चल्दैन लोकतन्त्र, किन ? :: देवप्रकाश त्रिपाठी

नेपालमा बहुदलीय प्रजातन्त्र चल्न सक्दैन भन्ने निष्कर्षमा पुग्नु गलत हुनसक्छ । एउटा रूखको एक दाना सुन्तला चाखेर बगैँचाका सबै सुन्तला अमिला छन् या संसारका सबै सुन्तला गुलिया हुँदैनन् भन्ने ठहर गर्नुजत्तिकै गलत हुनसक्छ सैद्धान्तिक रूपले नेपालमा प्रजातन्त्र चल्दैन भन्ने कुरा । तर, यस्तो निष्कर्ष जतिसुकै गलत भए पनि वर्तमानले नेपालमा प्रजातन्त्र नचल्ने रहेछ भन्ने पुष्टि गर्दै छ ।
जुन मानिसलाई बिहान–बेलुकाको छाक टार्ने चिन्ता हुन्छ, उसलाई बगैँचाको सोख हुँदैन, न शास्त्रीय सङ्गीतमा प्रस्तुत रागको आरोह–अवरोहले नै त्यस्ता मानिसको मन बाँध्न सक्छ । सङ्गीत र बगैँचाको चाहना त्यसबेला प्रस्फुटित हुन्छ जब व्यक्तिको न्यूनतम आवश्यकता परिपूर्ति हुनेछ । नेपालमा विपन्नदेखि सम्पन्न अनेक काँटी र कोटिका मानिस छौँ, हामीमध्ये ठूलो सङ्ख्या विपन्नहरूको छ । भौतिक सम्पन्नताले पनि हाम्रो मानसिक विपन्नतालाई विस्थापित गर्न सकेको छैन । देशका सर्वाधिक धनी मानी कहलिएका ‘उद्यमी’ व्यापारीहरूसमेत भ्याट छली, राजस्व छली र बिमामा ठगीलगायतका चोरी धन्दामा सामेल हुनुले हाम्रो विपन्नताको पाटो दर्शाइरहेको छ । जुन देशका उद्यमी/व्यापारी जनता र राज्य दुवैलाई ठग्न किञ्चित लज्जाबोध गर्दैनन् त्यस्तो देशमा प्रजातन्त्रले काम गर्न कठिन हुन्छ । दलका नेताहरूमाथिको लगानीलाई उनीहरूले ठगी गर्ने अनुमति शुल्कका रूपमा बुझ्छन् शायद ।
प्रजातन्त्रमा राजनीतिक नेतृत्व क्षमतावान, उदार, गतिशील र दूरदर्शी हुन अनिवार्य मानिन्छ । त्यस्तै आस्था र विचारका आधारमा पक्षपात प्रजातन्त्रको गुण हुँदै होइन । भिन्न विचारलाई सम्मान र, आलोचना या विरोधलाई समेत स्वागत गर्न सक्ने विशाल क्षमता दलका नेताहरूमा हुनुपर्छ । तर, नेपाली नेताहरू असहिष्णु छन्, उनीहरू फरक विचार–धारणालाई सम्मान गर्न कञ्जुस्याइँ गर्छन् । विपक्षी या विरोधी मात्र होइन आफ्नै पार्टीका आफूसँग असहमतहरूलाई सहने क्षमतासमेत नेताहरूमा पाइन्न । पञ्चायतकालमा बहुदलीय प्रजातन्त्र असफल हुनुका दर्जनभन्दा बढी कारण पाठ्यपुस्तकमा पढिएको हो, तर विश्वास गर्न सकिएको थिएन । गणतन्त्रसहितको लोकतन्त्र व्यवहारमा भोगिएपछि ती कारण लेख्नेहरू जो–जस्ता भए पनि कारण सही रहेछन् भन्न कर लाग्दै छ ।
राजनीतिकर्मीहरू देशकेन्द्रित बन्न सकेका छैनन् । कुनै न कुनै रूपले प्रजातन्त्रको अभ्यास गर्ने अवसर पटकपटक प्राप्त भइरहँदा नेतृत्वले प्रस्तुत गरेको व्यवहार प्रजातन्त्रसम्मत रहेको महसुस गर्न पाइएको छैन । ‘श्री ५’हरूभन्दा ‘श्री ३’हरू खतरनाक, श्री ३ भन्दा प्रजातन्त्रवादी र प्रजातन्त्रवादीभन्दा साम्यवादीका व्यवहार खतरनाक देखिए । राजाको शासनभन्दा भीमसेन थापाको काल त्रासपूर्ण एवम् दु:खद् रह्यो, भीमसेनपछिको राणा शासनकाललाई झनै सकसपूर्ण ठानियो । राणा शासनपछिको प्रजातन्त्रकाललाई पनि सायद