गैरकानुनी रुपमा बेलायतमा बसोबास गरिरहेका नेपालीहरु पक्राउ

नबिन पोख्रेल, लन्डन, २४ पुस । बेलायतमा गैरकानुनी हैसियतमा बसेका नेपाली समातिने क्रम बढेको छ । प्रहरीले घरैमा गएर नेपालीलाई गिरफ्तार गरी नेपाल फर्काउन थालेको छ । गैरकानुनी रूपमा बसिरहेका केही नेपाली प्रहरी हिरासतमा रहेको जानकारी लन्डनस्थित नेपाली दूतावाससम्म आइपुगेको छ । गैरकानुनी रूपमा बस्नेबाहेक बैंक ठगीदेखि बलात्कार र कुटपिटसम्मका अपराधमा केही नेपाली जेल परेका समेत पाइएको छ । रवीन्द्र लामा र सीता (नाम परिवर्तन) दम्पती गैरकानुनी रूपमा बसेको आरोपमा एक महिनादेखि प्रहरी थुनामा छन् । उनीहरूले भिसा बढाउन निवेदन दिएका थिए । तर, अध्यागमन अधिकारीहरूले बिनासूचना उक्त जोडीलाई भिसा अस्वीकृत भएको जनाउँदै घरबाटै समाते । स्रोतका अनुसार, लामा दम्पती स्वविवेकले नेपाल फर्कन इच्छुक रहे पनि अध्यागमन अधिकारीहरूले यसमा बेवास्ता गरिरहेका छन् । शिव कोइराला (नाम परिवर्तन) ‘ओभर स्टे’ भएकै कारण गत महिना समातिए । उनले आफू बस्ने घरको ठेगाना परिवर्तन भए पनि होम अफिसलाई जानकारी गराएनन् । होम अफिसले देश छोड भनेर पठाएको पत्र पुरानै ठेगानामा पुग्यो । जवाफ प्रतीक्षा गरिरहेको होम अफिसले कोइरालाबाट केही पाएन किनकि उनी नयाँ ठाउँ सरिसकेका थिए । अन्तिममा उनी प्रहरीको गिरफ्तारीमा परे । आउँदो महिना उनलाई नेपाल फर्काउने प्रक्रिया चलिरहेको छ । विराटनगरका ३२ वर्षीय दिनेश पाठक (नाम परिवर्तन) २० दिन यता प्रहरी हिरासतमा छन् । स्रोतका अनुसार, जागिर खाने क्रममा नक्कली कागजात पेस गरेका कारण उनी समातिएका हुन् । छिट्टै उनी ‘डिपोर्ट’ हुनेछन् । उता, २७ वर्षीय हिमाल गिरी (परिवर्तित नाम) समातिनुको कारण चाहिँ कुटपिटमा संलग्नता हो । उनको मुद्दा हाल अदालतमा विचाराधीन छ । दोषी पाइए उनले ६ महिनाभन्दा बढी जेल सजाय भोग्नुपर्ने हुन सक्छ । यी त केही प्रतिनिधि घटना मात्र हुन् । अध्यागमन अधिकारीहरूको निसानामा अहिले नेपाली विद्यार्थीसमेत परेका छन् । अधिकांश विद्यार्थीले भूकम्पपीडित बनेर भिसा बढाउन ‘एफएलआर (ओ) क्याटेगोरिज’ मा आवेदन दिए पनि यूके भिसा एन्ड इमिग्रेसन (यूकेभीआई) ले त्यसलाई सीधै अस्वीकृत गरी ‘डिटेन्सन सेन्टर’ लैजाने वा घरबाटै समातेर नेपाल पठाउन थालेको कानुनी सल्लाहकारहरू बताउँछन् । बेलायती जेल र थुनामा कति नेपाली छन् भन्ने यकिन तथ्यांक लन्डनस्थित नेपाली दूतावाससँग पनि छैन् । कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले डिटेन्सन सेन्टरबाट धेरै फोन आउने उल्लेख गर्दै दूतावासले जेल रहेका नेपालीबारे सम्बन्धित निकायसँग तथ्यांक खोजिरहेको जनाए । बेलायतलाई अहिले टाउको दुखाइ र खर्चिलो भइरहेको छ गैर कानुनी आप्रवासी । माइग्रेसन वाच यूकेले बेलायतमा करिब दस लाख गैरकानुनी आप्रवासी रहेको अनुमान गरेको छ । सन् २०१४–१५ मा बेलायत सरकारले अध्यागमन नियन्त्रणका लागि मात्र १ दशमलव ८ विलियन पाउन्ड बजेट छुट्याएको थियो, जुन सरकारी कुल खर्च ७ सय विलियन पाउन्डको सरदर शून्य दशमलव २५ प्रतिशत हो । होम अफिसका अनुसार, गत जनवरी २०१४ देखि जुन २०१५ सम्म गैरकानुनी बसेका तीन हजार आप्रवासीलाई स्वदेश फर्काउन १४ मिलियन पाउन्ड खर्च भएको छ ।

२४ पुष २०७२, शुक्रबार ००:२३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

नेकपा सचिवालय बैठक आज, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी..

म्याराडोनाको अन्त्येष्टी, विदाईमा भीड अत्याधिक हुँदा प्रहरीद्वारा अश्रु ग्यास र रबरको गोली प्रहार

ब्युनस आयर्स । विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको अन्त्येष्टी गरिएको छ । एक निजी समारोहकाबीच..

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..