विपत्ति एउटा अवसर : मोदीले जोडे सुशीलले तोडे :: देवप्रकाश त्रिपाठी

dev-prakash-tripathi 2विकसित देशका नागरिक आफू समीप हरेक क्षण राज्यको उपस्थिति महसुस गर्छन्। सडकमा गुड्दा, गाडी पार्किङमा राख्दा, उपचारका लागि अस्पताल जाँदा, खेतमा काम गर्दा, कुनै पनि उद्यम व्यापार–व्यवसायमा संलग्न रहँदा या विपत्तिका ठूलठूला घटना हुँदा सभ्य र सम्पन्न मुलुकका नागरिकले राज्यलाई निरन्तर आफ्नै वरिपरि पाइरहेका हुन्छन्। राज्यको मूल उद्देश्य, कर्तव्य र गन्तव्य नै नागरिकहित हो भन्ने आभास विकसित मुलुकका सत्ता सञ्चालक एवम् बासिन्दालाई हरदम भइरहन्छ। तर, सभ्य बन्न बाँकी र विपन्न मुलुकका नागरिक सुकुम्बासीबस्तीका सन्तानजस्तै ‘बेवारिसे’ हुन्छन्। कङ्गाल बस्तीमा सन्तान उत्पादन कर्मले ज्यादा महत्व पाए पनि सन्तानप्रतिको जिम्मेवारीबोध गर्ने या माया–ममता प्रदर्शन गर्ने प्रवृत्ति ज्यादै कम देखापर्ने गर्दछ। हामी नेपाली नागरिक कङ्गाल बस्तीका तिनै बेसहारा सन्तानजस्ता भएका छौँ जसले राज्यको अग्रसरतामा सुख प्राप्तिको अवसरबाट सधैँ वञ्चित हुनुपरेको छ, दुःखमा साथ र विपत्तिमा राहत एउटै सपना मात्र बनिरहेेछ। वर्तमान प्रधानमन्त्री सुशील कोइराला राष्ट्रको भन्दा आफ्नै स्वास्थ्यको चिन्ता गर्नुपर्ने अवस्थाबाट गुज्रँदै हुनुहुन्छ, उहाँबाट कुनै आशा र भरोसा राख्नु भनेको आफैँलाई धोखा दिनु मात्र हो भन्ने आमजानकारीको विषय हो। सक्षम र स्वस्थ प्रधानमन्त्री या मन्त्रीहरू पनि जनताको समस्या र समाधानप्रति उदासीन रहँदै आएका छन्। करको मात्रा र दायरा फराकिलो बनाउँदै लैजाने, तर जनताले राज्यबाट सुविधा प्राप्त गरेको अनुभूति नगर्ने जुन परिस्थिति हामी व्यहोर्दै छौँ यसले नागरिक र राज्यबीचको दूरी विस्तार गरेको छ। नागरिक र राज्यबीचको बढ्दो दूरीले विद्रोह जन्माउने खतराको सम्भावना मात्र दर्शाउँदैन, राज्य विघटनको तहसम्मको परिस्थिति निर्माण हुन पनि सक्छ भन्नेतर्फ नीति–निर्माण तहमा रहेकाले हेक्का राखेका छैनन्।
नागरिक, व्यक्ति हुन् या समूह तिनले राज्यबाट सबैभन्दा बढी अपेक्षा विपत्तिको समयमा राख्ने गर्दछन्। विपत्ति आफैँमा खराब भए पनि राज्यले नागरिकप्रति पे्रम, सद्भाव, ममता र जिम्मेवारी दर्शाउने सर्वाधिक सुन्दर मौकाको रूपमा विपत्तिलाई लिन सकिन्छ। दृष्टान्तका रूपमा छिमेकी मित्रराष्ट्र भारतको कास्मिरलाई यहाँ उल्लेख गर्नु उपयुक्त हुनेछ।
कुनै समय हिन्दु बहुल जम्मु–कास्मिरमा जनमतसङ्ग्रहमार्फत समस्याको समाधान खोज्ने अवधारणा बन्नेबित्तिकै आक्रामक रूपमा सुरु गरिएको इस्लामिक घुसपैठले त्यहाँको स्थितिलाई अन्ततः ठीक उल्टो पारिदिएको ऐतिहासिक तथ्यबारे हामी जानकार छौँ। यतिबेला जम्मु–कास्मिर मुसलमान बहुल प्रदेशको रूपमा रहेको छ। पश्चिमी किनाराबाट आप्रवासीको ओइरो लागेसँगै उक्त भूक्षेत्रलाई भारतबाट मनोवैज्ञानिक र भौतिक रूपमा अलग्याउन त्यहाँ वैध–अवैध अनेकौँ प्रयास हुँदै आएका छन्। अहिले नेपालको मध्यतराईमा कुनै सीके राउत नामक व्यक्तिले तराईको केही भूभागलाई नेपालबाट अलग्याएर स्वतन्त्र देश बनाउन प्रारम्भिक अभ्यास गरेजस्तै जम्मु–कास्मिरमा वर्षौंदेखि विखण्डनकारी सक्रिय हुँदै आएका हुन्। हिंसात्मक र आतङ्ककारी क्रियाकलापमा संलग्न केही इस्लामी समूहले दिल्ली र सिङ्गै भारत कास्मिरवासीको हितमा नभएको र कहिल्यै नहुने सन्देश प्रवाह गर्दै आएका थिए। निजी महत्वाकाङ्क्षा र पराई स्वार्थबाट पे्ररित ती अतिवादीले आफूहरू मात्र कास्मिरी जनताको वास्तविक सेवक भएको दाबी गर्दै जम्मु–कास्मिरको हितमा नयाँदिल्ली कहिल्यै नरहने विश्वास स्थानीय बासिन्दालाई दिलाउने प्रयास गर्दै आएका थिए। तर, यसपटक कास्मिरमा प्रकृतिले विनासलीलाको जुन भयङ्कर रूप देखायो, त्यसले कास्मिरी जनताको हिमायती र दुश्मन को हो भनी स्पष्ट हुने अवसर दिलाएको छ। जम्मु–कास्मिरको वास्तविक हितैषी ठान्ने विखण्डनकारी इस्लामिक जत्था र तिनका नाइके जनतालाई दुःख परेका बेला बेपत्ता भएका छन्, भारतको केन्द्रीय सरकार र भारतीय सेनाले कास्मिरी जनताको लागि जे गरिरहेको छ त्यसले वास्तविक मित्र या हितैषी को रहेछ भन्ने आभास स्थानीय बासिन्दालाई अवश्य दिलाएको छ। जनतामा उत्पन्न यही आभास नै नयाँदिल्लीसँग कास्मिरी जनताको