राजा फर्कनेमा शङ्कै छैन :: जगत गौचन (नेता, राप्रपा)

० देशमा संविधान निर्माणको यत्रो खलबली छ, राष्ट्रिय सरकार गठनको चर्चा चलेको छ, तर तपाईंको पार्टी राप्रपाचाहिँ सिनमा खासै देखिएको छैन, किन होला ?
– यो कुरालाई सजिलो भाषामा बुझाउनुपर्दा के भन्नुपर्ने हुन्छ भने जबसम्म वसन्त ऋतु आउँदैन तबसम्म कोइली चरीले गीत गाउँदैन । ०४६ मा एउटा परिवर्तन भयो– त्यतिबेला काङ्ग्रेस–एमालेले मौका पाए, तर राष्ट्र र जनताको हितमा उनीहरूले केही पनि गर्न सकेनन् । त्यसपछि ०६३ मा माओवादी नामको नयाँ शक्ति आयो, तर उनीहरूले पनि मुलुकका लागि केही गर्नेभन्दा आफैँ अल्मलिनेबाहेक केही गर्न सकेनन् । यस हिसाबले काङ्ग्रेस, एमाले र एमाओवादी पूर्ण रूपले असफल भएको परिस्थितिमा नेपाललाई एउटा नयाँ राष्ट्रवादी शक्तिको खाँचो परेको छ । त्यो खाँचो परिपूर्ति अब राप्रपाले गर्नेछ । हामी त्यही समयको प्रतीक्षामा छौँ ।
० राष्ट्रवादी शक्तिकै परिपूर्ति गर्ने गरी अगाडि आउन त नीति, रणनीति र तयारी पनि त चाहिएला, त्यस्तो के गर्दै छ त राप्रपाले ?
– मैले भनेँ नि कोइलीले गीत गाउन वसन्त ऋतुकै प्रतीक्षा गर्नुपर्छ । यस सन्दर्भमा एउटा यथार्थ के पनि बुझ्नु आवश्यक छ भने चाहेर–नचाहेर, बुद्धि पुगेर या नपुगेर या हाम्रो कमजोरीकै कारण भनौँ वा बाह्य हस्तक्षेपको कारणले भनौँ ०४६ मा हामीले एउटा लडाइँ हा-यौँ । यसैगरी ०६३ मा पनि अर्को एउटा लडाइँ हा-यौँ । हो, यसरी लडाइँमा हारेको सेनाले पुनर्ताजगीसहित तालिम गर्दै नयाँ परिवेशको युद्ध जित्नका लागि समयानुकूल तालिम या तयारी चाहिन्छ, यही तयारी हामी गर्दै छौँ । हामीलाई यतिबेला फाइदा के छ भने जनता हाम्रो पक्षमा छन्, आउँदै छन् । शासन–सत्तामा रहेका दलहरूको निकम्मापनका कारण पनि जनता हामीतिर आशाको नजर लगाउन थालेका छन् । मुलुकको समस्यालाई निकास दिन नसक्ने काङ्ग्रेस, एमाले र एमाओवादीको विकल्पमा हामी सशक्त ढङ्गले अगाडि आउँदै छौँ । हिजो हाम्रो कमजोरीले काङ्ग्रेस–कम्युनिस्ट शक्तिमा आए, आज यिनको ढङ्ग नपुग्दा हामी अग्रसर हुनुपर्ने परिस्थिति निम्तिएको छ ।
० राप्रपाले न लोकतान्त्रिक धार पक्रिन सक्यो न त पूर्ण राष्ट्रवादी धार नै, यस्तो अवस्थामा कसरी विकल्प बन्न सक्ला त ?
– हो, राप्रपाभित्र दुई धारको द्वन्द्व चलिरहेको छ । एकथरी यस्ता व्यक्तिहरू छन् जो जता हावा चल्यो उतै बहकिन खोज्छन् । पहिले राजा र पञ्चायती व्यवस्थालाई निर्विकल्प भन्नेहरू बहुदल आएपछि खाँटी प्रजातन्त्रवादी बने । काङ्ग्रेसहरूले भन्दा चर्को स्वरमा तिनले बहुलवादको कुरा गरे । तिनीहरू नै यतिबेला ठाउँपर्दा माओवादीलाई उछिनेर गणतन्त्रको कुरा गर्न कत्ति लाज मानिरहेका छैनन् । तर, त्यहीँभित्र हामीजस्ता मानिस पनि छौँ जो राप्रपाको पहिचान, मूल्य र मान्यतालाई नछोडी अघि बढ्नुपर्छ भनेर अडान लिइरहेका छौँ । प्रस्ट भन्नुपर्दा त्यो धार भनेको राष्ट्रवादी र राजावादी धार पनि हो ।
