प्रचण्ड र विप्लवको प्रवृत्ति एउटै हो, माघ आठमा पाइन्न, पाए पनि चाहिन्न :: मोहन वैद्य

० नेत्रविक्रम चन्दले तपाईंजस्ता नेतालाई छोड्नुभयो, किन होला ?
– मोहन वैद्य भन्ने व्यक्ति मन नपरेर उहाँले हाम्रो साथ छोड्नुभयो होला जस्तो लाग्दैन, तर उहाँ यतिबेला हामीबाट अलग रहेको घोषणा गर्नुभएको छ । मलाई लाग्छ– उहाँले अलिक हतार गर्नुभयो । नेतृत्वको लागि यसरी हतारिनु आवश्यक थिएन । कहिलेकाहीँ अनपेक्षित कुरा हुन्छ, विप्लवजी अलग भएको कुरा पनि यस्तै हो । विगतमा पनि यस्तो नभएको होइन, भएकै हो । तुल्सीलाल, पुष्पलालजीहरूसँग यस्तै भएको हो, मोहनविक्रमजी, लामाजी (निर्मल लामा)हरूसँग पनि त्यस्तै भयो । तर हामी फेरि जुट्यौँ पनि र पुन: विभाजन पनि भयो । कम्युनिस्ट आन्दोलन यस्तै आरोह–अवरोहका बीच अघि बढ्ने गर्छ । जे होस्, विप्लवजीलाई अझै पनि गल्ती–कमजोरी सच्याएर साथै आउनुस् भनेका छौँ हामीले ।
० विप्लवजीले त मोहन वैद्यजस्ता बुढा नेताहरूको अब काम छैन भन्नुभएको छ नि ?
– उहाँले त्यस्तो भन्नुभयो होला– ठिकै छ । तर, नेतृत्व भन्ने कुरा बुढाखाडा र तन्नेरी भन्ने भन्दा पनि विचारले गर्ने कुरा हो । अर्को कुरा कम्युनिष्ट पार्टीको मान्यता के पनि छ भने तीन पिँढीलाई समायोजन गर्नुपर्छ भन्ने छ । युवा, प्रौढ र वृद्ध तीनै पिँढीलाई समायोजन गरेर जानुपर्छ । यसले मात्र कम्युनिष्ट आन्दोलनलाई सुदृढ तुल्याउँछ । यो कुरालाई सम्बन्धित सबैले मनन गर्नु आवश्यक छ ।
० पार्टीभित्रको युवा पिँढीलाई तपाईंले प्राथमिकतामा नराखेर यस्तो समस्या पैदा भएको हो कि ?
– होइन । मैले त युवालाई सदा प्राथमिकता र महत्व दिँदैआएको छु । हाम्रो पार्टीमा त युवा पिँढीकै बाहुल्य छ र युवा पिँढी नेतृत्वमा आइहाल्ने सम्भावना पनि हाम्रो पार्टीमा प्रचुर छ । जे होस्, सबै पिँढीलाई उचित सम्मान गर्नुपर्छ भन्ने मेरो धारणा छ ।
० नेत्रविक्रम चन्दले लिएको बाटोसँग तपाईंको सहमति हुन सक्दैन होइन त ?
– छलफल–बहस गरेर अघि बढौँ भनेर भन्दाभन्दै त्यसरी हिँड्ने रवैयाप्रति कसरी सहमत हुने ? महाधिवेशनमा जाऔँ र त्यहँबाट सबै समस्या र असमझदारीको हल निकालौँ भन्ने कुरा हामीले गरेका थियौँ । हाम्रा कार्यदिशा, कार्यनीति आदिलाई परिमार्जन गरी समृद्ध तुल्याएर जाने हो भनेकै थियौँ हामीले । तर विप्लवजीले अलिक हतार गर्नुभयो ।
० त्यसोभए बिग्रेको कम्युनिस्ट हुन् त नेत्रविक्रम चन्द ?
– उहाँमा अलिकता विचलन आएको छ भनेर हामीले भनेका छौँ । त्यो विचलन उहाँले सच्याउनै पर्छ, नसच्याए आन्दोलन गलत दिशामा जान्छ । यहीँ बसेर बहस गर्दा सच्चिने–सच्याउने मौका आउँथ्यो, तर उहाँ त हिँडिहाल्नुभयो । हिँडिहाले पनि उहाँ र उहाँको समूहसँग कमी–कमजोरी सच्याउँदै फेरि एकताबद्ध भएर जाऔँ भन्ने हाम्रो अनुरोध रहन्छ ।
० विप्लवजीहरू त परिआए फेरि हतियार उठाउने कुरा पनि गर्दैहुनुहुन्छ, यतिबेला हतियार उठाउनुचाहिँ कत्तिको जायज होला नि ?
– हतियार नै उठाउने कुरा गरेजस्तो त लाग्दैन । हतियार उठाउने भनेको त ऐतिहासिक आवश्यकताको कुरा हो । क्रान्ति र रुपान्तरको निम्ति बल प्रयोगको सिद्धान्त अपनाउने कुरा आउँछ इतिहासमा । कुनबेला आवश्यक हुन्छ या हुँदैन भन्ने त परिस्थितिसापेक्ष हुन्छ । परिस्थितिले नमागेसम्म त्यत्तिकै हतियार उठाउने कुरा त सुहाउँदो हुँदैन ।
