लौ सुन म भन्छु एनआरएन अमेरिकाको कहानी ! :: डा. तारा निरौला

एनआरएन अमेरिका भन्दावित्तिकै हामी अमेरिकामा रहेका सबै नेपालीहरु अट्ने शब्दजस्तो लाग्छ । तर अमेरिकाको सन्दर्भमा दुर्भाग्यबस हामीहरु सबैजना अट्न सकिरहेका छैनौं । यो अहिलेको यथार्थ हो । व्यवहारिक रुपमा हेर्दा दुईचारदिन घुम्न आएर फर्कनेहरु बाहेक सदस्यता लिए पनि नलिएपनि अमेरिकामा बस्ने नेपालीहरु एनआरएन हुन् । त्यसमा कसैले शंका गर्नुपर्दैन । सदस्यताले एनआरएन परिभाषित गर्दैन । सदस्यता शुल्क तिरेर कुनै व्यक्ति एनआरएन हुने र त्यो नतिरे एनआरएन नहुने भन्ने कुरा होइन । सदस्यता शुल्क तिर्ने त केवल संरचनात्मक संरचनाका लागि सृजना गरिएको प्रावधान मात्र हो । त्यसैले सदस्यता लिएपनि नलिएपनि अमेरिकामा रहेका हामी नेपालीहरु एनआरएन हौं । सन् १९९१ तिर अमेरिकामा जब संघ संस्थाहरुको संख्या बढ्दै गइरहेको थियो , त्यो बेलामा संघ संस्थाहरुको बीचमा समन्वय कायम गर्न र एकअर्काबीच सहयोग जुटाउने उद्देश्यका साथ एउटा संस्थाको जन्म भयो । त्यो बेलाका अमेरिकामा रहेका प्रवुद्ध वर्गको सकृयतामा स्थापित त्यो संस्थाको नाम थियो नेपलिज अमेरिकाज काउन्सिल अर्थात् न्याक । यो काउन्सिल अमेरिका र क्यानडा दुबैलाई समेटेर दुबै देशमा काम गर्ने उद्देश्यका साथ स्थापना भएको थियो । सुरुमा अलिकति अप्ठ्याराहरु भए । किनभने सन् १९८३ तिर स्थापित एएनएले उत्तर अमेरिकाको दादा हामी हौं भन्ने धारणा बोकेको थियो भने न्याकले आफू कुनैको छाता संगठन नभएपनि संगठनहरुबीच समन्वय कायम गर्न स्थापित भएको बताउदै आएको थियो । विभिन्न संस्थाका प्रतिनिधीहरु भेला भएर न्याकको सृजना गरिएको थियो । त्यो बेलादेखि एएनए र न्याकबीच केहीसमय सौतासौताको जस्तो सम्बन्ध रह्यो । पछि गएर एनएनए लगायतका मुख्य मुख्य संस्थाहरु न्याकको सदस्य बनेर समन्वयात्मक परिषद् गठन भयो । जब सन् २००३ तिर एनआरएनको गतिविधिहरु बढ्दै गयो । त्यतिबेला उत्तर अमेरिकामा एनआरएनको जिम्मा कस्ले लिने भन्ने विषयमा बहस भयो । एनआरएन आईसीसीले उत्तर अमेरिकामा एनआरएनको समन्वयत्मक संयन्त्रको रुपमा न्याकले काम गरेकाले न्याक नै अमेरिकाको एनआरएन रहेको आधिकारिक रुपमा स्वीकार गरेको थियो । त्यसमा केही समस्याहरु थिए । त्यतीबेला म स्वयम् पनि न्याकमा आवद्ध रहेको हुनाले सुरुदेखि नै मेरो धारणा क्रमवद्ध तरिकाले क्यानडामा क्यानडाकै एनआरएन एनसीसी हुनुपर्ने र अमेरिकामा अमेरिकाकै एनआरएन हुनुपर्छ भन्ने मेरो दृष्टिकोण रहेको थियो । त्यो एनआरएन एनसीसी न्याक भन्दा छुट्टै हुनुपर्छ भन्ने पनि मेरो धारणा थियो । त्यो हुँदा हुँदै पनि अर्को दर्ता गरेर जाँउ भन्ने पक्षमा गएको होइन । खासगरी एएनएको बाल्टिमोरको सम्मेलनमा न्याकका पुराना साथीहरुलाई होटेलको कोठामा राखेर छुट्टै एनआरएन स्थापनाको प्रस्ताव ल्याइएको हो । न्याकबाट एनआरएनलाई अगाडि बढाउने प्रकृया खोल्नुपर्छ भन्ने प्रस्ताव ल्याउँदा जे छ ठीक छ भन्ने कुराहरु आए । त्यसपछि जोजसले ठीक छ भन्नुभयो तपाईहरु बस्नुस्, ठीक छैन भन्नेहरु निस्कनुस् , एनआरएनको सृजनातिर जानुपर्छ भन्ने कुरा उठेपछि उत्तर अमेरिकाका नौवटा क्षेत्र (न्याकले खडा गरेका नौ क्षेत्र) मध्ये हरेक क्षेत्रमा एनआरएनको छुट्टै पद सृजना गरेर एनआरएनको रिजनल डाइरेक्टर स्थापना गरौं, र केन्द्रीय स्तरमा समन्वय कायम गर्नका लागि एनआरएनको अर्को संयन्त्र स्थापना गरेर एनआरएनको गतिविधि अगाडि बढाउनुपर्छ भनेर सुरु गरियो । जब न्याक मेरो नेतृत्वमा आएको थियो । त्यही क्रममा हतार हतार छोटो समयमा धेरैतिरका साथीहरुलाई समेटेर न्याकलाई छुट्टै रुपमा छोड्ने र एनआरएनलाई स्वतन्त्र रुपमा जन्माउने भन्ने प्रकृयामा गयौं । एउटा चरणमा पुगेपछि मैले पारिवारिक अवस्थाले न्याक छाड्ने अवस्था आयो । मैले छोड्ने वित्तिकै न्याक यसका बरिष्ठ उपाध्यक्ष सुमन तिम्सिनाको हातमा गयो ।

व्यवहारिक रुपमा हेरेर सहज तरिकाले अमेरिकामा रहेका नेपालीहरुलाई समेटेर स्वतन्त्र एनआरएनको अवधारणा अगाडि बढाउनुपर्छ किनभने एनआरएनमात्र अमेरिकामा रहेका नेपालीहरुलाई समेट्ने एकमात्र संस्था हुनसक्छ भन्ने छलफल भइरहेको बेलामा हतारहतार न्याक बन्द गर्ने एनआरएन दर्ता गर्ने , चुनाव गर्ने लगायतका गतिविधि गरियो । पहिलो चुनावको नतिजा निस्के लगत्तै मैले सन्देश पठाएँ –‘ जो जो निर्वाचित हुनुभएको छ, कसैलाई पनि म यो समयमा बधाई दिने पक्षमा छैन । ’ यस्तो सन्देश पाउनासाथ त्यसभित्रका साथीहरु जंगिएका थिए । तर त्यहाँ प्रकृयागत रुपमा त्रुटी भइसकेको थियो । हाम्रो भनाई के थियो भने संस्था चलाउनका निम्ति संस्थाको नीति नियम अनुशार चल्नुपर्छ, त्यसमा कमजोरी भएमा त्यसलाई सुधार्ने प्रकृयामा जानुपर्छ । अर्को कुरा यो सार्वजनिक संस्था भएकाले यसभित्र हुने सबै गतिविधि पारदर्शी हुनुपर्छ । तेश्रो कुरा हामीले विश्वास गरेर बनाएको समितिमा सरसल्लाहका आधारमा काम हुनुपर्छ, कुनै एक व्यक्तिले एकलौटी तरिकाले हाँक्ने कोशिस गर्नुहुन्न । यस्ता खालका विभिन्न मागहरु राखिएको थियो त्यतीबेला । त्यसपछि विभिन्न विवाद र वहसहरु भए । पछि एटलान्टामा राजा घलेको नेतृत्वमा अर्को संगठन सुरु हुन लागेका चर्चाहरु समेत आए । यो संस्थाप्रति कसैको रिसईवी नभएको र संस्थाका केही व्यक्तिले गलत कृयाकलाप गरेको भनेर नयाँ संस्था खोल्नबाट रोकिएको थियो । पाँचपटकसम्म त मैले नै रोकेको हुँ, त्यो कुरा राजा घलेलाई सोधेपनि थाहा हुन्छ । पछि न्युयोर्कमा आएर सबै एकीकृत भएर जाने कुरा गरियो । मैले त्यो कार्यक्रम बहिस्कार गरेको थिएँ । म त्यहाँ उपस्थीत भइन । सम्झौताका आधारमा मिलेर जानसकिन्छ भन्दै न्युयोर्कमा ल्याइयो । तर यहाँ ल्याएपछि फेरी गन्जागोल भयो । जुनदिन एनआरएन जन्मियो, इमान्दारिताका साथ भन्नुपर्दा एनआरएनको नियम, कानुन र प्रकृया अनुशार अहिलेसम्म केही पनि काम नभएकाले एनआरएन अमेरिकाको अहिले यो हालत भएको हो । एनआरएन हामीले खोजेजस्तो हुन सकेन । जुनबेलामा एनआरएनको विधान बन्यो, त्यतीबेला म पनि विधान निर्माण समितिको एउटा सदस्य रहेको थिएँ । जुन विधानको ८० प्रतिशत मैले नै लेखेको थिएँ । तर विधानमा केही कुराहरु मेरो दृष्टिकोणमा अव्यवहारिक थिए । यसरी अव्यवहारिक कुरा राख्नु हुँदैन भन्दा त्यो विधान समितिमा म एक्लो परें । त्यसपछि मैले त्यो विधान समिति नै छोडेको थिएँ । त्यही विधानले अहिलेसम्म समस्या उत्पन्न गराइरहेको छ । अहिलेको प्रावधान अनुशार विभिन्न संघ संस्थाहरुले प्रतिनिधित्व गर्ने कुरा उल्लेख गरिएको छ । कुनैकुनै पदमा उठ्न पाउने व्यक्तिले भोटहाल्न नपाउने जस्ता प्रावधान समेत राखिएका छन् । त्यसैले अब गर्नुपर्ने कुरा भनेको यो जटिलताबाट पार लगाउनुपर्छ । एकले अर्कोलाई पछार्ने र तान्नेतिर नगई मिलेर संस्था बनाउनेपट्टी जानुपर्छ । किनभने संस्था सबैको साझा हो । एउटा आउँछ, जान्छ अनि अर्को आउँछ । त्यो स्वभाविक प्रकृया हो । यसमा गएर ठूलो मान्छे वनिने वा तलब आउने पनि होइन । यो सामाजिक संस्था हो । समय निकालेर स्वयम्सेवीका रुपमा काम गर्ने संस्था भएकाले हानथाप गर्नुहुँदैन । प्रकृयाका आधारमा कार्यसमिति चयन गर्नुपर्छ । तर यो विषयमा अहिलेसम्म गन्जागोल भएर विग्रिरहेको छ । जबसम्म जनस्तरसम्म पुग्न सकिदैन अब एनआरएन अमेरिकाको कुनै अर्थ छैन । आम जनस्तरसम्म पुग्नका लागि त्यस्तै खालको संयन्त्र पनि बनाउन आवश्यक छ । त्यसैले आगामी दिनमा राष्ट्रिय स्तरमा संगठनात्मक संरचना सृजना गर्नुका साथै प्रत्येक राज्यहरुमा रहेका नेपालीहरुले एनआरएनको राज्यस्तरको एउटा समुह बनाएर संगठन चलाउने प्रावधान एनआरएन एनसीसीको हुनैपर्छ । नत्र राष्ट्रिय स्तरबाट हरेक राज्यमा का गर्न सकिदैन र आम जनस्तरसम्म पुग्न पनि सकिदैन । अर्को कुरा एनआरएनलाई विसुद्ध व्यक्तिगत सदस्यता वितरण गरिने संस्थाका रुपमा मात्र विकाश गरिनुपर्छ । किनभने यो संस्था मात्र एउटा संस्था हो, जुन संस्थामा एनआरएन हुने वित्तिकै त्यो व्यक्ति संस्थाको सहभागी भइहाल्छ । सदस्यता शुल्क तिरेर संस्थाको सदस्यता लिइरहनै पर्दैन । मतदाता हुनका लागि प्रशासनिक रुपले अगाडि बढ्नका लागि सदस्यता लिने कुरा फरक हो । तर एनआरएन हुने वित्तिकै त्यो व्यक्ति संस्थाको सहभागि हुनेछ । अहिलेको परिस्थीति हेर्दा विधान अनुशार एनआरएनको हाउसमा हरेक संस्थाका प्रतिनिधिहरु रहने व्यवस्था गरिएको छ । यो कुराले बढि जटिलता पैदा गर्छ । त्यसैले संस्थाहरुसँग मिलेर एनआरएनले कुनै काम वा परियोजना संचालन गर्न सक्छ । तर संगठनात्मक रुपमा कुनै पनि संस्थाको भूमिकालाई माइनस गर्नुपर्छ । व्यक्तिगत सदस्यहरुको आधारमा एनआरएन अमेरिका संचालित हुनुपर्छ । अनि केन्द्र स्तर र राज्यस्तरमा जानुपर्छ । अन्तमा, अहिले कोहीपनि व्यक्ति एनआरएन एनसीसीको पदको चिन्तातिर नलाग्नुहोस् । सबै साथीहरुलाई समेटेर बलियो एनआरएन एनसीसी कसरी बनाउने भन्नेतर्फ जानुपर्छ । समुहमा छलफल गरौं । हामी आफै तयार भएर एनआरएन आईसीसीलाई योजनाबारे जानकारी दिएर सबल एनआरएन बनाउने प्रतिवद्धताका साथ अगाडि बढेमा आईसीसीले कुनै समयसिमाका कुरा गर्न सक्दैन । हामी आफै कमजोर भएकाले एनआरएन आईसीसीले समयसिमाका कुरा गर्नुपरेको हो । सुरुको हाम्रो नारा अमेरिकामा रहेका एनआरएनको राष्ट्रिय समन्वय परिषद् संसारमा भएका एनआरएन एनसीसी भन्दा संगठनात्मक रुपमा बढी प्रभावकारी, श्रोतको रुपमा बढी बलियो र बढी शक्तिशाली बनाउनुपर्छ भन्ने थियो । अहिले बीचमा आएर विभिन्न समस्याहरु आए । व्यक्तिगत असहमतिका कारणले म बाहिर निस्कें । किनभने नियम अनुशार नजाँदासम्म म त्यसमा सहभागी हुन चाहन्न । नियम कमजोर छन् भने त्यसलाई सुधार्ने प्रकृयाहरु छन् । विधान कमजोर छ भने त्यसलाई प्रकृयागत रुपमा सुधार्नुपर्छ । तर विधान मिचेर जानकाम कसैले गर्नुुहुन्न । यही विषयमा मत नमिलेकाले म बाहिर रहेको हुँ । धेरै साथीहरु बाहिर हुनुहुन्छ । अमेरिकामा अधिकांश नेपालीलाई एनआरएन आईसीसीबारे थाहा पनि छैन । केही साथीहरुको चासोलाई पूजीकृत गरेर राम्रो एनआरएन बनाउनेतिर जानुपर्छ । यसमा हानथाप नगरौं । सबैलाई समेटेर अगाडि बढौं । चुनावमात्र सबैकुरा होइन । प्रजातान्त्रिक परिपाटीमा चुनाव महत्वपूर्ण अंग भने पक्का हो । तर अहिलेसम्म एनआरएन अमेरिका नियमसंगत तरिकाले चुनाव भएर चलेको संस्था होइन ।

८ फाल्गुन २०७०, बिहीबार ०७:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

काठमाडौँमा कडाई, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौँ, २४ साउन । कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आवतजावतमा कडाइ भएको छ । शुक्रबार उपत्यकाका ३ जिल्ला..

बुधबार दिउँसो काठमाडौँमा भूकम्प

काठमाडौँ, २१ साउन । बुधबार ४ः३० बजे काठमाडौँमा भूकम्पको धक्का महशुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले..

अख्तियारका १५ जनालाई कोरोना पुष्टि

काठमाडौँ, २० साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५३ कर्मचारीसहति १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि..

काठमाडौँ उपत्यकामा ५१ सहित थप ४१८ जनामा कोरोना पुष्टि

काठमाडौँ, १९ साउन । सोमबार ४१८ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले..

सवारीमा फेरी जोर विजोर प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव

काठमाडौँ, १९ साउन । कोभिड–१९ संक्रमणको जोखिम पुनः बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी तथा..