भावनात्मक तथा मानसिक सम्बन्धको गाँठो कस्सिने आधार बनेको छ। विपत्तिको यस घडीमा भारत सरकार र भारतीय सेनाले दर्शाएको व्यवहारले कास्मिरी जनतामा आफू भारतीय भएकोमा गौरव गर्न सक्ने थप सबुत जुटाइदिएको छ। र, विखण्डनकारीहरूप्रतिको भ्रम हट्ने स्थिति बनेको छ। कास्मिरी जनताको विपत्ति नै अब भारतको राष्ट्रिय एकता थप मजबुत हुने कारण बनेको छ भनियो भने अत्युक्ति हुनेछैन। भारतको कास्मिरमा उत्पन्न भएस्तरकै विपत्ति यसपालि नेपालको सिन्धुपाल्चोक र सुर्खेतसहित पश्चिम नेपालका केही जिल्लामा पनि आइपर्यो। सयौँ नागरिकले मृत्युवरण गरे, हजारौँ व्यक्ति घाइते तथा घरवारविहीन भए, नेपालका प्रधानमन्त्री सुशील कोइरालाले यस दुःखद् घटनाको जानकारी सम्भवतः प्रधानमन्त्री राहत कोषमा नगद जम्मा हुन थालेपछि मात्र पाउनुभयो या विपत्ति र क्षतिबारे पूर्ण जानकारी पाउन उहाँले अझै सक्नुभएको छैन। राज्यसत्ता या सत्तामा रहेकाहरूमा देखिने संवेदनाहीन चरित्र उहाँले धेरै राम्ररी प्रस्तुत गरिरहनुभएको छ। क्यान्सर पचाइसकेको दाबी सार्वजनिक रूपमै गर्ने व्यक्तिले एकपटक हेलिकोप्टरमै सयर गरेर भए पनि पीडितको व्यथा बुझिदिएको भए तिनले आफ्नो पीडामा राज्यको वेदना रहेको महसुस गर्न सक्थे। आफ्नो जीर्ण शरीर रक्षाका निम्ति करोडौँ रुपैयाँ खर्चन बिनाग्लानि भाव तत्पर रहेका प्रधानमन्त्री कोइरालाले विपत्तिपीडित जनतालाई राहत उपलब्ध गराउन दर्शाएको कञ्जुस्याइँले नागरिक र राज्यबीचको दूरी बढाउन मद्दत पुर्याएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपत्तिमा साथ दिएर कास्मिरी जनतासँग जुन स्तरको नाता जोड्नुभयो, त्यसले भारतीय जनता पार्टी र व्यक्तिगत रूपमा नरेन्द्र मोदीलाई भन्दा भारत र भारतको एकतालाई इतिहास स्मरणीय बनाउने निश्चित छ। तर, हाम्रा प्रधानमन्त्रीको यस प्रकरणमा प्रकट व्यवहारले काङ्गे्रस र प्रजातन्त्रको मात्र खिल्ली उडाएको छैन, राज्यप्रतिको भरोसा, विश्वास र आस्थामा खिया पनि लगाएको छ। राज्यसत्ताका प्रतिनिधि मानिएका प्रधानमन्त्री र मन्त्रीहरूको व्यवहारले राज्य र नागरिकबीचको सम्बन्धलाई प्रभावित गर्दछ। विपत्तिमा मोदीको व्यवहारले भारतीय राज्यसत्ताप्रति नागरिकको सोच–व्यवहारमा सकारात्मक परिवर्तन ल्याउँदै छ भने सुशील कोइरालाको व्यवहारले राज्यप्रति थप अनास्था र वितृष्णा बढाउने काम गरेको छ।
इराकमा १२ जना निर्दोष नेपाली छपाछप काटिँदा नेपाली राज्यले प्रस्तुत गरेकी निरीहपन अमेरिका या त्यस्तै सभ्य र सम्पन्न देशले दर्शाएको भए सम्बद्ध मुलुकका नागरिकले आफ्नो देशप्रति सायदै गौरव गर्ने थिए। एकजना नागरिक (पत्रकार) काटिएको समाचार सार्वजनिक हुनेबित्तिकै ‘आईएस’विरुद्ध अमेरिका जुन स्तरको युद्ध लड्ने तयारीमा जुटेको छ, त्यस्तै युद्ध नेपालले इराकसँग लड्नुपर्थ्यो या सक्थ्यो भन्ने होइन, पीडित परिवारलाई क्षतिपूर्ति दिन र आततायीविरुद्ध लड्न योगदान पुर्याउने साङ्केतिक पहल नेपालले गर्न सक्थ्यो, गरेन। नागरिकको दुःख–पीडाप्रति बेसरोकार रहने राज्यप्रति कालान्तरमा जनताले पनि सरोकार राख्न छोड्नेछन्, यो स्थिति भनेको राज्य विघटनको प्रारम्भ बिन्दु हो। नागरिकका हरेक दुःखमा राज्यको साथ रहन्छ भन्ने पुरानो विश्वास नेपाल भूमिबाट प्रायः हटिसकेको छ। राजस्व या करको दायरा फराकिलो या गहिरो बनाएर वा ठाउँ–कुठाउँ प्रहरीको ‘डण्डा’ बजाएर अनुभूत गराइने राज्यको उपस्थिति दिगो हुन सक्दैन। सुख प्राप्तिको मार्ग प्रशस्त गरिदिन नसक्ने र दुःखमा साथ दिन पनि असमर्थ रहने राज्यभन्दा परायाभूमि नै उपयुक्त ठान्ने स्थिति जुन बनेको छ, यसले अन्ततः नेपाल राज्यको औचित्यमाथि नेपालीबाटै प्रश्न नउठ्ला भन्न सकिन्न। कुनै पनि मुलुकमा विद्रोहको कारण राज्यप्रतिको अनास्था या घृणाभाव बन्ने गरेको छ। त्यसैले आस्था कायम राख्नका लागि पनि राज्यसत्ताले जनसरोकारका विषयमा चासो प्रकट गरिरहनुपर्ने हुन्छ। विपत्तिको समयमा समेत राज्य उदासीन बन्छ भने सुकुम्बासी पिताबाट जवान हुँदानहुँदै सन्तान टाढिएझैं राज्यबाट नागरिक टाढिने छन्। जसले विद्रोहलाई सहज आमन्त्रण गर्नेछ। सुशील कोइरालाहरूले यो गम्भीर पक्षमाथि ध्यान नपुर्याए पनि सम्बद्ध सबै पक्षले यसबारे चासो प्रकट गर्न ढिलाइ गर्न नहुने भएको छ।

