त्रिवि परीक्षा नियन्त्रणको लापरबाहीले विद्यार्थी हैरान

काठमाडौं, २६ वैशाख । धादिङका अम्मर पुलामी मगरले स्नातक तहको ट्रान्सक्रिप्ट लिन राजधानीको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय धाएको डेढ महिना भइसक्यो । अझै पाउन सकेका छैनन् । पृथ्वीनारायण क्याम्पसबाट बीएड उत्तीर्ण गरेका उनले मार्कसिटकै आधारमा ट्रान्सक्रिप्ट लिन आवेदन दिएका छन् । तर कागजात नमिलेको भन्दै कार्यालयले उनको निवेदन ‘पेन्डिङ’मा राखेको छ ।

कर्मचारीले ट्रान्सक्रिप्ट लिन पन्ध्र दिनपछि आउन भनेको थियो । ‘पन्ध्र दिनपछि सम्पर्क गर्दा नाम मिलेन, सच्याउन बैंकमा पैसा बुझाऊ भने,’ उनले भने, ‘नाम सच्याउन निवेदन दिएँ । हप्ता दिनमा आइज भने । तर फेरि मिलेन मार्कसिटमा रजिस्टे्रसन नम्बर मिलेन पैसा बुझाऊ अनिमात्र हुन्छ भने । अझै मेरो रजिस्ट्रेसन नम्बर मिलेको छैन भनेका छन् ।

यो कस्तो खालको नियम हो रुु उनको तीनवर्षे बीएडको मार्कसिटमध्ये एउटामा नामको हिज्जे गल्ती छ । हुनुपर्ने अम्मर हो, तर अमर उल्लेख छ । यी सबै त्रुटि सच्याउन शीर्षकैपिच्छे छुट्टाछुट्टै बैंक भौचर भर्नुपर्छ । उनले नाम सच्याउन सय रुपैयाँ र मार्कसिटमा रजिस्ट्रेसन नम्बर उल्लेख गराउन तीन सय रुपैयाँको बैंक भौचर बुझाएका छन् । यति गरिसक्दा पनि कर्मचारीले रजिस्टे्रसन नम्बर क्याम्पसबाट पठाएकै छैन भनेकाले दुविधामा परेको उनले बताए । ‘पढ्नलाई यस्तो झन्झट बेहोर्नुभन्दा त पासपोर्ट बनाएर विदेशतिर जानै पो सजिलो जस्तो लाग्यो,’ उनले भने ।

ओखलढुंगा क्याम्पसबाट यसै वर्ष बीएड उत्तीर्ण रविसागर राईको समस्या पनि उस्तै छ । ‘त्रिविबाट बीएड पास गरेको मार्कसिट छ तर रजिस्ट्रेसन नम्बर कायम भएको छैन भनियो,’ उनले भने, ‘कक्षा १२ पास गरेको उच्चमाविको सिफारिस लिएर आएमात्र हुने बताएपछि फर्किनुबाहेक कुनै उपाय रहेन ।’

दिनहुँ सयौं जना शैक्षिक प्रमाणपत्र बनाउन र यससम्बन्धी अन्य समस्या लिएर बल्खु धाउने गरेका छन् । यस्ता कामहरू सम्बन्धित क्याम्पसले नै मिलाउनुपर्ने हो । तर, विश्वविद्यालयको कमजोर संयन्त्रले गर्दा सानातिना त्रुटिका कारण सेवाग्राहीले झन्झट बेहोर्नु परिरहेको छ ।

कार्यालयको मूलढोका छेउमा परीक्षा प्रक्रियाबारे जानकारी दिन टाँगिएको सूचना खिया लागेर मेटिएको अवस्थामा छ । सेवाग्राहीलाई जानकारी दिन गार्ड र सहायक कर्मचारी खटाइएको छ । उनीहरूले कतिपय अवस्थामा सही सूचना दिन नसकेको गुनासो सेवाग्राहीको छ । गलत सूचनाकै कारण कतिले बढी पैसा तिरेका छन् । कतिपयले अनावश्यक रकम बुझाएका छन् । बैंकमा दाखिला भइसकेको रकम फिर्ता गराउन अर्को दिन खर्चनुपर्छ या माया मार्नुपर्छ ।

