मलाई अर्घेलो बनाइयो : रामचन्द्र पौडेल

० सहमति जुटाउन भनि आइतबार बालुवाटारमा बसेको दलहरूको बैठक काङ्ग्रेस र एमालेको नेताका कारण भाँडियो भन्छन् नि, यथार्थ के हो ?
– आरोप लगाउनेले जे लगाए पनि यथार्थ कतै लुक्न सक्दैन, लुकेको छैन । बैठकमा काङ्ग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले कसैको हार नहुने किसिमले वर्तमान राजनीतिक समस्या सल्टाऔँ र मिलेर संविधान बनाऔँ भन्ने प्रस्ताव राख्नुभयो । एमाले अध्यक्ष केपी ओलीले पनि धेरै किसिमका विकल्पहरू अघिसार्दै सहमतिका साथ अघि बढ्नुपर्ने कुरा राख्नुभएको हो । उहाँले प्रस्ताव गरेका विभिन्न विकल्पमा आफ्नो तर्फबाट कुनै राय, सुझाव वा प्रतिक्रिया नदिई प्रचण्डजीहरू एकाएक जुरुक्क उठेर हिँड्नुभयो । उहाँहरूको चालढाल हेर्दा लाग्थ्यो– उहाँहरू वार्तामा नबस्ने, संविधानका अन्तर्वस्तुमा कुरै नगर्ने हिसाबले पहिले नै तयार भएर आउनुभएको थियो ।
० तपाईंहरूले सहमतिको कुरै नगरी प्रक्रियाको कुरा मात्रै गर्नुभएको भन्ने आरोप छ नि ?
– सहमतिकै कुरा गरेको हो । त्यसैले त विभिन्न विकल्प दिइएको हो नि ! सहमति भनेको कुनै एउटै कुरामा ढिपी गर्ने नभई विभिन्न विकल्पमा खुलेर छलफल गरी निचोडमा पुग्ने होइन र ? तर, उहाँहरूले कुनै कुरै सुन्नुभएन, न त दिइएका विकल्पमा प्रतिक्रिया दिनुभयो न त आफ्ना धारणा नै अघि सार्नुभयो । त्यत्तिकै आवेशमा आएर जुरुक्क उठेर बाटो लागेको देख्दा हामी त आश्चर्यमै प-यौँ ।
० तपाईंहरूले धम्कीको भाषा प्रयोग गरेको भन्ने आरोप छ नि प्रचण्डजीको त ?
– केको धम्कीको भाषा बोल्नु ? त्यो प्रचण्डजीको बहाना मात्रै हो । साँच्चै भन्ने हो भने अघिपछि तिखो बोल्ने ओलीजीले त्यसदिन त अत्यन्त नरम शैलीमा आफ्ना कुरा राख्नुभएको थियो । निकै माइल्ड टोनमा कुरा गरेका ओलीजीमाथि त्यस्तो आरोप लगाउनु नै दुराशययुक्त छ ।
० सहमतिको लागि भन्दै बालुवाटार बोलाएर प्रक्रियाको कुराचाहिँ किन गरेको नि तपाईंहरूले ?
– प्रदेश निर्माणमा हाम्रो यस्तो प्रस्ताव छ, शासकीय स्वरूप यस्तो कल्पना गरेका छौँ, निर्वाचन र न्यायप्रणालीमा हाम्रा यी–यी कुरा छन्, लौ तपाईंहरूको राय के छ भनेर सोध्नु पनि अपराध हुन्छ र ? हामीले बोलेको त्यही हो, यस्तोमा किन आइरहेछ ‘प्रक्रियाको कुरा गरेर निहुँ खोजेको’ आरोप ? प्रक्रियाको कुरा हामीले गर्नैपर्दैन, अन्तरिम संविधानले नै व्यवस्था गरेको छँदैछ नि सहमति नजुटे प्रक्रियामा गएर समाधान खोज्ने कुरा त ।
० तपाईंहरूले आफ्नो प्रस्ताव त अघिसार्नुभयो तर अडान नै नछोड्ने छाँटकाँट देखाउनुभयो अरे, आफ्नो प्रस्तावबाट तलमाथि नै नगर्ने भएपछि कसरी हुन्छ त सहमति ?
– त्यस्तो व्यवहार हामीले दर्शायौँ कि उहाँहरूले ? घामजत्तिकै छर्लङ्ग कुरालाई पनि मैले बोलिरहनु पर्छ र ? हामीले आफ्ना कुरा राख्नुपथ्र्यो– राख्यौँ । अब यो–यो कुरा चित्त बुझेन, यसो–यसो गरौँ भन्नुपर्ने थियो नि त उहाँहरूले । तर आवेगमा आई त्यत्तिकै उठेर हिँड्न सुहाउँछ ? यस्तो अहङ्कार पालेपछि कसरी सहमतिको संविधान आउँछ ? मेरो अनुमति, अनुकम्पा, निगाहा नभई यो देशमा पात पनि हल्लिन मिल्दैन भनेजस्तो व्यवहार देखाएर कसरी जुट्छ सहमति ? यस्तो दम्भ त कसैले गर्न हुँदैनथ्यो, तर प्रचण्डजीहरूले यस्तै दम्भ देखाउनुभयो । नेपाली जनताको जनमतलाई ठाडै हेप्ने काम भयो । हाम्रो मतको पनि त कदर हुनुप-यो नि ! के हामीचाहिँ सधैं अपहेलित नै हुनुपर्ने ?
० अपहेलना त काङ्ग्रेस–एमालेले पो गरे भनिएको छ त ?!
– यो बेकारको कुरा हो । हाम्रो संस्कार यस्तो होइन । काङ्ग्रेस–एमालेले उहाँहरूलाई हेपेको छैन बरु आवश्यकताभन्दा ज्यादा नै सम्मान दिएको छ, जो उहाँहरूलाई नपचिरहेको जस्तो प्रतीत हुन्छ । सहमतिको लागि हामीले उहाँहरूले चाहेजसरी सबै कुरा ग-यौँ, जहाँ–जहाँ र जहिले–जहिले बैठक गर्ने भनियो, त्यसैअनुसार मान्यौँ । तर, हामी मात्रै लचक भएर के गर्नु उहाँहरूको नियत नै खोटो भैदिएपछि ? संवाद तथा सहमति समितिमा आ–आफ्नो धारणा प्रस्ताव गर्नुस् भनेर सभापति बाबुराम भट्टराईले नै अह्राएपछि हामीले आफ्नो साझा प्रस्ताव लगेका हौँ, तर उहाँले नै त्यत्रो बखेडा गर्नुभयो । अवधारणा माग्ने अनि त्यो लैजाँदा बैठक नै अनिश्चितकालको लागि स्थगित गर्ने ? के चाला हो त्यो ? यसमा हाम्रो के दोष छ ?
० तपाईंले पनि बाङ्गो व्यवहार गर्नुभयो भन्ने आरोप छ बाबुरामजीको त ?
– यसैमा त म छक्क परेको छु । म लटरपटर कुरा गर्न जान्दिनँ, आफूलाई लागेको कुरा इमानदारीका साथ प्रस्तुत गर्छु । वास्तवमा त्यसरी बाबुरामजीले चाल चल्न थालेपछि मैले प्रतिवाद गरेको हुँ, तर अरु नेताहरू केही बोलेनन् । मलाई मात्र अर्घेलो र अचानो बनाउन खोजेजस्तो महसुस भई ज्यादै नरमाइलो लाग्यो । के मलाई मात्रै चाहिएको हो र संविधान ? जायज कुरामा प्रतिवाद गर्दा पनि साथीहरूबाट साथ मिलेन, तैपनि एमाओवादी पक्षको दुर्नियतको पर्दाफास गर्न म चुकिनँ र चुक्दिनँ पनि । अर्घेल्याइँ कसको हो भन्ने कुराको छ्यानविचार त प्रेसले र अन्य बुद्धिजीविहरूले पनि गर्नुप-यो नि ! सबैको दायित्व छ नि, एकजनालाई मात्र अचानो बनाउन मिल्छ ?
० प्रचण्डजीले त खुलेरै ‘रामचन्द्रजी नै हो सहमतिको बाधक’सम्म पनि भन्नुभयो, किन होला ?
– यही हो बदमासी भनेको । आफ्नो गल्ती–कमजोरी ढाकछोप गर्न अर्कालाई अर्घेलो देखाउन खोज्नु राजनीतिक धुत्र्याइँ हो । आफ्नो स्वार्थसिद्धिका निम्ति एक–एक गरेर नेताहरूको तेजोबध गर्ने प्रचण्डजीको रणनीति नै देखिएको छ । आफूलाई मन परेन भन्दैमा व्यक्तिगत प्रहार गर्ने, हतोत्साहित तुल्याउन खोज्ने, यसरी एक–एकलाई चुप लगाउँदै आतङ्कित तुल्याएर आफू मात्र हिरो बन्न खोज्ने उहाँको शैली हो । यसबाट सबै सचेत रहनुपर्छ भन्ने मेरो धारणा छ । प्रजातन्त्रमा यस्तो शैली अवलम्बन गर्न पाइन्न ।
० मोर्चा विघटन गर पनि भन्नुभएछ नि तपाईंहरूले, त्यस्तो भन्न मिल्थ्यो ?
– मोर्चा किन बनाउने त अहिले ? मोर्चा बनाएर आन्दोलन गर्दै हिँड्ने हो कि संविधान बनाउने हो अहिले ? जनताले संविधान बनाउ भनेर संविधानसभामा पठाएका छन्, ती जनतालाई संविधान बनाएर दिने कि रमिता देखाइदिने हो ? के हो जनघात होइन ? उहाँहरूको मकसद त ‘माघ ८’ टार्ने, संविधान नदिने नै जस्तो पो देखियो त ।
० त्यसोभए काङ्ग्रेस–एमाले मिलेर दिन सकिएला नि त संविधान, होइन ?
– दिन सक्ने सामथ्र्य छ, तर हामी सकभर सबै मिलेर सहमतिकै आधारमा संविधान बनाऔँ भन्ने सोचका साथ अघि बढिरहेका छौँ । सबैको सहमति नजुटेको अवस्थामा त संवैधानिक प्रक्रियामा जानैपर्छ नि !

प्रधानमन्त्रीको भाञ्जा भए पनि अब चुप बस्दिनँ– रमेश भण्डारी (प्रधानमन्त्रीका स्वकीय सचिव)
० यतिबेला प्रधानमन्त्रीले भ्रष्टाचार निवारणको मुद्दा त निकै उठाइरहनुभएको छ, तर भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम त केही देखिएन नि ?
– प्रधानमन्त्रीले अहिले मात्र भ्रष्टाचारको मुद्दा उठाउनुभएको होइन । उहाँले मन्त्रिपरिषद्को पहिलो बैठकबाट नै भ्रष्टाचार निवारणको काम सुरु गर्नुभएको हो । राज्यकोषबाट गरिने पाँचहजार भन्दा बढी खर्चको विवरण इन्टरनेटमा सार्वजनिक रूपमा राख्ने पद्दतिको सुरुवात भ्रष्टाचार निवारणको पहिलो कडीको रूपमा प्रधानमन्त्रीबाट सुरु भएको बिर्सन मिल्दैन । भ्रष्टाचार निवारण प्रधानमन्त्री एक्लैले गर्न सक्ने कुरोचाहिँ होइन, यसको लागि त राज्यका सबै संयन्त्र लाग्नुप-यो नि ! पैसा कति कमाउने ? केको लागि कमाउने ? के मरेर जाँदा पैसा सँगै लैजाने हो र ? मैले भ्रष्टाचारको विषयमा कर्मचारीलाई मात्र दोष दिन्नँ । राजनीतिक दलका नेताहरूले यस विषयमा गम्भीर रूपमा सोच्नु प-यो नि ! म पनि प्रधानमन्त्रीको स्वकीय सचिवालयमा काम गर्छु । खै ‘यति पैसा दिन्छु, काम गरिदिनुप-यो’ भन्न मसँग त कोही पनि आउँदैनन् । वास्तवमा रमेश भण्डारीले पैसा लिएर नाजायज काम गर्दैन भन्ने कुरा सबैले बुझेका छन् । सबैमा यस्तै सोच आउनु प-यो नि ।
० प्रधानमन्त्री स्वच्छ छविको भए पनि आफ्ना सहयोगीहरू स्वच्छ छविका नियुक्त गर्न सक्नुभएन भन्ने आरोप छ नि ?
– यो स्वच्छ छविको छ भनेर के मानिसको निधारमा लेखेको हुन्छ र ? कसलाई कुनै जिम्मेदारी नदिई कस्तो काम गर्न सक्छ भनेर जान्न सकिन्छ र ? काम गर्दै जाँदा बुझ्ने कुरा हो । नियुक्तिहरू त धेरै बाँकी छन् नि । राजदूत नियुक्त गर्न बाँकी छ । विभिन्न संवैधानिक निकायहरूमा नियुक्त गर्न बाँकी नै छ । स्वच्छ छविका मानिसहरू यिनीहरू छन् भनेर सञ्चारकर्मीले पनि मिडियामा ल्याइदिनु पर्छ ।
० प्रधानमन्त्री त संविधान निर्माणको काममा सहजीकरण गर्नेतिर भन्दा बढी औपचारिक सभा–समारोहमा भाषण गर्न केन्द्रित भए भन्ने आरोप पनि छ नि, यस्तै हो र ?
– मलाई त्यस्तो लाग्दैन । मेरो बुझाइमा सरकारको काम संविधान बनाउने पनि होइन, त्यो त संविधानसभाले गर्ने हो । तै पनि प्रधानमन्त्रीज्यू त रातदिन संविधानकै चिन्ता गरिरहनुभएको छ । आफ्नो कमाण्डमा सरकारको नेतृत्व भएको बेला तोकिएकै समयमा संविधान ल्याउँ भन्ने लालसा कसलाई हुँदैन होला ! उहाँलाई पनि यही कुराको चिन्ता छ । यसो दुई–चारवटा औपचारिक कार्यक्रममा जानुभयो भन्दैमा संविधान निर्माणप्रति नै उदास बनेको भन्ने आरोप लगाउनु हुँदैन । बढाइचढाई नगरी भन्नुपर्दा उहाँको सम्पूर्ण ध्यान नै संविधान निर्माण गर्नेतर्फ छ । बरु बेलाबेलामा मैले भन्ने गर्छु कि तपाईंले संविधानकै कुरामा बढी ध्यान दिँदा कतै राज्यसञ्चालनमा असर पर्ने त होइन ? त्यसो त काम गर्ने मान्छेलाई आरोप पनि आउँछन् ।
० सुशील कोइराला प्रधानमन्त्री भएपछि आजसम्म उल्लेख्य उपलब्धि के–के हासिल हुन सक्यो, बताउन सक्नुहुन्छ ?
– धेरै उल्लेख्य उपलब्धिहरू हासिल भएका छन् । सत्र वर्षसम्म छिमेकी मुलुक भारतका प्रधानमन्त्रीको नेपाल भ्रमण हुन सकेको थिएन । यो सरकार भारतका प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउन सफल भएको छ । सार्क शिखर सम्मेलन भव्यता र सफलताका साथ सम्पन्न भएको छ । अमेरिकी राष्ट्रपतिलाई नेपाल भ्रमण गराउने प्रयास सकारात्मक रूपमा अगाडि बढेको छ । भ्रष्टाचार निवारणको अभियानले तीव्रता पाएको छ । जनताले शान्तिसुरक्षाको महसुस गरेका छन् । संविधान निर्माणको प्रक्रिया सकारात्मक रूपमा अगाडि बढेको छ । खेर गइरहेको नेपालका नदीनालाहरूको पानीबाट विद्युत् उत्पादन गर्ने सम्बन्धमा पीडीए सम्झौता गर्न यो सरकार सफल भएको छ । आजको सङ्क्रमणकालीन अवस्थामा यीभन्दा बढी के उपलब्धिको अपेक्षा गर्न सकिन्छ र ?
० भ्रष्टाचार निवारणको अभियानले तीव्रता पाएको छ त भन्नुभयो, तर प्रधानमन्त्रीलाई भ्रष्टाचारीहरूले घेराबन्दी गरेका छन् भन्ने चर्चा छ त ?
– हेर्नुस्, भ्रष्टाचार र बलात्कारको कुनै प्रमाण हुँदैन । प्रधानमन्त्री पनि त कुनै अन्तरयामी होइन नि आफ्ना वरिपरिकाले भ्रष्टाचार गरेको देख्न सक्ने । तपाई पत्रकारहरूले तथ्यपरक तरिकाले आवाज उठाउनु प-यो नि कहाँ भ्रष्टाचार भएको छ भनेर । प्रधानमन्त्रीको नाममा यदि कसैले भ्रष्टाचार गरेको सूचना छ भने त्यसलाई तुरुन्त कारवाहीको दायरमा ल्याउन प्रधानमन्त्री दृढ हुनुहुन्छ । प्रधानमन्त्रीलाई गुमराहमा पार्ने चेष्टा कहीँ–कतैबाट हुँदैहुँदैन भनी कहिल्यै दाबी गर्न नसकिएला, अहिले पनि त्यस्तो दुष्प्रयास कसैले गरेका हुन सक्छन्, तर प्रधानमन्त्रीलाई झुक्याएर नाजायज फाइदा लिउँला भनी कसैले नसोचे हुन्छ ।
० तपाईं प्रधानमन्त्रीको भाञ्जाको नाताले स्वकीय सचिवमा नियुक्त हुनुभएको हो ?
– के मेरो हैसियत स्वकीय सचिव मात्र भएर बस्ने होला त ? यदि नाताको हिसाबले गरेको भए त मलाई प्रधानमन्त्रीले मन्त्री पदमा नियुक्त गर्नुपर्ने नि, खै गर्नुभएन त ! वहाँलाई सहयोग गर्न मात्र म स्वकीय सचिवको भूमिकामा काम गरिरहेको छु । यदि प्रधानमन्त्रीको भाञ्जा नभएको भए म मन्त्री नै पो हुन्थेँ कि ?!
