बीपीको बाटो छोडेर काङ्ग्रेसले गल्ती गरेकै हो :: मदन अमात्य (सभासद् एवम् सभापति, ललितपुर काङ्ग्रेस)

मदन अमात्य ललितपुर काङ्ग्रेसको सभापति बन्नु र ललितपुरको इतिहासमा काङ्ग्रेसले तीनवटै निर्वाचन क्षेत्रमा विजय हासिल गर्नु एउटा संयोग मात्र नभई मदनको मिहिनेत र उनको सक्रियता पनि हो। बाल्यकालदेखि नै साहसी, आत्मविश्वासी र निडर मानिएका मदन पहिले कम्युनिस्ट थिए। सुशीलचन्द्र अमात्यले उनलाई कम्युनिस्ट बनाएका थिए। वि.सं. २००७ कात्तिकमा हेटौँडामा जन्मिएका मदनको पुर्ख्यौली थातथलोचाहिँ ललितपुरको गाःबहाल हो। त्रिविबाट स्नातक मदनले कम्युनिस्ट गतिविधिमा सक्रिय रहँदा बुर्जवा शिक्षा बहिष्कार भन्दै गाउँ–गाउँमा कम्युनिस्ट सङ्गठन निर्माण गर्ने अभियानमा सक्रियता दर्शाएका थिए। ०२७ वैशाखमा हेटौँडामा काङ्ग्रेसद्वारा आयोजित एक वनभोज कार्यक्रममा सहभागी भएर केही जिम्मेवारी प्राप्त गरेपछि मदनले कम्युनिस्टहरूसँगको सम्बन्ध विच्छेद गरेका थिए। घोडा चढ्न सौखिन मदनमा आफूले तय गरेको गन्तव्य हासिल नगरेसम्म थकाइ नमार्ने प्रवृत्ति छ। काङ्ग्रेसको महाधिवेशनबाट ललितपुर काङ्ग्रेसको सभापति बनेका उनी कुनै पनि व्यक्ति एउटा तहको जिम्मेवारीमा बढीमा दुई कार्यकालभन्दा बढी रहनुहुँदैन भन्ने मान्यता राख्छन्। भन्छन्, ‘राजनीति व्यापार होइन, क्षमता भएको मान्छेले एक–दुई कार्यकालमै परिणाम हासिल गरिसक्छन्।’
० ललितपुरमा तपाईंको नेतृत्वमा काङ्ग्रेसलाई ऐतिहासिक किसिमले तीनवटै सिटमा जित हासिल भयो, चुनावी सफलताअनुसार काम गर्नचाहिँ कत्तिको सफलता मिलिरहेको छ त?
– पहिलो कुरा त म जिल्ला सभापति भए पनि संविधानसभाको निर्वाचनमा काङ्ग्रेसलाई ललितपुरमा मिलेको ऐतिहासिक सफलताको क्रेडिट आफू मात्र लिन चाहन्न। पार्टीका सबै तहका साथीहरू मिलेर नै यो सम्भव भएको हो। जहाँसम्म काममा कति सफलता मिलेको छ भन्ने सवाल हो, अझै पनि सन्तोषजनक रूपले कामको सुरुवात गर्न सकिएको छैन।
० केले रोक्यो त काम गर्न?
– हाम्रो तौरतरिका, कर्मचारीतन्त्रको पुरातन शैली र लम्बाचौडा प्रक्रिया, कोअर्डिनेसनको अभाव अनि आफैँ लागिरहे मात्र केही काम हुने अन्यथा सिस्टमले कामै नगर्ने अवस्था पाएँ मैले।
० मूलतः तपाईं संविधान बनाउनका लागि चुनिएको संविधानसभा सदस्य हुनुहुन्छ, संविधान बनाउने काममा धेरै समय गएको छ कि विकास–निर्माण तथा जनताका काममा?
– संविधानसभामा म निर्क्योल समितिमा छु। उक्त समितिको काम सुरुमै हुन्छ। हामीले आफ्नो समितिबाट गर्ने काम गरिसकेका छौँ। भित्रको बहसमा चाहिँ म समय खेर फाल्न चाहन्न, बरु जिल्लामा विकास–निर्माणकै काममा समय दिन्छु भनेर लागिरेहको छु। ललितपुरमा पानीको समस्या छ, ढल छैन, सडक खराब छ। जनता अनेक समस्याबाट गुजि्ररहेका छन्। गर्नुपर्ने काम धेरै छन्। मैले त भोट माग्दा पनि संविधानको कुराभन्दा बढी जनताका समस्या निराकरणको निम्ति लागिपर्ने भन्ने कुरालाई नै बढ्ता जोड दिएको थिएँ। संविधान बनाउने कुराको चिन्ता आफ्नै ठाउँमा छ, तर विकास–निर्माण मेरो प्राथमिकतामा पर्छ।
० संविधान बनाउने कार्यमा त समस्त सभासद्को भन्दा पनि दुई–चारजना नेताको मात्रै हालीमुहाली चल्नेरहेछ पनि भन्छन् नि, यस्तै हो त?
– भूमिकै छैन भनौँ भने विवादित विषयमा मत दिनुपर्दा हामी निर्णायक हुन्छौँ नै, अब भूमिका छ भनेर दाबी गर्नचाहिँ नसकिने नै रहेछ। मेरो अहिलेसम्मको अनुभवले त त्यसमा पार्टीका मुख्य नेतृत्वहरू नै हाबी हुने परिस्थिति बन्दोरहेछ भन्ने नै लागेको छ।
० तपाईंको विचारको कत्ति कदर भएन कि कसो हो?
– पार्टीले टिकट दिएर पठाएकाले मेरो व्यक्तिगत विचारभन्दा पनि पार्टीकै विचार मुख्य हुने भइहाल्यो नि। पार्टीले निर्णय गरेको कुरा नै मैले बोकेर जाने हो संविधानसभामा।
० संविधानको आधारभूत विषयमा पार्टी नै स्पष्ट छैन भन्ने कुरा पनि उठेको छ नि?
– स्पष्ट नभएको होइन, पार्टीको आफ्नो कुरा त स्पष्टै छ। घोषणापत्र छ, अन्य फोरममार्फत पनि पार्टीका कुरा आइरहेकै हुन्छन्। तर, काङ्ग्रेसले आफ्ना कुरा मात्र राखेर त संविधान बनाउन सक्दैन। सहमतिबाट संविधान बनाउनुपर्ने हुनाले एमाले, एमाओवादी, माओवादी र अन्यका समेत कुरा सुन्न काङ्ग्रेस बाध्य छ। यसले गर्दा स्पष्ट नभएजस्तो देखिएको हो।
० काङ्ग्रेस खाँटी प्रजातान्त्रिक पार्टी होइन त?
– सैद्धान्तिक हिसाबले यही त हो नि।
० अनि कम्युनिस्ट पार्टीहरूलाई चाहिँ पूरै प्रजातान्त्रिक भन्न मिल्छ कि मिल्दैन नि?
– प्रजातान्त्रिक मूल्य र मान्यताको जगमा उभिएर हेर्दा उनीहरूलाई त्यो दर्जा दिन मिल्ने अवस्था देखिन्न। तर, उनीहरू पनि प्रजातान्त्रिक अभ्यासमा भने आइरहेका छन्।
० अब उनीहरूका लागि काङ्ग्रेसले आफ्नो सिद्धान्त छोडिदिने भनेकोचाहिँ के त, अलि–अलि अधिनायकवादी बनिदिने हो?
– (हाँस्दै) यस्तो त होइन। काङ्ग्रेस अधिनायकवादी हुने कुरा सोच्दैन। तर, डेमोक्र्याटिक नर्म्सभन्दा बाहिर गएर काङ्ग्रेसले केही कुरामा सम्झौता गर्न खोजेकोचाहिँ मलाई पनि चित्त बुझेको छैन। काङ्ग्रेसले आफ्ने सिद्धान्त छोडेको रूपमा बुझेको छु मैले यसलाई। यो ठीक होइन।
० काङ्ग्रेसले गरेको कमजोरी सच्चिन सक्छ कि सक्दैन त अब?
– जसरी पनि संविधान दिनुपर्छ भन्ने सोचेर नेताहरूले यसो गरेका होलान्। सच्चिनै नसक्ने कुरा होइन, सच्याउन सकिन्छ र सच्याउनु पनि पर्छ।
० संविधान बन्छ भन्नेमा पनि कतिपय सभासद्लाई विश्वास रहेनछ, तपाईंलाईचाहिँ कति विश्वास छ?
– बन्ने कुरामा त अविश्वास छैन, बन्छ नै भन्ने लाग्छ, तर संविधान कार्यान्वयनमा भने व्यवधान पैदा हुन्छ कि भन्ने त्रास जन्मेको छ मभित्र।
० किन नि?
– सहमतिबाट संविधान बन्न कठिन पर्ने र त्यसपछि दुईतिहाइ या प्रक्रियाबाट जानुपर्ने हुन्छ। कतिपय विषयमा जनमतसङ्ग्रहमा नै जानुपर्ने पनि हुन्छ। यसरी आएको संविधान लागू गराउने बेला कतिपयले अडचन पैदा गर्न सक्छन्।
० नेपाल बनाउन भनी अनेक शासन–व्यवस्था र राजनीतिक दलहरूले प्रयत्न गरे, तर लामो समयको प्रयासपछि पनि बन्न सकेन, यसको मूल कारण के हो जस्तो लाग्छ तपाईंलाई?
– कारण धेरै छन्। सबभन्दा पहिला त हामीसँग नवीन सोच नै भएन। सोचमा परिवर्तन जरुरी छ। अर्को कुरा देश बनाउने प्रतिबद्धता नेताहरूमा देखिएन। राष्ट्रप्रति इमानदारीको पूरै अभाव देखियो नेताहरूमा। पार्टीभन्दा राष्ट्र ठूलो हो भन्ने बुझ्नै सकेनन् दलका नेताहरूले।
० कम्युनिस्टको सङ्ख्या ठूलो भएको देश बन्दैन भन्ने धारणा छ, तपाईं सहमत हुनुहुन्छ?
– यो कुरा व्यवहारतः ठीक हुन पनि सक्छ, तर सोझै ‘हो’ भनेर कम्युनिस्टहरूलाई चिढ्याएर अहिले काम पनि छैन। उनीहरू आफैँले पनि यो कुरा त बुझ्न थालिसकेका छन् जस्तो मलाई लाग्छ। एकैचोटि बदलिन नमिलेर होला, विस्तारै–विस्तारै आफ्ना कट्टर र अव्यावहारिक कुरा उनीहरूले छोड्दै आएका छन्। कम्युनिस्ट कार्यकर्ताहरू पनि बदलिँदै छन्।
० काङ्ग्रेस ‘सिनायल′ भयो, डाइनामिजम छैन भन्ने आरोपचाहिँ किन लागेको होला?
– सिनायल नै त भन्न नमिल्ला। काङ्ग्रेस यस्तो भएको भए त आज मुलुक माओवादीले सिध्याइसक्थे नि। योचाहिँ पक्कै हो कि काङ्ग्रेसले कैयन गल्ती गरेको छ। तर, मुलुकलाई कम्युनिस्ट अधिनायकीबाट जोगाउन काङ्ग्रेसले नै त भूमिका खेलिरहेको छ।
० यो त काङ्ग्रेसको खुबीले भन्दा पनि कम्युनिस्टले राम्रो गर्न नसकेकाले काङ्ग्रेसलाई फाइदा पुगेको भनिन्छ नि त?
– यसो भन्नु काङ्ग्रेसको योगदानलाई अवमूल्यन गर्न खोज्नु हो। कम्युनिस्टले राम्रो गर्न नसकेकामा शङ्का गर्नैपर्दैन, तर काङ्ग्रेसले अडान नराखेको भए मुलुक यतिबेला अहिलेकोभन्दा पनि निकै अस्तव्यस्त बन्न पुग्थ्यो।
० तपाईंले अघि भन्नुभयो कि संविधान बने पनि कार्यान्वयनमा समस्या आउन सक्छ, कार्यान्वयन नै नहुने संविधान बनाउनु कति उचित होला त?
– हेर्नुस्, संविधान त हामीले कुनै पनि मूल्यमा अब दिनैपर्छ। संविधान नै नभएर त झन् कसरी मुलुक चल्न सक्छ र? तर, अब बन्ने संविधानलाई कसरी लागू गर्ने, कानुनको पालना गर्न सबै नागरिकलाई कसरी प्रेरित गर्ने भन्ने सवालमा चाहिँ अहिलेदेखि नै सबैले गम्भीर भई चिन्तनमनन गरेर निचोड निकाल्नु जरुरी छ। त्यसैले मैले जनमतसङ्ग्रहको विषयलाई जोड दिएको हुँ। कुनै मुद्दा पछिसम्म विवादमै रहनेजस्तो लाग्छ भने जनमतसङ्ग्रहमा गएर टुङ्गो लगाएपछि संविधान कार्यान्वयनमा समस्या नहोला।
० सङ्घीयता, धर्मनिरपेक्षता, संवैधानिक राजतन्त्रजस्ता मुद्दा नेपाली काङ्ग्रेसका थिएनन्, अरूले भन्यो भन्दैमा काङ्ग्रेसले आफ्नो नीति–सिद्धान्त छोडेर बहकिन हुन्थ्यो?
– यो कुरा गर्दा धेरै कुरा आउन सक्छ। पुष्पलालले बीपीसँग कम्युनिस्ट र काङ्ग्रेस मिलेर पञ्चायत फालौँ भन्दा मान्नुभएन। बरु उहाँले ‘तपाईंहरूको आर्थिक एजेन्डा हामी बोकौँला, हाम्रो राजनीतिक मुद्दा तपाईंहरू अँगाल्नुस्’ भन्ने जवाफ दिनुभएको थियो। कम्युनिस्टसँग मिलेर जाने हो भने अन्ततः यो देशमा कम्युनिस्ट नै हाबी हुनेछन् भनी बीपीले उहिल्यै भन्नुभएको हो। यस हिसाबले त ०४६ कै आन्दोलन गलत थियो। हामी आफूलाई बीपीवादी भन्छौँ तर उहाँलाई हामीले बुझ्न सकेनौँ। बीपीले भनेका कुराहरू सावित हुँदै गएका छन्। राजा र हाम्रो घाँटी जोडिएको छ भन्ने बीपीको पार्टी काङ्ग्रेसले पटक–पटक धेरै गल्ती गर्दै आएको छ।
० गिरिजाप्रसादको अदूरदर्शिताको कारण यस्तो अवस्था आएको भन्न मिल्छ?
– उहाँजस्तो नेतालाई मैले अदूरदर्शी भनेर कमेन्ट गर्न सुहाउँदैन। त्यतिबेलाको परिस्थितिअनुसार राजाले पनि ठूलो गल्ती गरेकै हुन्। पटक–पटक गल्ती गरेपछि राजसंस्थालाई किन बोकिरहने भन्ने उहाँलाई लाग्यो होला। तर, गहन रूपले सोचविचार पुर्याोएर मात्र कदम चाल्नुपर्थ्यो, त्योचाहिँ उहाँबाट हुन नसकेकै हो कि भन्ने लाग्छ।
० राजनीतिक सोचविचारभन्दा बदलाको भावनाले कोइरालाले त्यसो गरे भनिन्छ, हो?
– म सानो मान्छे, गिरिजाबाबुको कदमको कसरी कमेन्ट गर्ने र! इतिहासले पछि बोल्ला भन्ने लाग्छ यस्ता कुराबारे। बीपीको नीति तथा विचारको सन्दर्भ चल्दा कतिपयले ०४६ कै आन्दोलन पनि ठीक थियो कि थिएन भनी पुनर्मूल्याङ्कन गर्नुपर्ने आवाज उठाउन थालेका छन् भने गिरिजाप्रसाद र सिङ्गै काङ्ग्रेसले के–कति सही या गल्ती गर्योस भनी मूल्याङ्कन एक न एक दिन भइहाल्ला।

१३ आश्विन २०७१, सोमबार २२:३१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..