बढीजसो झमेला कार्यालयले विद्यार्थीको रेकर्ड ढड्डामा राखेकाले भएको हो । ‘प्रत्येक विद्यार्थीको रेकर्ड ढड्डामै राख्ने गरेका छौं,’ विद्यार्थीको फरक परेको नाम, थर, रजिस्ट्रेसन नम्बर सच्याउन व्यस्त सहनियन्त्रक दावा शेर्पाले भने, ‘निवेदन नदिएमा कुनै रेकर्ड सच्चिने छैन ।’

अर्का सहनियन्त्रक महेन्द्र शर्माले कमजोरी स्विकार्दै यसलाई चाँडै व्यवस्थित गर्ने दाबी गरे । ‘यो समस्या धेरै वर्षदेखिको हो,’ उनले भने, ‘विगतको भकारो सोहोर्दै छौं । अब सुधारेर अघि बढ्छौं ।’ उच्च शिक्षा परियोजनाअन्तर्गत तत्कालै १८ कर्मचारीलाई कम्प्युटर तालिममा खटाइएको जानकारी उनले दिए । कार्यालयमा डेढ दशकभन्दा पुराना कम्प्युटर छन् ।

कार्यालयले परीक्षाको नतिजा पनि आठ महिनादेखि वर्ष दिनमा मात्रै प्रकाशन गर्ने गरेको छ ।

विदेशबाट प्रमाणपत्र फिर्ता

त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोहमा विद्यार्थीलाई प्रदान गरेको प्रमाणपत्र विदेशबाट फिर्ता हुन थालेको छ । सन् २०१२ मा स्नातक तहको प्रमाणपत्रमा हिज्जे गल्ती भएपछि विद्यार्थीले दुःख पाएका हुन् । त्रिविले प्रमाणपत्रमा लगाएको छापमै यस्तो त्रुटि भेटिएको हो । ‘आईएनसीओआरपीओआरएटीईडी’ हुनुपर्नेमा ‘आईएनसीआरओपीओआरएटीईडी’ भएको छ ।

प्रमाणपत्रमा त्रुटि फेला परेपछि अध्ययनका निम्ति जापान पुगेका विद्यार्थीले सास्ती बेहोरेका छन् । जापानी विश्वविद्यालयले प्रमाणपत्र नक्कली भएको आशंका गरेपछि विद्यार्थीले स्वदेशका अभिभावकलाई गल्ती सच्याउन गुहारेका छन् । अध्ययनका निम्ति विदेश जाने तयारीमा रहेका विद्यार्थी परीक्षा नियन्त्रण कार्यालय धाइरहेका छन् । ‘गल्ती त्रिविकै हो तर प्रमाणपत्र सच्याउन मानिरहेका छैनन्,’ एक अभिभावकले भने । कान्तिपुर दैनिकबाट

२६ बैशाख २०७१, शुक्रबार ०५:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका कोरोना मुक्त

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारदेखि कोरोना सङ्क्रमणमुक्त बनेको छ । आइतबार एन्टिजेन विधिबाट गरिएको कोरोना परीक्षणमा ४४..

ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन सरकारद्वारा अस्वीकार

काठमाडौँ । ट्रान्सपरेन्सी इन्टरनेशनलको भ्रष्टाचारसम्बन्धी प्रतिवेदनलाई सरकारले अस्वीकार गरेको छ । यो..

चिनियाँ रक्षामन्त्री आज नेपाल आउँदै

काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ औपचारिक भ्रमणमा आज काठमाडौं आउँदै..

प्रधानमन्त्रीद्वारा सचिवालयमा दाहालको जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

काठमाडौं । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुभएको छ..

प्रधानमन्त्री ओलीको लिखित जवाफमा के छ ?

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सुरु भएको छ । सचिवालय बैठकका लागि..