अब पनि नसच्चिए बर्बाद हुन्छ :: नारायणकाजी श्रेष्ठ (नेता, एनेकपा माओवादी)

० तपाई: झन्डै ६ महिनासम्म खासगरी मिडियासँग एउटा दूरी बनाएर बस्नुभयो, कुनै सार्वजनिक अभिव्यक्ति दिनुभएन, किन होला ?
– नेपाल एउटा यस्तो मुलुक हो जो अत्यन्त सुन्दर हुनुका साथै विकास र समृद्धिका लागि आवश्यक साधन–स्रोतका हिसाबले निकै सम्भावना बोकेको देश हो । यस्ता सम्भावना बोकेकामध्ये विश्वमै औँलामा गन्न सकिने एउटा देशका रूपमा नेपाललाई लिन सकिन्छ । तर, यस्तो सम्भावना बोकेर पनि हाम्रो देश अत्यन्त अविकसित र कमजोर अवस्थामा रह्यो । एक वाक्यमा भन्नुपर्दा यस्तो किन भइरहेछ त भनी आत्मचिन्तन गर्नकै लागि यस अवधिमा मैले आफूलाई केन्द्रित गरेको थिएँ ।
० यो ६ महिनाको आत्मचिन्तनबाट तपाई:ले के–के समस्या पत्ता लगाउनुभयो त ?
– नेपालको अहिलेको दूरावस्थाको निम्ति राजनीतिक नेतृत्व नै जिम्मेवार छ भन्ने मेरो बुझाइ रह्यो । राजनीतिक नेतृत्वभित्र मूलभूत समस्या ६ वटा रहेको मैले पाएँ । पहिलो, हामीमा बाह्य शक्तिमुखी प्रवृत्ति हाबी भयो । नेपाली जनताले सार्वभौमसत्ता प्राप्तिका लागि यति ठूलो लडाइँ लडे, तर जनताको सार्वभौमिकताका लागि दैनिक अभ्यास गर्ने राजनीतिक पार्टीका नेता या जनप्रतिनिधिहरूमा चाहिँ जे गर्न पनि बाहिरकै मुख ताक्ने प्रवृत्ति देखियो । जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्न उनीहरूले सकेनन् । दोस्रो, राष्ट्रको समग्र निर्माण प्रक्रिया, समृद्धि या विकासका निम्ति आवश्यक दूरदृष्टि, भिजन अर्थात् सोच पर्याप्त मात्रा या स्पष्ट रूपमा देखिएन नेतृत्वमा । तेस्रो, चरम सत्तालोलुपताको भावले पनि दलहरू या नेतृत्वलाई सर्लक्कै निलिदियो । देश र जनताका लागि नभई आफ्नो निम्ति कुर्सी चाहिने, सत्ता–शक्ति नै आफ्नो निम्ति प्रयोग गर्ने या अलिक व्यापक रूपमा भन्नुपर्दा पार्टीका लागि कुर्सी चाहिने र पार्टीको निम्ति दुरुपयोग गर्ने गरेको पाइयो । चौथो, भ्रष्टाचार असाध्यै बढेर गयो । भ्रष्टाचारले सामाजिक रूप नै लियो र यसमा राजनीतिक क्षेत्रको बाहुल्य बढ्ता रह्यो । पाँचौँ, सिद्धान्त, आदर्श र मूल्य–मान्यता एकदम स्खलन भएर गयो । द्वैधचरित्र नेताहरूमा बेस्सरी हाबी भयो । उपल्ला तहका नेतामै बोली र व्यवहारमा भिन्नता देखियो । कुरा आदर्शका तर व्यवहार उल्टो गर्नु त सामान्य जस्तै हुन पुग्यो । र छैटौँ, सबै क्षेत्रमा अत्यधिक पार्टीकरण भएर गयो । शिक्षा, स्वास्थ्य, कर्मचारीतन्त्र आदि सबैमा राजनीतीकरण भयो । यी कारणहरूले देशलाई एकप्रकारले जर्जर नै बनायो ।
० समस्या त पत्ता लगाउनुभएछ, समाधान गर्ने उपाय पनि केही पाउनुभयो कि ?
– नेपालको बारेमा नेपाली जनता र राजनीतिक दलहरू आफैँले समस्या समाधान गर्छौ: भनी सङ्कल्प गर्नु पहिलो आवश्यकता हो । बाहिरी शक्तिले हस्तक्षेप गरे भनी भन्नुभन्दा पनि त्यो हस्तक्षेप हामी अस्वीकार गर्न सक्छौँ कि सक्दैनौँ भन्ने कुरा अहम् हुन आउँछ । आफ्ना मामलामा हामी अरूलाई निम्तो दिन्छौँ कि दिँदैनौँ भन्ने मुख्य कुरा हो । यसर्थ दोषी त मूलभूत रूपमा हामी नै हौँ ।
० यति कुरा गरिरहँदा तपाई:को आफ्नो पार्टी र आफूचाहिँ सच्चिनुपर्ने केही पाउनुहुन्छ कि हुन्न ?
– मेरो पार्टी र म स्वयम्मा पनि सच्चिनुपर्ने कुरा छ, छैन भन्न म सक्दिनँ । हाम्रो पार्टीचाहिँ यसबाट अछुतो रहेको भए त म सोझै काङ्ग्रेस–एमालेहरूमा समस्या देखियो, उनीहरूले यो–यो गल्ती गरे भनेर इङ्गित गरिहाल्थेँ नि ! हाम्रो देशको समकालीन नेतृत्वकै कुरा गरिरहेको छु म । यसमा सबै प्रमुख दलका नेतृत्वहरू पर्दछन् । कसैमा कम कसैमा बढी होला तर सबैको भागीदारी छ यसमा । जहाँसम्म मेरो सवाल छ, मैले त पटक्कै पदलोलुपता देखाएको छैन, ममा त्यो प्रवृत्ति नै छैन भन्ने मेरो व्यवहारबाट जो–कसैले बुझ्न सक्छन् ।
० तपाई:को पार्टीअध्यक्ष प्रचण्डमा चाहिँ सत्ता–लोलुपताको भाव कति पाउनुभएको छ नि तपाई:ले ?
– प्रचण्डजीमाथि विरोधीहरूले सत्तालोलुप भन्ने आरोप पनि लगाउँदै आएका छन्, तर मचाहिँ यो मान्न तयार छैन । जननिर्वाचित प्रधानमन्त्रीका रूपमा सरकारको नेतृत्व गरिरहेको अवस्थामा कसैले हटाउन नसक्ने पोजिसनमा रहेर पनि उहाँले प्रधानमन्त्रीको ओहोदा छोडिदिनुभएकै हो । कुनै पनि पदलोलुप व्यक्तिले सजिलै सत्ता छोड्न सक्छ भन्ने मलाई लाग्दैन । त्यसैले प्रचण्डमा सत्तालोलुप व्यक्ति भन्ने आरोप सत्य सावित हुँदैन ।
० तपाई:ले मुलुक चरम पार्टीकरणको सिकार भएको कुरा गर्नुभयो, यसरी पार्टीकरण गर्न–गराउनमा त तपाई:को दल नै एक नम्बरमा छ भन्ने आरोप छ, मान्नुहुन्छ ?
– यो कुरा सही होइन । तर, हरेक नेपाली अब स्वतन्त्र मान्छे नरहेको जस्तोचाहिँ अनुभूति हुन थालेको छ । नेपालीले स्वतन्त्र विवेक प्रयोग गर्ने स्वतन्त्रता गुमाइसकेको जस्तो भएको छ । हरेक नेपाली राजनीतिक वकिल जस्ता भए । कर्मचारी पनि त्यही, बुद्धिजीवी भन्ने पनि त्यही, नागरिक समाज त्यही । सबै–सबै नै पार्टी–पार्टीमा विभाजित भएर आ–आफ्नो पार्टीकै मात्र वकालत गर्न थाले, स्वतन्त्र विवेक प्रयोग गर्नै छोडे । यो खतर्नाक कुरा हो । हाम्रो पार्टी पनि यसबाट अछुतो छैन, तर राजनीतीकरणमा हाम्रो पार्टी नै सबभन्दा अगाडि छ भन्नेचाहिँ सत्य होइन ।
० राजनीतीकरणबाट मुक्त हुन के गर्नुपर्ला त ?
– यसका लागि नेपालका सबै उच्च राजनीतिक नेतृत्वको टिमले यो देशको यस्तो हालत हुनमा हाम्रो के–कति भूमिका छ, को–कति जिम्मेवार छ भनी गम्भीर रूपले आत्मनिरीक्षण र आत्मसमीक्षा गर्नु आवश्यक छ । बिग्रेको अवस्थालाई परिवर्तन गर्नका लागि सकारात्मक गुणात्मक हस्तक्षेपको आवश्यकता छ नेपालमा । राजनीतिक नेतृत्वले अब यथास्थितिबाट आफूलाई फेर्न नसक्ने हो भने नेताले आफूलाई फेर्न नसके देशको मुहार पनि फेर्न सकिन्न र देशले नयाँ दिशा पाउन सक्दैन भनी आत्मबोध गर्न नसके यो देश नवउपनिवेशिक वृद्धाश्रम बन्ने खतरा बढ्दै जानेछ । विकासको स्थिति यही नै हुने हो भने गाउँका गाउँ खाली हुन्छन् । सहरका मध्यमवर्गीय युवा पनि अवसरको खोजीमा युरोप–अमेरिकातिर भासिँदै छन् र देशले रोजगारीको अवसर सिर्जना गर्न केही गर्नै सकिरहेको छैन भने अब मुलुकको हालत के होला ?
० तपाई: यसो भन्दै हुनुहुन्छ, तर तपाई:को पार्टी समयमा बजेट ल्याउन खोज्ने सरकारको बाटो छेक्न संसद् अवरुद्ध गराएर सस्तो राजनीतिक स्टन्ट गर्न रुचाउँछ ?
– बजेटलाई समयमै ल्याउनुपर्छ भन्नेमा म जहिल्यै पनि सकारात्मक छु । अझ म त के भन्न चाहन्छु भने हरेक वर्ष बजेट ल्याउने एउटा निश्चित तिथि तय गरिनुपर्छ । कुनै पनि वैधानिक सरकारले तोकिएको दिन बजेट ल्याउनुपर्ने, त्यसमा कसैले कुनै पनि प्रकारको अवरोध गर्न नपाउने भन्ने सहमतिबाट नियम नै बसाल्नु उपयुक्त हुन्छ भन्ने मलाई लाग्छ ।
० नेपालमा भए–गरेका सहमति कार्यान्वयन हुन्छ भन्ने लाग्छ तपाई:लाई ?
– राजनीतिक नेतृत्वहरूले ‘सम्झौता गर्छु र मौका पर्दा फेरि त्यसलाई उल्लङ्घन गर्छु’ भन्ने सोच राखेर काम गर्छन् भने, या अब पनि हामीले नचेत्ने हो भने नेपाली जनताका लागि यो सैह्य हुन सक्दैन । अब पनि नसच्चिए बर्बाद हुन्छ । तसर्थ, सहमतिहरूको क्रियान्वयन अब सकारात्मक रूपले नै हुनेछन् भन्ने ठानौँ ।
० नेकपा–माओवादीसँग तपाई:को पार्टीको एकताको कुरा निकै चल्न थालेको छ, यो सम्भव छ ?
– एकता हुनै सक्दैन भन्न त मिल्दै मिल्दैन, तर अहिले नै एकता भइहाल्छ भन्ने अवस्थाको निर्माण पनि भएको छैन । एकताका लागि सचेत र सकारात्मक प्रयत्न गर्नुपर्छ भन्नेमा छौँ हामी ।
० पार्टीभित्र बाबुराम भट्टराईको समूहलाई त मिलाउन सक्नुभएको छैन तपाई:हरूले, बेग्लै पार्टी खोलेकालाई त झन् के मिलाउनुहोला त ?
– हामी जो–जहाँ भए पनि सबै एकै हौँ, सबै क्रान्तिकारी शक्तिहरू नै हौँ । विचारको रूपान्तरणका निम्ति चलेको सङ्घर्ष मात्रै हो, यसको व्यवस्थापन समय आएपछि सही किसिमले हुने नै छ । पार्टीलाई नयाँ ढङ्गले रूपान्तरण गर्दै नयाँ ढङ्गको कम्युनिस्ट पार्टीका रूपमा विकास गर्नुपर्छ र क्रान्तिकारी आन्दोलनलाई नयाँ सिराबाट नेतृत्व प्रदान गर्न सक्नुपर्छ ।
० बाबुराम भट्टराईले पार्टी फुटाउने तयारी गर्दै छन् भन्ने चर्चा व्यापक छ नि ?
– अब पार्टी फुट्ने त कुरै छैन । बाबुराम भट्टराईजीले किन बनाउनुहुन्छ अब अर्को पार्टी ? हामी त त्यसरी सोच्नै सक्दैनौँ है ।
० अन्त्यमा, एकताकेन्द्रबाट एमाओवादीमा मिल्न आएर गल्ती गरिएछ भन्ने कहिलेकाहीँ लाग्दैन तपाई:लाई ?
– यस्तो त लाग्दैन । नेपाली क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउँदै नेपाली समाजको आमूल परिवर्तनका लागि समस्त क्रान्तिकारी शक्तिहरू एकै ठाउँमा आउनुपर्छ भन्ने मान्यता राख्ने व्यक्ति भएकाले यसमा मलाई कुनै पछुतो र ग्लानि छैन । तर, सकारात्मक कुरासँगै नकारात्मकता पनि हामीमा छ, यसलाई चाहिँ सच्याउँदै रूपान्तरणको बाटोमा लाग्नुपर्नेछ ।

४ असार २०७१, बुधबार २३:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..