रमेश खरेललाई सलाम :: देवप्रकाश त्रिपाठी

उपप्रधानमन्त्रीको हैसियतमा गृह मन्त्रालय सम्हाल्नुहुने वामदेव गौतमले आफूलाई भेट्न नआएकोमा एक प्रहरी अधिकृतको सार्वजनिक रूपमा आलोचना गर्दै असन्तुष्टि प्रकट गर्नुभयो । राजधानी काठमाडौंको प्रहरीप्रमुख रहेका रमेश खरेल देशमा एक कुशल, सक्षम र व्यावसायिक प्रहरी अधिकृतका रूपमा चिनिएका छन् । उनको ख्यातिले प्रहरी सङ्गठनको समेत प्रतिष्ठा बढाएको ठानिन्छ । नेपाल प्रहरीमा त्यस्ता केही अधिकारी छन्, जसका कारण प्रहरीको मर्यादा जोगिएको छ । त्यस्ता अधिकृतमध्ये विभिन्न कारणवश रमेशको चर्चा बढी हुने गर्दछ । अपराध जगत्मा आतङ्कको पर्याय बनेका रमेश जनसाधारणका बीच ‘हिरो’ मानिन्छन् र रमेशको उपस्थिति मात्रले पनि जनतामा सुरक्षानुभूति गराउने गरेको छ । यसरी रमेश खरेल ‘हिरो’ हुनुमा उनको कार्यक्षमता, व्यावसायिक दक्षता र कौशल मात्र कारण बनेको छैन । देशमा ‘सिस्टम’ बसेको या ‘सिस्टम’ले काम गर्ने परिस्थिति निर्माण हुन सकेको भए प्रहरी सङ्गठनका हरेक व्यक्ति ‘रमेश खरेल’ हुने थिए, कुनै एक रमेश खरेल मात्र ‘हिरो’ बन्ने सम्भावना असम्भव हुनसक्थ्यो । राजनीतिक दलका नेता, प्रधानमन्त्री र मन्त्रीहरूका सोच–व्यवहार देशकेन्द्रित हुन सकेको भए देशमा ‘सिस्टम’ बस्न असम्भव थिएन । प्रणालीको विकास हुँदा आफ्नो निजी भूमिका कमजोर हुने भय अधिकांश राजनीतिकर्मीमा देखिन्छ । त्यसैले मन्त्री र प्रधानमन्त्री पदमा बहाल हुने व्यक्तिहरू शून्यबाट काम सुरु गर्न चाहन्छन् र आफ्नो पालामा ‘केही बेग्लै’ गरेर देखाउने पहल उनीहरूले लिने गर्दछन् । साविक पदमा आफूभन्दा अघिका व्यक्तिले गरेका राम्रा–नराम्रा निर्णयलाई उल्टाउने र आफ्नो मनोमाफिकको खेती गर्ने रोग जुन राजनीतिकर्मीमा देखिएको छ ‘सिस्टम’ विकासमा यही प्रवृत्ति सबभन्दा ठूलो चुनौती बनिरहेको छ । अघिल्ला मन्त्री–प्रधानमन्त्रीले लिएका राम्रा निर्णयको निरन्तरता कायम राख्दै थप सकारात्मक काम गर्ने परम्परा बसाउन सके मात्र मुलुकमा प्रणाली विकासलाई सहयोग पुग्ने हो । मन्त्रालयमातहतका निकायमा जोसुकै व्यक्तिको चयन भए पनि कार्यपरिणाममा अन्तर देखिन नहुने अवस्थालाई ‘सिस्टम’ भन्न सकिन्छ । कुनै जिल्लामा रामप्रसादजी सीडीओ भएर जाँदा जुवा–तास र नदीबाट ढुङ्गा, बालुवा निकाल्ने कार्यले छुट पाउने, हरिप्रसादजीले उक्त जिम्मेवारी पाउँदाचाहिँ उल्लिखित दुवै प्रकृतिका कार्य नियन्त्रित हुने अवस्था भनेको ‘सिस्टम’ विपरीत देश चलेको सङ्केत हो । काठमाडौं प्रहरीप्रमुखमा रमेश खरेलको चयन हुँदा गुन्डागर्दी र अन्य अपराध नियन्त्रण हुने, अरू कुनै प्रहरी अधिकृतले सोही जिम्मेवारी सम्हालेको अवस्थामा गुन्डाराजले प्रश्रय पाउने जुन नियति हामी भोगिरहेका छौँ, यसले नेपालमा ‘सिस्टम’ विकास नभएको स्पष्ट गरेको छ । सिस्टमले काम गर्ने हो भने मन्त्री–प्रधानमन्त्रीले धेरै ठूलो