० सक्रिय राजनीतिमा आउने सोच पनि छ कि तपाईंको ?
– सक्रिय त म अहिले पनि छँदैछु नि ! साथीहरूसँग सल्लाह गरेर पार्टी सङ्गठनलाई मजबुत बनाउन थप सक्रियताका साथ दृढ भएर अघि बढ्ने सोचमा छु ।
० पार्टीमा कुनै खास भूमिकाको खोजीमा पनि हुनुहुन्छ ?
– मसँग पनि त सपनाहरू होलान् नि मन्त्री–प्रधानमन्त्री बनुँ, देश र जनताको सेवा गर्न पाउँ भन्ने । यसका लागि पार्टीको केन्द्रिय नेतृत्वमा रहेर काम गर्ने वातावरण बनाउनुप-यो भन्ने लागेकै छ । साथीहरूसँग सल्लाह गरेर कसो गर्नु उचित हुन्छ, त्यही गर्ने सोचमा छु ।
० पार्टीभित्र धेरै पुराना र त्यागी कार्यकर्ताहरू ओझेलमा छन्, दुःख पाएका छन् सुशील कोइरालाजस्ता त्यागी प्रधानमन्त्री हुँदा पनि त्यस्ता कार्यकर्ताले न्याय पाउँदैनन् भने अब कसको भरोसा गर्ने भन्ने आवाज पनि उठेका छन् नि, के भन्नुहुन्छ ?
– पार्टी–कार्यकर्ता मात्र होइन गरिब दुःखी तथा अन्यायमा परेका आमजनताको हित हुने काम गर्नुपर्छ भन्ने भावना सुशील कोइरालामा जति अरू कसमा होला ? पार्टीभन्दा ठूलो देश हो र यो देशका जनता पनि उत्तिकै ठूला हुन् । त्यसैले देश र जनताको खिलाफ म कसैसँग कुनै सम्झौता गर्न सक्दिनँ भनेर प्रधानमन्त्रीले बारबार भनिरहनुहुन्छ । वहाँ एक्लैले चाहेर मात्र त के हुन सक्छ र ? वहाँलाई पनि आफ्ना सहयोगीबाट राम्रो सहयोग मिल्न सकेको छैन ।
० सहयोगी भनेका तपाईंहरू नै त हो, अब कसले असहयोग गरे भन्न खोज्नुभएको ?
– यत्रो पार्टी संरचना छ, यसमा दुई–चार जनाले सघाएर हुने हो र ? सबैले आ–आफ्नो ठाउँबाट इमानदारीसाथ हात र साथ दिए न प्रधानमन्त्रीलाई बल पुग्ने हो । त्यो भएन भन्ने मेरो बुझाई हो ।
० तपाईं क्रियाशील राजनीतिमा होमिन्छु भन्दै हुनुहुन्छ, तर अहिले नै पनि रमेश भण्डारीको शक्ति एउटा मन्त्रीको भन्दा कम छैन भन्दारहेछन् नि ?
– प्रधानमन्त्रीको स्वकीय सचिव भएपछि त्यस्तो देखिनु स्वाभाविक नै हो । सरकार सञ्चालन र पार्टी–सङ्गठन फरक कुरा हुन् । पार्टी–सङ्गठनलाई मजबुत बनाउन सके मात्र त्यो पार्टीको नेतृत्व गर्ने सरकारले धेरै कामहरू गर्न सक्छ । मेरो कुरा गर्नुहुन्छ भने म त बत्तीमुनिको अँध्यारो जस्तै भएको छु । २०२६ सालदेखि म निरन्तर पार्टी सङ्गठनमा क्रियाशील छु, तर आजसम्म पार्टीको कुनै पदीय भूमिकामा बसेर काम गर्ने अवसर पाएको छैन । सुशील कोइरालाको भाञ्जा हुनुकै प्रतिफल होला यो । अब म यसै चुप लागेर बस्दिनँ । पार्टी सङ्गठन सुदृढीकरणको लागि देशव्यापी अभियानमा निस्कन्छु । पीरमर्कामा परेका कार्यकर्ताहरूको आवाज पार्टीमा लैजान्छु । अब मेरो सम्पूर्ण समय पार्टी–सङ्गठन सुदृढ गर्ने अभियानमा लगाउँछु ।
० अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोकसेवा आयोगलगायत विभिन्न संवैधानिक निकायहरूमा खाली पदपूर्ति हुन नसक्दा प्रभावकारी ढङ्गले काम हुन सकेन भन्ने गुनासा आउन थालेका छन् नि, किन ढिलाई भइरहेको हो ?
– अहिले सरकारको प्राथमिकता संविधान निर्माण गर्ने हो । सबैको ध्यान संविधान निर्माणको लागि सहमति जुटाउनेतर्फ केन्द्रित भएको छ । संविधान निर्माण गर्ने भन्दैमा राज्य सञ्चालनका नियमित प्रक्रियाहरूमा ध्यान नदिने भन्ने होइन । चाँडै नै संवैधानिक परिषद्को बैठक बसेर नियुक्तिका प्रक्रियाहरू टुङ्गो लगाउने छ । प्रधानमन्त्री पनि यी विषयमा अनभिज्ञ हुनुहुन्न । संवैधानिक निकायहरूलाई अझ प्रभावकारी र क्रियाशील बनाउन रिक्त नियुक्तिहरू चाँडै नै गर्नुपर्छ भन्ने मलाई पनि लाग्दछ ।
० सरकार परिवर्तनका कुरा पनि बाहिर आउन थालेका छन् नि, कत्तिको सान्दर्भिक छ यो ?
– हो, बाहिर आएका कुरा सत्य नै हुन् । सरकार परिवर्तन हुन्छ तर संविधान घोषणा गरेर मात्र । ‘संविधान घोषणा गरेपछि म एकदिन पनि सत्तामा बस्दिनँ’ भनेर प्रधानमन्त्रीले पटक–पटक भनिरहनुभएको छ । चाँडोभन्दा चाँडो सहमति जुटाउनु प-यो नि संविधान निर्माणको लागि, त्यसपछि पो हो सरकार परिवर्तनको कुरा उठाउने । काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर गर्ने बेला त होइन नि यो ।
प्रस्तुति : प्रकाश पोखरेल

१४ पुष २०७१, सोमबार ०५:४१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सरकारमा सहभागी हुने २ मन्त्रीको नाम टुंगो लाग्यो

काठमाडौँ, ४ मंसिर । सरकारमा मन्त्रीको रुपमा प्रवेश गर्ने २ जनाको नाम टुंगो लागेको छ । तत्कालिन माओवादी केन्द्रको तर्फबाट २ जनाको..

राजपाको संयोजकमा राजेन्द्र महतो

काठमाडौँ, ४ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयोजकमा राजेन्द्र महतो चुनिएका छन् । बुधबार बसेको..

मन्त्रिपरिषद् हेरफेर, ४ मन्त्रीको बिदाई पक्का

काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केहीबेरमै मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् ।..

प्रचण्ड कार्यकारी अध्यक्ष, ओली पूरै अवधि प्रधानमन्त्री

निरोज कुमार थापा, काठमाडौँ, ४ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई..

प्रधानमन्त्रीले राजीनामा दिन गरेको आग्रह उपसभामुखले मानिनन्

काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेका..