हामीसँग के छ ? :: बबिता बस्नेत

विनाशकारी भूकम्पपछि उद्धार गर्न आएका धेरैजसो विदेशीले नेपालीका बारेमा उस्तैउस्तै ‘इम्प्रेसन’ लिएर गए । प्रायः सबैले भनेको सुनियो, ‘नेपालीहरू कति राम्रा मान्छे रहेछन्, हेर्दा पनि राम्रा, मन पनि राम्रो । परिवारका सदस्य मरेका छन्, घर भत्किएको छ, सम्पत्तिका नाममा आफूसँग बाँकी केही पनि छैन । तर पनि कुनै आक्रोश छैन, नम्र भएर बोल्ने, अलिकति पनि राम्रो कुरामा मुसुक्क मुस्कुराउने, कति धैर्यवान, अचम्मै !’ यस्तो अचम्म उनीहरूले जापानमा बाहेक अन्त देखेका रहेनछन् । एक युरोपियन पत्रकारले यस पङ्क्तिकारसँगको भेटमा भनेकी थिइन्, ‘म गोरखा गएकी थिएँ, उनीहरूलाई त्यस्तो आपत् परेको छ, तर पनि मलाई भनिरहेका थिए कि त्यति टाढाबाट आएकी पाहुनालाई हामीले चिया पनि खुवाउन पाएनौँ । उनीहरूको बोलीको अनुवाद सुनेपछि मेरा आँखाबाट आँसु झरे ।’ राहत लिँदा अरू देशमा हारालुछ गर्दै लिएको दृश्य देख्ने अर्का उद्धारकर्मीले हाम्रा सुरक्षा अधिकारीसँग भनेका रहेछन्, यहाँका पीडितले राहत सामग्री लिँदा अप्ठ्यारो मानेर लिएको देखेर म अन्दाज गर्न सक्छु भूकम्पअघि यिनीहरू कति धनी थिए होला । यसरी आँसु पुछ्दै हाँस्ने मान्छे त विश्वमा कमै भेटिन्छन् । हुन पनि हामी फरक नै हौँ, यस्तो विपत्तिमा पनि सकेको व्यवस्थापन आफैंले ग-यौँ, गरिरहेका छौँ । भूकम्पपीडित हुन् या प्रभावित सन्त्रासकाबीच पनि आ–आफ्नो काम गरिरहेकै छन् । गोठमा वस्तु मरेर गए, तर पछिलाई घाँस चाहिन्छ भनेर बारीमा जोहो गर्नेदेखि लिएर हुर्कंदै गरेका मकै गोड्ने हुँदै अन्य सानातिना व्यापार–व्यवसाय । पतिको तेह्रदिने काजकिरिया सक्नासाथ बारी खोस्रिन पुग्ने हुन् या बाबुआमा बितेर गए अब उनीहरूका नाममा केही गर्छु भनेर सोच्ने, सबैले जीवन बाँच्नुको अर्थ दुःखसुखको निरन्तरता हो भन्ने प्रमाणित गरिरहेका छन् ।
ललितपुरको बागडोलमा यस पङ्क्तिकारका छिमेकी छन्, हिरा महर्जन । भुइँचालोले उनको घर ढल्यो, आफ्नै घरमा सानो पसल थियो त्यो पनि बाँकी रहेन । राहतका नाममा केही पाएनन्, न त कसैले सोध्न आयो न त उनी खोज्दै हिँडे । आफन्तहरू कसैले तार दिए, कसैले डोरी ल्याए, बुहारीका माइती आए, नजिकका मान्छे जम्मा भए, पुराना जस्तापाता जोडेर ढलेको घरको नजिकै प्लास्टिकले बेरेर सानो संसार बसाए । त्यही अस्थायी सानो झुपडीमा पसल सुरु गरे । सशस्त्रको टोली आएर बाँकी रहेका घरका भित्ताहरू भत्काइदियो, त्यसलाई पनि ठूलो गुन माने, सरकारले यति ग-यो, म मात्रै हो र ? कति छन् अहिले गर्नुपर्ने भन्दै सशस्त्र प्रहरीको प्रसंशा गरे । उनको प्लास्टिके झुपडीका अगाडि गाईको गोठ छ, गोबर गनाएर बस्नै गाह्रो, ठूलो हुरीबतास आउँदा सबैले झुपडी समातेर बस्नुपर्छ । भत्किएको खण्डहरमा ढुङ्गा माटो पन्छाउने क्रममा श्रीमती र बुहारी आफूले राखेका केही सामानहरू भेटिएलान् कि भनेर खोजिरहेका हुन्छन् । तर, कसैसँग कुनै गुनासो छैन । भन्छन्– मान्छेलाई कस्तो परेको छ, कम्तीमा हामी त बाँचेका छौँ ।
हिरा महर्जन प्रतिनिधि पात्र हुन्, धेरै पीडितको अवस्था अहिले उस्तै छ । कति दिन शोक मनाउने ? सबैभन्दा ठूलो कुरा हामीसँग मन रहेछ । एक–अर्कालाई पर्दा सहयोगी हातहरू बढे । कसैले सुत्केरीलाई हेरे, कसैले गर्भवतीलाई, कसैले वृद्धवृद्धा त कसैले बालबालिका । खाना, कपडा जे सहयोग गर्न सकिन्थ्यो गरे । हामी प्रायः गैरसरकारी संस्थाप्रति नकारात्मक छौँ, तर यसपटकको आपत्तिमा गैरसरकारी संस्थाको सहयोग चुस्त रह्यो । यदि गैरसरकारी संस्था र निजी या व्यक्तिगत रूपमा सहयोग नपुगेको भए परिस्थिति फरक बन्न सक्थ्यो । हाम्रोजस्तो आपत्विपत्मा एक हुने समाज विश्वमा विरलै छ । यता राज्यका निकाय सुरक्षा क्षेत्रको त झन् कुरै भएन, घरपरिवारका सदस्य बितेका सुरक्षाकर्मीले समेत अहोरात्र खटिएर काम गरे, गरिरहेकै छन् । नेपालको सुरक्षा क्षेत्र कति मजबुत र चेन अफ कमान्डमा रहेछ भन्ने कुरा छिमेकी मुलुकहरूले मात्र होइन सारा विश्वले आत्मसात् ग-यो । विभिन्न धर्म–समुदायसम्बद्ध संस्थाहरूले पनि त्यत्तिकै गरे । कसैले खाना खुवाए, कसैले पाल र कपडा बाँडे । यसपटकको विपत्मा युवाको भूमिका पनि त्यत्तिकै महत्वपूर्ण रह्यो, युवा स्वयम्सेवीहरू स्वस्फुर्त रूपमा खटिए । यतिसम्म कि पटकपटक जाने भुइँचालोका कारण स्वयम्सेवीका रूपमा खटिएका आफ्ना सन्तानलाई केही होला कि भन्ने परि बाबुआमालाई भइरह्यो, तर उनीहरूले आफ्नो ड्युटी छोडेनन् । अझै खटिएकै छन् ।
पहिलो र दोस्रो दुवै भूकम्पपछिको अवस्थामा मिडियाको भूमिका पनि त्यत्तिकै प्रभावकारी रह्यो । सानातिना त्रुटि भए होलान्, तर भूकम्पले हल्लाइरहेका घर, डाँडा र बाटाहरू खिच्दै हिँड्नु टेलिभिजन क्यामेरा पर्सनहरूका लागि कम जोखिमपूर्ण थिएन । उद्धारका लागि पुगेका सुरक्षाकर्मीसँगै मिडिया अप्ठ्यारा ठाउँहरूमा पुगे । हाम्रो मिडिया त्यति साधन–स्रोतसम्पन्न छैन, तर पनि आफूसँग जे थियो त्यही लिएर जनताको सुसूचित हुने अधिकारलाई पूर्णता दिए । मिडिया क्षेत्र आफ्नै समस्याबाट गुज्रिरहेको छ । विदेशी मिडियाकर्मीले प्राकृतिक विपत् या द्वन्द्वग्रस्त स्थानमा गएर रिपोर्टिङ गर्दा उनीहरूले प्राप्त गर्ने सुविधा र बोनस निकै आकर्षक हुन्छ, तर हाम्रा कतिपय मिडियाकर्मीले महिनौँदेखि तलब नपाएको अवस्था छ । यस्तो परिस्थितिमा मिडियाले निर्वाह गरेको व्यावसायिक धर्म आफैँमा महत्वपूर्ण छ । जिल्लाका हुन् या राजधानीका आफ्नो ज्यान जोखिममा राखेर पत्रकार र प्राविधिकहरू त्यत्तिकै सक्रिय रहे । धेरैजसो टेलिभिजन र रेडियोका स्टुडियोहरू दुई–तीन तलामाथि थिए, छन् । अखबारका कार्यालयहरू पनि त्यस्तै । जति माथि बस्यो त्यति राम्रो, हावा लाग्ने, खुला, लेख्न मुड बन्नेजस्तो लाग्थ्यो पहिला । जेहोस्, यति ठूलो विपत्तिपछि पनि पटकपटक गएको भूकम्पले दिएको मानसिक त्रास र जोखिमबीच पनि समाचार सम्प्रेषणमा कुनै कमी भएन । यता, ढिलै भए पनि राजनीतिक दल, तिनका भ्रातृ सङ्गठन र नेताहरू पनि अहिले सहयोगमा जुटेका छन् ।
कहिल्यै नभोगेको यसप्रकारको विपत्तिमा पनि केही अर्थमा हामी भाग्यमानी भयौँ । अन्य केही मुलुकमा झैँ हामीकहाँ एयरपोर्ट अवरुद्ध भएन । बिजुलीबत्ती केही दिनलाई गयो, तर सबैतिर गएन । टेलिफोन सेवाले मुलुकका विभिन्न भाग र विश्वलाई जोडिरह्यो । आपत्विपत्पछि प्रायः लुटपाट मच्चिन्छ, तर हामीकहाँ त्यस्तो केही भएन । छिटफुट घटना त मुलुकमा विपत्ति नआउँदा पनि हुने गरेकै थिए । आर्यघाटमा जल्दै गरेका लासका लहर देखेर, लास राख्ने र जलाउने ठाउँ नपाएका खबर सुनेर या आफ्नै परिवारका सदस्य गुमाएर मन छियाछिया हुँदा पनि धैर्य गुमाएनौँ । यसपटकको महाविपत्तिलाई लिएर एकछिन् सोच्ने हो भने यस्तो लाग्छ, हामीसँग त्यस्ता धेरै कुरा रहेछन् जुन अन्य धेरै मुलुकका मानिससँग छैन । अचम्म लाग्छ, यत्तिका राम्रा कुराका बाबजुद हामी कसरी गरिब भयौँ ? गरिब मुलुकको सूचीबाट यो देशलाई कहिले र कसरी हटाउने होला ?

१४ जेष्ठ २०७२, बिहीबार ०७:५० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु

काठमाडौँ, २४ जेठ । कोरोना भाइरसका कारण नेपालमा थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डोल्पाका पुरुष..

जेठ २५ देखि छोटो दुरी र असार १ देखि लामो दुरीका गाडी चलाउने प्रस्ताव

काठमाडौँ, २४ जेठ । सरकारले एक सयभन्दा कम व्यक्तिमा कोरोना संक्रमण देखिएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका..

गंगा चौधरीलाई सरिता गिरीको प्रश्न, ‘चीनको इशारामा ममाथि आरोप लगाइएको त होइन ?’

काठमाडौँ, २३ जेठ । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेकपाका सांसदले आफ्नो विषयमा संसदमा..

विदेशबाट आउने नेपाली राख्न होटल क्वारेन्टाइन तयार, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

निरोज थापा, काठमाडौँ, २३ जेठ । विदेशमा रोकिएका नेपालीलाई उद्दार गरि ल्याईएका नेपाली राख्न होटल क्वारेन्टाइन..

विदेशबाट नेपालीको उद्दार गर्न सुरु, २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ, २३ जेठ । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार सुरु भएको छ । सरकारले पहिलो चरणमा म्यानमारबाट २६..