इच्छा मृत्युको चाहना :: मणि लोहनी

मृत्यु मानिसको वशभन्दा बाहिरको कुरा । मन लागेर मर्न कहाँ सकिन्छ र ? ज्यादाभन्दा ज्यादा जिन्दगीसँग आत्तिएको मानिसले आत्महत्यासम्म गर्न सक्छ । तर, त्यो पनि अपराध हो । इच्छामृत्यु आफैँमा एउटा फरक र भिन्न चाह हो । मर्ने चाहना उब्जनु आफैंमा सुखद कुरा नहुन सक्छ, तर दुःखको दलदलमा बसेर बाँचिरहनुभन्दा कति सन्दर्भ र अवस्थामा मर्नु उत्तम हुन सक्छ । र, त्यस्तो अवस्थामा इच्छामृत्युको व्यवस्था हुनुपर्छ भनेर विश्वभर बेलाबेलामा कुरा उठिरहेको छ ।
वैशाख १२ को महाविनाशकारी भूकम्पपछि निरन्तर पालमा सुतिरहेका एक पूर्वन्यायाधीशले आत्महत्या गरे । उनले आफ्नो सुसाइड नोटमा लेखे, ‘यो आत्महत्या होइन इच्छामरण हो ।’ उनको आत्महत्यालाई उनकै चाहनाझैँ इच्छामरण मानियो । तर, त्यो आत्महत्या नै थियो । आत्महत्या र इच्छामृत्यु फरक–फरक कुरा हो ।
मानिसमा मर्ने चाहको विकास हुनु भनेको त्यो सामान्य अवस्था होइन । यिनै असामान्य अवस्थाको अनुभूति समेटिएको कथासङ्ग्रह हो ‘फ्रिडम टु डाई’ । डा. निर्मल ज्ञवालीको यस कथासङ्ग्रहको शीर्षकथा अद्भूत छ ।
पढ्दै गर्दा म पटक–पटक झस्किएँ । यस कथामा मान्छे स्वस्फुर्त मृत्युवरण गर्न जान्छन् फर्म भरेर । मृत्युको सम्बन्धमा मान्छे स्वतन्त्र हुनुपर्छ भन्ने ज्ञवालीको आग्रह छ । गम्भीर भएर पनि के गर्ने ? मृत्यु त आउँछ आउँछ, अनि टप्प टिपेर लिई जान्छ । एउटी पात्र दुई महिनापछि स्वेच्छिक मृत्युवरणका लागि फर्म भरेर जान्छिन् । उनी दुई कदम अगाडि बढ्दा–नबढ्नै मृत्युको डोली चढिन् भने को जिम्मेवार ? अर्काे पात्रले पाँच महिनापछि मृत्युवरणका लागि फर्म भरेका हुन्छन् । ती पात्रले पाँच सेकेन्डमा मृत्युको सिरानी चुमे भने नि !
केही दार्शनिकबाहेक स्वेच्छिक मृत्यु हामी कोसँग छ ? कथामा गहनता खोज्नेले उठाउने प्रश्न हुन सक्छ । मृत्युलाई भयानक होइन सिमलको भुवाको रूपमा लिन सकियो भने के होला ? यस्तै केही कुराहरू सञ्चार गर्छ फ्रिडम टु डाईले । कथाका संवादहरू भिन्न र फरक लाग्छ ।
भिन्न र फरक सन्दर्भ यस सङ्ग्रहभित्र पढ्न सकिन्छ । कथाहरू रोचक र अनुभूतिजन्य छन् । डा. निर्मल ज्ञवालीको यस सङ्ग्रहभित्र डायस्पोरिक गन्ध पाइन्छ । आफ्नो भूगोल परको अनुभूति भेटिन्छ । बुकहिल पब्लिकेसन्सबाट प्रकाशित प्रस्तुत सङ्ग्रहभित्र २३ वटा कथा समावेश छन् ।
यो कथासङ्ग्रहमा फ्रिडम टु डाई, ड्रिमर, मामा, तेसी फ्यायोल्याङ, सुसाइड, यात्री, क्यान्टिनकी बहिनी, ओपेरा डायरी, पल्लवी, ह्वाट इज द पर्पज अफ लाइफ ?, परदेशी छोरो, मिटिङ, पेन्डुलम, प्रयास, ऊ, अज्ञानता परमानन्द, डेड पर्सन, रिचार्ज, मन्त्र, ट्रान्जिट, अधैर्य, साहित्य र प्रविधि, भर्चुअल रियालिटी शीर्षकका कथाहरू पढ्न पाइन्छ । कथा छोटा र विषयवस्तुको भारी बोक्नु नपर्ने हुनाले पढिरहँदा रमाइलो लाग्छ । सहज भएकाले पनि बढी प्रिय छन् यी कथाहरू ।
