सरुको सम्मानयोग्य हस्तक्षेप :: मणि लोहनी

सरु पोखरेल अब सम्भावनायुक्त कथाकार रहिनन् ।
०६५ सालको पहिलो महिना हुनुपर्छ । मैले उनको कथासङ्ग्रह ‘मुना टुसाएपछि’ पढेको । त्यसताका उनी क्याम्पस पढाउँथिन् । कुनै रेडियोमा साहित्यिक कार्यक्रम चलाउँथिन् । र, साहित्यिक कार्यक्रमहरूमा फाट्टफुट्ट भेटिरहिन्थ्यो । त्यो कथासङ्ग्रह पढिसकेपछि मलाई सरु पोखरेल नेपाली साहित्यमा सम्भावनायुक्त कथाकार लागेको थियो । र, उनीबाट नेपाली कथा साहित्यले निकै शक्तिशाली कथाहरू पाउने आशा गरेको थिएँ ।
त्यो आशा खेर गएन । ‘मुना टुसाएपछि’ प्रकाशनको सात वर्षपछि सरु पोखरेलको कथाकारिता एउटा मजबुत रुख मात्र बनेको छैन, निकै मिठा र उपयोगी फल पनि दिन थालिसकेको छ । यसै वर्ष प्रकाशित ‘चिसो घाम’ कथासङ्ग्रहले उनलाई सम्भावनायुक्त कथाकारबाट शक्तिशाली कथाकारमा रुपान्तरित गरेको हो ।
हो, सरु पोखरेल सम्भावनायुक्त कथाकार रहिनन् । नेपाली कथासाहित्यमा उनको शालीन हस्तक्षेप अब सम्मानयोग्य बनेको छ । चिसो घामभित्र रहेका ‘पराई आमा’, ‘बन्द घडी’, ‘दाग’, ‘प्रतिरुप’ र ‘उज्यालो हुँदाहुँदै’ यो समयका प्रतिनिधि कथा हुन् । म आफैं पनि यो समयको कथाकार । राम्रा कथा पढ्न पाउँदा निकै रोमाञ्चित हुने गरेको छु । यो समय, कथामा जति शक्तिशाली बन्दै जान्छ त्यति म आफु मजबुत भएको महसुस गर्छु । यो समयको कथा मजबुत हुनु भनेको यो समय कथा लेखिरहेका सबै मजबुत बन्नु हो । चिसो घाम पढिसकेपछि मैले सरुलाई यो समयको शक्तिशाली कथाकार मानेको छु । नारी संवेदना र नारी मनका आधारभूमिमा लेखिएका सरुका अधिकांश कथाहरू यो समयका कथा बनेका छन् ।
यो समय असरल्ल अवसरहरूका बीच अभाव बाँचिरहेको समय हो । सम्पन्नताहरूका भीडमा गरिबी भोगिरहेको समय हो । खुशी बगिरहेको नदीमा दु:खझैँ अड्किरहेको बगर हो यो समय । र यही समयमा कथा लेखिरहेकी छिन् सरु । कथा लेखिरहेको छु म । कथा लेखिरहेका छन् अरू केही कथाकारहरू । यो समयमा कथा लेख्नु चानचुने समय होइन । यो समय पाठकहरू दिनप्रतिदिन चुजी र अध्ययनशील बन्दै गएको समय हो । प्रकाशक र सम्पादक बजारकेन्द्रित भइदिँदा कथाकारहरू दिग्भ्रमित भइरहेको समय हो यो । मिडियाहरूले हल्का र चर्चाका कुराहरू मात्र खोजिरहँदा गम्भीर र सृजनशील कथाकारहरू अल्मलिरहेको समय हो यो । यो समय सङ्कटमा छ नेपाली कथा । राम्रा कथा लेखिरहेकाहरू चर्चाका लागि र प्रकाशकलाई खुशी पार्नका लागि उपन्यासतिर हाम्फालेका छन् । असल कथाकारहरू मिडियामा कथाइतरका रचनामा क्षणिक चर्चा बटुलिरहेछन् । यस्तो समयमा सार्थक कथा लेख्ने एक–दुई भेटिँदा पनि निकै खुशी लाग्दो रहेछ । हो, सरुको चिसो घाम पढिरहँदा मलाई यस्तै खुशी लागेको छ ।
सरुको कथाको आधारभूमि नारी हो । उनका कथाहरूमा नारी मनको सम्मानको आग्रह छ । नारी अधिकारको सुनिश्चितताको अपेक्षा छ । र, उनले आफ्ना कथाहरूमार्फत् नारी–पुरुष समानताको उद्घोष गरेकी छिन् । एकाध कथा छाडेर चिसो घामभित्रका अधिकांश कथाले यो समयको प्रतिनिधित्व गरेको छ । यो समाज र यसभित्र बाँचिरहेका मानिसहरूको प्रतिनिधित्व गरेको छ ।
सरुको कथाको कन्टेन्ट सशक्त छ । जुन जुन विषय उनले उठाएकी छिन् ती सबै शक्तिशाली विषय नै हुन् । त्यसमा उनले आफ्नो शैली विकास गरिरहेकी छिन् । विषय र शैलीको यो संयोजनले कथालाई पठनीय बनाएको हो ।