० प्रचण्डजीले पनि शान्तिपूर्ण आन्दोलनको कुरा गर्न थाल्नुभएको छ, शान्तिबाटै क्रान्तिको उद्देश्य पूरा गर्ने भन्नुहुन्छ उहाँ, तपाईं पनि यस्तै भन्दैहुनुहुन्छ कि कसो ?
– प्रचण्डजीको कुरा फेरि अलग्गै हो । शान्तिपूर्णको रट लगाएर प्रचण्डजी पुरानै सत्ताको मार्ग अनुशरण गर्न पुग्नुभएको छ । त्यही तरिकाले गए त विप्लवजीले पनि केही गर्नसक्ने कुरै आउँदैन । तर, गहिरिएर विचार गर्दा विप्लवजीको बाटो र प्रचण्डजीको बाटो वास्तवमा एउटै हो भन्ने हामीलाई लागिरहेको छ । अन्तत्वगत्वा उहाँहरू दुबैको मार्ग वा प्रवृत्ति एउटै नै हो । कुरा गराई र प्रस्तुतिमा तत्काल फरकजस्तो देखिए पनि भविष्यमा गएर उहाँहरूको प्रवृत्ति एउटै देखिनेछ ।
० तपाईंको पार्टी अब विशेष महाधिवेशनतर्फ लागेको हो ?
– महाधिवेशनमा त जानैपर्ने देखियो । पार्टीमा उत्पन्न छलफल, बहस र पछिल्ला विविध उतारचढावका घटनालाई विश्लेषण गरी पार्टीलाई पूर्णता दिनका लागि महाधिवेशन आवश्यक हुन गएको छ ।
० विप्लवहरूले पनि विशेष महाधिवेशनको माग गरेका थिए, त्यहीबेला किन सुनुवाई नगरेको ? कतै यही कारणले विप्लवजीहरू टाढिएका हुन् कि ?
– उहाँहरूले माग गरेबमोजिम महाधिवेशन गर्ने भनेकै थियौँ हामीले । विप्लवजी समेत भएर निर्णय गरिएको हो । तथापि, उहाँ किन यसरी हतारिनुभयो कुन्नी ?! तर, अझै पनि आउनुहोस्, महाधिवेशनमा जाऔँ भनी हामी आग्रह गरिरहेकै छौँ । आउने–नआउने त उहाँकै तजबिजको कुरा भयो, तर हाम्रो आग्रह जारी छ । महाधिवेशनले जे पारित गर्छ त्यसैअनुसार हुने भएकोले ‘आउनुहोस् महाधिवेशनमा सँगै जाऔँ’ भन्नेमा हाम्रो जोडदार आग्रह छ विप्लवजीहरूलाई ।
० विशेष महाधिवेशनमार्फत् तपाईं नेतृत्वबाट हट्दैहुनुहुन्छ हो ?
– नेतृत्व हस्तान्तरणकै कुरा त अहिले नै कसरी गर्ने ! तर, सबै पिँढीलाई मिलाएर लैजानुपर्ने अपरिहार्यता त छँदैछ । सधैंभरि एउटै मान्छे नेतृत्वमा बसिरहने भन्ने त सवालै रहँदैन । मूल नेतृत्वमा म धेरै बसेको पनि छैन र बस्ने पनि होइन । यस सम्बन्धमा महाधिवेशन बैठकमा छलफल र सरसल्लाह भइहाल्छ ।
० माघ ८ गते मुलुकले संविधान पाउने–नपाउने सवालमा चाहिँ तपाईंको जवाफ के छ नि ?
– सरकारमा भएका पार्टी र संविधानसभामा भएका दलहरूले नै माघ ८ मा त अब संविधान आउँदैआउँदैन भन्ने तर्क गरिरहेका छन् भने हाम्रो त के कुरा रह्यो र ? भन्नैपर्दा चाहिँ माघ ८ मा मुलुकले संविधान पाउँदैन भन्ने नै लाग्छ ।
० संविधान आयो भने चाहिँ तपाईंहरूको समर्थन रहन्छ कि रहँदैन नि ?
– त्यसको त हामीले विरोध नै गर्छौं नि । यसरी आउने संविधान हामीलाई चाहिन्न । यो संविधानसभा त विघटन नै गरिनुपर्छ भन्ने हामीले जो भन्दै आएका छौँ, यो भनाई कायम नै छ । अझै पनि सबै पक्षसँग छलफल, बहस या संवाद गरी सबैलाई समेटेर सहमतिका आधारमा संविधान बनाउनेतिर जानुपर्छ भन्ने हाम्रो धारणा नै सबभन्दा उपयुक्त छ भन्ने हामीलाई लागिरहेको छ । यो संविधानसभाबाट समस्या निकासको काम नहुने भएकोले सर्वपक्षीय राजनीतिक सभाको अपरिहार्यताको वकालत झन् चर्को रूपमा गर्न चाहन्छौँ हामी । हामीलाई उपेक्षा गरेर आउने संविधान कसरी हामी मानौँला त ? संविधान आएमा हाम्रो त विरोध रहन्छ–रहन्छ । जनसंविधान चाहिन्छ भन्ने हाम्रो अवधारणा सार्वजनिक भएकै छ, यसैका लागि वर्तमान संविधानसभाले ल्याउने संविधानप्रति हाम्रो विमति रहन्छ ।

