कसरी हेपिए तराईका मधेसी ? – फणिराज नेपाल

नेपालको भूगोल तीन किसिमको छ, हिमाल, पहाड र तराई । युग, पुस्ता र बुझिने, नबुझिने गरी भन्ने गरिएको र दुई सय ४० वर्षदेखि देशको शासन÷प्रशासनमा समावेश नगरी अवहेलना गरिएको (हेपिएको) कुरा अहिले सबै समुदाय, तप्का र भर्खरै टुसाएका दल, वर्ग, समूहले समेत नाराका रूपमा घन्काएका छन् । सबै वर्ग, दल र समूहले दुई सय ४० वर्षदेखि हेपिएकै कुरा गरेको सन्दर्भमा नहेपिएको कुन वर्ग वा दल होला ? छुट्याउन गाह्रो हुन्छ । त्यसमा पनि जनआन्दोलन–२ पछि हेपिएको कुरालाई आधार बनाएर मधेसी पार्टीले गरेको आन्दोलनले सबै क्षेत्र, तप्कामा समावेशी अवधारणाले बल पाएको कुरालाई नकार्न सकिंदैन । त्यसबाट कालान्तरमा हुने प्रभाव भारतमा जस्तो सुवर्ण र दलितबीच योग्यता र क्षमतालाई नजरअन्दाज गर्दा सम्प्रदायबीच देखिएको विद्वेषलाई पनि विचार गर्नुपर्ने हुन्छ ।
सन्दर्भ तराईमा रहेका मधेसी हेपिएको कुरा हो, यसबारे चर्चा गरौं । पारिवारिक, सामाजिक संरचना, परम्परा र व्यवहारलाई नियाल्ने हो भने परिवारमा, समाजमा, सानो, ठूलो, असल, कमसल आदि कुरा आफ्नो सन्तानमै पनि समावेशी भएको पाइंदैन । त्यस्तै समाजमा पनि संस्कारजन्य, पेसाजन्य कारणले वर्गीय, जातीय विभेद रहिआएको यथार्थ हेपिएको कुरा उठान गर्नेले पनि अनुभव गरेकै हो । हिजो राणाशासनका पालामा विभेदमा कुनचाहिं वर्ग, जात बांकी रहेको थियो होला ? सामाजिक व्यवहार अध्ययन गर्नेले अनुभव गर्ने कुरा हो ।
नेपाल भूगोलको रूपमा हिमाल १५ प्रतिशत, पहाड ६८ प्रतिशत र तराई १७ प्रतिशत रहेको छ । ०५८ सालको तथ्याङ्कअनुसार नेपालको जनसङ्ख्या हिमालमा नौ प्रतिशत, पहाडमा ४३ प्रतिशत र तराईमा ४८ प्रतिशत छ । हिमाल र पहाडको तुलनामा तराईको भूभागमा बस्नेको जनघनत्व बढी छ । हिजोको बन्दी अवस्थामा बाटोघाटो, शिक्षा, स्वास्थ्यको असुविधाका बाबजुद हिमाल–पहाडको जनसङ्ख्या बढी थियो भने तराईमा औलोको प्रकोप र जङ्गलैजङ्गल भएकोले जनघनत्व कम थियो । राणाकालको समाप्तिपछिको राजनीतिक परिवर्तनले देशको शासन, प्रशासनमा खुकुलोपन र सुधार आई विकास र निर्माणको काममा पनि तीव्रता आयो । २००९ सालको अमेरिकी ग्रामीण विकास र औलो नियन्त्रण कार्यक्रमको प्रभावले धेरै हदसम्म काम गर्न र बस्नलायक भई तराई क्षेत्र सुगम हुन थाल्यो । फलतः पहाडबाट नुन, तेल, पहाडका लागि सालको एकखेप भर्नेहरू पटकपटक झर्दै आफ्नो देशको सुगम र उब्जाइलो ठाउंमा बस्न थाले ।
सिमाना जोडिएको भारतीय रेल्वेको लागि र अन्य निर्माण कामका लागि तराईको जङ्गल मासिई सीमापारिको बेरोजगार र बाढीपीडित क्षेत्रका मानिसहरू काम र मामका हिसाबले आउनेको ओइरो नै लाग्यो । त्यसबखतको अशिक्षित, अप्रशिक्षित र न्यून सङ्ख्या भएको क्षेत्रको जनताका तुलनामा पारिबाट आउनेले काम र माम सहजै पाउन थाले । पहाडबाट आउनेले उत्तर क्षेत्रको जङ्गल आवादी गरे भने भारतबाट आउनेले दक्षिणी क्षेत्र आवादको काम गर्दै बसोबास गर्न थाले ।
