ना गर्ने शक्ति कुन हो भन्ने प्रश्न खडा भएको छ । २०६३ मा राजसंस्था विस्थापित भएपछि एकात्मक राष्ट्रियता र धर्म–संस्कृतिका पक्षपातीहरू एकप्रकारले विचलित भए ।

आश्रय खोजी गर्दै जाँदा कुनै कमल नामक थापाले नेतृत्व गरेको राजनीतिक समूह नै राष्ट्र, एकात्मक राष्ट्रियता, धर्म, संस्कृति र परम्पराको रक्षक हुनसक्ने विश्वास (कि भ्रम ?) एकथरी जनसमुदायमा पैदा भयो र उनीहरूले ‘गाई’ चुनावचिह्नमा मतदान गरेर राष्ट्रियता र धर्म रक्षा गरेको आत्मसन्तुष्टि पनि लिए । धर्मनिरपेक्षतासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन–व्यवस्थाका मूल हिमायती एमाओवादी र एमाले नेतृत्वको सरकारमा सामेल भएर कुनै कमल थापाले आफ्नो सक्कली अवतार प्रस्तुत नगरिन्जेलसम्म आमजनतालाई ‘गाई’ चुनावचिह्नधारी राजनीतिक समूह नै राष्ट्र र धर्मको वास्तविक रक्षक भएको भ्रम रहिरह्यो । अब नेपाली राष्ट्रप्ेरमी जनतालाई ‘गाई’ चिह्नधारी समूहप्रतिको भ्रम त हटेको छ, तर आफ्नो रक्षक शक्ति कुन हो भन्ने पहिचान तिनले गर्न सकेका छैनन् । त्यसो त राष्ट्र एकात्मक राष्ट्रियता, धर्म, परम्परा र संस्कृतिको रक्षा गर्ने दाबी यतिबेला कुनै प्रमुख राजनीतिक दलविशेषले गरेका पनि छैनन् ।

राजसंस्थाको विस्थापनपछि नेपाली कांग्रेसले मध्यमार्गी राजनीतिक शक्तिको पहिचान गुमाएको छ, अर्थात् दक्षिणपन्थी संस्था र शक्ति अस्तित्वविहीन भएपछि मध्यमार्गी अस्तित्व पनि स्वत: सङ्कटमा परेको छ । तात्कालिक राजा ज्ञानेन्द्रबाट प्रजातन्त्रमा ‘लामो हात’ गरिएपछि कांग्रेस पार्टीको सभापति रहेका गिरिजाप्रसाद कोइरालालाई झोँक चल्यो । बीपी कोइराला बौद्धिक एवम् दूरदर्शी नेता थिए, त्यसैले वि.सं. २०१७ सालको काण्डपछि झोँक चल्दा पनि उनी निश्चित मूल्य–मान्यताबाट विचलित भएनन् । संयमतापूर्वक विभिन्न प्रकारले लडाइँ लड्दै प्रजातन्त्र पुनर्वहालीको मार्ग प्रशस्त गर्ने काम बीपीले गरेका हुन् । तर, बौद्धिक अभ्यासबाट टाढा र आजबाहेक भोलिसम्म पनि देख्न नसक्ने/नखोज्ने जीपी कोइरालालाई झोँक चलेपछि उनले कम्युनिस्ट एजेण्डालाई स्वीकार गर्ने नीति लिइदिए । २०४६ को राजनीतिक परिवर्तनले कम्युनिस्टहरूलाई प्रजातन्त्र र कांग्रेसको एजेण्डा स्वीकार गर्न बाध्य तुल्याएको थियो ।

२०६३ को परिवर्तनले कांग्रेसलाई कम्युनिस्टको एजेण्डा बोकाएको छ । दिवङ्गत सतिदेवीको शरीर बोकेर स्वस्थानी कथाका महादेव हिँडेझैँ नेपाली कांग्रेस विगत एक दशकदेखि कम्युनिस्टको एजेण्डा बोकेर हिँडिरहेको छ । कांग्रेसले समेत कम्युनिष्टको एजेण्डा बोकेपछि संसदीय प्रजातन्त्रलाई आत्मसात् गर्दै अघि बढ्ने अभ्यासमा रहेको नेकपा एमालेजस्तो दलसमेत एमाओवादीको मित्रशक्ति बन्ने कसरत गर्न पुगेको छ । राष्ट्रियता, राष्ट्र, धर्म, संस्कृति, परम्परा, प्रचलित प्रजातन्त्र र खुला अर्थतन्त्रको पक्षउन्मुख हुँदै गरेको एमालेलाई माओवादीको मित्रशक्ति बन्न उत्प्रेरित गर्ने काम कांग्रेस नेतृत्वले गरेको निष्कर्ष निकालियो भने त्यो गलत हुने छैन । कांग्रेस नै कम्युनिस्टजस्तै बन्ने अभ्यासमा जुटेपछि कुनै समयको खाँटी कम्युनिस्ट एमाले थप क्रान्तिकारी देखिने प्रयासमा जुट्नु अस्वाभाविक होइन ।