अन्तरविचार–२
‘अहिले पछि परे पनि आइटीमा नेपालको सम्भावना छ’-दिवस खनियाँ
अग्लो शारीरिक बनावट, जुनसुकै बेला पनि हाँसेर बोल्ने शैली, सबै नेपाली युवाका रोल–मोडल, अन्तर्राष्ट्रिय आइटी अवार्डका विजेता, राष्ट्रको सकारात्मक परिवर्तनका अभियानकर्ता दिवस खनियाँ मात्र २२ बर्षमा दौडिरहेका छन् । युवा आइकनका रूपमा परिचित उनलाई एकपटक भेट्ने जोसुकै पनि उनको विचार, उनका काम र उनको सफलताबाट प्रभावित हुन्छन् । झट्ट हेर्दा उनी पनि सामान्य युवाहरूकै जस्तो जीवनशैली निर्वाह गरिरहेका छन् । कलेज, काम, घर, विभिन्न गोष्ठी, सम्मेलन तथा विविध कार्यक्रम सबैलाई मिलाएर लैजान चुनौती त छ नै, त्यससँगसँगै उनले युवाहरूलाई प्रोत्साहित गर्न र उनीहरूको व्यक्तित्व विकासका लागि आफ्नो ठाउँबाट अनेक सहयोगी भूमिका निर्वाह गरिरहेका छन् । सिटी सेन्टरस्थित ‘फुडकोर्ट’मा भेटिएका अन्तर्राष्ट्रिय आइटीविजेता खनियासँग उनको जीवनशैली र योगदानमाथि केन्द्रित रही छविलाल बगालेले गरेको कुराकानी ।

