कम्पले बदलिदिएको दृष्टिकोण :: बबिता बस्नेत

व्यावसायिक जीवनको दौडधुपमा वर्षौंदेखि धेरै कुरा छुटेर गए । नजिकका नातेदारहरूका विवाह, ब्रतबन्ध, पास्नी, पूजा, घरपैँचो या यस्तै अन्य सामाजिक–सांस्कृतिक कार्यहरूमा प्रायः जान सकिएन । दुःखका बेला साथ दिनुपर्छ भन्ने मान्यताले निर्देशित भएर काठमाडौँमा भएका आफन्तका मृत्युमा सकेसम्म तेह्र दिनभित्र एकपटक अनिवार्य रूपमा जाने गरे पनि पारिवारिक अन्य धेरै कार्यहरूमा सहभागी भइएन । अहिले विगतलाई फर्किएर हेर्दा कहिले कता, कहिले केमा, सधैँ डेडलाइन, सधैँ हतार, व्यावसायिक दुनियाँको भागदौडले टाढाको संसार नजिकझैँ र आफ्नै सेरोफेरोचाहिँ निकै टाढाजस्तो भइसकेछ ।
वैशाख १२ गतेको भुइँचालोले पृथ्वी मात्र हल्लाएन जिन्दगीलाई एकपल्ट रिभ्यु गर्न मन लाग्ने गरी मनलाई पनि हल्लाएर गयो । भूकम्पपछिको पहिलो पारिवारिक समारोहका रूपमा यही वैशाख २५ गते शुक्रबार मेरी कान्छी फुपू (बाबा दिज्यु) को कान्छो छोराको विवाह थियो मोरङको उर्लाबारीमा । दिज्युले भन्नुभो, ‘मलाई थाहा छ तिमी व्यस्त छ्यौ, सकेसम्म मिलाएर आऊ है ।’ जुन कुरा उहाँले गत वर्ष आफ्नो जेठो छोरा र छोरीको विवाहका बेला पनि भन्नुभएको थियो । ठूलो बुबा, माइलो बुबा, काका, उहाँहरूका छोराछोरी, फुपू दिज्युहरू सबैले बोलाउँदा कहिल्यै कतै जान नसकेपछि प्रायः सबैले सुरुमै भन्न थालेका थिए, तिमी व्यस्त छौ, मिलेसम्म आऊ । यसपटक पनि विवाहको निम्ता म जान्छु भनेर गरिएको थियो जस्तो लाग्दैन, तर फोन राख्नेबित्तिकै मनमा लाग्यो– म यो विवाहमा जान्छु, एकै ठाउँमा धेरै नातेदारसँग भेट हुन्छ, म जान्छु ।
बुद्ध एयरको टिकट लिएँ, बिहान पहिलो फ्लाइटमा विराटनगर जाने र अन्तिम फ्लाइटमा काठमाडौं फर्कने । बिहान पौने आठ बजेको फ्लाइट थियो, जसका लागि पौने सात बजे एयरपोर्ट पुग्नुपथ्र्यो । म सामान्यतयाः मर्निङ पर्सन होइन, तर पाँच बजे नै उठेँ, छोटो शारीरिक अभ्यासपछि ठीकठाक परेँ र समयमै एयरपोर्ट पुगेँ । फ्लाइट अनटाइम रहेछ, साढे आठ बजे विराटनगर पुगेँ । प्लेनमा अखबार पढ्दा भूकम्पमा मर्नेका १३ दिनका दिन फोटोसहितका संवेदनाहरू देखेर लाग्यो, मरेको भए आज १३ दिन हुने रहेछ । प्लेनमा सबैजना एक–अर्कालाई वर्षौंदेखि चिनिरहेकोझैँ गरी भूकम्पकै अनुभव सुनाइरहेका थिए । आफू सुरक्षित रहनका लागि जिन्दगीभरको पसिनाबाट बनाएको त्यही घर आज सबैका लागि असुरक्षित बनिरहेको थियो ।
विराटनगर एयरपोर्टमा गाडीका लागि यता त्यता हेर्दै गर्दा कसैले ‘आन्टी टाढै ?’ भन्यो । वैदेशिक रोजगार व्यवसायी इन्द्र थापा रहेछन्, मेरी दिदीका भतिजा । इटहरीसम्म जान लागेका उनले मेरो गाडीले छोडिदिन्छ गाडी नलिनु भने । अचम्म लाग्यो, सधैँभरि सार्वजनिक काममै हिँडियो, सहयोग पनि त्यस्तै प्रकारका पाइन्थ्यो । यसपटक नितान्त व्यक्तिगत काममा जाँदा सहयोगीका रूपमा व्यक्तिगत नातेदार भेटिए ।
मैले स्कुलका ६ र ७ कक्षा उर्लाबारीमै पढेकी हुँ । त्यसक्रममा धेरैपल्ट ती बाटाहरू ओहोरदोहोर गरिएको थियो । त्यसपछि पनि व्यावसायिक कामको सिलसिलामा त्यो बाटो हिँडियो, तर अरू बेलाभन्दा यसपटकको हिँडाइ र बाहिर देखिएका दृश्यहरू फरक भएझैँ लाग्यो । गाडीबाट वरिपरि हेर्दै गर्दा बेलबारी काटेपछि देब्रेपट्टि लहरै सिमेन्ट प्लास्टर गरिएका विभिन्न आकारका चिहानहरू देखिए, जुन पहिला पनि थिए । कानेपोखरी हुँदै पथरीसम्म फैलिएका ती चिहानहरू हेर्दा मनमा लाग्यो– कुनै बेला यी चिहानमा भएकाहरूको यो पृथ्वीमा अस्तित्व थियो । परिवार र समाजमा आफ्नै प्रकारको स्थान थियो होला । सबैका आफ्नै प्रकारका दुःखसुख थिए होला । जिन्दगीमा अब सुख होला, खुसी आउला भनी सङ्घर्ष र आस गर्दागर्दै कतिले यो संसार छोडेर गए होला । यसरी मनमा कुरा खेल्दै गर्दा गाडीचालक फोनमा कसैसँग पैसाको बार्गेनिङ गर्दै थिए । तिनले फोन राखिसकेपछि मैले भनेँ– दाइ, एक–दुई सयमा के बार्गेनिङ गर्नुहुन्छ ? अस्ति काठ्माडौंमा जस्तै भुइँचालो आएको भए तपाईंलाई जीवनको महत्व थाहा हुन्थ्यो । हेर्नुस् कति मान्छे त तपाईंले जस्तै बार्गेनिङ गर्दागर्दै मरे होला । उनले बीचैमा भने– बिरामी हो, इटहरीबाट धरान पु-याउनुपर्ने । आपत् नपरी कसले गाडी रिजर्भ गर्न खोज्छ र ? त्यस्तालाई त झन् सहयोग गर्नुपर्छ, मिलाएर लगिदिनुस् न । पहिला भए जसले जेसुकै कुरा गरोस् के मतलब गरिन्थ्यो होला र ?
उर्लाबारी पुगेर आफन्तहरूसँग भेटेपछि बाँचिएको थियो र पो सबैसँग भेटियो त जस्तो लाग्यो । केही समय त्यहाँ बसेर जन्तीका लागि विराटनगर जाँदा बाटोभरि कुराको केन्द्रबिन्दु भुइँचालो नै थियो । राम भण्डारी भिनाजुले भन्नुभो– भुइँचालोले होइन हामी आफैँले बनाएका संरचनाले हानि गर्ने रहेछ, अब घर बनाउनेहरूले धेरै कुरा सोच्नुपर्छ । विराटनगर पुगेपछि अन्य आफन्त र नातेदारहरूसँग भेट भयो । कति भदाभदैलाई त मैले देखेकी पनि रहेनछु । युवा उमेरका उनीहरूलाई देखेर लाग्यो, ओहो समय कति चाँडै बितेछ ।
हाम्रा हजुरबुबाहरू आठजना, अठभैयाका नामले परिचित हजुरबुबाहरूका सन्तान हामी धेरै छौँ । त्यसैले कुनै पारिवारिक कार्यमा ठूलै जमघट हुने गर्छ । सबैसँग भेट हुँदा वातावरण आफैँमा रमाइलो भयो । बेलुका बेहुली अन्माएर उर्लाबारी लाने र म एयरपोर्ट जाने समय झन्डै उस्तैउस्तै प-यो । फ्लाइट फेरि पनि समयमै रहेछ, साँझ पौने सात बजे त घरै आइपुगेँ । दिनभरि यता र त्यताको हिँडाइले थकाइ लाग्नुपर्ने हो, तर आफ्नो खुसीले गरेकाले होला शायद खासै थकाइको अनुभव भएन । जिन्दगीको एक दिन अलि फरक तरिकाले बाँचेको महसुस भयो ।
भुइँचालो गएपछि सबैभन्दा पहिला कसले आफ्नोबारेमा चासो राख्यो ? आफूले कसलाई सम्झियो ? जस्ता कुराले मेरो मनलाई यसपालि नराम्ररी हल्लाएको थियो । काठमाडौंमा भूकम्पको समाचार आएपछि के भयो कसो भयो भनेर सोध्ने धेरैजसो आफन्त नै थिए । मरेको भए मलामीको खाँचो हुँदैनथ्यो होला, तर घाइते भएको भए अस्पतालमा कुर्ने आफन्तबाहेक अर्को हुने थिएन । आफ्नो मात्र कुरा होइन अरूलाई पर्दा पनि त हामी त्यसै गर्छौं । जीवनका अनेक वास्तविकताहरूसँगै मर्दापर्दा आफ्नै हो चाहिने भन्ने कुरालाई मैलेजस्तै शायद धेरैले आत्मसात् गरे होलान् ।
आफन्तहरूलाई जगाउने समय पनि रहेछ यो । कहाँकहाँका नेपाल देशको नाम मात्रै सुनेका मानिसले आफ्नो गाँस काटेर, जीवनशैलीमा सम्झौता गरेर राहत पठाइरहेका छन्, हामी यही देशका नागरिक, हाम्रोचाहिँ कुनै दायित्व छैन ? आफन्तहरूबीच पनि वकालत गर्न छोडिएन । सकेको सहयोग गर्न खुसीखुसीले राजी हुनेहरूको जमात ठूलै बन्यो । मैले भनेँ, ‘भगवान्ले हामीलाई बचाएको तिमीहरू आफ्ना लागि मात्र गर भनेर होइन, अरूलाई पनि गर भनेर हो । कसैलाई सहयोग गर्ने भनेको आपत्विपत्मा नै त हो ।’

