अब हार्ने पालो नेपाली जनताको :: युवराज घिमिरे

यो निर्वाचन सबैले जित्न चाहेका थिए। प्रधानन्यायाधीश खिलराज रेग्मीले त चैतमा नै जितेका हुन् कार्यकारी प्रमुख बनेर, अनि संविधानलाई पराजित गरेर। अनि चार दलीय सिन्डिकेट ले पनि चुनावको क्षणसम्म जितेकै हो नेकपा–माओवादीलाई चुनावी प्रक्रियाबाट बाहिर राखेर। सबैभन्दा ठूलो विजेता संयुक्त राष्ट्रसंघ, अमेरिका र भारत बने जसले नेपालको संविधान विपरीत प्रधानन्यायाधीशलाई कार्यकारी प्रमुख बनाउन र उनकै मातहत निर्वाचन गर्न अगुवाई गरेर।
निर्वाचन प्रक्रियाको प्रारम्भपछि स्वभाविक रुपमा नेताहरू जसरी पनि चुनाव जित्ने दौडमा लागे। कांग्रेसका सुशील कोइराला र शेरबहादुर देउवा, एमालेका झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतम, फोरम नेपालका उपेन्द्र यादव, एनेकपाका पुष्पकमल दाहाल र बाबुराम भट्टराई, फोरम लोकतान्त्रिकका विजय गच्छदार सबै दुई दुई ठाउँबाट लडे। आफैंमा विश्वास नभएको प्रमाण हो यो।
मंसिर ४ मा आफ्नो मताधिकार प्रयोग गरेर विगत ६ बर्षमा ठगिएका, हारेका जनताले मुलुकसँग आफ्नो विजयको सपना देखे। सार्वभौमसत्ताको अभ्यासकासाथ प्रजातन्त्र स्थापना र संविधान लेखनमा सहयोग पुर्या ए। तर प्राप्त नतिजाले संविधानसभा दुई त्रिशंकु मात्र हैन, पूर्ण खण्डित तथा विभाजित हुने स्पष्ट संकेत दिएका छन्।
अहिलेसम्मको परिणामले र त्यसप्रति आएका प्रतिक्रियाहरूले सदन संविधान लेख्नेतर्फ बढ्ने देखिँदैन। एमालेको नेतृत्वको सरकार र कांग्रेस प्रतिपक्ष भएमा सरकार निरीह बन्ने छ। उता एनेकपा माओवादीले उसले अहिले भने जस्तै पार्टीका विजयी सभासदहरूले शपथ नलिएमा, तथा उसले समानुपातिक अन्तर्गत सदस्यहरू मनोनीत नगरेमा पहिलो दिनदेखि नै संवैधानिक संकट खडा हुनेछ, जसलाई थुप्रै चोटी नियम, कानून, संविधान र नैतिक मर्यादा मिच्दै आएका राष्ट्रपति रामवरण यादवले समेत सम्बोधन गर्नसक्ने छैनन्।
संविधान लेखनमा(पहिलो पल्ट) राजसंस्था, पुराना सत्ताका समर्थक र परम्परावादी शक्तिहरूलाई मात्र हैन प्रक्रिया र विधिलाई मिच्न नहुने भन्नेहरूलाई समेत बाहिर राखियो। ती सबै समूह अहिले बढी संगठित छन् र राष्ट्र र राष्ट्रियता, प्रजातन्त्रको मान्यतामा अरु सघनरुपमा सहकार्य गरिरहेका छन्। यसपल्टको निर्वाचनमा नेकपा–माओवादी र उसको नेतृत्वको ३२ दललाई बाहिर राखियो। एनेकपा र निर्वाचनमा पराजित मधेशी र अन्य दलहरू संविधान सभाबाट बाहिर रहेमा प्रक्रियाबाट बाहिर राखिएका र बाहिर रहेका अरुको आकार संविधानसभामा हुनेहरूको भन्दा ठूलो हुनेछ।
निर्वाचनमा जसरी भए पनि त्यसले मुलुकमा शान्ति र प्रजातन्त्र स्थापित गर्ने छ भन्ने मान्यता राख्ने अनि जातीयतामा आधारित राज्य पुनर्संरचनामा मौलिक र नैतिक समर्थन दिने अन्तर्राष्ट्रिय जमात निर्वाचन परिणामबाट पराजित देखिए पनि खण्डित सदनलाई सिंढी बनाएर आफ्नो उपस्थिति नेपालमा मजबूत बनाउने दाउमा लाग्ने छ। भारत ‘संविधान निर्माणमा जस्तोसुकै पनि भूमिका खेल्न’ तयार हुने छ। चीनले त्यसो नभने पनि आफ्नो उपस्थिति र आदर भारतको तुलनामा निकै बढाउने प्रयासमा रहने छ। चर्च र अरु पश्चिमी शक्तिहरू आ–आफना अल्प तथा दीर्घकालीन एजेण्डाका साथ प्रस्तुत हुनेछन्। नजिकका केही शक्ति पराजित शक्तिहरूलाई राष्ट्रपति तथा प्रधानमन्त्रीको जागिर ‘अफर’ गर्दै माओवादीलाई गँड्यौला खुवाउने दाउमा रहने छ, बल्छीमा अड्काउने दाउमा।
अथवा नेपाली जनताको जनादेशलाई दुषित गर्दै मुलुकको ‘माइक्रो म्यानेजमेन्ट’ विदेशी चाहना बन्ने छ। त्यसको अर्थ थप अराजकता र अनिश्चित हुनेछ। अनि निर्वाचित अधिकाशं व्यक्ति र नेताहरू उनीहरूले हासिल गरेका आर्थिक तथा अन्य सहयोगका लागि कृतज्ञ रही विदेशीहरूलाई ‘लक्ष्मण रेखा’ नकाट्न आग्रह गर्न चाहने छैनन्।
संक्षेपमा, जनादेशसँगको खेलवाड सत्ताको दाउमा प्रवेश गर्ने नव–सकुनीहरूको प्रिय मनोरञ्जन हुनेछ अबका केही दिनमा। त्यसैले मत दिएर मात्र आफ्नो दायित्व पुरा भएको र सार्वभौमसत्ता सुरक्षित रहेको सोच्नु अलि हतार हुनेछ नेपाली जनताले। आउने केही दिन राष्ट्रिय एजेन्डा तय गर्न, मुलुकको सार्वभौमसत्ता बनाउन उनीहरूको सक्रिय भूमिका अपेक्षित र अपरिहार्य छ।

