रूसी पर्वतारोहीहरूद्वारा सगरमाथा विजयको तीसौं एवं बीसौं वार्षिकोत्सवको आयोजना

सपिला राजभण्डारी, रूस । सोभियत पर्वतारोहीहरूद्वारा सन् १९८२ मा तथा रूसी पर्वतारोहीहरूद्वारा सन् १९९२ मा सम्पन्न गरिएको सगरमाथा आरोहणको क्रमशः ३० वर्ष र २० वर्ष पूरा भएको उपलक्ष्यमा मास्कोस्थित नेपाली राजदूतावासको सभाकक्षमा गत २६ मे २०१२ (शनिवार) का दिन रूस पर्वतारोहण संघ एवं गैरआवासीय नेपाली संघ रूस समन्वय परिषदको समेत सहभागितामा एक भव्य समारोहको आयोजना गरिएको थियो । रूस महासंघका मात्र नभई युक्रेन, बेलारूस तथा काजाखस्तानका समेत गरी १३ जना सगरमाथा विजेता पर्वतारोहीहरूका साथै विभिन्न संघसंस्थाका १२० जनाभन्दा बढी प्रतिनिधिहरूको त्यहाँ उपस्थिति रहेको थियो ।

रूस पर्वतारोहण संघका अध्यक्ष आन्द्रेइ भोल्कोभले कार्यक्रमको शुभारम्भ गर्दै सोभियत पर्वतारोहीहरूले तत्कालीन नेपाल सरकारको तर्फबाट अनुमति पाएको भए आधा शताब्दीअघि नै सगरमाथा-विजय गर्ने सम्भावना थियो तर ३० वर्षअघि मात्र यो घटना घट्यो भन्नुहुँदै सन् १९८२ मा सम्पन्न गरिएको सोभियत पर्वतारोहीदलमा २४ जना सदस्य रहेको स्मरण गराउनुका साथै यस्तो पर्वतारोहण अभियानदलको व्यवस्थापन गर्नु कुनै पनि बिजनेस प्रोजेक्ट संचालन गर्नुभन्दा जटिल हुने कुरा बोध गराउनुभयो र स्कोल्कोभ्स्की बिजनेस स्कूलको रेक्टरको हैसियतले हालै मात्र आफूले २४ जना विद्यार्थीहरूको साथमा नेपालमा २१ दिन लामो पदयात्रा सम्पन्न गरेर फर्केको पनि जनाउ दिनुभयो ।

रूसका लागि नेपाली राजदूत महामहिम डा. रविमोहन सापकोटाले समारोहका सहभागी सबै पाहुनाहरूको हार्दिक स्वागत गर्दै नेपाली राजदूतावासमा भव्य समारोहको आयोजनाका लागि रूस पर्वतारोहण संघप्रति धन्यवाद ज्ञापन गर्नुका साथै सबै उपस्थित रसियाली सगरमाथा-विजेताहरूप्रति बधाई र शुभकामना व्यक्त गर्नुभयो । महामहिमज्यूले तेन्जिङ नोर्गे शेर्पा तथा एडमुण्ड हिलरीले सर्वप्रथम ५९ वर्षअघि विश्वको सर्वोच्च शिखरमा पदार्पण गरेको सन्दर्भमा नेपालमा २९ मेर्इका दिन सगरमाथा दिवस मनाइने गरिएको सूचित गर्नुहुँदै अहिलेसम्म विभिन्न देशका कैयौं पर्वतारोहीहरूले सगरमाथा-विजय गरिसकेको र भविष्यमा पनि यो क्रम जारी रहने छ भन्नुभयो र सगरमाथा नेपालमा अवस्थित भए तापनि यो शिखर विश्वसम्पदा भएको जनाउँदै विश्वमा तापक्रमवृद्धिका कारण हिमालयको हिउँ पग्लने प्रक्रिया रोक्न आवश्यक कदम चालेर भावी पुस्ताका लागि हिमालयको संरक्षण गर्नु पनि सम्पूर्ण मानवजातिको उत्तरदायित्व भएको हुँदा सबैले मिलेर काम गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

सन् १९८२ को सोभियत सगरमाथा अभियानटोलीका प्रमुख प्रशिक्षक आनातोली ओभ्चिन्निकोभले आधार शिविरमै छँदा एकजना पर्वतारोहीको गोडा भाँच्चिनुलाई अपशकुन मानिए तापनि सोभियत पर्वतारोहीहरूले विभिन्न समूहमा विभाजित भई सगरमाथाको आरोहण शुरु गरेर विजय हासिल गरेको स्मरण गर्नुभयो ।
यूरेसिया पर्वतारोही संघका अध्यक्ष एडुआर्ड मिस्लोभ्स्कीले सन् १९८२ को पर्वतारोही टोलीले सगरमाथा आरोहणमा विजय प्राप्त गर्नुका साथै यस विषयमा पहिलोपल्ट एक अनुपम वृत्तचित्र समेत निर्माण गरेर ल्याएको सम्झना गर्नुभयो । भारी सिनेक्यामेरा बोकेर आरोहणदलको सगरमाथा विजयसम्बन्धी वृत्तचित्र तयार पार्नु समेत निकै बहादुरीपूर्ण कार्य थियो भन्दै उहाँले उक्त आरोहणको अनुभवबारे बताउनुका साथै नेपालीहरूको सरलता र इमान्दारिताबाट निकै प्रभावित भएको जनाउनुभयो ।

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले सोभियत पर्वतारोही टोलीले सगरमाथा विजय गरेकै वर्ष सन् १९८२ मा आफू अध्ययनार्थ सोभियत संघ आएको बताउनुहुँदै रसियालीहरूप्रति नेपालीहरूको विशेष सद्भावना रहेको र नेपालका गाउँहरूमा समेत खास गरी सोभियत संघ (रूस) बाट उच्चशिक्षा हासिल गरेर स्वदेशमा कार्यरत रूसी भाषा बोल्ने नेपालीहरूलाई समेत भेट्न सकिने हुँदा प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालजस्तो देशको यात्रा गर्नु उपयुक्त छ भनी जोड दिनुभयो र नेपालप्रति स्नेहभाव दर्शाइएकोमा रसियाली पर्वतारोहीहरूप्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष जीवा लामिछानेले मास्कोस्थित नेपाली राजदूतावासमा आयोजित समारोहमा पहिलोपल्ट यति धेरै संख्यामा रसियालीहरूको उपस्थिति रहेको जनाउनुहुँदै सर्वप्रथम सन् १९५३ मा तेन्जिङ शेर्पा तथा एडमुण्ड हिलरीद्वारा सगरमाथा आरोहण गरिएपश्चात् सगरमाथा आरोहणमा कैयैं विश्वकीर्तिमान स्थापित भइसकेको छ भन्नुभयो र विश्वको सर्वोच्च शिखरमा नारी र किशोर पर्वतारोहीले पदार्पण गरेको र कैयौं पर्वतारोहीहरूले दशौपल्ट समेत आरोहण गरेको मात्र नभई त्यहाँ विवाहोत्सव समेत मनाइएको स्मरण गराउनुभयो । उहाँले सबै पर्वतारोहीहरू साहसी, विवेकशील र अद्वितीय हुने कुरामा जोड दिंदै आउँदा दिनहरूमा रसियाली तथा नेपाली पर्वतारोहीहरूद्वारा नयाँ नयाँ कीर्तिमान स्थापित गरिने विश्वास पनि व्यक्त गर्नुभयो ।

हालै मात्र सगरमाथामाको सफल आरोहण गरेर एक रसियाली पर्वतारोही टोली काठमाडौं फर्केको परिप्रेक्ष्यमा उक्त टोलीका सगरमाथा-विजेताहरूसंग कार्यक्रमको क्रममा दूरदर्शन सम्मेलनको आयोजना गरिएको थियो र भर्खरै सगरमाथाबाट फर्केका विजयी पर्वतारोहीहरूलाई तिनका अग्रज पर्वतारोहीहरू तथा समारोहमा उपस्थित महानुभावहरूले शुभकामना र बधाई ज्ञापन गर्ने अवसर पाएका थिए ।

रूस पर्वतारोहण संघका कार्यकारी निर्देशक अलेक्सेइ ओभ्चिन्निकोभ तथा गैरआवासीय नेपाली संघ रूसका निवर्तमान अध्यक्ष डा. मणिराज पोखरेलद्वारा संचालित समारोहको अन्त्यमा नेपाली राजदूत महामहिम डा. रविमोहन सापकोटाज्यूले रसियाली सगरमाथा-विजेताहरूको सम्मान गर्दै नेपाली ढाकाटोपी लगाइदिनुभयो ।
सोभियत तथा रूसी पर्वतारोहीहरूद्वारा सगरमाथा आरोहणको तीसौं एवं बीसौं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित भव्य समारोहको समापनपश्चात् त्यहाँ उपस्थित सबैले अनौपचारिक कुराकानी जारी राख्दै सन्ध्याभोजमा भाग लिएका थिए ।

२८ जेष्ठ २०६९, आईतवार २०:२९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..