यतिबेला वामपन्थी मूल्य–मान्यता विजयी भएको छ । संविधानका अन्तर्वस्तुहरूको सूक्ष्म अध्ययन गर्दा त्यसले प्रजातन्त्रवादको भन्दा साम्यवादको गुणतत्त्व अङ्गीकार गरेको छर्लङ्गै देखिन्छ । नयाँ संविधानको प्रस्तावनामा बहुलवाद शब्द समेट्न सकिएको छैन, तर ‘समाजवादप्रति प्रतिबद्ध रहने’ व्यहोरा उल्लिखित छ । नेपाल राज्य ‘… धर्मनिरपेक्ष समावेशी, लोकतन्त्रात्मक, समाजवादउन्मुख, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक’ भनी भाग ‘१’ को धारा ‘४’ मा उल्लिखित व्यहोरा अध्ययन गर्दा यो दशकभित्र कांग्रेस विचारले कसरी कम्युनिस्टीकरण हुन पुग्यो भन्ने यथार्थ आभाष गर्न सकिन्छ । व्यवस्थापनमा मजदुर प्रतिनिधिलाई प्रोत्साहन (भाग ४, खण्ड झको दफा ४) गर्नेदेखि ट्रेड युनियनहरूलाई सामूहिक सौदाबाजी गर्ने (भाग ३, धारा ३४ को उपधारा ३) सम्मको अधिकार निश्चित गरिनाले वर्तमान संविधान ह्वास्सै वामपन्थी गन्ध आउने गरी गन्धित भएको छ । कांग्रेसको मौलिक पहिचान दिने सबै विचार–अस्त्रहरू परित्याग गरेर कांग्रेस नेतृत्वले वामपन्थी अवयवहरूले आफूलाई सज्जित गर्दा मुलुकको राजनीति असन्तुलित अर्थात् वाममय हुन पुगेको छ ।

राष्ट्र, राष्ट्रियता, प्रचलित संसदीय प्रजातन्त्र, मौलिक धर्म, संस्कृति र परम्पराको रक्षा, खुला अर्थतन्त्र तथा समाजवादी आर्थिक कार्यक्रमको पक्षमा उभिँदा मात्रै कांग्रेस कांग्रेसजस्तो देखिने हो । राजसंस्थाको विस्थापनपछि राष्ट्रियता, धर्म, संस्कृति र परम्पराको रक्षा एवम् गजेर्ना गर्ने दायित्व नेपाली कांग्रेसको एकल भागमा परेको छ । समाजवादको नाममा कम्युनिस्ट पार्टीको एकदलीय शासन व्यवस्था चलिरहेको मुलुकले समेत खुला अर्थनीतिलाई आत्मसात् गरिरहेको परिप्रेक्ष्यमा नेपाली कांग्रेस कथित ‘तीनखम्बे नीति’को समर्थनमा उभिन आवश्यक थिएन । माओवादीको हिंसात्मक युद्धले देशलाई बिथोल्नुअघिसम्म कांग्रेसले अवलम्बन गरेको अर्थनीतिकै कारण सात दशमलब दुई प्रतिशतसम्म आर्थिक वृद्धिदर भएको यथार्थ स्मरण गर्दै कांग्रेस समाजवादी आर्थिक कार्यक्रमसहितको उदार अर्थतन्त्रका पक्षमा दृढतापूर्वक उभिनु वाञ्छनीय हुनेछ ।

समृद्ध देशको निर्माण खुला अर्थनीतिले मात्र गर्न सक्छ भन्ने तथ्य विश्वमा स्थापित भइसकेको छ र नेपालमा कांग्रेसले मात्र यस्तो नीति कार्यान्वयन गर्ने सामथ्र्य राख्न सक्छ भन्ने पनि स्पष्ट भइसकेको छ । यसप्रकारको नीति अवलम्बन गर्न खोज्दा कांग्रेसमाथि पुँजीवादी दक्षिणपन्थी भएको आरोप लगाइन्छ भने त्यसलाई स्वागत गर्नुपर्छ । समृद्ध मुलुक ब्रिटेनको कन्जर्भेटिभ पार्टी या अमेरिकाको रिपब्लिकन पार्टीले आ–आफ्नो मुलुकलाई सभ्य, समृद्ध र समुन्नत तुल्याउन जति योगदान पुर्‍याएका छन् वामपन्थी दुर्गन्ध आउने अन्य कुनै समूहले त्यति नै योगदान पुर्‍याएको देखिँदैन । यो तथ्यले परम्परावादी सोचसहितको शक्तिले मात्र समृद्धि आर्जन गर्न सक्छ भन्ने बोध गराएको छ । त्यस्तै, कुनै पनि देश समृद्ध र समुन्नत हुनु भनेको चरम विकास र अर्थतन्त्र सबल हुनु मात्र होइन । सम्बन्धित मुलुकको मौलिक धर्म, परम्परा र संस्कृतिको सम्वद्र्धन एवम् प्रवद्र्धन पनि समृद्धिकै एउटा महत्त्वपूर्ण अङ्ग हो ।