राजनीतिक स्वतन्त्रतासंगै देशमा खुरुखुरु विकास निर्माणकार्यको थालनी हुन थाल्यो । तराई सुगम क्षेत्र भएकोले व्यापारिक, औद्योगिक क्रियाकलापलगायत विकास निर्माणका लागि बजेट व्यवस्था हुन थाल्यो । फलतः बाटोघाटो, कलकारखाना, सिंचाइ, शिक्षा, स्वास्थ्य, खानेपानी आदि आधारभूत सुविधाका लागि बजेटको ठूलो हिस्सा (राजधानी छाडेर) तराईकेन्द्रित हुन थाल्यो । सांच्चै भन्ने हो भने पहिलो योजनादेखि पांचौं योजनासम्म विकास बजेटको ठूलो भाग तराईकेन्द्रित रह्यो । छैटौं योजनादेखि मात्र सन्तुलित विकासको अवधारणाले बल पाएको हो ।
सामन्त, संभ्रान्त र पञ्चहरूको बिर्ता जागिर आदिको प्रभाव र सोचले विकास बजेटको ठूलो भाग तराईकेन्द्रित भई हिमाल–पहाडको तुलनामा विकासमा तराई निकै अगाडि छ । फलस्वरूप तराईका मधेसीहरूको पहुंच शिक्षा र रोजगारीमा पनि निकै छ । केही अपवाद (शासन÷प्रशासन)बाहेक मधेसीको प्रभाव विस्तारमा छ । व्यापार, उद्योग, कलाकारखाना, शिक्षा, प्रविधि, कृषि निर्माणको क्षेत्रमा मधेसीहरूको पहुंच बढ्दो रूपमा छ । त्यसमा नवआगन्तुक मधेसीहरूको पनि योगदान छ । अहिले पनि ठूलो सङ्ख्यामा रोजगारीका लागि पारिबाट आउने, साइकलमा विभिन्न व्यवसाय गर्ने, रिक्सा, ठेला चलाउने तथा कृषि र निर्माण कामका लागि आउने मजदुरहरू प्रशस्त छन् ।
हाल मधेसीहरू तराईमा मात्र होइन राजधानी र पहाडका कुनाकाप्चामा पनि शिक्षक, प्राविधिक, व्यापारीको रूपमा फैलिंदै छन् । देशको माथिल्लो क्षेत्रमा शिक्षक, प्राविधिक, व्यापार–व्यवसाय गरेका मधेसीहरू राम्रोसंग बसेका छन् । भित्री दून र सडक सञ्जाल पुगेको पहाडका व्यापारिक क्षेत्रमा पनि पुगेर व्यवसाय गरेका मधेसीलाई फरक सम्प्रदाय भनी विभेद गरेको पाइंदैन । राजधानीका एकाध घटनाबाहेक शिक्षा, स्वास्थ्य, व्यापार, उद्योगमा पेसा बनाएका मधेसीलाई पहाडका मानिसले विभेद गरेको पाइएको छैन ।
उपरोक्त पक्ष र रोजगारीको सुगमताको हिसाबको तुलनामा हेपिएको कुरालाई मनन गर्ने हो भने थर्काउने, तर्साउने, धम्क्याउने हिसाबले प्रपञ्च गरिएको भान हुन्छ । नेपालको राजनीति गर्नेहरूको अधोगति सोच, निष्क्रियता, टालटुल गर्ने, तर्किने र पन्छिने प्रवृत्तिले सामाजिक सद्भाव खलबल्याउने र विद्वेष बढाउने काम गरेको छ । नभए त हिमाल, पहाडको दुर्गमता, अशिक्षा र अभावबारे बढी कुरा उठ्नुपर्दथ्यो । हिमाल, पहाड जहां ६ महिना पनि खान नपुग्ने अवस्था छ, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत कुरा दुर्गम र दुरुह छ, त्यहां हेपिएको कुरा नआउने, अनि तराईमा खाद्यान्न, सिंचाइ, बिजुली, बाटोघाटो, शिक्षा, स्वास्थ्य र कलकारखानामा रोजगारीलगायतको सुगमता भएको क्षेत्र छ र बहुसङ्ख्यक मधेसीहरू रोजगारीमा छन् र पनि मधेसी हेपिएको भन्नु जबर्जस्त कुराबाहेक के हुन सक्छ ?
यसो भए तापनि पहाड, हिमालका मानिसको सद्भाव र सतर्कताले सामाजिक व्यवहार खल्बलिन र बिथोलिन पाएको छैन । तराईको तुलनामा पहाडमा शिक्षा, स्वास्थ्य, बाटोघाटो, सञ्चार, औद्योगिक व्यापारिक गतिविधि कम हुंदा पनि राष्ट्रिय सद्भाव र सामन्जस्यता खल्बलाउन उद्यत् भएन । अन्यथा राष्ट्रिय विभूति र सम्प्रदायविरुद्ध तराईका मधेसीहरूले गरेको सामाजिक विचलन एउटै देशका अगाडिदेखि बसेका नागरिकलाई ठाउं कटाउने व्यवहार हुनु, विस्थापित गर्ने आदि काम कारबाही कुनै हालतमा पनि निको मान्ने कुरा होइन । यत्रो सम्प्रदाय विद्वेष हुंदा पनि आमनागरिकले गर्ने सहज व्यवहार गर्नुका साथै पहाडमा रहेको मधेसीविरुद्ध कुनै विष वमन नभएको कुरो तराईमा राजनीति गर्ने मधेसी नेताले अनुभव गर्नुपर्ने कुरा हो ।
तराईका क्षेत्रीय दल, सम्प्रदाय समूहबाट राष्ट्रिय विभूतिका सालिक ढाल्दा, पहाडी सम्प्रदायविरुद्ध खनिंदा, पहाडका पुस्तान्तरदेखि आफ्नो देशको भागमा आई बसेका मानिस तराईबाट खेदिंदासमेत तराईका नेताहरू सामाजिक सद्भाव खलबल्याउनेविरुद्ध किन एक भएर बोल्न सकेनन् ? सीमापारिबाट आउनेले तराईका नागरिकको रोजगारी खोसेको र खुला सीमा नै कारक हो भनेर सीमा प्रशासनबारे किन एक शब्द पनि बोल्दैनन् ? स्वतन्त्रता आत्मनिर्माण, समानुपातिक, प्रतिनिधित्वजस्ता मधेसी पार्टीले उठाउने मागबारे गाउंका खेती, मजदुर गरेर खाने तत्मा, मुसहर, दुसाध, चमारहरू अनभिज्ञ छन् । उनीहरूका लागि यी मागभन्दा पनि जमिन, रोजगारी र स्थानीय मधेसी नेता र टाठाबाठाको शोषणबाट मुक्ति चाहिएको छ । तराईका मधेसी महिलालाई पुरुषसरह समान व्यवहार चाहिएको छ । आफ्नै समाजभित्रको दुर्गुण र फरक व्यवहार कम गर्नेतर्फ मधेसी नेताहरूबाट सजगता, दलित, पिछडिएको र महिला समुदायप्रति भइरहेको व्यवहारमा समानता आजको आवश्यकता हो । आफ्नो आङको भैंसी नदेख्ने तर अर्काको आङको जुम्रो देख्ने व्यवहारले मधेसी समाज उंभो लाग्ने होइन ।
यस्तोमा आफूलाई तराईका स्वनामधन्य मान्ने मधेसी नेताहरूले ‘समग्र मधेस एक प्रदेश’ नभए एक नेपाल पनि नरहने, पहाडी नेताको नियत ठीक नभएकोलगायतका अतिरञ्जित कुरा गर्ने गरेबाट उनीहरू राष्ट्रिय सामन्जस्यभन्दा पनि सङ्क्रमणकालको फाइदा लिने दिवास्वप्नमा छन् भन्ने देखिन्छ । यस्तो बोली–व्यवहारले देशको राष्ट्रिय एकता र तराईको हित हुन सक्दैन । तराईका स्थानीय मधेसी समुदाय सीमापारिकाहरूबाट रोजगारी