१२ मंसिर २०७०, बुधबार ०२:०८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

मालेका महासचिव मैनालीको दुर्घटनबारे छानबिन गर्न कार्यदल

काठमाडौँ, १६ फाल्गुण । नेकपा (माले)ले पार्टी महासचिव सिपी मैनाली सवार कार दुर्घटनाबारे छानविन गर्न कार्यदल बनाएको छ । शुक्रबार..

अडियो बाहिर ल्याउने मिश्रविरुद्द बाँस्कोटाले हाले मुद्दा

काठमाडौँ, १६ फाल्गुण । निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आफूले कमिसन माग गरेको अडियो..

प्रचण्ड भन्छन्, ‘राष्ट्रिय सभामा वामदेव, अर्थमन्त्रीमा खतिवडाकै निरन्तरता’

चितवन, १६ फाल्गुण । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले..

पूर्वराज्यमन्त्री साहलाई ४ वर्ष कैद सजाय

धनुषा, १६ फाल्गुण । पूर्वराज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध विशेष अदालतले अन्तिम फैसला सुनाएको छ । अदालतले साह..

मालेका महासचिव मैनाली सवार कार दुर्घटना

बर्दिबास, १५ फाल्गुण । नेकपा (माले)का महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटनामा परेको छ । बिहीबार दिउँसो झापाबाट..