० तपाईं २२ वर्षकै उमेरमा यत्रो सफलता पाएको युवा, सामान्य युवा र दिवस खनियाँबीच के भिन्नता छ ?
– खास केही भिन्नता छैन, म पनि एक सामान्य युवा नै हुँ । म पनि अन्य युवाहरूकै जस्तो जीवनशैली निर्वाह गरिरहेको हुन्छु ।
० तर, तपाईंले यो उमेरमा हासिल गरेको सफलता अन्य युवाले हासिल गर्न सकेका छैनन् नि, यसबारे के भन्नुहुन्छ ?
– कुरा त सही नै हो, तर नेपाली युवासँग क्षमता नभएर आफ्नो प्रतिभा प्रस्तुत गर्न नसकेका होइनन् कि क्षमता हुँदाहुँदै पनि उनीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्ने प्ल्याटफर्म पाउन सकेका छैनन् । तसर्थ सम्बन्धित निकाय तथा राज्यले युवाहरूको क्षमतालाई प्रस्तुत गर्ने प्ल्याटफर्मको विकास गर्नु अत्यावश्यक छ ।
० आइटीको क्षेत्रमा नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल व्यक्ति हुनुको नाताले बताइदिनुहोस् त नेपालको आइटीस्तर चाहिँ कस्तो छ ?
– दु:खका साथ भन्नुपर्छ कि अन्य राष्ट्रको तुलनामा नेपाल आइटीको क्षेत्रमा निकै पछाडि छ । अझै पनि अनुभूति हुनेगरि सर्वसाधारणले यसको प्रयोग गर्न सकेका छैनन् । अझै पनि पुरानै शैलीबाट काम गर्ने परम्परा हामीमाझ रहेको छ । तर विगत केही वर्षअगाडिको अवस्थालाई फर्केर हेर्दा अहिले भइरहेको विकासलाई सन्तोषजनक रूपमै हेर्न सकिन्छ । आइटीका विज्ञहरू समेत बढिरहेका छन् र सरकारी स्तरबाट पनि आइटीको विकासमा चासो देखाइरहेको सन्दर्भमा अबको केही बर्षमा नेपालले आइटीको प्रयोगमा धेरै फड्को मार्नेचाहिँ निश्चित छ ।
० सरकारी स्तरबाटै अनुभूति हुनेगरि आमजनतामा आइटीको प्रयोग बढाउन गर्नैपर्ने कार्यहरू के–के हुन् ?
– अहिले सरकारी स्तरमा तथा सरकारी कार्यालयहरूमा आइटीको प्रयोग लगभग जिरो नै छ । पब्लिकले प्रयोग भएका प्रविधिहरूको अनुभूति गर्ने स्थान भनेको नै सरकारी कार्यालयहरू हुन् । जोसुकै व्यक्तिकोे पनि सरकारी निकायमा कुनै न कुनै रूपमा काम परेको हुन्छ र अहिले सुन्ने गरिएको छ कि सरकारी कार्यालयमा काममा ढिलासुस्ती हुन्छ । यो गुनासो पनि आइटीको प्रयोग नहुनाले नै उत्पन्न भएको हो । अहिले पनि धेरैजसो सरकारी कार्यालयमा पुरानै शैलीबाट काम हुन्छ । एउटा कामको लागि विभिन्न डिपार्टमेन्ट चहार्नुपर्ने बाध्यता छ । तसर्थ, सरकारी स्तरबाट आफ्ना निकायहरूमा आइटीको प्रयोगद्वारा नागरिकलाई विनाझन्झट र छिटो–छरितो कार्य गर्ने वातावरणको निर्माण हुन सकेको खण्डमा नेपालको लागि यो ठुलो सफलता हुनेछ ।
० तपाईंले विभिन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा निर्णायकको भूमिकासमेत निर्वाह गरिसक्नुभएको छ, यस्ता प्रतियोगिताहरूको मुल्याङ्कन गर्नु कति चुनौतीपूर्ण छ त ?
– सुन्दरताको परिभाषा आफैमा व्यक्तिअनुसार फरक–फरक हुने गर्दछ । कुनै पनि व्यक्ति भित्री र बाहिरी रूपबाट सुन्दर छ भने मात्र उसलाई पूर्णरूपमा सुन्दर छ भन्न सकिन्छ । व्यक्तित्व, बोल्ने शैली, शारीरिक बनावट, लवाई आदित्यादि कुराहरूले व्यक्तिको सुन्दरता मापनमा महत्वपुर्ण भूमिका निर्वाह गरेको हुन्छ । तसर्थ, यस्ता प्रतियोगिताहरू मुल्याङ्कनको लागि पनि एउटा आफ्नै नियम हुन्छ र त्यसै नियमभित्र बसेर निर्णायकले मुल्याङ्कन गर्नु पर्दछ ।