ड्रिमर सामान्य तर हाम्रा लागि नयाँ परिवेशको कथा हो । मामा शीर्षकको कथा हाम्रो समाजको कथा हो । हाम्रो मुखबोलीको घटनालाई नयाँ तरिकाले प्रस्तुत गरिएको छ । सबै कथाहरू सामान्य छन् । परदेशी छोरो कथाले मनलाई भावुक बनाउँछ । आँसु झरिहाल्न सक्छ वा थाहा नपाईकन आँसु बगेर गालासम्म आइसकेकोे हुन्छ । अज्ञानता परमानन्द कथाले साँचो कुरा भनेको छ तैपनि मन दुख्दो रै’छ । कालो मान्छेलाई काले भन्दा, क्षणिक रिस नदेखाउला, तर उसलाई गम्भीर असर गरेको हुन्छ गोराहरूको समाजमा । मलाई त्यस्तो लाग्छ । नहुन पनि सक्छ । नेपाल अविकसित, फोहोर, धुलोधुवाँ मात्रै छैन । यो कथालाई बुनेको तरिका रोचक छ । मन प-यो ।
निर्मलका कथाका पात्रहरूमा स्वदेश मोह अनुभूत गर्न सकिन्छ । जसलाई ढोग मान्न मन लाग्छ । हरेक पात्रलाई स्वदेश मोह देखाउने, अनि सबै आफूहरू जो विदेशमा छन् विदेश मोहमा रमाउने । पात्रहरू पटक्कै विदेशमा बस्न चाहँदैनन्– कथा पढिरहँदा यस्तो लाग्छ ।
सबै कथा पढिसक्दा लाग्छ, लेखक विचारका धनी छन् । तर, कथामा कतै पनि पाठकले विचारको भारी बोक्नुपर्दैन । विचारको भारी लेखक आफू पनि बोक्दैनन् । कति सजिलै लेख्न सकेको ! विम्बहरू कति सरल ! निर्मललाई शीर्षक पनि गतिलो चाहिँदो रहेनछ ।
सुरुमै मृत्युको प्रसङ्ग कोट्याएर संसार घुमाउने निर्मल अनौठा छन् । उनका कथाहरू मानिसका सम्बन्ध र सोचका कथाहरू हुन् । यो आफ्नो भूगोल परको अनुभूतिले भरिएको सङ्ग्रह हो । यसभित्र न धेरै प्रेमका कथाहरू छन्, न कथामा यौनका प्रसङ्गहरू नै छन् । यी जीवनवादी अनुभूतिजन्य कथाहरू हुन् ।
डा. निर्मललाई म चिन्दिनँ । फ्रिडम टु डाई पढेपछि मैले यिनको बारेमा चासो राखेँ । यिनी चिकित्सक रहेछन् । अस्ट्रेलियामा बस्दा रहेछन् । एक आइटी एक्सपर्ट पनि रहेछन् । र, ब्लगर पनि रहेछन् । तर, मैलेचाहिँ पढेको रहेनछु । पहिलोचोटि नै यिनको कथा पढ्न पुगेँ र बहुत प्रभावित भएँ । फरक र भिन्न लेखन शैलीले मलाई गहिरोसँग खिचेको छ । फेरि मृत्यु प्रसङ्ग आफैँमा प्रिय विषय हो मेरो ।
अस्टे«लियालाई कर्मथलो बनाएर फरक भूगोलका कथा लेखिरहेका डा. निर्मल मलाई निकै मन परेको छ । ‘सुसाइड’, ‘डेढ पर्सन’, ‘ह्वाट इज द पर्पज अफ लाइफ’ आदि कथाले वैदेशिक पृष्ठभूमिको यथार्थता व्यक्त गर्दछ ।
निर्मलका पात्रहरूले बोल्ने संवाद प्रिय छ । मन छुनेछ । कथाका विषय, पात्रको चरित्र र उनीहरूले बोल्ने संवाद यी निर्मलको कथाकारिताको शक्तिशाली पक्ष हो । उनका कथाहरूमा शुद्धाशुद्धिका केही समस्या देखिएका छन् । कुनै–कुनै कथामा ज्यादा देशभक्ति झल्किएको छ । यीबाहेक निर्मलको लेखनमा खोट लगाउनुपर्ने कुरा केही छैनन् । सरल भाषामा जीवन दर्शनका कुरा गर्न खप्पिस यी अपरिचित कथाकारको म प्रशंसक बनेको छु ।

२८ जेष्ठ २०७२, बिहीबार ०२:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ ।..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..

बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गरे : ट्रम्प

न्यूयोर्क । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेटिक प्रतिस्पर्धी जो बाइडेनले विज्ञान र विज्ञको कुरा..