२ आश्विन २०७१, बिहीबार ०५:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

कोरोना रोक्न सरकारले बनायो ७ कार्यदल, कुनमा कसको नेतृत्व ?

निरोज कुमार थापा, काठमाडौँ, ९ चैत्र । सरकारले कोरोना भाइरस रोग रोकथामको पूर्व तयारी सकिएको भन्दै कार्यान्वयनमा गएको घोषणा गरेको छ ।..

देशैभरका अदालत २ हप्ताका लागि बन्द

काठमाडौँ, ७ चैत्र । देशभरका अदालत आगामी २ हप्ताका लागि बन्द भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा..

राष्ट्रिय सभाले नै मानेन सरकारी निर्णय

निरोज कुमार थापा, काठमाडौँ, ६ चैत्र । राष्ट्रिय सभाले सरकारी निर्णयको अवज्ञा गर्दै बैठक सञ्चालन गरेको छ ।..

एसईई परीक्षा स्थगित

काठमाडौँ, ५ चैत्र । सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) स्थगित गर्ने निर्णय गरेको छ । चैत्र ६ गते बिहिबारदेखि..

कुलमानले भने, ‘ग्यासको लाइनमा नबस्नु, बिजुलीबाट खाना पकाउनु’

काठमाडौँ, ४ चैत्र । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बजारमा ग्यास किन्न लाइनमा..