हामीले सुखद बनाउन सकेनौँ र पञ्चायत आयो । पञ्चायतको तीसवर्षे कार्यकालमा सबै दु:ख र विपत्तिको कारण पञ्चायतलाई नै मानियो । पञ्चायती व्यवस्था विस्थापित गर्दै स्थापित संसदीय प्रजातन्त्रलाई पनि केही थरीले जनसुखको साधन बन्न नसक्ने ठाने र हिंसात्मक सङ्घर्षमार्फत अर्कै अवस्था–व्यवस्था प्राप्तिको अभियानमा लागे । राजतन्त्रलाई मुलुक उन्नतिको मुख्य बाधक ठानियो र गणतन्त्र भित्र्याइयो । प्रजातन्त्रसहितको गणतन्त्रलाई एकथरी मानिस सबभन्दा उत्कृष्ट राजनीतिक प्रणाली ठान्छन् । लोकतान्त्रिक गणतन्त्र भएको पाकिस्तान या त्यस्तै अन्य देशभन्दा संवैधानिक राजतन्त्रसहितको प्रजातान्त्रिक मुलुक डेनमार्क, जापान, क्यानडा, अस्ट्ेरलिया, स्वीडेन र इंग्ल्यान्डलगायतका मुलुक किन शान्त, स्थीर र समुन्नत छन् भन्ने प्रश्न गर्ने चेत नागरिक तहमा देखिएन । राजनीतिक दल र तिनका नेता/कार्यकर्ता निजी आकाङ्क्षाको जालोमा जेलिएका छन् । त्यसैले यिनलाई देशकेन्द्रित होइन आत्मकेन्द्रित बन्न प्रेरित गर्दै छ ।
राजनीतिक समूहहरूले आफ्नो हितलाई जनहितको रूपमा परिभाषा गरिरहेका छन् । भागबन्डाका आधारमा सहमति गर्ने र आफूहरूबीचको सहमतिलाई राष्ट्रिय सहमतिका रूपमा व्याख्या गर्ने काम जुन दलका नेताहरूले गरिरहेका छन् यसले देशको चेतनशील समुदायलाई कति असन्तुष्ट बनाइरहेको छ भन्ने हेक्का कुनै पनि दलको नेतृत्वले राखिरहेको छैन ।
०६३ को परिवर्तनपश्चात् मुलुक कानुनविहीन र राजनीतिक नेतृत्व नीतिविहीन बन्न पुगेको छ । देशको सार्वभौमसत्ता, राष्ट्रियता र राष्ट्रिय एकता कमजोर भएको छ । राजनीति र उद्यम/व्यापारमा माफियागिरी कसिलो हुँदै गएको छ । सामाजिक सद्भावमा ग्रहण लागेको छ, रोजगारीको अवसर न्यून हुँदै गएको छ, ट्ेरड युनियानिज्मका कारणले पनि लगानीको वातावरण बन्न सकिरहेको छैन, अपराध र आपराधिक क्रियाकलापमा बढोत्तरी भएको छ, सडकमा गाडीको ठक्करबाट मानिस ढल्छन्, उठ्न खोज्दै गर्दा घाइतेको शरीरमाथिबाट गाडी गुडाइन्छ र ज्यान लिइन्छ, राज्य संवेदनाहीन चुपचाप हेरिरहन्छ, कसैले न्यायपालिकाको मानमर्दन गरिरहेका हुन्छन्, राजनीतिकर्मीहरू अदालतमै पसेर मानमर्दन गर्नेहरूलाई प्रोत्साहन दिन्छन् । अपराधी र बलात्कारीहरू खुलेआम हिँड्छन् पीडितहरूमाथि आफ्नो अङ्ग र सम्पत्तिको सुरक्षा गर्न नसकेको आरोप लगाउन राज्य हिचकिचाउँदैन । भ्रष्टाचार न्यूनीकरण हुने कुनै सङ्केत देखिएका छैनन्, कर्मचारी प्रशासनले जनमुखी व्यवहार प्रस्तुत गर्न सकेको छैन र गर्ने सङ्केतसम्म देखिँदैन, अराजकता कायम छ, समग्र राजनीति अवाञ्छित क्रियाकलापमा बरालिएको छ । यस्तो अवस्थामा स्थिति सम्हालेर संस्थागत गर्नु सबभन्दा सुन्दर विकल्प हो, जसको सम्भावना दुरुह हुँदै गएको छ ।
विश्वका अधिकांश मुलुकको इतिहास अध्ययन गर्दा जनस्तरबाट समस्या पैदा भएको देखिन्छ र राजनीतिले त्यसलाई सम्हालेको छ । तर, नेपालमा व्याप्त समस्याको प्रादुर्भाव जनस्तरबाट नभई उच्च राजनीतिक तहबाट भएको छ । ‘छोराछोरी बिग्रिए बाबुआमाले सम्हाल्न–सुधार्न सक्छन् तर बाबुआमा नै बिग्रिए कसले सम्हाल्ने’ भनेझैँ भएको छ । जनताका वास्तविक समस्याप्रति निष्पृह रहेको राजनीतिक क्षेत्रबाट जनताले आफ्नो जीवनमा सकारात्मक परिवर्तन ल्याइदिने आशा गर्न छाडिएको छ, बरु नानाभाँतीका बखेडा झिकेर देशमा समस्या नथपिदिए हुन्थ्यो भन्ने चाहना जनस्तरमा देखिन्छ । नेपालको इतिहासमा राजनीति र राजनीतिकर्मीहरूप्रति यति ठूलो मात्रामा अनास्था र घृणा यसअघि कहिल्यै प्रकट भएको पाइँदैन जति अहिले छ । यस्तो अवस्थामा राजनीति क्षेत्रबाट सुधारको आशा गर्न छोड्नु स्वाभाविक हो । प्राप्त लोकतन्त्र र विद्यमान राजनीति तथा राजनीतिकर्मीबाट समस्या समाधानको आशा राखिए पनि यसले निकै लामो समय लिन सक्छ, अर्थात् शताब्दी–शताब्दीसम्म प्रतीक्षा गर्नुपर्ने हुनसक्छ । युरोपले आजको समृद्धि, शान्ति र स्थिरता हासिल गर्नुअघिको कैयन शताब्दी लडाइँ, झगडा र विवादमा जसरी बिताएको थियो हामी ठीक त्यही चरणबाट अहिले गुज्रिरहेका छौँ । वर्तमान पुस्ताले सुधारको प्रतीक्षा गर्दै जीवन गुजार्ने र भावी केही पुस्तालाई पनि यस्तै जिन्दगी गुजार्न बाध्य तुल्याउने हो भने तुल्याऊँ, होइन भने नेपालमा नेपाली राजनीतिकर्मीहरूले देशलाई सङ्कटबाट निकास दिन सक्दैनन् भन्ने निष्कर्ष निकाल्न ढिला भइसकेको छ ।
२१औँ शताब्दीमा स्थायित्व, शान्ति र समृद्धि प्राप्त गरेका सीमित मुलुक (मलेसिया, दक्षिण कोरिया र सिंगापुरलगायत)ले हामै्रजस्तो लोकतन्त्रलाई साधन बनाएर सफलता हासिल गरेका होइनन् भन्न तथ्यहरूले पुष्टि गरिसकेका छन् । प्रजातन्त्रवादी दलका नेताहरूसमेत अप्रजातान्त्रिक व्यवहारमा रहेको यस मुलुकमा न वास्तविक प्रजातन्त्रको स्वाद जनताले प्राप्त गर्ने भए, न स्थायित्व, शान्ति र समृद्धिप्राप्तिको सपना साकार हुने भयो । आफैँले लोकतन्त्र स्थापना गरेको दाबी गर्ने राजनीतिक नेतृत्वको व्यवहार लोकतन्त्रसम्मत् मान्न सकिएन । लोकतन्त्रको हदैसम्म खिल्ली उडाउने व्यवहार भइरहँदा पनि आफूहरूलाई परवर्तन गर्ने चेत उनीहरूमा पलाएको छैन । राजाको आफ्नै भूमिकाका कारण राजतन्त्र गएर गणतन्त्र स्थापना भएको ठान्नेहरूले आत्मसात् गर्नुपर्ने के छ भने कथित लोकतन्त्रवादीहरूकै भूमिकाका कारण लोकतन्त्र विरूप–कुरूप भएको छ, अब लोकतन्त्र अन्त्यका लागि लोकले कहिलेदेखि अभियान सुरु गर्ने हुन् प्रतीक्षा त्यसैको हुँदै छ । राजनीतिक क्षेत्रको क्रियाकलापले लोकतन्त्रको चरम अपमान र बदनाम गरिरहेको छ । यदि हामीले व्यहोरिरहेको व्यवस्था–अवस्था र तन्त्रलाई नै लोकतन्त्र भन्नुपर्ने हो भने यस्तो लोकतन्त्र चाहिँदैन भन्न अब विलम्ब गरिनुहुँदैन । विनाशकारी लोकतन्त्रभन्दा शान्ति, स्थिरता र समृद्धिमुखी अरू नै तन्त्र नेपालको निम्ति उपयुक्त हुने हो कि भनी गम्भीरतापूर्वक विचार–विमर्श गर्नुपर्ने बेला आएको छ ।

११ कार्तिक २०७१, मंगलवार २३:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना भाइरसका कारण थप २ जनाको मृत्यु

काठमाडौँ, २४ जेठ । कोरोना भाइरसका कारण नेपालमा थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डोल्पाका पुरुष..

जेठ २५ देखि छोटो दुरी र असार १ देखि लामो दुरीका गाडी चलाउने प्रस्ताव

काठमाडौँ, २४ जेठ । सरकारले एक सयभन्दा कम व्यक्तिमा कोरोना संक्रमण देखिएका जिल्लामा जेठ २५ गतेबाट छोटो दुरीका..

गंगा चौधरीलाई सरिता गिरीको प्रश्न, ‘चीनको इशारामा ममाथि आरोप लगाइएको त होइन ?’

काठमाडौँ, २३ जेठ । सामाजवादी पार्टीकी सांसद सरिता गिरीले सत्तारुढ नेकपाका सांसदले आफ्नो विषयमा संसदमा..

विदेशबाट आउने नेपाली राख्न होटल क्वारेन्टाइन तयार, दिनकै ८ हजारसम्म तिर्नुपर्ने

निरोज थापा, काठमाडौँ, २३ जेठ । विदेशमा रोकिएका नेपालीलाई उद्दार गरि ल्याईएका नेपाली राख्न होटल क्वारेन्टाइन..

विदेशबाट नेपालीको उद्दार गर्न सुरु, २६ जना काठमाडौँ आइपुगे

काठमाडौँ, २३ जेठ । विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार सुरु भएको छ । सरकारले पहिलो चरणमा म्यानमारबाट २६..