कसरत गरिरहनुपर्ने छैन, केवल अनुगमन, निर्देशन र नियन्त्रणको भूमिकामा मात्र मन्त्री–प्रधानमन्त्री सीमित रहँदा हुनेछ । रमेश खरेल वरिष्ठ प्रहरी उपरीक्षक तहका एक अधिकृत हुन् र उनीभन्दा माथि नायव प्रहरी महानिरीक्षक, अतिरिक्त प्रहरी महानिरीक्षक र महानिरीक्षक तह कायम छ । तीन तहको उचाइ–घेरा नाघेर काम गर्न एक प्रहरी अधिकृतलाई उक्साउनु, उत्पे्ररित गर्नु या बाध्य पार्नु नाजायक र गैरकानुनी कार्य भएको बुझ्न सकेका भए सायद वामदेवजीले रमेश खरेल आफूलाई भेट गर्न नआएकोमा असन्तुष्टि प्रकट गर्नुहुने थिएन । एउटा एसएसपीले डीआईजीपी, एआईजीपी र आईजीपीभन्दा माथिल्लो तहमा सोझै सम्पर्क गर्न नसक्ने, नमिल्ने प्रणालीको पक्षमा वकालत गर्नुपर्ने गृहमन्त्री आफैँले मातहतका निकाय सम्बद्ध प्रहरी कर्मचारीलाई आफ्नो सीमा नाघ्न उक्साएर ‘प्रणाली’को खिल्ली उडाएका मात्र छैनन्, प्रणाली विकसित हुन नदिन आफू ‘प्रतिबद्ध’ रहेको सोझो सङ्केत पनि दिएका छन् । वामदेव गौतमले भेट गर्न नआएकोमा असन्तुष्टि जाहेर नगरी रमेश खरेल आफूलाई भेट्न नआएकोमा प्रसन्नता प्रकट गर्दै अन्यलाई पनि रमेशबाट सिक्न सुझाव दिएका भए त्यसले स्वयम् वामदेवजीको समेत उचाइ बढाउन सक्थ्यो र प्रहरी सङ्गठन एउटा निश्चित सिस्टमबाट चलाउन गृहमन्त्री प्रतिबद्ध रहेको सन्देश पनि प्रवाहित हुने थियो । तर, वामदेवजीले त्यस्तो आवश्यकता बोध गर्नुभएन, एक स्वाभिमानी र व्यावसायिक प्रहरी अधिकृतको सार्वजनिक रूपमै आलोचना गरेर आफ्नै कद घटाउनुभयो । कार्यशैली र क्षमताका कारण रमेश खरेल कुनै पनि पार्टीनेताभन्दा लोकप्रिय बन्न सफल भएका छन्, त्यसैले खरेलबारे नकारात्मक टिप्पणी सुन्ने मुडमा जनता रहेको बुझिँदैन । वामदेव गौतम निर्णय क्षमता भएका एक हक्की नेताको रूपमा अवश्य परिचित हुनुहुन्छ । गौतमका वरिपरि एक समय फोहोर–मैला जम्मा भएको ठानिन्थ्यो र राम्रा मानिसको घेराभित्र बस्ने हो भने वामदेवबाट देशका पक्षमा ऐतिहासिक निर्णय हुनसक्ने अपेक्षा अहिले पनि गरिँदै छ । तर, रमेशका बारेमा गरिएको एउटै टिप्पणीले वामदेवको वरिपरि अझै पनि मैला जमेको आशङ्का सृष्टि गराएको छ । वामदेवजीको टिप्पणीले एसएसपी खरेलको छवि भने अझै चहकिलो तुल्याएको छ । प्रहरी सङ्गठनभित्र नेताहरूको घर डुल्ने प्रवृत्ति परम्परा बनेर झाङ्गिएको परिपे्रक्ष्यमा खरेल अपवाद बनेका रहेछन् भन्ने पुष्टि यस प्रकरणले गरेको छ । नेतालाई रिझाउनेभन्दा जनतालाई सुरक्षित एवम् प्रसन्न तुल्याउने कार्यमा रमेशकेन्द्रित रहेको वामदेवजीकै अभिव्यक्तिले स्पष्ट गरेको छ । रमेशको यही कार्यशैलीलाई सबै प्रहरीले अनुशरण–अनुकरण गर्ने हो भने कम्तीमा नेपाल प्रहरी एउटा निश्चित सिस्टमबाट चल्ने विश्वासको आधार मजबुत बनाउन सक्दछ ।
