नेपाललाई ‘अर्गानिक देश’ बनाउने अभियान :: देवमान हिराचन

Devman Hirachanकाठमाडौं उपत्यकामा मात्र यतिबेला ६०–७० प्रतिशत मानिस रोगी रहेको विज्ञहरूको भनाइ छ। अल्सर, प्रेसर, सुगर, क्यान्सरजस्ता रोग यहाँ छ्यासछ्यास्ती भइसक्यो। पेटमा विष हालेपछि त पाचन क्रियामार्फत शरीरमा विष नै फैलिने हो। अनि यसबाट अनेक रोगको सिकार हुनु पनि स्वाभाविक नै हो। यहाँ विषैविष खाइँदोरहेछ भन्ने पुष्टि भइसक्यो। अहिले काठमाडौंका तरकारी कति विषाक्त छन् भनी जाँचेको ठाउँमा प्रत्यक्ष हेरियो भने यहाँको बजारका चिजबिज केही पनि खानै नसकिने अवस्था छर्लङ्ग हुन्छ। सब्जीमा रङ लगाइएको छ, माछा–मासुमा चाँडै नसडोस् भनी अखाद्य इन्जेक्सन लगाइएको हुन्छ। यसैले मानिसलाई रोगी बनायो। रोग लागेपछि अलिअलि कमाएको पैसा पनि औषधोपचारमा खर्च हुने भयो। रोगका कारण व्यक्तिको काम गर्ने क्षमता र जाँगर घटेपछि उत्पादन या आम्दानी पनि घट्ने नै भयो। यसका साथै औषधि आयात गर्न अर्बौं रकम सालिन्दा खर्च गर्नुपर्ने भएपछि राज्यलाई पनि अतिरिक्त भार पर्न जान्छ। तीन अर्बभन्दा बढीको औषधि त छिमेकी भारतबाट मात्र आयात हुने गरेको तथ्याङ्क छ अहिले। शिक्षा र विकास निर्माणमा लगाउनुपर्ने पैसा विष र औषधि किन्नमै खर्च गरेपछि मुलुक आर्थिक रूपमा कसरी तङ्ग्रिन सक्छ?

हामीकहाँ विषको प्रयोग यति बढिसक्यो कि परम्परागत रूपमा बालीनालीमा प्रयोग गरिँदै आएको विषको मात्राले नपुग्ने भइसक्यो। कीराको औषधिले कीरा नमर्ने भएपछि मुसा मार्ने औषधि प्रयोग गर्न थालियो, मुसाको औषधिले पनि नभेटेपछि बिरालो मार्ने औषधि हाल्नुपर्ने अवस्था आयो। अब भन्नुस्, बिरालो मार्ने औषधिले मानिस मार्न सक्दैन त? सागसब्जी, तरकारी अन्य खाद्य पदार्थमार्फत अलि–अलि गरेर त्यो विष खाँदै हामी जिउँँदै मर्दै छौँ। यही विडम्बनाबाट नेपाली र नेपाललाई मुक्त र स्वस्थ तुल्याउने अभियान हामी सुरु गर्दै छौँ।
नेपालको अर्थतन्त्रलाई ‘एग्रिकल्चर’बाटै परिवर्तन गर्नुपर्छ र बढीमा चार–पाँच वर्षमै नेपाल एक अर्ग्यानिक देशका रूपमा चिनिनुपर्छ भन्ने उद्देश्यका साथ ग्लोबल क्यापिटल इन्भेस्टमेन्ट (जीसीआई) कर्मक्षेत्रमा उत्रिएको छ। नेपालको अर्थतन्त्रलाई स्वस्थ तुल्याउने अभियान नि हो जीसीआईको। नागरिक स्वस्थ भएपछि देश त स्वस्थ भइहाल्छ भन्ने व्यवहारबाटै सिद्ध गर्न चाहन्छौँ हामी।
एक रोपनी जमिनलाई तन्काएर हामी दुई रोपनी बनाउन सक्दैनौँ, तर एक मुरी फल्ने ठाउँमा चार मुरी बनाउनचाहिँ अवश्यै सक्छौँ। टेक्नोलोजीबाट यो सम्भव छ यो कुरा व्यवहारमै देखाउने कोसिस हामी गर्दै छौँ। यहाँनेर म जापानको उदाहरण दिन चाहन्छु। धानको एउटा बियाँबाट दश हजार धान उत्पादन गरिन्छ जापानमा, तर नेपालमा एउटा बियाँबाट बढीमा जम्मा दुई सय पचास बियाँ धान मात्र उत्पादन हुन्छ। टेक्नोलोजीका कारण यति फरक पर्छ। श्राद्ध गर्दा दुःख दिन्छ भनेर बाजेले बिरालो बाँधेका थिए, तर श्राद्धमा बिरालो बाँध्नैपर्ने होला भनेर छोरोले पनि खोजी–खोजीकन बिरालो बाँधेको भन्ने उखानजस्तै छ हाम्रो तौरतरिका। यसैकारण पछि परिरहेका छौँ हामी।
विडम्बनाको कुरा के छ भने कृषिमा आधारित नेपालको अर्थतन्त्रलाई हामीले पूरै भुलिसकेका छौँ। रेमिट्यान्सलाई आफ्नो जीवनाधार मान्न थालेका छौँ। यो पटक्कै उचित होइन। कृषिबाटै मुलुकको अर्थतन्त्र उकास्न सकिन्छ, नेपालको अर्थतन्त्र तङ्ग्य्राउन आधुनिक प्रविधि र अर्गानिक विधिको कृषि व्यवसायलाई नै बढावा दिनुपर्छ। जीसीआईमार्फत म यही अभियानमा होमिएको छु। नेपालको अर्थतन्त्र तङ्ग्य्राउन यो गर्नैपर्छ।
ग्लोबल क्यापिटल इन्भेस्टमेन्टले नेपालमा मल, बिउलगायतका जापानी प्रविधि भित्र्याएर अर्गानिक खेती सुरु गरेको छ। काठमाडौंको रामकोटबाट हामीले यो अभियान सुरु गरिसकेका छौँ। नेपालभरकै कृषकमाझ अर्गानिक खेतीको प्रविधि पुर्याउने हाम्रो अभियान हो। एक सय ३० प्रकारका बिउविजन जापानबाट ल्याएका छौँ। किसानलाई जापानी विज्ञहरूबाटै ओरेन्टेसन पनि दिन्छौँ हामी। यसका लागि कृषकसँग काम गर्ने जाँगर र केही जमिन हुनुपर्यो। सस्तो मूल्यमा मल, बिउ र निःशुल्क रूपमा खेतीको विधि हामी उपलब्ध गराउँछौँ र कृषकहरूबाट तयार भएको अर्गानिक उत्पादन हामी खरिद गरिदिन्छौँ। देशभरका कृषकलाई यस अभियानमा संलग्न गराउन चाहन्छौँ। अहिले विषेशगरी तरकारी, सागसब्जीहरूमा फोकस गरे पनि दैनिक जीवनमा आवश्यक सबै खाद्य सामग्री नै अर्गानिक विधिबाट उत्पादन गर्ने–गराउने हाम्रो लक्ष्य हो।
जति उत्पादन भए पनि बजारको खाँचो पर्दैन। चाइना, भारतलगायत अन्य केही मुलुकबाट अर्गानिक सब्जीको माग आएको छ। यो माग पूर्तिका लागि हामी या हाम्रा कृषक दाजुभाइ–दिदीबहिनी सक्षम हुनुपर्यो। सिङ्गो नेपाल नै अर्गानिक हुनुपर्यो। नेपाललाई कृषिप्रधान देश भनिन्छ, तर कृषिमा खास केही गर्न सकिरहेको छैन। यो लज्जाको विषय हो। यसबाट दुखित उत्प्रेरित हुँदै हामी नेपाललाई अर्गानिक बनाउने अभियानमा होमिएका हौँ।
आज किसानले आवश्यक प्रविधि र ज्ञान पाउन सकेका छैनन्, उनीहरू ठगिएका छन्। पुरानै विधिबाट कृषि पेसा गर्दा लागत पनि नउठ्ने अवस्था छ। आफैँलाई खान पनि पुग्दैन भने बेचेर आम्दानी गर्ने कसरी? अलिकता मौसम बिग्रियो– किसानको तरकारी नबिक्ने या कममा बिक्ने अवस्था आउँछ। दलालहरूले पनि त्यत्तिकै दुःख दिन्छन्। यो पीडाबाट हामी किसानलाई मुक्त गराउन चाहन्छौँ। मूल्य हामी निर्धारण गरिदिन्छौँ। एउटा बिउबाट १ किलो मुला फल्ने ठाउँमा हाम्रो बिउ र विधि अपनाउँदा चार किलो फल्छ। उत्तिकै दुःख गरेर चार गुणा उत्पादन हुन्छ भने आम्दानी पनि स्वतः चार गुणा बढ्छ। किसान मालामाल बन्छन्। उत्साह बढ्छ। त्यसले थप उत्पादन बढ्छ र मुलुककै अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ। तसर्थ, जीसीआईले मल दिन्छ, बिउ दिन्छ, टेक्नोलोजी पनि दिन्छ। हामीले सिकाएअनुसार उत्पादन गरिदिनुस् सामान पनि हामी नै तत्काल नगदमा किनिदिन्छौँ।
नेपाली किसान अति मिहिनेती छन्, तर परिश्रमअनुसारको फल पाउन सकेका छैनन्। परिवारका सबैजना किसानीमा लागेर पनि आफैँलाई खान नपुग्ने अवस्था छ। अवैज्ञानिक विधिले गर्दा यस्तो भएको हो। जापान सानो ठाउँ भए पनि त्यहाँ वैज्ञानिक विधिले खेती गरिएकोले मारामार खान पुगेको छ। नेपालको एक रोपनीमा दश मुरी उब्जनी हुन्छ भने जापानीले त्यहीँ पचास मुरी उब्जनी गराइदिन्छन्। टेक्नोलोजीको अभावले हामी अभावको समस्या भोगिरहेका छौँ। विकसित टेक्नोलोजी सस्तो र सुलभ मूल्यमा भित्र्याएर मुलुकलाई सम्पन्न तुल्याउने उद्देश्य हाम्रो छ। यसरी नेपालको अर्थतन्त्रमै परिवर्तन ल्याउने कुरा भएकाले सरकारी निकायसँग पनि समन्वय गर्ने कोसिस गरिरहेका छौँ। सरकारबाट पैसा लिने हाम्रो योजना होइन, तर सरकारी निकायले पनि सिक्नु–बुझ्नु आवश्यक छ र सरकारले नै चाहेमा धेरै काम हुन्छ भनेर समन्वय गर्न खोजिएको हो।
फेरि एकपटक जापानकै उदाहरण दिऊँ। आज जापानका सामानलाई विश्वले नै किन पत्याउँछ भने ऊ जे गर्छ आफू एक नम्बरमै आउनुपर्छ भन्ने सोचका साथ गर्छ। अत्यन्त मिहिनेती र इमानदार छन् जापानी। जापानबाट सिक्नुपर्ने अर्को मूल कुरा समयको महत्व कति छ भन्ने पनि हो। जापानी एक सेकेन्ड पनि खेर फाल्न चाहँदैनन्। हामीजस्तो रत्नपार्क र टुँडिखेलमा बरालिएर समय बिताउने भन्ने कुरा त उनीहरू सपनामा पनि सोच्न सक्दैनन्। उनीहरू ‘भोलि’ भन्दैनन्, ‘आजै’लाई महत्व दिन्छन्। अनावश्यक गफमा समय बर्बाद नगर्ने र विनम्रता पनि जापानीबाट हामीले सिक्नुपर्ने कुरा हो। संसारभरका प्रत्येक मानिसका लागि भगवान्ले उत्तिकै समय दिएका छन्। यसलाई कसरी सदुपयोग या उपभोग गर्ने भन्ने कुराचाहिँ आफैँमा भर पर्छ। यस्तै, एउटा मान्छे हुर्काउन पचास वर्षको समय लिनुपर्छ भने एउटा रूख हुर्काउन सय वर्षको समय लिनुपर्छ भन्ने मान्यता जापानिजहरू राख्छन्। हामीचाहिँ आज बिउ रोपेर भोलि नै फल खान खोज्छौँ। मतलब, उनीहरूमा धैर्य छ हामीमा छैन। कुनै योजनालाई धेरै अघिदेखि नै उनीहरू प्लान गर्छन्, हामीचाहिँ अहिलेका लागि अहिले नै प्लान बनाउँछौँ। अनि हतारको काम लतरपतर हुन जान्छ।
सरकारले व्यवस्था गरिदिएको छैन भन्दै आफ्नो कमजोरी छुपाउने र अरूलाई दोषी देखाउन खोज्ने प्रवृत्ति पनि हामीकहाँ निकै छ। तर, काम भन्ने कुरा आफैँले सिर्जना गर्ने हो। जे अनुकूल पर्छ त्यो काम गर्ने हो। काम ठूलो–सानो हुँदैन। ‘नो’ भन्ने शब्द भरसक सोच्नैहुन्न, जे पनि सम्भव छ र गर्न सक्छु भनेर लाग्नुपर्छ। जे काम पनि सकभर आफँैले गर्ने प्रयत्न गर्नुपर्छ। यसले व्यक्तिलाई सुखी र खुसी बनाउँछ।
सफल व्यक्तिका पछाडि धेरै दुःखका कहानी पनि लुकेको हुन्छ। संसारमा जन्मेपछि सबैलाई सुख, दुःख आइपरेकै हुन्छ। आफ्नै उदाहरण दिनुपर्दा जम्मा डेढ सय डलर बोकेर म जापान गएको थिएँ। त्यसबेला साढे दश रुपैयाँ थियो एक डलरको। जापानमा मैले करिब चालीस वर्ष बिताएँ। यसबीच असफलताले आत्तिएर दुईपटक त आत्महत्यासमेत गर्न खोजेको थिएँ। तर, त्यही कारणले मैले जीवनको सत्य पनि फेला पारेँ। सत्य फेला परेपछि कुनै कुरामा डर पनि लाग्दो रहेनछ र गर्न सक्दिनँ भन्ने कुरा पनि हुँदोरहेनछ। जापानमा सुरुमा भाषाको समस्या आयो, आर्थिक समस्या पर्यो। सात दिन सात रातसम्म लगातार नसुतेर पनि मैले काम गरेँ। यसले यो जिन्दगी नै बेकार रहेछ किन यत्रो कष्ट गरेर बाँच्नुपरेको होला भन्ने भाव जाग्यो। राति दुई बजे उठेर समुद्रमा मर्न जाँदा मलाई अनुभूति भयो कि मर्नु नै छ भने जापानमा किन मर्ने? देशै फर्केर मरे भयो नि भनी फर्किएँ। फर्कंदै गर्दा लाग्यो कि मर्नेजस्तो ‘अन्तिम कष्ट’ गर्न सक्छु भने अरू काम गर्न म किन सक्दिनँ? मर्न सक्नेले त जस्तोसुकै कठिन काम पनि गर्न सक्छ नि 134 अनि, म जे पनि गर्न सक्छु भन्ने आत्मविश्वास जाग्यो। अरूलाई एक वर्ष लाग्ने ठाउँमा मलाई चार वर्ष लाग्ला, तर गर्छु भन्ने लाग्यो।
प्रत्येक पचास करोड प्राणीमा एउटाले मानवको जुनी पाउँछ भन्ने शास्त्रीय मत छ। यस्तो अमूल्य जीवन छ मानिसको भने काम पनि त अमूल्य नै गर्न खोज्नुपर्छ भन्ने हरदम सम्भि्कएर म काम गर्छु। आफ्नो जिन्दगी आफैँले सफल पार्ने हो, अरूको भर परेर सम्भव नै छैन। जे गर्ने हो, आफैँले गर्ने हो। आफैँ लाग्नुपर्छ, आफ्नो असफलताका लागि अरूलाई दोष दिनु पनि व्यर्थ छ।
अर्गानिक मल उत्पादन गरेर मुलुकभर वितरण गर्ने सोचले काम गरिरहेको छु। स्वदेशको माग पूरा गरी विदेशमा समेत बेच्ने हो त्यो ‘जीवित मल′। त्यस मलका लागि आवश्यक ‘ब्याक्टेरिया’ जापानबाट ल्याए पनि बाँकी कच्चा पर्दा सबै स्वदेशी नै हुनेछन्। आगामी माघ–फागुनतिरबाट चितवनको फ्याक्ट्रीबाट कम्पोस्ट मल उत्पादन हुन्छ। अहिले किसानले रासायनिक मललाई तिरेकोभन्दा कम मूल्यमा उपलब्ध गराउने सोचले काम गरिरहेका छौँ।
अहिले भारतलगायत विदेशबाट आएका मल हामीले जाँच गरी हेर्दा माटो र ढुङ्गा पिसेर मिसाएको पाइयो। यस्तो नक्कली काम भइरहेको छ भने हामीले त विशुद्ध अर्गानिक मल सस्तो मूल्यमा दिने सोच बनाएका छौँ। यस्तो स्वदेशी उत्पादनलाई सरकारले पनि र जनताले पनि प्रोत्साहित गर्नुपर्छ र गर्छन् भन्ने लाग्छ। नक्कली मल बेचेर अनुचित लाभ लिइरहेकाहरूले हाम्रो अभियानमा अवरोध पुर्याउन पनि सक्छन् भनी साथीहरूले चिन्ता व्यक्त गरेका छन्। तर, राम्रो काम गर्न डराउनुहुँदैन भन्ने मान्यता राख्ने मान्छे हुँ म। कसैले यस्तो काममा भाँजो हाल्न खोज्छ भने नेपाली कृषकले नै त्यसको प्रतिकार गर्नुपर्छ र गर्छन् भन्ने मेरो बुझाइ छ। सत्यको एक दिन विजय भएरै छाड्छ।
अन्तमा, अर्गानिक अभियानलगायत अन्य विविध कर्ममा होमिएको म अहिले ६१ वर्षको भएँ। अहिलेसम्म जे–जति सिकेँ, यो अनुभवलाई अब बाँकी १५–२० वर्षको सक्रिय जीवनमा आफ्नो देशका लागि उपयोग गर्नुपर्छ भन्ने मेरो सोच हो। मैले जीवनको चार दशक अवधि जापानमा गुजारेकाले त्यहाँबाट सिकेका, सिक्न सकिने र सिक्नुपर्ने कुरा त अथाह देखेको छु। जति सिकियो त्यसमध्येबाट सक्दो आफ्नो मुलुकलाई लगाउँ्क भन्ने मेरो चाहना छ। फेरि पनि भन्छु– सरकारको मुख नताकौँ, अरूलाई दोष दिएर नबसौँ, आफैँले केही गरौँ। अरूका लागि सोच्ने बानी बसालौँ, अरूका लागि सोचे आफ्नो लागि पनि हुन्छ भन्ने जड कुरा बुझौँ।
(पूर्व एनआरएन अध्यक्ष हिराचनसँग कुराकानीमा आधारित)

२ आश्विन २०७१, बिहीबार ०५:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

तुम्बाहाम्फेले सम्हालिन कानुनमन्त्रीको कार्यभार

काठमाडौँ, ५ फाल्गुण । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कार्यभार सम्हालेकी छिन् ।..

भ्रमण वर्ष सफल बनाउन रामेछाप महोत्सवः संयोजक रोका

रामेछाप, ५ फाल्गुण । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा आयोजना हुने ‘दोस्रो रामेछाप महोत्सव’को तयारी करिब सकिएको..

महरा विरुद्दको मुद्दामा फैसला भएन

काठमाडौँ, ४ फाल्गुण । निवर्तमान सभामुख कृष्ण बहादुर महराविरुद्दको बलात्कार प्रयासको मुद्दामा आइतबार पनि फैसला..

व्यक्तिले हडपेको सरकारी जग्गामा मन्त्री अर्यालले गाडीन् साइन बोर्ड

काठमाडौँ, ४ फाल्गुण । व्यक्तिले हडपेको १७ रोपनी जग्गा सरकारले फीर्ता ल्याएको छ । काठमाडौं महानगरपालिका ३१ स्थित..

चीनबाट फर्काइएका नेपालीलाई खरिपाटी लगियो

काठमाडौँ, ४ फाल्गुण । कोरोना भाइरसको उद्गमथलो चीनको वुहान शहरबाट १७५ जना नेपालीको उद्वार गरिएको छ । उनीहरु..