कति रोचक र ज्ञानबर्द्धक ! :: बाबुलाल भण्डारी

अचेल सन्तुलित आहार भन्ने शब्दावली झण्डै थेगो जस्तै हुन थालेको छ । सन्तुलित भोजनको लागि अमेरिकाको कृषि विभाग (यु.एस.डि.ए.)ले फुड गाइड पिरामिडको अवधारणा ल्याएको हो र अब दिग्गज चिकित्सक र वैज्ञानिकहरुबाटै यसको विरोध हुन थालेको छ । तर आयुर्वेदमा सन्तुलित आहारको व्यवस्था हजारौं वर्ष अघि नै भएको पाइन्छ । प्रोटिन, कार्बोहाइड्रेट र भिटामिन जस्ता सबै पोषक तत्व समावेश गराई पोषण सम्बन्धी अभाव हुन नदिन आयुर्वेदले सन्तुलित खानाका ६ वटा स्वादलाई पहिचान गरेको छ । मिठो, अमिलो, नुनिलो, तितो, पिरो र टर्रो समेतका आधारभूत स्वादको आधारमा खानालाई ६ वटा प्रमुख स्वाद समूहमा विभाजित गरी ति सबैको उचित संयोजन र प्रतिनिधित्व बाट विविधतायुक्त सन्तुलित पोषणको यसमा व्यवस्था छ । हामीलाई थाहा छ, खानाले हाम्रो शरीरसँग प्रथमतः स्वादकै माध्यमबाट कुरा गर्छ । यि ६ वटा स्वादहरु एकप्रकारले कोड अर्थात् संकेत पनि हुन् जसले हाम्रो स्नायु प्रणालीलाई खानाको घटक संरचना वारे सूचना सम्प्रेषण गर्दछन् । खानाबाट यि ६ वटै स्वाद परिपूर्ति नभए सम्म हाम्रो दिमाग अर्थात् मनलाई सन्तुष्टि मिल्न सक्तैन र भरपूर भोजन पछि पनि हामीमा नजानिँदो तलतल बाँकी रहन्छ । त्यसमाथि अत्यधिक भोजन र अनावश्यक मोटोपनाको समेत संभावना बनिरहन्छ । तर यि सबै स्वाद पाचन कृयामा तिनीहरुलाई लाग्न सक्ने समयलाई समेत मध्यनजर गरी जुन क्रममा खाइनु पर्ने हो त्यही हिसावले क्रमबद्ध भएका छन् । यसमा गुलिया र भारी वस्तु पहिला, नुनिला र अमिला वस्तुहरु विचमा र अन्तमा तितो, पिरो र टर्रो स्वादका सलादहरु खानुपर्ने प्रावधान छन् । टर्राे स्वादको सौंफ वा पिरो स्वादका प्याज, लसुनहरु पहिला र हाल चल्तीमा रहे जस्तो गुलियो स्वादका डिजर्ट र अरु भारी वस्तुलाई अन्तिममा खानु भनेको आयुर्वेदको विधानको ठीक प्रतिकुल ठहर्न जान्छ र यसले पाचन कृयामा समेत समस्या ल्याउने हुन्छ । खानामा सबै स्वाद (रस)को उचित संयोजन नहुँदा वात, पित्त, कफजन्य त्रिदोषहरु कुपित हुने र शरीरको उर्जा सन्तुलन खल्बलिने यसको विश्वास हो । आयुर्वेद यही प्राकृतिक सन्तुलनमा आधारित विज्ञान पनि हो र प्रकृतिका यि नियमहरु परिवर्तनगामी नभई सदा अपरिवर्तनीय चरीत्रका रहन्छन् । यस्ता सर्वकालिन प्रकृतिका नियमहरुको विपरित जाने हर कुरा प्रकृतिको उल्टो विकृति हो, रोग हो ।
पाचन कृयालाई ठिक दुरुस्त राख्न शरीरको पाचक अग्नि (जठराग्नी) लाई सन्तुलनमा राख्नु आयुर्वेदको प्राथमिक सिध्दान्त भित्रै पर्दछ । किनभने अग्नी मन्द हुँदा पाचन कार्यमा असर पर्ने भई पोषणमा कमी, शरीर विषादीमा वृद्धि र व्याधीहरु पनि व्याजको रुपमा प्राप्त हुन थाल्दछन् । मणिपुर चक्रको सेरोफेरो रहने यस्तो अग्नीलाई वृहदारण्य उपनिषद् (५ः९ः१) र गिता (१५ः१४) ले पनि वैश्वानर अग्नी भनेर इश्वरको दर्जा दिएको छ । यस्तो अग्निको सिधा सम्बन्ध सूर्यसँग हुने हुँदा सूर्य आकासमा रहेको अवधिभर यो बढि सकृय हुने र सूर्यको अनुपस्थितीमा यो केही मलिन वा मन्द हुने कुरो पनि तर्क सङ्गत नै छ । सूर्यको उपस्थिती मध्ये पनि अपरान्ह १२ देखि २ बजे भित्रको काल खण्ड र खासगरी १ बजेको आसपास सूर्य आफ्नो प्रचण्ड शक्तिका साथ सबैभन्दा उच्च स्थानमा पुग्ने भएकोले हाम्रो अग्नि पनि सोही समयमा सर्वाधिक तिव्र र बलशाली रहन्छ । यहाँनिर विहान ९ बजेको खानालाई मुख्य भोजन मान्ने नेपाली शैली भन्दा दिउँसो लन्च लिने पश्चिमा शैली ज्यादा वैज्ञानिक मान्नुपर्छ । सूर्यास्त पछि र सूर्योदय अघिको सूर्य आकाशमा नहुने अवधीमा पाचन अग्नी पनि स्वत मन्द वा सुस्त हुने हुँदा हाम्रो सबै खानपान सुर्योदय देखि सूर्यास्तको विचमै सिमित गर्नु वुध्दिमानी ठहर्छ । सूर्यास्त सँगै पाचन शक्तिमा अलिकन गिरावट आइसक्ने हुँदा लन्च भन्दा डिनर (बेलुकीको खाना) गरीष्ट नभई थोरै हल्का र सुपाच्य हुनु पर्ने राय सहित शास्त्रहरुले बेलुकाको खाना ओछ्यानमा जानु भन्दा ३ घण्टा अघि नै लिनु उत्तम बताएका छन् । यस हिसाबले पनि बेलुका सकभर छिट्टै खाना खानु बेस हुन्छ । अन्यथा, ज्यादा विलम्व सहितको डिनरले पाचनमा समस्या देखि लिएर निद्रामा व्यवधान र विहान जिउ भारी हुने समस्या ल्याउने मानिन्छ ।
धेरै मानिसले ज्यादा खानाले शरीरमा थप तागत ल्याउँछ भन्ने भ्रम पालेका हुन्छन् जबकि वास्तविकता यसको ठीक उल्टो छ । यथार्थमा एकै पटकमा ज्यादा बढी खानाले अजिर्ण, अम्लियता, एलर्जीका समस्या सङ्गै मुटुको अनियमित चाल र दिमागलाई बोधो पार्ने सम्मका असर ल्याउने विशेषज्ञहरुको अनुभव छ । धेरै वैज्ञानिक चिकित्सकहरुले खाना खानेक्रममा पहिलो वर्प (डकार) को लगत्तै थप खाना बन्द गरिहाल्नु पर्ने विचार राख्दछन् । भनिएको छ, यो पर्याप्तताको पहिलो सूचक पनि हो । भोकलाई १ देखि १० सम्मको श्रेणी स्केलमा राखेर हेर्दा हाम्रो सन्तुष्टीले ६.५ विन्दु छुनासाथ अथवा आमासय क्षमताको तिन चौथाइ खण्ड भरिनासाथ खाना रोकी बाँकी खण्ड पानी र स्पेशका लगि खालि छोड्न विशेषज्ञहरुले सिफारिस गर्ने गर्दछन् । अर्को तर्फ खानाको समाप्ती पछि केही वेर (करिब १० मिनेट) शान्ती र आराम सँग बस्नु आवश्यक छ ता कि यस विचमा सन्तुष्टिको आनन्दलाई अनुभूति गर्न सकियोस् । यस पछि इच्छा अनुसार हल्का हिँडडुल पनि गर्न सकिन्छ । शास्त्रहरुमा भनिएको पनि छ “भुक्त्वा सतपदम् गच्छेत्” अर्थात् खाना पछि सकभर सय कदम हिँड्यिोस् । तर खानाको लगत्तै विछ्यौनामा जानु भूल सिवाय केही होइन किनकि यहि नै अवाञ्छित तौल बृद्धिको लागि जवर्जस्त कारण मानिएको छ ।
पश्चिमा औषधी पद्धतीमा असँगत भोजन संयोगलाई हेर्न टोपोग्राफी शिर्षकमा भर्खर मात्र नयाँ अध्याय सुरु भएको छ । तर आयुर्वेदले वस्तुको गुणधर्म, जैविक रासायनिक पक्ष र तिनीहरुको पाचन क्रियामा प्रभाव आदिको आधारमा हजारौं वर्ष अघिदेखि विरुद्ध आहार (इन्कम्प्याटिबल फुड)को पहिचान गरेको छ । यो आयुर्वेदको मौलिक अवधारणा पनि हो । अझ हाम्रो खाद्य संस्कारले यसलाई अनुभवबाटै स्विकृत र सम्पुष्टि गर्दै आएको छ । आयुर्वेदमा गाइको घिउ र महको वरावर मात्रा मात्रा विरुद्धको आहार हुन्छ र यसले विषादीको काम गर्छ भनेर उल्लेख छ । त्यस्तै दुध चिसो र माछा गरम प्रकृतिको हुनाले यस्लाई वीर्य (पोटेन्सी) विरुद्ध आहार बताइएको छ । यिनीहरुको एकसाथ भोजनले शरीरको च्यानलमा अवरोध ल्याउने र रगतलाई दुषित गर्ने लगायत धेरैले यसलाई सफेद दुबी वा पाण्डुरोगको समेत कारण मानेका छन् । दुध र केराको एकसाथ भोजन संयोग विरुद्ध मानिन्छ र यसले रुघा, खोकी, पिनास र एलर्जीका समस्या लगायत शरीरमा भारीपन र मष्तिस्कलाई समेत वोधो बनाउने भनेर उल्लेख भएको छ । बेलुका दहीको सेवन काल र क्रम विरुद्ध र दहीलाई कुनै पनि विधिद्वारा पकाए वा तताएर खानु संस्कार विरुद्धको आहार मानिन्छ । उता कुनै पनि तातो खानासँग मह पनि क्रम विरुद्ध नै मानिन्छ र पकाएको वा तताएको मह मह नरहेर विविध सप्तरङ्गी वस्तुहरुको खोटो जस्तो बन्न पुग्दछ जसले म्युकस मेम्वे्रनमा टाँसिएर शरीरका च्यानलहरुलाई व्यवधान पु¥याउँदछ । त्यसैगरी तातो वस्तुको सेवन लगत्तै चिसो वस्तु पनि परिहार विरुद्धको आहार हुन्छ र रोगको कारण बन्न जान्छ । गर्मी मौसममा ज्यादा पिरो वस्तु र ठण्डी मौसममा बढी चिसो वस्तु काल विरुद्धको आहार ठहर्छ । फेरी खानाको अन्तमा गुलियो बस्तु र तितो वा टर्रो वस्तुहरु खानाको प्रारम्भमा खानाले खानाको स्वाभाविक क्रमलाई भङ्ग गर्ने हुँदा यस्तो खाना क्रम विरुद्ध मानिएको छ । मूला र दुधको एकैसाथ भोजन पनि छाला सम्बन्धी समस्या ल्याउन सक्ने विपरित भोजन हो । कटहरसँग चुना, खरानी वा कुनै पनि क्षारिय वस्तु पेटको रप्चर सम्मका समस्याको कारण बन्छ ।
हामीले दुध र मासुलाई यसै पनि विपरित धर्मी वस्तु भनेर बुझ्दछौं । एउटा जीवनको प्रतिक हो ः अर्को यस्को ठिक विपरित । यहुदी संस्कृतिमा दुध र मासुका परिकारलाई एउटै डाइनिङ्ग टेबलमा ल्याउन समेत प्रतिवन्ध छ । उमेर ढल्किँदै जाँदा मासु र खासमा दुध पचाउने क्षमता निर्बल भइ सक्ने र अझ दुवै भारी चिज एउटै भोजनमा समावेस हुँदा शरीरमा स्वभावैले अपच र ज्यादा अम्लिय प्रतिकृया पैदा हुन्छ । एनिमल श्रोतबाट उपलब्ध हुने भएकोले यि दुवै आफैंमा पूर्ण र जटिल प्रोटिन हुन् जसलाई पचाउनको लागि अलग अलग इन्जाइमहरुको निष्काशन जरुरी हुन्छ र यि इन्जाइमहरुले आखिर एक अर्कोको कार्य प्रणालीमै दखल दिन पुग्छन् । यसबाट प्रोटिन र फ्याट पचाउने इन्जाइम पेप्सिन र लिपेजको सन्तुलन विग्रन गई दुवै प्रोटिनहरु राम्रो सङ्ग पच्न नसक्ने र शरीरमा विकार मात्र बढ्न जान्छ । त्यस्तै समस्या खाना सङ्ग लिइएको फलफूलमा देखिन्छ । फलफूलमा साधारण चिनी पाइन्छ जसलाई ठूलो पाचनकृयाको जरुरी पर्दैन । तर खाना सङ्गै फलफूल पनि लिएको अवस्थामा यो पनि खाना सरह नै लामो समय पेटमा रोकिन्छ र सड्न थाल्दछ । फलतः अनेक समस्या जन्मिन्छन् । त्यसैले फलफूललाई खाना भन्दा कम्तीमा १ घण्टा अघि खाली पेटमा वा खाना खाएको घटीमा २ घण्टा पछि मात्र लिनु श्रेयष्कर छ ।
खाद्य वस्तु मध्ये वर्जित नै गर्नु पर्ने वस्तु हो –भटमास । थाइरायड समस्यामा यो बराबरको हानीकारक वस्तु धर्तीमा अर्काे हुंदैन । पहिले यसलाई माटोमा नाइट्रोजन वृध्दिको लागि मात्र खेती गरिन्थ्यो । यो खाद्य उपभोगमा आउन थालेको करीव ३००० वर्ष हुँदैछ । अत्यन्त राम्रो प्रोटिनको श्रोत हुँदाहुँदै पनि यसमा हुने फाइटिक अम्लले हाम्रो पाचन कृयालाई बिगार्ने र अझ त्यसमाथि हाम्रो शरीरको लागि आयोडिन, म्याग्नेसियम, क्याल्सियम, जिङ्क, आइरन, कपर लगायतका धेरै पोषक तत्व र अत्यावश्यक खनिजलाई खानाबाट शोषण गरेर लिनमा तगारो हाल्ने जस्ता कैयौं कारणले फर्मेन्ट नगरेसम्म कुनै पनि रुपमा भटमासको प्रयोगबाट बचिरहनु जरुरी देखिन्छ, हालाकी अर्कोतर्फ यसको उपयोगिताहरु भने नभएको होइनन् । त्यसैगरी ज्यादा तातो वा ज्यादा चिसो दुवै खाद्य वा पेयबाट परहेज गर्नु राम्रो हुन्छ । यसै पनि खाना सङ्गैको पानीले पेटको पाचक अम्ल हाइड्रोक्लोरिक अम्ललाई पातलो बनाउने एवं पाचन कृयालाई कमजोर पार्ने कारणले राम्रो मानिदैन । तसर्थ खाना भन्दा १ घण्टा अगावै वा १ घण्टा पछि मात्र पानी सेवनको अनुमति हुन सक्दछ । आवश्यक भएमा पानी र दहीको ३ः१ अनुपात मिलेको थोरै लस्सी भने खाना सङ्गै वा खाना पछि पनि लिन नसकिने होइन । सामान्यतः तातो पानीले पाचक अग्नीमा इन्धनको काम गर्ने हुँदा उत्तम र चिसो पानीले पेटको अग्नीलाई ठण्डा गर्ने कारणले नराम्रो मानिन्छ । कोठाको बराबर तापक्रम भए अर्कै कुरा तर सो भन्दा कम तापक्रमको पानीले खाद्यबस्तुमा भएको चिल्लो पदार्थलाई जमाएर ठोस पार्दै इन्टेस्टाइन र कोलनको भित्तामा टाँसेर कैयौं अन्य समस्या समेत सिर्जना गर्दछ । खाना सँगै पानी र अझ खास गरी चिसो पानी यस कारणले पनि वर्जित हो कि चिसो पानीले वल्दै गरेको दाउरा वा कोइलालाई निभाएकै सरह पेटको अग्नीलाई निस्तेज गर्छ । यसरी पेटको अग्नीलाई एकाएक मार्न चिसो पानी जत्तिको असरदार अन्य दोश्रो वस्तु केही भेटिँदैन । भोजनको नियमित वखत यदाकदा हुने खाना प्रतिको अरुचिको बावजुद भने जवर्जस्ती भोजन राम्रो मानिएको छैन । आयुर्वेदमा यस्तो अरुचीको लागि ज्यादै सरल र कारगर उपायको व्यवस्था छ । १ इन्च अदुवाको थिचिएको टुक्रामा १ चिम्टी सिंधे नुन र केही थोपा कागतीको रसले उपचार गरेर विस्तारै चपाउँदा यसले क्षणभरमै भोकलाई किकस्टार्ट गर्ने आशा गर्न सकिन्छ । पाचन अङ्गहरुलाई पनि बेलाबेलामा विश्राम र शक्ति सञ्चयको दरकार पर्दछ । हप्ता २ हप्ताको समयान्तरमा १ पटक पानी सहितको उपवास यस्को सर्वोत्तम विधी हो । यसबाट सञ्चित विषादीहरुबाट शरीरलाई निर्मलीकरण गर्नमा भरपूर मद्दत पुग्ने र शरीरले फ्याट मेटावोलाइज गर्ने हुँदा अनावश्यक वोशो कम गर्नमा समेत भरथेग हुन्छ ।
अन्तमा अन्य कतिपय महत्वपूर्ण सन्दर्भहरुलाई थाती राख्दै चरक संहिताको सर्वत्र उध्दृत हुने गरेको अत्यन्त मननीय निष्कर्षबाट विराम चाहन्छु “खाना नै गलत छ भने औषधी प्रयोगको के अर्थ ? र खाना सही छ भने औषधी प्रयोगको के आवश्यकता ?”

२१ कार्तिक २०७१, शुक्रबार २२:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

तुम्बाहाम्फेले सम्हालिन कानुनमन्त्रीको कार्यभार

काठमाडौँ, ५ फाल्गुण । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कार्यभार सम्हालेकी छिन् ।..

भ्रमण वर्ष सफल बनाउन रामेछाप महोत्सवः संयोजक रोका

रामेछाप, ५ फाल्गुण । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा आयोजना हुने ‘दोस्रो रामेछाप महोत्सव’को तयारी करिब सकिएको..

महरा विरुद्दको मुद्दामा फैसला भएन

काठमाडौँ, ४ फाल्गुण । निवर्तमान सभामुख कृष्ण बहादुर महराविरुद्दको बलात्कार प्रयासको मुद्दामा आइतबार पनि फैसला..

व्यक्तिले हडपेको सरकारी जग्गामा मन्त्री अर्यालले गाडीन् साइन बोर्ड

काठमाडौँ, ४ फाल्गुण । व्यक्तिले हडपेको १७ रोपनी जग्गा सरकारले फीर्ता ल्याएको छ । काठमाडौं महानगरपालिका ३१ स्थित..

चीनबाट फर्काइएका नेपालीलाई खरिपाटी लगियो

काठमाडौँ, ४ फाल्गुण । कोरोना भाइरसको उद्गमथलो चीनको वुहान शहरबाट १७५ जना नेपालीको उद्वार गरिएको छ । उनीहरु..