मृत्यु गुफामा १५ घन्टा

पोखरा, १४ वैशाख । शुक्रबार दिउँसो अचानक नराम्रो खबर आयो– मादी सुरुङ पहिरोले चेपियो, भित्र काम गरिरहेका १६ मजदुर थुनिए, ज्यानको आस छैन।’ कास्की सिल्दजुरे गाविसस्थित निर्माणाधीन २५ मेगावाट क्षमताको उपल्लो मादी जलविद्युत आयोजनाको ड्याम क्षेत्रमा रहेकी खोटाङकी रमिलाको मनमा यो खबरले एकैचोटि १२ रेक्टरको भुइँचालो ल्याइदियो।

वरिपरि अँध्यारो छायो, पीडा, भय र आशंकाले अन्योलको खाडीमा धकेलिइन्। चिन्ताको भीमकाय पहिरोमा चेपिइन्।

सुरुङभित्र रमिलाका पति सुजन ओली पनि थिए। बिहानै खाना खाएर पत्नीसँग बिदा हुँदै काममा निस्किएका थिए सुजन। पाँच महिनाअघि मात्र भागीबिहे गरेकी रमिला घर भित्रिएकै थिइनन्। विद्युत आयोजनाको मजदुरीले ज्यान पाल्दै जिन्दगीको मिठो सपना देखिरहेका बेला अचानक सुन्नुपरेको खबरले रमिला हुनुसम्म आहत भइन्।

दौडँदै आयोजनास्थल पुगिन्। चिच्याइन्, कहालिइन्। सास अड्किएलाजस्तो भयो। सुरुङबाहिर बसेर आफन्तको पर्खाइमा रोइरहेकाहरूको चित्कारमा उनको बिलौना पनि मिसियो।

करिब एक घन्टापछि कसैले सुनाइदियो– ‘सुरुङभित्र थुनिएका जिउँदै छन्जस्तो छ, भित्रबाट आवाज आयो।’

सुरुङबाहिरको माहोल अलि उज्यालियो। रमिलाको मनमा आशाको दियो बल्यो। १६ जनामध्ये १३ जना एकैठाउँमा सकुशल छन् भन्ने सन्देश आयो। रमिलाले हात जोडेर भगवान् पुकारिन्– त्यो आवाज आफ्नै पतिको होस्।

यसबीच सुरुङभित्रबाट बाहिर निस्किएको पाइपमार्फत अक्सिजन र पानी पठाउने क्रम लगातार चलिरह्यो। त्यही पाइपबाट आएको साउती मारेजस्तो आवाज पछ्याउँदै उद्धारकर्ता पहिरो पन्छाइरहे।

साँझ पर्योक, रात छिप्पियो। मृत्युको अत्यासलाग्दो गुफामा फसेकाहरू जति तड्पिए, त्यो भन्दा बढी बाहिर रमिलाजस्ता थुप्रै आफन्त बाँचेर पनि ‘मरिरहेझैँ’ थिए।

उद्धार टोलीको अथक प्रयासले शनिबार बिहान सवा ३ बजे बल्ल खुल्यो सुरुङ। थुनिएकाहरू धमाधम बाहिर निस्किए। मानौं, उनीहरु दोस्रोपटक गर्भाशयबाट बाहिरिँदै थिए पुनर्जन्म लिएर।

१५ घन्टासम्म मृत्युभयले चिथोरिएकाहरूको मुहार जिन्दगीको आभाले दीप्त देखिन्थ्यो। पतिलाई जीवित देखेपछि रमिलाका हर्षका आँसु थामिन सकेनन्।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पतिको छेउमा बसेकी उनले भनिन्, ‘बल्ल मेरो सास आयो। सबैथोक छाडेर उहाँसँग आएकी, अहिलेसम्म घर भित्रिन पाएकी छैन, तलमाथि भइदिएको भए मेरो के हुँदो हो ?’ सुजन पनि आफूले पुनर्जन्म पाएको महसुस गरिरहेका थिए।

‘मलाई त बाँचिन्छजस्तो लागेकै थिएन, पुनर्जन्म पाएझैं भएको छ,’ उनले सुरुङभित्रको कहालीलाग्दो क्षण सुनाए,’ १५ घन्टा रमिलालाई सम्झेर छटपटिइरहेँ।’ सुरुङ सुरक्षाका लागि राखिने फलामे रड ९रिप० बाँध्दै गर्दा अचानक पहिरो गएको सुजनले बताए।

शुक्रबार दिउँसो १ बजेदेखि फसेका मध्ये चिनियाँसहित १३ जनाको शनिबार बिहान सवा ३ बजे १५ घन्टापछि उद्धार गरिएको थियो।

प्रहरीका अनुसार उद्धार गरिएकामा मनोज पुलामी, नारायण श्रेष्ठ, विष्णु लामा, विशाल गोले, नवराज थोकर, देउराम थोकर, गणेश थापामगर, शेरबहादुर तामाङ, रामचन्द्र विक, सुजन भुजेल, शिवराज तामाङ र चिनियाँ नागरिक युझाङ मिङ छन्।

मजदुरहरूका अनुसार उनीहरू करिब १ सय ३० मिटरभित्र काम गर्दै थिए।

‘ड्यांग आवाज आयो, झ्याप्पै बत्ती निभ्यो, चकमन्न अँध्यारोमा मोबाइलको उज्यालोले बाहिरिन खोज्यौं तर बाटै थुनिएछ,’ मकवानपुर पदमपोखरी–५ का विशाल गोलेले सुनाए, ‘धन्न बाँचियो।’

विशालका अनुसार भीमकाय ढुंगोले बाटो थुनेको पत्तो पाएपछि उनीहरु एकैठाउँ भेला भएर हम्मरले फलामे पाइप हिर्काउन थाले। धन्न, पाइप भाँच्चिएको रहेनछ। त्यसैमार्फत बाहिर रहेकाले आवाज दिएपछि बल्ल उनीहरूमा बाँच्ने आशा पलायो।

‘पाइपमार्फत बाहिरबाट अक्सिजन र पानी आउन थालेपछि ढिलै भए पनि बाँचिन्छ भन्ने लाग्यो,’ गोलेले भने, ‘पहिरोले पाइप पनि भाँचिदिएको भए जे पनि हुन सक्थ्यो।’

सुरुङबाट निस्कँदा सबै आत्तिएका र सिथिल देखिन्थे। मुहार निन्याउरो थियो, कोही रुँदै थिए। सशस्त्र प्रहरीको रेस्क्यु टिमका सहायक हवलदार झपेन्द्र अधिकारीले भने, ‘बाँच्ने आशा थिएन भनिरहेका थिए।’

कास्की प्रहरीप्रमुख एसपी वसन्तकुमार लामाले पहिरोले सुरुङ थिचिएपछि अर्को ठाउँबाट प्वाल पारेर मजदुरलाई बाहिर निकालेको बताए। ‘भित्रभित्र ठूला ढुंगा रहेछन्, एउटा फुटायो, अर्को भेटिने। त्यसैले केही ढिलाइ भयो,’ उनले भने, ‘उपकरण भएकाले उद्धार सम्भव भयो।’

सेना, सशस्त्र, नेपाल प्रहरी, स्थानीय र आयोजना मजदुर अहोरात्र उद्धारमा खटिएका थिए। उद्धारपछि सबै मजदुरलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सामान्य उपचारपछि घर पठाइएको छ। सबैको अवस्था सामान्य रहेकाले बिहानै डिस्चार्ज गरिएको मेडिकल सुपरिटेन्डेन्ट श्रीकृष्ण श्रेष्ठले बताए। ‘मानसिक तनाव रहे पनि घाउचोट नभएकाले अस्पतालमा राख्नुपर्ने देखिएन,’ उनले भने, ‘पानी र अक्सिजन नपठाएको भए जे पनि हुन सक्थ्यो।’

आयोजनाका प्रोजेक्ट कोअर्डिनेटर रामराज कोइराला ब्लास्ट गर्ने बेला सम्भावित जोखिम नियन्त्रण प्रविधि नहँदा दुर्घटना हुने बताउँछन्।
‘सचेत हुनुबाहेक अर्को विकल्प छैन,’ उनले भने, ‘सुरुङभित्र काम गर्नु आफैंमा जोखिम हो।ु आयोजना मजदुरको १० लाख रुपैयाँको बिमा हुने उनले जानकारी दिए। नागरिक दैनिकबाट

१४ बैशाख २०७१, आईतवार ०७:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाउन..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..