१ जेष्ठ २०७२, शुक्रबार ०२:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

क्वारेन्टाइनमा राखिएको निगमको जहाज आजबाट उड्ने

काठमाडौँ, ६ फाल्गुण । कोरोना भाइरस प्रभावित चीनको वुहानबाट १७५ जना नेपालीलाई बोकेर ल्याएको नेपाल वायुसेवा निगमको जहाज आज..

तुम्बाहाम्फेले सम्हालिन कानुनमन्त्रीको कार्यभार

काठमाडौँ, ५ फाल्गुण । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कार्यभार..

भ्रमण वर्ष सफल बनाउन रामेछाप महोत्सवः संयोजक रोका

रामेछाप, ५ फाल्गुण । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा आयोजना हुने ‘दोस्रो रामेछाप महोत्सव’को तयारी करिब सकिएको..

महरा विरुद्दको मुद्दामा फैसला भएन

काठमाडौँ, ४ फाल्गुण । निवर्तमान सभामुख कृष्ण बहादुर महराविरुद्दको बलात्कार प्रयासको मुद्दामा आइतबार पनि फैसला..

व्यक्तिले हडपेको सरकारी जग्गामा मन्त्री अर्यालले गाडीन् साइन बोर्ड

काठमाडौँ, ४ फाल्गुण । व्यक्तिले हडपेको १७ रोपनी जग्गा सरकारले फीर्ता ल्याएको छ । काठमाडौं महानगरपालिका ३१ स्थित..