सरुको कथाको विषेशता भनेको यौनको सन्दर्भ र प्रशङ्गबाट जोगिनु नै हो । पछिल्लो समय साहित्यमा चर्चा पाउन र सम्पादक प्रकाशकहरूको प्रिय हुन केही लेखकहरूले यौनलाई आख्यानको बलियो कन्टेन्ट बनाउन थालेका छन् । यस्ता कन्टेन्टबाट सरु जोगिएकी छिन् । यौनलाई साहित्यमार्फत् प्रस्तुत गर्दा साहित्यकार सचेत हुनैपर्छ । यौनको प्रस्तुति असभ्य, अशिष्ट र भद्दा भयो भने त्यसले साहित्यिक मर्यादा गुमाउँछ । यो मामिलामा सरु सचेत छिन् ।
कथाकारले संवेदनासँग खेल्ने होइन, अनुभूत गर्ने हो । यो काम सरुले गरेकी छिन् । सामान्य मान्छेका आँखाले देख्न नसकेका कुरालाई कथाकारको संवेदना र कल्पनाशक्तिले छाम्न सक्छ, महसुस गर्न सक्छ । यही संवेदना र कल्पना फ्युजन भएपछि साहित्य सृजना हुने हो । र यो सन्दर्भमा सरु सक्षम छिन् । उनले सामान्य र सरल व्यक्तिको जीवनलाई आफ्नो कथामा उतारेकी छिन् । उनीहरूको संवेदना र मनोभावलाई प्रस्ट्याएकी छिन् ।
नेपाली कथामा सरु पोखरेल अब स्थापित नाम हो । चिसो घामभित्रका १९ वटा कथाहरू यसैका प्रमाण हुन् । महिला हिंसा, द्वन्द्व र अभावका तानाबानाबीच बुनिएका सरुका अधिकांश कथाले पाठकको मनलाई संवेदित बनाउँछ । केही कथाले त पाठकलाई सोच्न बाध्य बनाउने छ । ‘मैले महिलामैत्री ब्यवहार गरिरहेको छु कि छैन ?’ भन्ने सचेतना पाठकमा आउने छ । मलाई लाग्छ, लेखकको सामथ्र्य भनेको पाठकको मनसँगको सम्वाद नै हो । र सरुका अधिकांश कथाले पाठकको मनसँग सम्वाद गर्ने सम्भावना बोकेको छ ।
समग्र समाजमा समानता चाहेकी सरु केही कथाहरूमा अलि बढि नारीवादी देखिएकी छिन् । शीर्षक–कथा ‘चिसो घाम’मै पनि अलि बढि नारीवाद देखिन्छ । मिडियामा छाउन बलजफ्ती नारीवादी बनेका केही अधिकारकर्मीको जस्तो ठाडो नारीवाद । कुनचाहिँ लोग्नेमानिस त्यस्तो होला जो आफ्नो श्रीमतीलाई तीन–तीन चोटि गर्भ तुहाउन दबाब दिन्छ । सरुले कथामा श्रीमान्ले माया गरेको र श्रीमतीका दु:ख र मनलाई थोरबहुत बुझेको पनि देखाएकी छिन् । यस्तो अवस्थामा पारिवारिक र सामाजिक दबाबस्वरुप लाचार भएर श्रीमान्ले श्रीमतीलाई गर्भपतनका लागि बाध्य पारिरहेको देखाइएको छ । यहीँनेर मलाई अलि बढि नारीवाद हावी भएको महसुस भएको हो । पहिलो कुरा, आजकाल भ्रुणको लिङ्ग बताउँदैनन् चिकित्सकहरू । बताइ नै हाले पनि पटक–पटक गर्भपतन गराउने जोडीलाई त झनै बताउँदैनन् । कथामा देखाइएझैँ त्यति माया गर्ने श्रीमान्ले श्रीमतीको स्वास्थ्यमा असर पर्ने ख्याल नै नगरी पटक–पटक गर्भपतनका लागि दबाब दिँदैन भन्ने लाग्न सक्छ पाठकलाई, कथा पढिरहँदा । त्यसो त यो समाजमा अत्यन्त हिंस्रक र अमानवीय श्रीमान्हरू पनि छन् । तर अधिकांश श्रीमान्हरू आफ्नी श्रीमतीलाई माया गर्ने नै छन् ।
एक–दुई कथामा भेटिएको ठाडो नारीवाद बाहेक सबै कथा राम्रा छन् । कथा पढिरहँदा सबै पाठकले सरुको कथाकारिताको प्रशंसा नै गर्ने छन् । म नेपाली कथाको यो आजको समयमा सरुको सम्मानयोग्य हस्तक्षेपको स्वागत गर्छु ।

१७ पुष २०७१, बिहीबार १३:०५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिका राष्ट्रपति चुनाव : अग्रिम मतदान गर्ने संख्या बढ्दो

न्यूयोर्क । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ ।..

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..