० यी दुई धारमध्ये अवसरवादी धार नै हाबी भइरहेजस्तो छ नि तपाईंको पार्टीमा, हो ?
– त्यस्तो देखिन सक्छ, यथार्थ त्यस्तै पनि हुन सक्छ, तर परापूर्वकालदेखि हेर्ने हो भने जहिले पनि राक्षस र देवताको लडाइँ हुँदा जित अन्ततः सत्यकै हुन्छ । न्याय र अन्यायको लडाइँमा न्यायले नै जित्नुपर्छ । तसर्थ, निर्विवाद रूपमा हामी नै जित्छौँ, लेखेर राख्नुस् । विदेशीको चलखेल जसरी बढेको छ, त्यसले हरेक स्वाभिमानी नेपालीको शिर झुकेको छ । यो दूरावस्थाको विरुद्ध राष्ट्रवादी शक्ति खडा गरी झुकेको नेपाली शिर वा स्वाभिमान उँचो बनाउँछौँ हामी । यसका लागि एउटा निर्णायक लडाइँ लड्नुपर्ने हुन सक्छ । तेस्रो जनआन्दोलन नै ठहरिन पनि सक्छ त्यो, तर त्यो दिन आउँछ ।
० यस्तै या योभन्दा पनि चर्को राष्ट्रवादको कुरा त राप्रपा नेपालले पनि गरिरहेको छ, तपाईंहरूले सुन्नुभएको छ कि छैन ?
– म र मजस्ता मानिसले नै जन्माएको पार्टी हो त्यो पनि । तर, त्यसले विस्तारै राष्ट्रवादी–राजावादी लाइन छोड्दै गएको प्रस्टै देखिएको छ । अन्य दलजस्तै केवल सत्ता–स्वार्थसिद्धिका लागि राप्रपा नेपालका नेताहरू पनि अस्वस्थ हौवामा लागेको देखिँदै छ । त्यस्तो छाँट देखेर नै हामी त्यसबाट अलग भएका हौँ । हुँदा–हुँदा त्यो पार्टीले ‘पहिचानसहितको अलग राज्य’लाई समेत मान्यता दिने मानसिकता बनाएको बुझिएको छ । हेर्नुस्, अहिलेको लडाइँ भनेको गणतन्त्र मान्ने र नमान्नेबीचको लडाइँ हो । हिजो गणतन्त्र नमान्ने धार या भनौँ हिन्दूवादी–राजावादी धारको प्रतिनिधित्व गरेको आधारमा त्यो पार्टीलाई जनताले भोट दिएका थिए । तर, अब त्यो पार्टीले आफ्नो उद्देश्य र पहिचान नै छोड्दै छ र काङ्ग्रेस–एमालेहरूले उसलाई पावर सेयरिङमा हिस्सेदार बनाउँदै आएका छन् । अर्थात्, देखावटी रूपमा जे भए पनि आन्तरिक रूपमा उसले गणतन्त्रलाई स्वीकार गरिसकेको छ । गणतन्त्र नमान्ने शक्तिलाई शासन–सत्ताको भागीदार नतुल्याउने घोषणा एमाओवादी, एमाले र काङ्ग्रेसहरूले गरेको सन्दर्भमा विभिन्न भागबन्डामा राप्रपा नेपाललाई सहभागी गराइनुले यही सिद्ध गर्दछ ।
० यसको मतलब राप्रपाबाहेकका दलमा कोही राष्ट्रवादी नेपाली नै छैनन् कि कसो ?
– होइन–होइन † हरेक दलभित्र राष्ट्रलाई माया गर्ने मान्छेहरू छन् । काङ्ग्रेसमा पनि त्यस्ता राष्ट्रवादी प्रशस्तै छन्, एमाले र माओवादीमा पनि नभएका होइनन् । यस्ता सबै मिलेर अब पार्टीभन्दा माथि उठ्दै देशका लागि काम गर्नु आवश्यक छ । सबै पार्टीका ‘नेस्नालिस्ट’लाई एक ठाउँमा उभ्याएर प्रमुख शक्ति बनाउने एउटा अव्यक्त उद्देश्य पनि हो हाम्रो पार्टीको ।
० राप्रपामा आलोपालो अध्यक्ष बन्ने कुराले निम्तिएको बखेडा थामिएको हो कि कायम नै छ ?
– के थामियो भन्ने † थामिएकोजस्तो देखिएको मात्रै हो । महाधिवेशनबाट टपटेन भोट ल्याएर केन्द्रीय सदस्य जितेको व्यक्ति हुँ म पनि । त्यतिबेला के प्रस्ताव आयो भने मुलुकमा एउटा दर्बिलो राष्ट्रवादी शक्तिको आवश्यकता छ, त्यो स्थान हाम्रै पार्टीले लिनुपर्छ, यसर्थ पार्टी–अध्यक्षका लागि चुनाव गर्दा समूहगत झगडा र मनमुटाव हुन सक्ने भएकाले सिनियर नेताहरू मिलेर सँगै बसी काम गर्ने वातावरण बनाउनुपर्छ, यसका लागि चक्रीय प्रणालीबाट अध्यक्ष बनाइनु उपयुक्त हुन्छ । यो प्रस्तावमा चारैजना नेताले सहर्ष स्वीकृति जनाए र एक–एक वर्षको पालो मिलाएर अध्यक्ष चलाउन सहमत भए । यसरी २२–२३ सय पार्षद्–प्रतिनिधि एवम् पचहत्तर जिल्लाका सभापतिहरूले ताली बजाएर प्रस्ताव पारित गरेका हुन् । तर, एक वर्ष कटेपछि त त्यस्तो सहमति भएकै छैन भनेर बलमिच्याइँ गर्ने काम गरियो । तर, हामीजस्ता इमानदार र स्वाभिमानी पार्टी–कार्यकर्ताहरू उक्त निर्णयकै पक्षमा खडा भएका छौँ । महाधिवेशनले पारित गरेको निर्णयको पूर्ण पालना हुनुपर्छ भन्ने हाम्रो धारणा छ । यो लडाइँ जारी छ, अदालतमा पनि बहस चलिरहेको छ यो मुद्दामा ।
० बहस त चलेको छ तर तपाईंहरू पहिल्यै हारिसक्नुभयो, कि कसो ?
– हामी हारेका छैनौँ । तर, परिस्थिति अनुकूल नहुँदा सर्वशक्तिमान देवादिदेव महादेव त गोबरभित्र लुकेर बस्नुपरेको थियो । सत्यको बाटो कठिन हुन्छ, तर जित त सत्यकै हुन्छ भन्ने हामीले बुझेका छौँ । यतिबेला लोभी–लालची, विदेशीका दासहरूको बिगबिगी चलेको छ, विदेशी डलरमा बिकेका छन् र शक्तिशालीजस्ता देखिएका छन्, तर मलाई विश्वास छ– सधैँ त यस्तो नहोला ।
० त्यसो भए तपाईंको पार्टीमा पनि प्रशस्तै रहेछन् डलरमा बिक्नेहरू, होइन ?
– लडाइँ नै त्यसैको छ नि † राष्ट्रवादी धारलाई नेपालमा जरैदेखि काट्नुपर्छ भनी खेल खेल्नेहरूले हाम्रो पार्टीमा पनि खेल खेलिरहेको छ ।
० यतिबेला संविधान निर्माणको काम ठप्पजस्तै भएको छ, यसको निकासका लागि राप्रपाको चाहिँ केही भूमिकै नहुनेरहेछ कि कसो हो ?
– यसलाई थोरै भूमिका बाँधेर प्रस्ट्याउन चाहन्छु । अस्ति सार्क सम्मेलनको अवसरमा विभिन्न विदेशी राष्ट्रप्रमुखहरू पाहुना बनेर नेपाल आए । त्यसमध्येका एक विशिष्ट पाहुना भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा सहमतिबाटै संविधान बन्नुपर्छ भन्ने सुझाव दिनुभयो । उक्त सुझावको विभिन्न कोणबाट विभिन्न टीका–टिप्पणी पनि भए, समर्थन र आलोचना गरिए । तर, मोदीजीले दिनुभएको सुझावलाई संविधान निर्माणको सवालमा ‘मूलमन्त्र’ मान्न सकिन्छ र मान्नुपर्छ भन्ने मेरो धारणा छ । ०६३ मा काठमाडौंको सडकमा मानव सागर नै उर्लिएको थियो । अब के–के हुने हो भन्ने त्रास सर्वत्र पैदा भएको थियो । तर, सोचविपरीत सहज ढङ्गले अवतरण भयो । त्यो कसरी सम्भव भयो त ? पक्कै पनि त्यसको पछाडि एउटा ठोस कारण थियो । अर्थात्, राजा, राजनीतिक पार्टी र छिमेकी भारत तीन शक्ति बसेर सहमति भएकाले सहज अवतरण सम्भव भएको हो । सबैले सबैको अस्तित्वलाई स्वीकार गर्ने भन्ने उक्त त्रिपक्षीय सहमतिको सार थियो । राजा संवैधानिक भएर बस्ने र राजनीतिक पार्टीहरूले शासन व्यवस्था चलाउने भन्ने सम्झौता भारतलाई साक्षी राखेर गरिएको थियो । यो सम्झौता दलहरूले आज लागू गरेका छैनन् । भन्न खोजेको के भने सबै समेटिने संविधान नबनेसम्म अब बन्ने भनिएको संविधान सर्वस्वीकार्य हुनेछैन । मोदीजीले भनेजस्तै सबैलाई स्वीकार हुने, सबै अटाउन सक्ने र सबै नेपालीको जित हुने खालको संविधान बन्नुपर्छ भन्ने हाम्रो पार्टीको पनि ठहर छ । यसैका लागि हामीले आफ्नो ठाउँबाट भूमिका खेलिरहेका छौँ । सतहमा देखिएन होला– यो बेग्लै कुरा हो ।
० सबैको सहमति जुट्नैपर्ने हो भने त यो देशमा अब संविधान नबन्ने भयो कि कसो हो ?
– न्यूनतम सहमति पनि नजुटे त द्वन्द्व बढ्न सक्छ । काङ्ग्रेस–एमालेले झुक्याउन सक्छ, माओवादीलाई समेत थाङ्नामा सुताउने प्रयास गरिरहेको छ त्यो पक्षले । हामीले त यो कुरा उहिल्यै भनिदिएका थियौँ माओवादीको नेतृत्वलाई । ०६२ को आन्दोलनमा माओवादी सडकमा उत्रनुअघि काङ्ग्रेस–एमालेको हालत के थियो ? सडकमा दुई–चार दर्जनको सङ्ख्यामा जम्मा हुन्थे, लाठी खान्थे । तर, जब माओवादी आएर मिसिए, सडक बल्न थाल्यो । जनसागर त्यसपछि मात्र उर्लियो । हो त्यहीबेला हामीले भनेका थियौँ, अहिले हामीलाई लखेट्न काङ्ग्रेस–एमालेले तिमीहरूलाई प्रयोग ग-यो, भोलि लखेटिने पालो त तिमीहरूकै हो नि † विचार गर तिमीहरूले नेपालको राजनीति बुझेका छैनौ † यहाँ विदेशीको इसारामा तिमीहरूलाई किनारामा पार्ने काम हुन्छ । यस्तै भनिदिएका थियौँ हामीले । अहिले केही एमाओवादी नेताहरूले मसँग भनिसकेका छन्, ‘जगतजी, तपाईंले त त्यतिबेला बडो सटिक कुरा गर्नुभएको रहेछ †’ हो, यस्तै फट्याइँको राजनीति चल्छ भने त कसरी सहमतिको संविधान बन्ला ? अर्को महत्वपूर्ण कुरा के पनि छ भने माओवादीहरूको मनमा ‘आन्दोलन गरेर गणतन्त्र स्थापना गरी संविधानसभा खडा गर्ने त हामी हौँ, अहिले काङ्ग्रेस–एमालेले खाइरहेछन्, यिनले बनाएको संविधान हामी किन मान्ने ?’ भन्ने भावले नराम्रोसँग जरा गाडेको छ । यस्तो अवस्थामा सहमतिको संविधान कसरी बन्छ होला र ?
० भनेपछि माघ ८ मा संविधान नआउने पक्का भयो ?
– हो, हो पक्का नै छ त्यो । तर, माघमा संविधान नआएर केही बिग्रँदैन । माघ नभए फागुन, नभए चैत, त्यो पनि नभए पछि कुनैबेला आउँला नि † आखिर मै हुँ भन्ने यी दलहरूले ल्याउन सक्ने होइनन्, संविधान आउने बाहिरी शक्तिकै भरमा हो । राजाजस्तालाई त एकैछिनमा सिध्याउन सक्ने शक्तिले यिनीहरूलाई त केही गनेकै छैन, एकैछिनमा फिनिस गरिदिन सक्छ । यिनले जति नै फूर्ति लगाए पनि यिनका चाहनाले यहाँ केही हुँदैन ।
० सार्क सम्मेलन मोदीमय भयो भन्ने चर्चा निकै चल्यो, तपाईंलाई पनि त्यस्तै लाग्यो कि ?
– ठीकै हो । मोदीजी जसरी भारतको राजनीतिमा छाउनुभयो, त्यो अत्यन्त चामत्कारिक छ । चामत्कारिक व्यक्तित्वबाट मात्र यो सम्भव हुन्छ । साधारण परिवारको मान्छे भारतजस्तो देशमा त्यो तहमा पुगेर तहल्का मच्चाउनु चमत्कार नै हो । मोदीको क्षमताको प्रत्याभूति गरिरहेछ उहाँका बोली, व्यवहार या कार्यशैलीले । उहाँले जे–जे बोल्नुभएको छ, जुन प्रतिबद्धता जनाउनुभएको छ, ती पूरा भएमा भारतको इतिहासमा नेहरूपछिका डाइनामिक लिडरसिप भएको राजनेताको रूपमा नरेन्द्र मोदीको नाम लेखिने पक्का छ । मोदीजीको टेस्ट हुनचाहिँ बाँकी नै छ । यस्तो परिवेशमा सार्क मोदीमय बन्नु कुनै अनौठो या अस्वाभाविक कुरा होइन ।
० मोदीको कारणले नेपाल र भारतको सम्बन्धमा कुनै विशेष असर पर्ने देख्नुहुन्छ तपाईं ?
– उहाँ भारतको प्रधानमन्त्री भएकोले पहिले त भारतकै हित हेर्नुहुन्छ, तसर्थ हामीले धेरै अपेक्षा गर्न मिल्दैन । तर, एउटा महत्वपूर्ण पाटो यो छ कि मोदीजी गुजरातको मुख्यमन्त्री रहँदादेखि नै नेपालका राजालाई अत्यन्त सम्मान गर्ने, झुकेर अभिभादन गर्ने गर्नुहुन्थ्यो । उहाँमा हिन्दूधर्म र हिन्दुत्वप्रति विशेष लगाव छ । यसर्थ नेपाललाई उहाँले विशेष माया गर्न सक्नुहुन्छ । सीधै बोल्न नमिले पनि उहाँले ‘सबैलाई मिलाएर लैजानुहोस् है’ भनेर नेपालका दलहरूलाई जो भन्नुभएको छ, यसमा राजालाई पनि उपेक्षा नगर्नु, समेट्नु भन्ने भाव रहेको महसुस गर्छु म ।
० तपाईं यसो भन्दै हुनुहुन्छ, तर ‘भारत पुग्दा पनि मोदीले राजालाई वास्ता गरेनन्’ भन्ने चर्चा यहाँ व्यापक चलिरहेको छ त ?
– भारतजस्तो महान् राष्ट्रका प्रधानमन्त्रीले यहाँ आएर कूटनीतिक मर्यादा नाघेर काम–कुरा गर्नुहुन्छ त ? जसले जे भने पनि उहाँमा हिन्दूधर्म र नेपाली राजसंस्थाप्रति असाध्यै ठूलो आस्था छ । यो कुरा उचित समयमा मोदीजीले व्यवहारबाटै देखाइदिनुहुनेछ । यसमा म एक सय एक प्रतिशत विश्वस्त छु ।
० एकप्रकारले पाखा लागेर बसेका राजालाई मोदीजीले पुनः एउटा स्थान दिलाउन मद्दत गर्नुहुन्छ भन्ने तपाईंको आशय हो ?
– हन्ड्रेड पर्सेन्ट † राजा त फर्केर आउँछन्–आउँछन् । राजा कहाँ गएका छन् र ? कहीँ गएकै छैनन् । अन्तरिम संविधानले जे व्यवस्था गरेको भए पनि वास्तविक संविधान त बन्न बाँकी नै छ नि । संविधान नआएसम्म धैर्यताका साथ कुरौँ न । खेलमा कहिलेकाहीँ कुनै खेलाडी मैदानबाहिर हुन्छन् त कुनै भित्र । मैदानमा नदेखिए पनि खेलाडीको महत्व उत्तिकै रहन्छ । मैदानमा नदेखिए पनि राजा रिङआउट भएका छैनन् । राजालाई बाहि-याउने खेल जहाँबाट भएको थियो, त्यहीँबाट पुनः राजाको आवश्यकता महसुस गर्न थालिएको छ । राजा फेरि आउँछन् भन्नेमा कसैले शङ्का मान्नैपर्दैन ।
० कति टाइम लाग्ला नि तपाईंले भनेजस्तो राजा फर्किन ?
– बढीमा दुई वर्ष । यो पनि यहाँनेर स्पष्ट पार्नु उचित होला कि अब फर्किने राजा भनेका कुनै अटोक्र्याट्स नभई सेरमोनियल मात्र हुन् । राजा भनेका सबैका अभिभावक हुन्, यही प्रस्टसँग झल्किने रूपमा राजा फर्कन्छन् । देश चलाउने भनेकोचाहिँ राजनीतिक दलहरूले नै हो भन्ने सबैलाई हेक्का रहोस् ।

२५ मंसिर २०७१, बिहीबार ०९:२८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

प्रधानमन्त्रीको प्रश्न, ‘सडकका खाल्डाको सारङ्गी कति सुन्ने ?’

काठमाडौँ, ६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकका खाल्डा पुर्न ४ महिनाको समय दिएका छन् । पुनर्गठित मन्त्रिपरिषद्को पहिलो..

मूल्यवृद्धि नियन्त्रण बाहिर, फेरि चुक्यो सरकार

निरोज कुमार थापा, काठमाडौँ, ५ मंसिर । मूल्य वृद्धि चुलिँदै गएको छ । चालु आर्थिक वर्षको प्रथम त्रैमास सकिँदा मुल्य..

गोकर्ण विष्ट पदमुक्त भएको खुशीयालीमा म्यानपावर व्यवसायीको पार्टी

निरोज कुमार थापा, काठमाडौँ, ५ मंसिर । श्रम तथा रोजगारमन्त्रीबाट गोकर्ण विष्ट बर्खास्त भएपछि म्यानपावर..

ओलीको कमालः महिला मन्त्रालयको जिम्मेवारी पुरुष सांसदलाई !

काठमाडौँ, ५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गर्दै दोलखाका सांसद..

सरकारमा सहभागी हुने २ मन्त्रीको नाम टुंगो लाग्यो

काठमाडौँ, ४ मंसिर । सरकारमा मन्त्रीको रुपमा प्रवेश गर्ने २ जनाको नाम टुंगो लागेको छ । तत्कालिन माओवादी केन्द्रको..