‘बोल्नै प्रतिबन्ध लगाउनु तानाशाही’

काठमाडौ, २० वैशाख । कांग्रेस सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले आफ्नै पार्टीले चलाएको मेची-काली प्रशिक्षण अभियानप्रति असन्तुष्टि जनाउन थालेका छन् । अभियानलाई लिएर कोइराला र उपसभापति रामचन्द्र पौडेलबीच पनि अरू चिसो बढेको छ ।

पौडेल संयोजक रहेको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले गत चैत १६ मा कञ्चनपुरबाट थालेको उक्त अभियानका क्रममा आफ्नै नेता-कार्यकर्ताले सरकारको कडा आलोचना गर्न थालेपछि प्रधानमन्त्री कोइराला क्षुब्ध भएका हुन् । दोस्रो चरणको कार्यक्रमका क्रममा चैत ८ मा विराटनगरमा कोइरालाले सरकारको आलोचना गर्नेहरूप्रति झोक्किँदै चेतावनी दिएका थिए, ‘सक्ने भए प्रधानमन्त्री र सभापतिबाट हटाऊ ।’

आफ्नो आलोचना भएको कारण देखाउँदै सभापति कोइराला बाँकी कार्यक्रम रोक्ने तहमा पुगेपछि उपसभापति पौडेल कार्यक्रमको ढाँचा बदल्न बाध्य भएका छन् । कार्यक्रमको स्वरूप परिवर्तन गर्न प्रतिष्ठानका कार्यकारी निर्देशक मधु आचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको छ । अबको कार्यक्रममा केन्द्रबाट गएका एवं स्थानीय नेता-कार्यकर्ताले बोल्न पाउने छैनन् । समसामयिक राजनीतिका बारेमा बोल्न नदिई सीधै प्रशिक्षण कार्यक्रम सुरु गरिने छ ।

पार्टीको फोरममा बोल्न नदिने निर्णयप्रति नेताहरूले भने कडा आपत्ति जनाएका छन् । कांग्रेस नेता शेखर कोइरालाले सरकारको पक्षमा मात्रै कुरा गर्नुपर्छ भन्ने विचार तानाशाही हुनेु भन्दै पार्टीभित्रका फरक विचारलाई पनि सम्मान गर्नुपर्ने बताए । ‘फरक विचारलाई सुझावका रूपमा लिन सक्नुपर्छ, बोल्नै नदिँदा पार्टीको फोरमबाहेकको वैकल्पिक माध्यम अपनाउन बाध्य हुन सक्छ,’ उनले भने, ‘यसले पार्टी र नेतृत्वलाई झनै घाटा पुर्‍याउँछ ।’

अर्का नेता प्रकाशरण महतले सरकारको आलोचना भएकै आधारमा बोल्न नदिने गरी कार्यक्रम तय गरिनु गलत भएको बताए । ‘कार्यक्रमको प्रकृति हेरी बोल्ने क्रम चुस्त र छोट्टयाउन सकिन्छ,’ उनले भने, ‘तर आलोचना भएकै आधारमा यस्तो व्यवहार गर्नु उचित होइन ।’

प्रतिष्ठानका कार्यकारी निर्देशक आचार्यले भने प्रधानमन्त्रीका कारण नभई प्राप्त सुझावका आधारमा कार्यक्रमको शैली परिवर्तन गर्न लागिएको बताए । ‘झापा र विराटनगरमा प्रधानमन्त्रीबाट यो अभियान सरकारको विरोध गर्ने फोरम बन्न पुग्यो भनेर सार्वजनिक अभिव्यक्ति नै आइसकेको हो,’ आचार्यले भने, ‘तर उहाँले भनेको आधारमा भन्दा पनि मेची, कोसी, सगरमाथा र जनकपुरको कार्यक्रमको फिडब्याकका आधरमा कार्यक्रमको मोडल परिवर्तन भएको हो ।’

मेची-काली अभियानको तेस्रो चरणमा गण्डकी र धवलागिरीको कार्यक्रम वैशाख २३ देखि कास्कीमा, नारायणीको २७ देखि वीरगन्जमा र वाग्मतीको जेठ १७ देखि काठमाडौंमा सुरु हुँदैछ । यसअघि उद्घाटनका दिन केन्द्रबाट प्रतिनिधित्व गर्ने र स्थानीय नेता तथा कार्यकर्तालाई मन्तव्य राख्न दिने गरिएको थियो ।

उपसभापति पौडेलले आगामी १३ औं महाधिवेशनलाई लक्षित गरी तेस्रो समूह बनाउने कसरतमा लागेका कारण पनि कोइराला असन्तुष्ट हुन पुगेको स्रोतको दाबी छ । अभियानका क्रममा कोइरालाको नेतृत्वमा पार्टी सञ्चालन प्रभावकारी हुन नसकेको र सरकार पनि सुस्त गतिमा गएको भन्दै तीव्र आलोचना भएको थियो । त्यस्तै पार्टी सभापति कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाबीचको साठी र चालीसको भागबन्डामा चलेको भन्दै कार्यकर्ताहरूले विरोध गरेका थिए । कान्तिपुर दैनिकबाट

२० बैशाख २०७१, शनिबार ०५:३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

स्वास्थ, विज्ञान, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धबारे लण्डन दूतावासमा वेभिनार

लण्डन । लण्डनमा रहेको नेपाली राजदूतावासले बिहीवार ग्लास्गो क्यालेडोनियन विश्वविद्यालयसँगको सहकार्यमा ‘सार्वजनिक स्वास्थ्य तथा..

राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै रौतहटमा प्रदर्शन

रौतहट । राजतन्त्र र हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले रौतहटमा प्रर्दशन गरेको छ ।..

‘छिट्टै विकासशील राष्ट्रमा उक्लिँदैछौँ’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र..

पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या

काठमाडौं । पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा समस्या देखिएको छ । उनी बसेकै होटलमा चिकित्सकहरूले उपचार थालिएको..

विदेशी पर्यटकलाई भिसा प्रावधानमा खुकुलो बनाइदै

काठमाडौ । सरकारले पर्यटक भिसामा नेपाल आउने विदेशी नागरिकका लागि भिसा सम्बन्धि प्रावधानलाई केही खुकुलो बनाउने..