सामन्ती परम्पराको अन्त्य राजतन्त्रात्मक परिपाटीको विसर्जनपश्चात् हुने विश्वास गरिएको भए पनि नेपाली राजनीतिक दलका नेताहरूको सोच एवम् कार्य–व्यवहारले सामन्ती प्रथा जीवित रहेको आभास दिलाउँदै छ । एउटा राजाको वनवासपश्चात् दर्जनभन्दा बढी राजाको उदय भएको महसुस जनस्तरले गरिरहेको छ । हरेक दलका नेताहरू जीवनभर उच्च पदमा कायम रहन प्रयत्नशील रहनु, नयाँ नेतृत्व विकासमा ‘सिन्डिकेट’ निर्माण गरेर अवरोध पैदा गर्नु, आफूकहाँ निरन्तर धाउने या देखापरिरहनेहरूलाई मात्र योग्य ठान्नु र ‘सिस्टम’को विकासभन्दा आ–आफ्नै पिरामिड खडा गर्न राजनीतिकर्मीहरू अग्रसर रहनुले नेपालमा सामन्ती परम्परा अर्को रूपमा जीवित रहेको स्पष्ट गर्दछ । एक व्यक्ति एउटा पदीय जिम्मेवारीमा बढीमा दुईपटक (दुई कार्यकाल होइन) भन्दा रहन नपाउने प्रणाली र परम्परा बसाउन नसक्ने हो भने नेपालबाट सामन्ती परम्पराको उन्मूलन असम्भव मँन्नुपर्ने हुन्छ । राजनीतिक क्षेत्रमा क्रियाशील नयाँ पुस्ताका नेता, कार्यकर्ताले सामन्ती परम्पराको उन्मूलनका निम्ति जागरण ल्याउनुपर्नेमा उनीहरूसमेत यस्तै थोत्रो परम्पराको एउटा हिस्सा बनेर व्यवहार गर्दै छन् । नयाँ पुस्ता जागरुक नभएकै कारण नेकपा एमालेमा पन्ध्र वर्षसम्म प्रमुख कार्यकारी पदमा रहेका माधव नेपाल पुन: पार्टी अध्यक्ष बन्न कस्सिएका छन् र युवा पुस्ताका नेता÷कार्यकर्ताहरू माधवको त्यस्तो इच्छालाई काँध दिँदै छन् । काङ्गे्रसका सुशील कोइरालाले पार्टीको कार्यकारी हैसियत प्राप्त गर्न आफ्नो जीवनको ७४ वर्ष खर्चिनुपर्यो, अरू अनेकौँ वृद्ध कार्यकारी प्रमुख बन्न लामबद्ध भएका छन्– जुन दृश्यले काङ्गे्रसमा नयाँ पुस्ताले कहिल्यै मौका पाउन नसक्ने सङ्केत गर्दै छ । साढे दुई दशकदेखि एमाओवादी पार्टीको नेतृत्व गरिरहनुभएका प्रचण्ड अरू दुई दशक प्रमुख नेताको हैसियतमा रहने कसरत गर्दै हुनुहुन्छ । यसले अरू त अरू समान पुस्ताका बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठहरूले समेत नेतृत्वको अवसरबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना गरिदिएको छ । सामन्ती सोचका अनेक पक्षमध्ये जसरी भए पनि उच्च पदमा पुग्ने र पुगेपछि सधैँ उचाइमा रहिरहने प्रवृत्ति पनि एक हो, तर यस्तो प्रवृत्तिलाई चुनौती दिने प्रयास राजनीतिक क्षेत्रबाट हुन सकेको छैन । असक्त र ‘एक्सपोज्ड’ नेताहरूलाई अघि लगाएर पालो पर्खनेहरू वास्तवमा गिद्धका हितैषी हुन् । गिद्ध कहिल्यै सिकार गरेर खाने प्रयत्न गर्दैन, अरू कसैले गरेको सिकार या आफैँ मरेको जीवजन्तुको सडेगलेको हिस्सामा रम्नुलाई गिद्धले आफ्नो जीवन पद्धति बनाएको छ । यसरी गिद्ध–प्रवृत्ति मौलाएका बेला राजनीतिक क्षेत्रले चुनौती दिन नसके पनि सरकारी सेवामा रहेका रमेश खरेलले साहस देखाएका छन् । उनको साहसलाई हामी सबैको सलाम ।

२८ चैत्र २०७०, शुक्रबार ००:५९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार उपत्यकाका ३ जिल्ला..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..