युरोपवासी नेपालीको कथा–व्यथा बुझेपछि…:: देवप्रकाश त्रिपाठी

नेपालीहरूको पुराना पुस्ताले जीवनमा शान्ति र सुखभोग गर्न पाएनन्, तिनले मृत्युपछिको जीवनमा सुख भोग्ने सपना देख्दै मृत्युवरण गरे । स्वर्गमा तृप्त होइने आशा गर्दै हाम्रा पुर्खाले अतृप्त जीवन गुजारेका हुन् । तर, वर्तमान पुस्ता मरेपछिको सुखमा विश्वास राख्दैन, यही जीवनमा जहाँ सुख–सुविधा छ त्यहीँ आँखा र मन पुगेको छ नयाँ पुस्ताको । त्यसैले फिलिपिन्स, बंगलादेश, श्रीलङ्का पाकिस्तान, भारत, नेपाल, पूर्वीयुरोप तथा दक्षिण अमेरिकी र अफ्रिकी मुलुकका गरिब तथा निम्नमध्यमवर्गीय परिवारका युवाको सपना युरोप र अमेरिका बन्ने गरेको छ । पुरानो पुस्ताले स्वर्गको जपना गर्दै वास्तविकता नारकीय जीवन बिताएको नियति भोग्नु नपरोस् भन्नेमा नयाँ पुस्ता अत्यन्त सचेत छ । स्वदेशमा सुखद जीवन भोग्न पाइन्न भने पराई मुलुकमै भए पनि आफ्नो भविष्य सुरक्षित तुल्याइनुपर्छ भन्ने सोचले नेपाली युवालाई वशीभूत ग-यो र परिणामस्वरूप आज लाखौँ नेपाली पराईभूमिमा सुरक्षित भविष्य खोज्दै भड्किरहेका छन् । खाडी मुलुकदेखि मलेसिया, जापान र कोरियासम्म फैलिएका नेपालीको कथा–व्यथा बेग्लै छन्, युरोपका डेढ दर्जन मुलुकमा भविष्य खोज्न आइपुगेका नेपालीका सङ्घर्षका कथा पनि कम पीडादायी छैनन् । युरोप आउनुअघि स्वदेशमा भोग्नुपरेको पीडा, युरोप प्रवेश गर्ने क्रममा पाएको सास्ती र युरोप प्रवेशपछि आफूलाई स्थापित गर्ने क्रममा नेपाली युवाले गर्नुपरेका सङ्घर्षलाई लिपिबद्ध गर्ने हो भने हरेक युवाको नाममा बेग्लाबेग्लै रामायण र महाभारत बन्दछन् । दुई दशकअघिसम्म युरोपमा नेपालीको उपस्थिति अत्यन्त न्यून मात्र थियो । ०४६ को राजनीतिक परिवर्तनपछि नेपालीको युरोप प्रवेशले गति लिएको देखिन्छ भने जनयुद्धको नाममा माओवादीले हिंसात्मक युद्ध सुरु गरेपछि विदेशिने क्रममा अधिक तीव्रता आएको छ, जसको गति अहिले पनि त्यति नै छ जति जति द्वन्द्वकालमा थियो । युरोप आउनेबित्तिकै शरणार्थी जीवन बिताउने र कैयन रात सडकपेटीमै जीवन बिताउन बाध्य नेपालीको सङ्ख्या पनि सानो छैन । टेक्ने–समाउने कोही कहीँ थिएनन्, ‘सोर्सफोर्स’ र भनसुन चल्ने स्थिति यहाँ हुँदै होइन, धन मात्र बोल्ने युरोपमा बिनाधनका नेपाली जो आज केही हदसम्म स्थापित भएका छन्, तिनले गरेको उन्नति–प्रगतिमा देश, राज्य, राजनीतिक दल र नेपाली समाजको कुनै योगदान छैन । योगदान कसैको छ भने तिनको आफ्नै सङ्घर्ष र युरोपको कानुनी व्यवस्थाको मात्र छ । जर्मनी र पोर्चुगलका गल्ली–गल्लीमा भौँतारिएर हिँडिरहँदा नेपालका राजनीतिक दल र राज्य स्वयम् पनि तिनको पीडामा बेसरोकार एवम् असंवेदनशील थियो । ती युवाको उद्धार र सहयोगका निम्ति दलका नेता र सरकारले कुनै प्रकारको तत्परता लिएको सुन्न–देख्न पाइएको छैन । तर, तिनै राजनीतिकर्मी युरोपमा बस्ने नेपालीलाई आफ्नो ठूलो स्रोत ठान्दारहेछन् र बारम्बार सहयोगको याचना गरिरहँदा रहेछन् । झन् अहिले त नेपालमा चुनावको मेला लागेको छ, चुनावी मेलामा आ–आफ्ना ‘स्टल’ सजाउन आवश्यक पर्ने रकमका लागि नेपालबाट हजारौँ राजनीतिकर्मीको हात युरोपमा फैलिरहेका छन् । दलका नेता तथा पार्टीका उम्मेदवारहरूको नातेदार, आफन्त र साथीभाइमार्फत रकम असुलीका निम्ति यहाँ जोडदार ढङ्गले हात फैलाइरहेको देख्दा देख्नेहरू नै लज्जित हुनुपर्ने अवस्था छ ।
राजनीतिकर्मी मात्र होइन कलाकर्मीको चिलदृष्टि पनि यिनै ‘दुःखी’ नेपालीमाथि आएर अडिरहेको रहेछ । आउने–जाने टिकटदेखि बसोबाससम्मको व्यवस्था निःशुल्क गर्न लगाएर आफ्नो कलाकारिता प्रस्तुत गरेबापतको बेग्लै शुल्क असुल गरेर कलाकर्मीहरू आफ्नो जीवन रङ्गीन बनाउने गर्दारहेछन् । यसरी कलाकर्मीहरूले मातृभूमिबाट टाढा रहेका नेपालीलाई आफैँ उपस्थित भएर कुनै न कुनै किसिमले मनोरञ्जन दिलाउने र त्यसबापत केही पारिश्रमिक प्राप्त गर्ने कुरालाई स्वाभाविक र उपयुक्त मान्न पनि सकिएला, पछिल्लो चरणमा नेपालको कुनै आकर्षक प्रोजेक्ट देखाएर लगानीका निम्ति फकाइफुल्याई गर्ने रोग पनि यहाँ भित्रिएको छ, जसलाई स्वाभाविक मान्न सकिने अवस्था देखिन्न । नेपालमा आफूलाई ठूला उद्यमी, व्यापारी र धनाढ्य व्यक्तिका रूपमा परिचय दिने कतिपय व्यक्तिहरू युरोप आउने र यहाँ सङ्घर्षरत नेपाली युवालाई ‘मायाजालमा पार्ने’ क्रम बढेको छ । कोही जलविद्युत्, कोही सुरुङ्गमार्ग त कोही हवाईमार्गका कागजी आयोजना प्रस्तुत गर्ने र युरोपमा व्यवसाय गरी बसेका नेपालीलाई टुँडिखेलमा औषधि बेच्नेले झैं शब्दजालमा पारेर काम फत्ते गर्ने कार्यमा नेपालका ‘धनी’ व्यापारी सक्रिय भएको टीठलाग्दो दृश्य यहाँ यत्रतत्र देखिन थालेको छ । हाल इङ्ग्ल्यान्डमा ‘असी हजार गोर्खा’बाहेक सत्तरी हजार अन्य नेपाली बसोबास गर्ने गरेको बताइन्छ भने स्वीटजरल्यान्डमा पाँच सय, फ्रान्समा तीन हजार, बेल्जियममा आठ हजार, स्पेनमा पाँच हजार, पोर्चुगलमा पाँच हजार, जर्मनीमा ६ हजार, डेनमार्कमा दुई हजार, नर्वेमा दुई हजार, स्वीडेनमा एक हजार र इटलीमा तीन हजार बढी नेपाली युवा रहेको अनुमान युरोपवासी नेपालीको छ । यीमध्ये केहीले आफूलाई श्रमिकको हैसियतबाट माथि उठाएर व्यवसायीको पहिचान बनाउने सफलता पाएका भए पनि अधिकांशले अहिले पनि मजदुरको जिन्दगी बाँच्नुपरेको छ । यिनै नेपालीले आफ्नो पसिनाबाट गरेको कमाइ ‘उपयोग’ गर्न केही नेपाली कृत्रिम धनाढ्यहरू युरोपको आकाशमा गिद्धझैं घुम्न थालेपछि कतै यिनीहरू लुटिने हुन् कि भन्ने आशङ्का बढेको छ ।
युरोपमा हाल बसोबास गरिरहेका नेपालीको वर्तमानमा सुधार भएको भए पनि पृष्ठभूमिमा समान पीडा र व्यथा देखिन्छ । जो जुन वैचारिक–राजनीतिक पृष्ठभूमिका भए पनि तिनलाई युरोपमा स्थापित हुन पार्टीविशेषले कुनै प्रकारको सहयोग भएको पनि पाइन्न । तथापि युरोपवासी नेपालीबीच राजनीतिक एवम् वैचारिक तनाव, विवाद र मनमुटाव नेपालमा भन्दा अधिक देखिन्छ । यस्ता व्यर्थ विवाद र तनावबाट नेपालीले आफूहरूलाई अलग राख्न सके भने युरोपवासी नेपालीले अझै प्रगति गर्ने विश्वास गर्न सकिन्छ । कुनै आङकाजी भन्नेले युरोपस्थित नेपाली समुदायमा रोपेको विषवृक्ष हुर्कन दिनुहुन्न भन्ने चेत यहाँका नेपालीले राखिसकेका हुनाले निश्चित समयमा नेपाली समुदायमा थप स्वच्छता विकास हुने अपेक्षा गरिएको छ । तर, वैचारिक विभिन्नताको व्यवस्थापन गर्नेतर्फको सचेतनता पलाउन नसक्दा त्यसले पार्ने दुष्प्रभावको खतरा भने अझै कायम छ । विजयादशमीको शुभ–अवसरमा सबैमा सद्भाव र समुन्नतिको कामना गर्दछु ।

२४ आश्विन २०७०, बिहीबार ००:४५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

तुम्बाहाम्फेले सम्हालिन कानुनमन्त्रीको कार्यभार

काठमाडौँ, ५ फाल्गुण । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले कार्यभार सम्हालेकी छिन् ।..

भ्रमण वर्ष सफल बनाउन रामेछाप महोत्सवः संयोजक रोका

रामेछाप, ५ फाल्गुण । रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा आयोजना हुने ‘दोस्रो रामेछाप महोत्सव’को तयारी करिब सकिएको..

महरा विरुद्दको मुद्दामा फैसला भएन

काठमाडौँ, ४ फाल्गुण । निवर्तमान सभामुख कृष्ण बहादुर महराविरुद्दको बलात्कार प्रयासको मुद्दामा आइतबार पनि फैसला..

व्यक्तिले हडपेको सरकारी जग्गामा मन्त्री अर्यालले गाडीन् साइन बोर्ड

काठमाडौँ, ४ फाल्गुण । व्यक्तिले हडपेको १७ रोपनी जग्गा सरकारले फीर्ता ल्याएको छ । काठमाडौं महानगरपालिका ३१ स्थित..

चीनबाट फर्काइएका नेपालीलाई खरिपाटी लगियो

काठमाडौँ, ४ फाल्गुण । कोरोना भाइरसको उद्गमथलो चीनको वुहान शहरबाट १७५ जना नेपालीको उद्वार गरिएको छ । उनीहरु..