० व्यक्तिगत रूपमा कस्ता व्यक्तिले तँपाईंलाई आकर्षित गर्छन् ?
– जोसुकै व्यक्तिलाई सर्वप्रथम कुनै पनि व्यक्तिको शारीरिक बनावटले आकर्षित गर्ने गर्दछ । किनभने कुनै पनि व्यक्तिसँग चिन्नु/बोल्नुभन्दा पहिला उसको बाहिरी वातावरणमा नजर जाने गर्दछ । त्यसपछि उसको बोल्ने शैली, अरु व्यक्तिसँग प्रस्तुत हुने शैली आदि कुराहरूले जोसुकै व्यक्तिलाई पनि आकर्षित गर्ने गर्दछ ।
० तपाईंको विचारमा दिवस खनियाँ को हो ?
– आफु को हुँ र आफ्नो लक्ष्य के हो भन्ने कुरा सबैले पहिल्याउनु आवश्यक छ । मेरो लागि मैले अघि भनिसकेँ दिवस खनियाँ पनि अरु सामान्य मानिसजस्तै एउटा युवा हो, एकदमै साधारण युवा, साधारण मानिस, एउटा सामान्य नेपाली नागरिक जो युवा एकताद्वारा राष्ट्रमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ भन्ने कुरामा विश्वास गर्छ ।
० तपाईंको विचारमा जीवन के हो ?
– जीवन धेरै छोटो छ, झन् युवा अवस्था त धेरै नै छोटो छ, समय नै सबै कुरा हो । तपाईं के गर्नुहुन्छ– त्यसले खासै महत्व राख्दैन, तर कसरी, कहाँ र तपाईंको कामबाट के परिवर्तन हुन सक्यो, त्यसले ठुलो महत्व राख्ने गर्दछ । तसर्थ, जीवन भनेको सकारात्मक र नकारात्मक कुराहरूको समिश्रण हो र तपाईंले त्यही कुराहरूलाई कसरी लिनुहुन्छ त्यहिअनुसार जीवन चल्दछ ।
० अहिले नेपाली युवा विदेश पलायन हुने क्रम बढ्दो छ । यसरी विदेश पलायन हुने युवाहरूलाई के भन्न चाहनुहुन्छ ?
– कुनै पनि मान्छेको जीवन आदर्शका कुराहरू गरेर मात्र चल्न सक्दैन । अर्थात्, जीवनयापन गर्न सबैको आ–आफ्नो बाध्यता हुने गर्छ । कुनै पनि युवा नेपाल छोडेर विदेश जान्छ भने त्यो उसको रहर नभई बाध्यता हो । सरकारले देशमा नै विभिन्न मौका र रोजगारी दिनुका साथै देशमै केही गर्न प्रोत्साहन गर्छ भने कुनै पनि व्यक्ति आफ्नो जन्मभुमि छोडेर विदेश पलायन हुने स्थिति आउँदैन । यदि राज्यले युवाहरूका लागि प्लेटफर्मको सिर्जना गर्न सक्दैन भने अवश्य नै यो क्रम झन् बढ्दै जाने निश्चित छ । तसर्थ, राज्यबाटै यसको समाधानका लागि ठोस कदम चालिनु आवश्यक छ ।

१७ पुष २०७१, बिहीबार १३:०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सीमा सुरक्षाबारे सर्वोच्चले माग्यो लिखित जवाफ

रासस, २९ कार्तिक । सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा भइरहेको प्रयासका बारेमा कारण देखाउ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश..

पार्टीको जिम्मा प्रचण्डलाई, सरकारको जिम्मा पोखरेललाई

काठमाडौँ, २९ कार्तिक । दुई अध्यक्ष सहित चल्दै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका विभिन्न बैठक र निर्णयको..

नेपाल भारत सीमा विवादमा चीनको चासो

काठमाडौँ, २८ कार्तिक । भारतको नयाँ नक्सामा नेपाली भूमि परेको विषयमा नेपालले आपत्ति जनाएपछि उत्तरी छिमेकी देश..

नेपाल बन्यो एभिसी च्याम्पियन, महिला भलिबलमा ऐतिहासिक स्वर्ण पदक

ढाका, २८ कार्तिक । एभिसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि नेपालले उचालेको छ । नेपाली..

प्रचण्डका घरवेटीको फोटो पोल पोलमा टाँसियो, लेखियो यस्ता नारा

भक्तपुर, २७ कार्तिक । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरवेटी एवम् निर्माण व्यवसायी विरुद्द..