खोसिई पञ्जाव, हरियाणा, कोलकाता, कस्मिर र खाडी देशमा जानुपरेको कुरा बताइरहनुपर्दैन । सङ्क्रमणकालमा व्यक्तिगत फाइदाका लागि तराईमा फैलिएको आततायी घटना, तोकिएको समयमा संविधानसभाको चुनाव गराएर सामाजिक सद्भाव कायम गर्नेभन्दा चुनाव हुन नदिने, बिथोल्नेजस्ता सशस्त्र समूहको आड लिएर धम्क्याउने कुरा आउनु कति प्रजातान्त्रिक हो ? साम्प्रदायिक हत्या गर्ने, बेघरबार गर्ने, चन्दआतङ्कजस्ता क्रियाकलापविरुद्ध तराईका मधेसी नेताहरू कति जिम्मेवार छन् त ? यी कुरा मधेसी समुदायले मनन गर्नु जरुरी छ ।
आज तराईमा भएको आतङ्क, चन्दाअसुलीबाट सम्पूर्ण तराईबासी सन्त्रस्त छन् । तराईका खास मधेसीहरूले देशमा सामाजिक, सद्भाव र शान्ति चाहेका छन् । हिजो सबै समुदायबीच रहेको व्यवहार र विश्वास कायम रहोस् भन्ने चाहेका छन् । छिमेकी राज्यमा हुने डकैती, चोरी, साम्प्रदायिक दंगा, दुव्र्यहार नहोस् र यसको नकारात्मक प्रभाव नपरोस् भन्ने चाहेका छन् । सानो देशको सबै क्षेत्रका मानिसबीच समग्रमा आपसी भाइचाराबाट आगामी दिन सहज होस् भन्ने चाहेका छन् । तराईमा मधेसी मात्र छैनन्, देश, काल र परिस्थितिअनुसार देशको विभिन्न क्षेत्रबाट आएका अन्य समुदाय पनि छन् । देशको एक–अर्का क्षेत्रबाट आए÷गएका मानिसबीच व्यवहार र संस्कृतिबाट नै सद्भाव र सामञ्जस्य कायम हुनेछ । साम्प्रदायिक कुरा गरेर, चाहिंदो÷नचाहिंदो कुराले उक्साएर राष्ट्रको भलो हुंदैन । आज तराईमा सम्प्रदायविरुद्धका कुरामा मधेसी नेताहरूको सोच, दृष्टिकोण कस्तो छ भन्ने कुरा मिडियामा मधेसी लेखकहरूले दिएको विचारबाट पनि प्रस्ट हुन्छ ।
तराईको सशस्त्र आतङ्कविरुद्ध, चन्दाआतङ्कविरुद्ध, रोजगार खोसिएकोविरुद्ध, देशकै एक भागबाट अर्को भागमा बसेका नागरिकलाई लखेटेकोविरुद्ध नबोल्ने, नागरिक र राष्ट्रिय कर्तव्यसमेत नसम्झने मधेसी पार्टीका नेताहरूलाई तराईका जनताले चिन्न थालेका छन् । तसर्थ, देश र क्षेत्रका नागरिकबीच साझेदारी र सौहार्दता आजको आवश्यकता हो । देशको विद्यमान यावत् नागरिक कर्तव्य, अधिकार, शासन प्रशासनमा सहभागिता आदिको छिनोफानो त नयां संविधानले नै गर्ला ।

९ असार २०६९, शनिबार १४:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै संक्रमितको संख्या बढी हो ।..

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले..

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..