नेपाली कांग्रेस बहुसङ्ख्यक जनताको भावनाप्रति संवेदनशील रहँदै सनातनी हिन्दू, किराँत, बौद्धलगायतका मौलिक नेपाली धर्म, परम्परा एवम् संस्कृतिको रक्षा र विकासको पक्षमा दृढताका साथ उभिन आवश्यक छ । यसरी धर्म, संस्कृति र परम्पराको पक्षमा उभिएकै कारण वामपन्थी कित्ताबाट ‘दक्षिणपन्थी’ बनेको टिप्पणी हुन्छ भने कांग्रेसले यसलाई पनि स्वागत गर्नुपर्छ । वामपन्थी या कम्युनिस्ट बन्नु ठीक, राष्ट्रवादी, प्रजातन्त्रवादी या दक्षिणपन्थी बन्नुचाहिँ गलत भनी कम्युनिस्टहरूले फैलाएको हल्लाको प्रभावबाट कांग्रेसजन मुक्त हुन ढिला भइसकेको छ । मध्यमार्गी पहिचान गुमिसकेको अवस्थामा कांग्रेसले वामपन्थी भूमिकामा आफूलाई स्थापित गर्नुहुँदैन र त्यो सकिँदैन पनि । वामपन्थी मैदानमा कम्युनिस्टहरूलाई छोडेर कांग्रेस राष्ट्र, एकात्मक राष्ट्रियता, मौलिक धर्म, परम्परा, संस्कृति र खुला अर्थनीति रक्षाको पक्षमा उभिँदै दक्षिणपन्थी सोचको सगौरव रक्षा गर्न कांग्रेस तयार हुनुपर्दछ । वामपन्थी बन्ने प्रतिस्पर्धामा यो वा त्यो कम्युनिस्ट पार्टी नै प्रथम हुने हुन्, जतिसुकै जोडबल लगाए पनि वामपन्थी बन्ने प्रतिस्पर्धामा कांग्रेस अब्बल ठहरिन सक्दैन र अब्बल ठहरिन आवश्यक पनि छैन ।

राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र परम्परागत धर्म–संस्कृतिको पक्षमा दृढतापूर्वक उभिनु नै दक्षिणपन्थी बन्नु हो भने सगौरव दक्षिणपन्थी बन्न कांग्रेस तयार हुनुपर्दछ । यसरी राष्ट्र, धर्म, परम्परा र संस्कृतिको जगेर्ना गर्दै मुलुकको समृद्धि हासिल गर्ने यात्रा तय गर्दा ‘समय र परिस्थिति अघि बढिसकेको भन्दै गतिअनुरूप बदलिन नसकेको’ टिप्पणी पनि हुनसक्छ । हो, सृष्टिमा हरेक वस्तु या तत्त्व गतिशील छन्, स्थिर भन्ने केही छैन । सबै तत्त्व अस्थिर र गतिशील रहने संसारमा कांग्रेसको विचार र सिद्धान्त मात्र स्थिर हुन सक्दैन भनियो भने त्यसलाई बलियो तर्क मान्न सकिन्छ । तर, सृष्टिको नियम अस्थिर भए पनि स्थिरतामा आनन्द हुन्छ भन्ने तथ्य भुल्नुहुँदैन । आनन्द नै मानव समाजको गन्तव्य हो ।

२० माघ २०७२, बुधबार ०९:३४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दसैंमा ‘लकडाउन’ हुनसक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ..

साढे ९८ लाख वित्तीय अपराध गरेको अभियोगमा राईविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । दुबईबाट साढे ९८ लाख रुपैयाँ नेपालमा रूपान्तरण गरी वित्तीय अपराध (सम्पत्ति शुद्धीकरण) गरेको अभियोगमा..

कोरोना सामान्य रोग होइन : क्याप्टेन विजय लामा

काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामाले कोरोना संक्रमणलाई सामान्य रुपमा नलिन आग्रह सबैलाई..

राष्ट्रसङ्घलाई सुदृढ र सशक्त बहुपक्षीयताको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वले झेल्नुपरेका जटिल चुनौतीहरुको सामना गर्न संयुक्त..

कोरोना संक्रमणबाट नेपालमा थप १६ जनाको मृत्यु, ११५४ संक्रमित थपिए

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना..