फण्ड प्राप्त भए मृत मुटु प्रत्यारोपणको प्रविधि नेपाल लैजान सकिन्छ :: डाक्टर कुमुद धिताल

अष्ट्रेलियाको सेन्ट भिन्सेन्ट अस्पतालमा कार्यरत नेपाली डाक्टर कुमुद धितालले मृत ब्यक्तिको मुटुको सफल प्रत्यारोपण गरेर विश्वव्यापी ख्याती कमाएका छन् । विगत ५ बर्षदेखि अष्ट्रेलियामा रहेर मुटु प्रत्यारोपण गर्दै आएका डा। धिताल सहितको टोलीले मृत ब्यक्तिको मुटु अर्का बिरामीमा प्रत्यारोपण गरेर आश्चर्यजनक सफलता हात पारेका हुन् । यसभन्दा पहिले दिमाग मरिसकेका ब्यक्तिको मुटुमात्र प्रत्यारोपण गर्न सकिन्थ्यो भने अब मृत घोषित भइसकेका ब्यक्तिहरुको मुटूसमेत प्रत्यारोपण गर्न सकिन्छ । उनको यो सफल परीक्षणलाई भिक्टर चाङ्ग कार्डियाक रिसर्च इन्स्टिच्यूटले सघाएको थियो । प्रस्तुत छ अष्ट्रेलियामा रहनुभएका संचारकर्मी चिरञ्जिवी देवकोटाले खसोखास साप्ताहिकका लागि डाक्टर कुमुद धितालसँग गर्नुभएको विशेष कुराकानी ।

तपाईहरुले मृत मुटु प्रत्यारोपण गरेर ठूलो उपलब्धी हासिल गर्नुभएको चर्चा छ । खासमा यो उपलब्धी के हो ?
विगतका उपलब्धीहरुका तुलनामा अहिले नयाँ उपलब्धी थपिएको छ । अहिलेसम्म ब्रेनडेढ भइसकेका तर मुटु मृत भइनसकेका व्यक्तिको मात्र मुटु प्रत्यारोपण गर्न सकिन्थ्यो । तर अब ब्रेन डेढ भएर पनि मुटु समेत रोकिएका व्यक्तिको मुटु प्रत्यारोपण गर्न सकिने भएको छ । व्यक्तिको आँखामा बत्ति बाल्दा अलिकति आँखा चियाउने वा स्वास फेर्ने चिजहरु हुँदासम्म ब्रेनडेढ भन्न मिल्दैन । रिसर्च हेर्दा त गिदी सबै बिग्रिएको हुन्छ । बाच्ने असम्भव नै हुन्छ । तर पनि यस्तो अवस्थामा ब्रेन डेथ भन्न पाइदैन । अंगदान गर्ने डोनरहरु ब्रेनडेथ डोनर हुन् । अनि यस्तो अवस्थामा डाक्टरहरुबीच छलफल हुन्छ । भेन्टिलेटरबाट झिकेर हेरौं के हुन्छ भन्नेतिर लागिन्छ । यदि यस्तो अवस्थामा स्वास फेर्ने तत्व अझै गिदीमा छ भने त्यसलाई मरेको भन्न पाइदैन । त्यो बिरामीलाई उपचारका लागि फर्काउनुपर्छ । तर स्वास फेर्ने तत्व पनि गिदीमा छैन भने त त्यसको मृत्यु भइहाल्छ । स्वास फेर्न नसकेपछि अक्सिजन हुँदैन , अनि मुटु रोकिइहाल्छ । मुटु रोकिएपछि सर्कुलेशन नै हुँदैन । त्यसपछि त मृत्यु भयो । जस्तो घरमा कसैको मृत्यु भएमा डाक्टर आएर हेर्छ, होस छ कि छैन हेर्छ , मुटु छाम्छ, नाडी हेर्छ, स्वास फेरेको छ कि छैन हेर्छ । यदि छैन भने मृत घोषणा गरिन्छ । कुरा उही हो । अस्पतालमा पनि उनीहरु त्यसरी नै गर्छन् । तर यहाँ चाँही के नयाँ भयो भने त्यो रोकिएको मुटु केहीसमयभित्र एउटा जिउबाट झिकेर त्यसलाई एउटा मेसिनमा हालेर फेरी चलाएर त्यसलाई हवाइजहाज वा एम्बुलेन्समा राखेर त्यो मेसिनलाई अर्को अस्पतालमा लगेर त्यो मुटुले अर्को मान्छेमा हाल्दा काम गर्छ कि गर्दैन, पूरै शरिरलाई रगत पम्प गर्न सक्छ कि सक्दैन बुझेर मात्रै प्रत्यारोपण गर्न सकिने भएको छ । कसकसलाई यो मुटु मिल्छ भनेर हामिले पहिले नै अध्ययन गरिसकेका हुन्छौं । त्यसैको आधारमा विरामीको अपरेशन गर्ने र बिरामीको मुटु झिकेर मेसिनमा ल्याएको मुटुलाई प्रत्यारोपण गर्ने काम गरिन्छ ।
तपाईहरुले रोकिएको मृत मुटुलाई क्षति हुनबाट जोगाएर मेशिनमा राखेर ल्याइने हो ?
मेरो एकजना साथी हुनुहुन्छ । प्रोफेसर म्याकडोनाल्ड । उहाँले कसरी जिउबाट निकालेको मुटुलाई सकेसम्म जोगाउन सकिन्छ भनेर रिसर्च गर्न लागेको २० वर्षजति हुन लाग्यो । हामीले मुटु प्रत्यारोपण गर्दा मुटुमा हाल्ने एकप्रकारको झोल प्रयोग गर्छौं । धेरैथरीका झोल हुन्छन्, हामी सबै चलाउँछौं । तर मुटुले काम गर्न छोडेर थामिएको अवस्थामा यि झोलहरु चलाउँदा जम्मा पन्ध्र बीस मिनेट मात्र त्यो मुटुलाई जोगाउन सकिन्छ । त्यसले मात्र नहुने भयो । हामीले रिसर्च गर्दा के कुरा पत्ता लगायौं भने हामीले अरुथोक त्यसमा थप्यौं भने अर्को दश पन्ध्र मिनेट मुटुलाई जोगाउन सक्ने भयौं । त्यसले त हामीलाई थप समय प्राप्त हुने भयो । यसबाट हामीलाई केही सहज हुनेभयो । तर त्यो मुटुलाई हामीले कसरी टेस्ट गर्ने ? त्यो थामिएको छ, चलेको छैन । अब चल्छ भन्ने ग्यारेन्टी के छ ? भनेर थाहा हुँदैन । मेरो रिसर्च कसरी आयो भने मैले यो मेसिन बेलायतमा पहिले पनि चलाएको थिएँ , प्रत्यारोपणकै निम्ती । हामीले ब्रेनडेथ डोनरको मुटु मेसिनमा ल्याएर राम्रो कि बरफमा हालेर ल्याएर राम्रो भनेर परिक्षण ग¥यौं । यो रिसर्च अझै पनि हुँदैछ । तर मैले चाँही सुरुमै यो मेसिन प्रयोग गरेको थिएँ । मलाई यो मेसिनको बारेमा धेरै नै थाहा थियो । मेरै काम गर्ने साथीहरुको बिरामीले दान गरेको पैसाहरुबाट यी मेसिनहरु ल्याएर हामीसबै मिलेर काम ग¥यौं । यो सरकारले दिएको पैसाबाट होइन । यो बिरामी वा संस्थाले दान गरेको पैसाबाट हामीले रिसर्च गर्न सकेका हौं । के चाँही अनौठो भयो भने, एक त मुटु पनि जोगाउन सकियो । तर त्यो जोगाएर के गर्ने ? त्यो त थोरै समयका लागि मात्र जोगिन सक्ने भयो । अनि हामीले विचार ग¥यौं कि मेसिनमा हाल्यौं भने रगत पनि चल्छ, अक्सिजन पनि छ । त्यती हामीलाई थाहा थियो । त्यसो भएमा सातआठ घण्टासम्म त्यो मेसिनमा राख्न मिल्छ । अनि हामीले त्यो घण्टाभित्र मुटुले काम गर्ने क्षमता कस्तो छ भन्ने पनि बुझ्न पाइयो । चारघण्टासम्म मेसिनमा मिनिमम राखेपछि त्यो मुटु ठीक भएको थाहा हुन्छ । त्यसपछि हामीले बिरामीमा प्रत्यारोपण गर्न सक्छौं । एउटा ठाँउबाट त्यो मुटु झिकेर मेसिनमा राखेर अर्को अस्पतालमा लगेर अर्को जिउमा हालेर बिरामी बाँच्न सफल हुनु नयाँ कुरा हो ।
यो विज्ञानमा एउटा चमत्कार हो ?
यो एउटा विज्ञानको एउटा विकाश हो । यो हुनु नै थियो । हामीले नगरेको भए अरु कसैले गर्ने थियो होला । खुशीको कुरा रिसर्च गरेर त्यो हामीले नै गर्न सक्यौं ।
यसको परिक्षण कुनै जनावरमा पनि गरिएको थियो कि ?
धेरैले मुसा , छुचुन्द्रबाट परिक्षण गर्छन् । हामी चाँही सुगुरमा पुग्यौं । किनभने धेरैजसो यो मुटुको रिसर्च मान्छेमा भन्दा पहिला सुँगुरमा गरिन्छ । किनभने सुँगुरको र मान्छेको मुटु उस्तै उस्तै हुन्छ । विज्ञान पनि मिल्छ । उस्तै छ ।
तपाई अहिले अष्ट्रेलियामा हुनुहुन्छ, पहिले बेलायतमा हुनुहुन्थ्यो । अझ पहिले इटलीमा हुनुहुन्थ्यो । यस्तो उपलब्धीहरुलाई सर्वसुलभ बनाउन त धेरैसमय लाग्ला नि ?
त्यो समयमात्र होइन, ठाउँ हेरेर हुन्छ । किनभने युरोपमा पनि अहिलेसम्म भएको छैन । बेलायतमा मेरा दुईजना साथीहरु छन् । दुइवटा युनिटमा उनीहरुले यसमा काम गर्न तयार पनि छन् । अमेरिकामा अहिलेसम्म छैन । अहिलेसम्म पछाडि नै छ । तर यो विस्तारै हुन्छ । हामीले पहिलो मुटु प्रत्यारोपण ग¥यौं, त्यसले दोश्रो गर्न आँट दियो । त्यसले अर्को गर्न आँट दिन्छ । विस्तारै हामीलाई यो त मामुली जस्तो कुरा हो जस्तो लाग्छ । एउटा मनले त्यसो भए त अब झन् गरौं न जस्तो लाग्छ । तर अलिक नियन्त्रण गर्नुपर्छ ।
अविकशित वा विकाशोन्मुख देशमा रहेकाहरुलाई पनि मुटु प्रत्यारोपणको अभिलासा हुन्छ । सर्वसुलभ बनाउन त तत्कालै सम्भव नहोला नि ?
मलाई धेरै इमेलहरु आइरहेका छन् । चिनेका नचिनेका मान्छेहरुबाट अमेरिकादेखि हिन्दुस्थानसम्मबाट इमेलहरु आइरहेका छन् । मेरो आमा बिरामी हुनुहुन्छ, मुटु सुन्निएको छ , तपाईले केही गर्न सक्नुहुन्छ कि भनेर इमेल आइरहेका छन् । कसैले मेरो श्रीमतिको मुटुमा समस्या छ भनेर इमेल गरिरहेका छन् । मैले अहिले त के गर्न सक्नु र ? मैले खाली सुझाव दिन सक्छु । डाक्टरको सल्लाह लिन सुझाव दिन्छु । तर त्यस्तो ठाउँमा यसरी मृत मुटु प्रत्यारोपण गर्न सजिलो छैन । किनभने यो प्रविधि निकै महँगो छ । यो मेसिन चलाउने कुरा धेरै महँगो हुन्छ । एकपटक चलाएर फ्याक्ने मुटु हाल्ने बट्टलाई नै ३५ हजार डलर पर्छ । मुटुको बट्टा राख्ने मेसिनलाई नै डेढलाख डलर पर्छ । तर डेढलाख पर्ने मेसिन भने चलाइरहन सकिन्छ । त्यो मुटुको भिन्दै मेसिन हो । हामीले फोक्सोलाई पनि प्रत्यारोपण गर्छौं । त्यसैले यो महँगो छ । नेपालजस्तो मुलुकहरुमा यो प्रविधि महँगो छ । नेपालजस्तो देशमा खानेकुरा नपुगेर मान्छेहरु बच्चाबच्चीहरु मरिरहेका छन् । त्यहाँ अब कसरी गएर ३५ हजार डलर पर्ने बट्टाको प्रयोग गरेर एकजनाको जिउ बचाउने ? गाह«ो हुन्छ । सरकारी पैसाले चलाउन असाध्यै असम्भव हुन्छ । यस्तो ठाउमा संस्थाले पैसा हालेमा फण्ड पु¥याएमा नेपालजस्ता देशमा पनि यो प्रविधि लैजानेबारे विचार गर्न सकिन्छ । विस्तारै विस्तारै गर्नुपर्छ । गर्न नसकिने कुरा होइन । तर यो गर्नमा मान्छेमा कति इच्छा छ भन्नेकुरा बुझ्नुपर्छ ।
तिहारको बेलामा भएको तपाईहरुले गरेको उपलब्धीमा सबै नेपालीले खुशी मनाए । नेपालीको छोरोले गर्न सक्यो भनेर खुशीयाली छायो । तपाईले कस्तो महसुस गर्नुभयो ?
मलाई नेपालीहरु खुशी हुनुभएको छ भन्ने मलाई थाहा थियो । यहाँ पत्रकार सम्मेलन भइसकेपछि म प्लेनमा थिएँ । त्यहाँ गइसकेपछि नेपालमा नेपालीहरुले चासो देखाएको कुरा बुझियो । नेपालबाट अन्तरवार्ताका लागि अनुरोधहरु पनि आइरहेका छन् । नेपालमा यस्तो चासो लाग्ला जस्तो लागेको थिएन । तर नेपालमा देखाइएको यो चासोबाट म अत्यन्तै अनुग्रहित भएको छु । म त्यसै जिल परेको छु । म जस्तो अपरेशन थिएटरमा लुकेर बसेको मान्छेको बारेमा यत्रो चासो हुन्छ भन्ने मलाई हेक्का नै थिएन । यत्रो वर्ष रिसर्च गरेर मुटु प्रत्यारोपण गर्न सकियो त्यो त धेरै नै ठूलो कुरा हो । म दिनदिनै बिरामीहरुलाई देख्छु । मुटु कहिले आउला भनेर प्रतिक्षा गरेर बसिरहेका छन् । यिनीहरुलाई हेर्दा आज हिडिरहेका हुन्छन्, भोली हिड्न छोडिरहेका हुन्छन्, पर्सी घिस्रिरहेका हुन्छन् । कहिलेकाँही मुटु पाइएन भने ति त्यसै प्रतिक्षामा नै मर्छन् । तिनीहरुको निम्ती पनि साँच्ची खुशी लागेको छ । अझ मृत्यु पश्यात अंग दान गर्नेहरुको इच्छा पु¥याउन सकिएकोमा मलाई असाध्यै खुशी लागेको छ । किनभने उनीहरुलाई आफ्नो अंग कहाँ जान्छ भन्ने नै थाहा हुँदैन । सबैभन्दा ठूलो त मुटुदान गर्ने व्यक्ति हो । किनभने त्यो नभए त हामीले केही गर्न सकिदैन । अरु मान्छे बाँच्नै सक्दैनन् । कुनै व्यक्तिले जीवित छँदै नै म मरेपछि मेरो मुटु दान गर्न चाहन्छु भनेर लिखित रुपमा दिएको हुन्छ नभए उनीहरुका आफन्तले अनुमति दिन्छन् । त्यो पनि ठूलो कुरा हो ।
गोरखा जिल्ला पुख्यौली थलो भएपनि तपाई इटलीमा जन्मुभयो । नेपालको याद केही छ कि ?
किन नहुनु ? सबै कुराको याद छ । दुईदुईपटक गोरखा गएँ । हजुरबुबा र हजुरआमालाई भेट्न जाँदा डाँडापाखा सबै याद छ । काठमाडौंको पनि सबै थाहा छ । नवलपुरमा पनि मेरो आमाको बहिनीहरु हुनुहुन्छ । अहिले त हजुरबुबा पनि स्वर्गे हुनुभयो । गोरखा नगएको पनि धेरै वर्ष भयो । तर सबैकुरा प्रष्ट सम्झन्छु ।
अब कहिले जानुहुन्छ फेरी नेपाल ?
मेरो आमा यता आउने कुरा थियो । यदि आउन सक्नुभएन भने म नोभेम्बरमा नै नेपाल जान बेर छैन ।
नेपालमा रहेका सृजनशिल युवाहरुलाई केही भन्न चाहनुहुन्छ ?
मेरो इच्छा के भने यति गर्न सकियो । त्यसले केही प्रेरणा दिन सक्यो भने त्यही नै ठूलो कुरा भयो । तर प्रेरणाले मात्र पुग्दैन । सबैले आफ्नो सपनालाई अगाडि राख्नुपर्छ । एकएक दिन गरेर अगाडि बढ्दै जानुपर्छ त्यो सपनातिर । पुगिएन भने अर्को सपनालाई अगाडि राख्नुपर्छ । तर मिहिनेतका साथ काम नगरेसम्म केही हुँदैन । नपढीकन, मिहिनेत नगरिकन कसैले केही दिदैन । आफूले लिनुपर्छ । आफैले आँ गर्नुपर्छ । बाटो गा«हो हुन्छ । तर सृजनशिल युवाहरुले आँट गरेमा उनीहरुको इच्छा पूरा हुन्छ ।
तपाईले यति राम्रो नेपाली बोल्न, लेख्न कसरी सिक्नुभयो ? तपाईको प्रेरणाको श्रोत के हो ?
पाँचवर्षमात्र नेपाल बसेको तपाई कसरी नेपाली बोल्ने, लेख्ने सबै गर्नुहुन्छ भनेर मलाई धेरैले सोध्ने गर्छन् । १० वर्षको हुदा हामी नेपाल छाडेर रोम फर्कियौं । बुबाले त्यो बेलामा हामीलाई नेपाली सिकाउनुभयो । होमवर्क गर्न लगाउनुभयो । म बेलायतमा पढ्दा बुबालाई अंग्रेजीमा र आमालाई हप्तैपिच्छे एकएकवटा चिठी नेपालीमा नै लेख्थें । दुईहप्तापछि मैले आमालाई लेखेको चिठी बुबाले फर्काइदिनुहुन्थ्यो , बिग्र्रेको ठाउमा रातो मसीले सच्याएर । त्यसपछि नेपाली लेख्न पनि सकियो । मलाई सानैदेखि कानुन पढ्न मन लागेको थियो । मलाई त अन्तर्राष्ट्रिय अदालतमा जज हुन मन लागेको थियो । मेरो सपना पनि त्यही थियो । तर यही पढेर नेपालमा काम लाग्ला भनेर म डाक्टर पढ्न तिर लागें । बुबाले भन्नुहुन्थ्यो – ‘तँ परदेशमा नै बस्छस्, त्यही नै जिन्दगी बिताँउछस् । तँ त्यहीका मान्छे सरह वा त्यो भन्दा असल हुनुपर्छ । नभए तँ त्यहाँ बसेर काम छैन । नेपाल गएर अरु कुनै काम खोज्नु । त्यो गरेमा तेरो इज्जत रहन्छ । ’ त्यसैले मैले पनि जहाँ बस्यो त्यहीका मान्छेहरु सरह वा त्यो भन्दा माथि हुने प्रयन्त गरिरहें । आफूले म यिनीहरु भन्दा असल हुन सक्नुपर्छ भन्ने सोंच मनमा राखिरहें । मलाई आफ्नो काम अझै गर्नुछ । अझै प्रत्यारोपणहरु गर्नुछ । रिसर्चहरु गर्नुछ ।

१४ कार्तिक २०७१, शुक्रबार २२:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

सरकारमा सहभागी हुने २ मन्त्रीको नाम टुंगो लाग्यो

काठमाडौँ, ४ मंसिर । सरकारमा मन्त्रीको रुपमा प्रवेश गर्ने २ जनाको नाम टुंगो लागेको छ । तत्कालिन माओवादी केन्द्रको तर्फबाट २ जनाको..

राजपाको संयोजकमा राजेन्द्र महतो

काठमाडौँ, ४ मंसिर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको संयोजकमा राजेन्द्र महतो चुनिएका छन् । बुधबार बसेको..

मन्त्रिपरिषद् हेरफेर, ४ मन्त्रीको बिदाई पक्का

काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले केहीबेरमै मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् ।..

प्रचण्ड कार्यकारी अध्यक्ष, ओली पूरै अवधि प्रधानमन्त्री

निरोज कुमार थापा, काठमाडौँ, ४ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई..

प्रधानमन्त्रीले राजीनामा दिन गरेको आग्रह उपसभामुखले मानिनन्

काठमाडौँ, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेका..