कथा ‘देश’ :: नयनराज पाण्डे

भागिरामले लढियाबाट बैलहरूलाई फुकाएको मात्र के थियो, उसको पाँचसात वर्षको छोरो लछानु आएर बाउको कम्मरमा झुन्डिँदै कराउन थाल्यो, “हाम्रो घरमा मुसा छ ! एउटा हैन थुप्रै छ !”

छोराको अनुहारमा अपार खुसी छ । मङ्सिरमा दाइँ सकेर खेतमा मुसा खोज्ने क्रममा भागिरामले त्यतिखेर थुप्रै मुसा समातेर घर ल्याएको थियो । अनि त्यसको चटनी बनाएर दुईतीन दिनसम्म लगातार खान पाएको थियो । अहिले चैत लागिसक्यो । बीचको चार महिना भागिरामले कतैबाट मुसा ल्याएन । अनि लछानुको जिब्रोमा मङ्सिरमा खाएको मुसाको चटनीको स्वाद आजको दिनसम्म कायमै रह्यो ।
आफ्नो छोराको कुरा सुनेर भागिराम पनि प्रशस्तै खुसी भयो । उसलाई पनि दुईचार वटा मुसा भेटिए र त्यसको चटनी खान पाए मुखको स्वाद फेरिन्थ्यो भन्ने लागेको छ । करङ्गी धानको भात र नुन–प्याज । महिनैदेखि एउटै स्वाद लिँदालिँदा उसलाई पनि दिक्क जस्तै लागिसकेको छ ।
“कहाँ छ मुसा ?” भागिरामले सोधेपछि लछानुले उसको कछाड तान्दै उसलाई बुकुराभित्र लग्यो । अनि एउटा कुनाको दुलो देखाउँदै भन्यो, “इः, यहीभित्र छ । अघि भरखर मैले देखेको, चारपाँच वटा छ ।”
यतिन्जेल भागिरामको हातमा उसकी स्वास्नी किन्कीले फरुवा थमाइदिइसकेकी थिई । यो फरुवा उसले हिजो मात्र बाँसगढीबाट किनेर ल्याएको थियो । ‘किनेको पनि कामै लागेछ,’ भागिरामले मनमनै प्रसन्नता व्यक्त ग-यो । र, यताउता केही नहेरी ब्वाङ्ङ फरुवा चलाइहाल्यो ।
त्यसपछि भागिरामलाई थकाइ लागेन । उसले लगातार भ्वाङमाथि फरुवा चलाइरह्यो । सानोतिनो खाल्डो तयार हुँदै गयो ।
“कत्रो गहिरो दुलो बनाएको रै’छ !” किन्कीले डेहरीमा अडेस लागेर भागिरामतिर हेर्दै भनी ।
“यो के गहिरो ? कत्रोकत्रो गहिरो दुलोबाट मुसा झिकेको छु मैले !” भागिरामले आफ्नै वीरताको बखान ग-यो । किन्की पनि सन्तुष्ट भई । कस्तो बहादुर लोग्ने पाएकी छु भने घमन्ड जस्तो भाव उसको अनुहारमा देखा प-यो । लछानु पनि दङ्ग पर्दै थियो ।
लछानुको हात पनि सकसकायो । अनि उसले नजिकै रहेको सानो कुटो टिप्यो र बाउले पारेको खाल्डोलाई अझ ठूलो पार्न थाल्यो । किन्की पनि लोग्नेलाई सघाउने विचारले आई र उसले पनि माटो पन्छाउन थाली ।
खाल्डो बिस्तारै ठूलो, झन् ठूलो हुँदै जान थाल्यो । भागिराम, लछानु र किन्कीको उत्साहमा कुनै कमी आएको थिएन । एक पटक एउटा मुसाले पुलुक्क टाउको झिकेर बाहिर हेर्न मात्र के खोजेको थियो, भागिरामले पूरा फुर्तीसाथ त्यसलाई समाइछाड्यो । भुइँमा बजारेर मुसालाई एक झट्कामै शिथिल पारिदियो । लछानु खुसीले उफ्रियो र मरेको मुसो खेलाउन थाल्यो ।
दुलो गहिरो त थियो नै, साथै तेर्सोतेर्सो परेर निकै टाढासम्म लम्बिएको पनि थियो । तर दुलो जताजता जाँदै थियो, भागिराम त्यतैत्यतै खन्दै थियो । खन्दाखन्दै दुलो त बुकुराबाहिरसम्म पुगेको देखियो । त्यसैले भागिरामले दुई चार पटक फरुवालाई तेर्सो पारेर भित्ताको जगतिर जोडजोडले हिर्कायो । ब्वाङब्वाङ दुलो प-यो । वर्षौंदेखि हुरीबतास, पानी, असिना झेल्दै आएको माटाको भित्तो गल्र्यामगुर्लुम ढल्यो ।
त्यसपछि भागिरामलाई खन्न झन् सजिलो भयो । उसले न्वारानदेखिको बल झिकेर खन्न थाल्यो । यतिकैमा एउटा डाङ्ग्रे मुसो फुत्त निस्कियो । घरभित्र यताउता गर्न थाल्यो । भागिराम फरुवा उचाल्दै त्यसको पछाडि लाग्यो । निकै बेरको लखेटालखेटपछि मुसो नै लखतरान प-यो र आत्मसमर्पणको भावमा चुलोमा गएर टुसुक्क बस्यो । भागिरामले टाढैबाट फरुवा चुलोतिर जोडले फ्याल्यो । चुलो भत्कियो । अनि चुलोमाथि रहेको डाङ्ग्रे मुसो पनि ठहरै भयो । मरेको यो मुसा चाहिँ किन्कीले खेलाउन थाली ।
भागिरामको घरमा चहलपहल थियो । किन्की र लछानुको अनुहारमा प्रशस्त खुसी थियो । त्यसैले भागिरामका घर छेउछाउका दुईचार जना अरू पनि के भएछ भन्दै भागिरामको आँगनमा झुम्मिए । मुसो समात्ने मेसो देखेपछि तिनीहरूले पनि भागिरामलाई सघाउने विचारले आ–आफ्नो फरुवा लिएर आए र भकाभक खन्न थाले ।
एउटा मुसो फेरि फुत्त बाहिर निस्क्यो र भित्ता हुँदै छानातिर लाग्यो । भागिरामले ठूलो ढुङ्गा टिपेर छानातिर हिर्कायो । छानामा ठूलै भ्वाङ प-यो । मुसो भुइँमा भ्यात्त झ-यो । झर्नु मात्र के थियो, लछानुले च्याप्प समातिहाल्यो ।
“यो त एक पाउको होला जस्तो छ !” किन्कीले छोराको हातको मुसालाई आफ्नो हातमा लिएर यसो जोखेझैँ गरी ।
“यति मात्र हो र ! अझ कति छ ।” लछानुको कुराले भागिरामहरूलाई थप उत्साह प्रदान ग-यो ।
“इः, यहाँ पनि दुलो रै’छ,” किन्कीले अर्को दुलो पनि देखाई । भागिरामले आफूलाई सघाउन आएको फत्तुलाई त्यो दुलो खन्न लगायो । फत्तु पनि त्यही दुलातिर भिड्न थाल्यो ।
एउटा मुसो फेरि अतालिँदै निस्क्यो । डेहरीमाथि उक्लियो । फत्तुसँग आएको लौटनले आफ्नो फरूवाले डेहरीमा प्रहार ग-यो । डेहरी बाङबुङ ढल्यो र मुसो पनि चित भयो ।
खन्ने, हिर्काउने, समाउने क्रम साँझसम्म चलिरह्यो । साँझसम्म अरू छिमेकीहरू पनि थपिए । सबै आएर भकाभक फरुवा चलाउँदै मुसा समात्ने काममा भागिरामलाई सघाउन थाले । छिमेकीको सहयोगप्रति किन्कीको अनुहारमा कृतज्ञताको भाव थियो । सहयोगीहरूका अनुहारमा आज अलिकति भए पनि मुसाको चटनी खान पाइने भयो भन्ने खुसी थियो ।
अन्ततः आठदश वटा मुसा फेला परे । जम्मै जोख्दा आधा किलोजति भयो होला । भागिराम आफ्नो परिश्रम सफल भएकामा दङ्ग थियो । किन्की पनि खुसीले भुइँमा न भाँडामा भएकी थिई ।
राति मुसाको चटनी तयार भयो । सबै जना यतिन्जेल आँगनमै थिए । भागिरामका छिमेकीहरू आ–आफ्नो घरबाट थालभरि भात लिएर भागिरामको आँगनमै आए र किन्कीले दिएको चटनीसँग गमागम खान थाले । भागिरामलाई पनि करङ्गीको भात अघिपछिको भन्दा स्वादिष्ठ लाग्यो । लछानु हात चाटीचाटी खाइरहेको थियो । किन्की पनि भातको डल्ला चटनीमा चोबल्दै ग्वामग्वाम खाँदै दिई । भागिरामको आँगनमा भोज भइरहेको देखिन्थ्यो ।
सबै डकार्दै आ–आफ्नो घरतिर लागे । भागिराम, लछानु र किन्कीले पनि लामोलामो डकार लिए । लछानुलाई भातको नशाले छोप्यो । उसलाई निद्रा लाग्न थाल्यो ।
“निद्रा लाग्यो । सुत्न जाऊँ ?” लछानुले भनेपछि किन्की अतालिई । भागिराम एक्कासि चिन्तित भयो । दुवैलाई बल्ल होस आए जस्तो भयो ।
अनि किन्की र भागिरामले आफ्नो बुकुरातिर हेरे । तर त्यहाँ बुकुरो कहाँ थियो र ? मुसा खोज्ने क्रममा बुकुराका भित्ताहरू ढलिसकेका थिए । छानो खसिसकेको थियो । डेहरी भत्केर धान भुइँमा छ्यालब्याल भइसकेको थियो । चुलो भत्किसकेको थियो । गाग्रीहरू फुटिसकेका थिए । सारा गृहस्थी लथालिङ्ग भइसकेको थियो ।
भागिराम र किन्की भुइँमा थचक्क बसे । टाउकामा हात राखे । लामो सुस्केरा हाले । ‘यो के भयो ?’ दुवैको अनुहारमा प्रश्नभाव मात्र बाँकी रह्यो ।
“जाऔँ, छिमेकीका घरमा गएर बास मागौँ,” भागिराम लाचार भएर उठ्यो । किन्की निदाइसकेको लछानुलाई बोकेर लोग्नेको पछिपछि छिमेकीका घरतिर लागी ।
तर छिमेकीहरू पनि आफ्नो घरमा फरुवा चलाउँदै थिए, मुसा समात्न । उनीहरूका घरका भित्ताहरू पनि ढल्दै थिए । किन्की र भागिराम पुग्दा तिनीहरूका बुकुरा पनि ढलिसकेका थिए ।

२ मंसिर २०७१, मंगलवार २३:०६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक..