जनता हुनुको पीडा :: देवप्रकाश त्रिपाठी

लोकतन्त्रमा जनता बलिया मानिन्छन्, तर लोकतान्त्रिक गणतन्त्रमा जनता सर्वाधिक बलवान हुन्छन्– यो सैद्धान्तिक मान्यता हो। नेपालमा राणाहरूको निरङ्कुशतन्त्र व्यहोरेको पुस्ता अझै जीवित छ, त्यसपछि प्रजातन्त्र, निर्दलीय पञ्चायती व्यवस्था र पुनः प्रजातन्त्र हुँदै हामी लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छौँ। लोकतान्त्रिक गणतन्त्रमा जति अरू कुनै पनि तन्त्रमा जनता बलियो हुन सक्दैनन् भन्ने आममान्यता छ। तर, नेपालको सन्दर्भमा यही मान्यता पनि गलत सिद्ध हुँदै छ, पात्र र परिवेश बदलिए पनि शासक–प्रशासकहरूको प्रवृत्तिमा कुनै परिवर्तन नआउँदा सर्वसाधारण नागरिकले राणाकाल र लोकतान्त्रिक गणतन्त्रबीचको परिणामदायी अन्तर महसुस गर्न पाएका छैनन्। राणा या पञ्चायतकालमा राजा–महाराजाको मुख हेर्न नारायणहिटी या सिंहदरबार पुग्नुपर्थ्यो, अहिले गल्ली–गल्लीमा भेटिन्छन् अनेक आकार–प्रकारका राजाहरू। अपराधकर्मीलाई राजनीतिक ‘एप्रोन’ पहिर्या उँदा नेताजस्ता देखिने र नेताको पहिचानमा रहेका कैयन् व्यक्तिहरूबाट राजनीतिक ‘एप्रोन’ हटाइदिँदा ती विशुद्ध अपराधकर्मीभन्दा बढी केही नदेखिने नियति जुन हामीले व्यहोरिरहेका छौँ, यसले जनतालाई कमजोर र निरीह तुल्याउँदै लगेको छ। प्रजातन्त्रमा नागरिक अर्थात् व्यक्ति बलियो हुनुपर्ने हुन्छ, तर यहाँ विभिन्न नाम र निहुँमा खुलेका दस्ता र संस्थाहरूको बोलवाला छ। सरकारी कार्यालयमा हेर्दा हाकिमभन्दा कर्मचारी युनियन बलियो, राजनीतिक दलमा सभापति या प्रमुख नेताभन्दा गुट बलियो, सडकमा ट्राफिक प्रहरीभन्दा चालक बलिया, उद्यमी र इमानदार व्यापारीभन्दा माफियागिरी गर्नेहरू बलवान, समाजमा कानुन र प्रहरीको भन्दा गुण्डाहरूको त्रास बलियो र जहीँतहीँ बेइमानहरूकै बोलवाला भएपछि साधारण नागरिक कतिसम्म निरीह बन्दारहेछन्, सो यही लोकतान्त्रिक गणतन्त्रमा देखिँदै छ। पहुँच हुने सीमित मानिसका लागि स्वर्ग बनेको यो नेपाल भूमि सीधासादाका निम्ति नर्कतुल्य रहेको यथार्थबोध हुन तिनकै जीवनसँग साक्षात्कार गर्न सक्नुपर्छ। यही दशैँको पूर्वसन्ध्यामा सर्वसाधारणले व्यहोर्नुपरेको हैरानीलाई मात्र दृष्टिगत गरियो भने पनि जनता हुनुको पीडा अनुभूत गर्न सकिन्छ। धनवालहरू आ–आफ्नै सवारीसाधनको प्रयोग गरी गन्तव्यमा पुग्छन् र दशैँ मनाउँछन्, पहुँचवालाहरूलाई विमान या बसको टिकट घरमै आइपुग्दा तिनलाई पनि कुनै समस्या हुँदैन। तर, जसको पहुँच मुस्किलले टिकट काउन्टरसम्म मात्र हुन्छ, तिनले यतिबेला व्यहोर्नुपरेको सास्तीले दर्शाउँछ जनता हुनुको पीडा कतिसम्म छ भनेर।
नेपालीहरूको सबभन्दा ठूलो चाड दशैं, धेरै नेपाली दशैंका निम्ति बाँच्ने गर्छन्। दशैं आएपछि आफन्तजनसँग भेटघाट, दशैं आएपछि मनमाफिकको भोजन र पहिरन आमनेपालीको चाहना हो, त्यसैले दशैंमा मानिसको ‘मोबिलिटी’ अधिक हुन्छ। जनताको यही चाहनालाई दृष्टिगत गरी राज्यले आवागमनलाई सहज र सरल तुल्याइदिनुपर्ने हो। तर, यातायात व्यवसायी, केही ट्राफिक प्रहरी र दलालहरूको मिलेमतोमा टिकट कन्ट्रोल हुन्छ र तीन गुणासम्म रकम तिरेर नागरिक ब्ल्याकमा टिकट खरिद गर्न विवश हुन्छन्। राजधानी काठमाडौंबाट दशैंका लागि बाहिर जाने मानिसको सङ्ख्या बाह्रदेखि अठार लाखसम्म हुने अनुमान गरिएको छ। बाह्र लाख मानिसमध्ये ६ लाखभन्दा बढी तीनगुणा मूल्य तिरेर बसको टिकट खरिद गर्न विवश छन्। यसबाट हुने करोडौँको अनुचित आम्दानीमा केही ट्राफिक प्रहरी, बस व्यवसायी र दलालहरूको सेयर रहने गर्दछ। पहुँचवाला र शक्तिशाली केही मानिसलाई घरमै टिकट पुर्याबइदिएर जनसाधारणलाई दिइएको हैरानी देख्दा लाग्छ– नेपालमा जनता हुनुको पीडा कति हुन्छ। दशैं एउटा दृष्टान्त हो, यस्ता अनेकन दृष्टान्त सामाजिक जीवनको हरेक क्षेत्रमा देख्न पाइन्छ। व्यवसाय गर्नेहरूले राज्यलाई कर बुझाउन जाँदा सास्ती पाउँछन्– करकै कर्मचारीद्वारा लुटिन्छन्। किसान र गरिब नुन–तेलको जोहो गर्ने क्रममा ठगिन्छन्, तरकारी उत्पादक किसान आफ्नो श्रमको मूल्य पाउनबाट वञ्चित छन् तर बसीबसी त्यही तरकारीको व्यापार गर्नेहरू तथा किसान र व्यापारीबीचका दलालहरू रातारात करोडपति बनिरहेछन्। प्रशासनमा काम पर्दा प्रशासकहरूबाट चुसिने जनता न्यायालयमा पुग्दा न्यायाकर्मीबाटै ठगिन्छन्। यसर्थमा भन्न सकिन्छ– जनता जहाँतहीँ ठगिएका छन्, ठगहरूका हातमा राज्य प्रशासन र कानुन छ। जनता आफ्नै मातृभूमिमा पीडादायी जीवन बाँच्न विवश छन्, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र र यस्तै आदि तन्त्र जनताका नाममा स्थापित गरिएका हुन्, तर तिनले आफ्नो जीवनमा सकारात्मक परिवर्तनको कुनै आभास गर्न पाएका छैनन्। त्यसैले जनतासँग राज्यको दूरी आकाश र धर्ती जत्तिकै फराकिलो हुन पुगेको छ, राज्यसँग दूरी बढ्दा राजनीतिक र राजनीतिकर्मीहरूसँगको जनदूरी पनि त्यत्तिकै बढेको छ।
पछिल्लो राजनीतिक परिवर्तनले जनतालाई सबभन्दा बढी आशावादी तुल्याएको थियो। नयाँ नेपालको सपना राजनीतिकर्मीहरूले देखाइरहँदा जनताले आफ्ना पुराना दुःखको अन्त्य भई सुखद् जीवन आरम्भ हुने सपना देखेका थिए। तर, नयाँ नेपालको सपना देखाउनेहरू टुँडिखेलमा मान्छे भेला गरेर औषधि बेच्ने या जादु देखाउने चटकेहरूभन्दा किञ्चित भिन्न देखिएनन्। परिवर्तनका सात वर्षभित्र सात सयभन्दा बढी बैठक र सहमति नेताहरूका बीचमा भए। सहमति र सम्झौताका सयौँ बुँदा अभिलेखमा छन्, तर त्यसमा जनतासँग प्रत्यक्ष सरोकार राख्ने एउटै बुँदा छैनन्, छन् त केवल सत्ता र राजनीतिसँग मात्र सम्बन्धित छन्, भागवण्डा गरेर टुङ्ग्याइएका छन्। जनता सर्वाधिक बलवान हुने लोकतान्त्रिक गणतन्त्रमा समेत आफ्नो भविष्य देख्न नसकेपछि दिनहुँ पाँच सय बढी नेपाली युवा स्वदेशबाट पलायन भइरहेका छन्, विदेश जान नसक्नेहरू यहीँ नारकीय जीवन जिउँदै छन्। राजनीति विशुद्ध सेवा हो र जनता एवम् देशको सेवाबाहेक राजनीतिको अर्को कुनै गन्तव्य हुँदैन भन्ने विश्वव्यापी मान्यतालाई नेपाली राजनीतिकर्मीले यसरी तोडिदिएका छन् कि जनतामा आशा पुनर्स्थापनाका सम्पूर्ण बाटा बन्द हुन पुगेका छन्। राजनीतिकर्मीहरू आत्मकेन्द्रित भइदिँदा उनीहरूको देश र जनतासँगको साइनो पूरापूर टुटेको छ, जनता अब फेरि विद्रोह गर्नै नसक्ने गरी थलिएका छन्। आफ्नै नाममा भएको परिवर्तनको लाभ हासिल गर्न असमर्थ भएपछि जनता यसरी निरीह बन्न पुगेका हुन्। देश र राज्यप्रतिको भरोसा टुटेपछि प्रश्न उठेको छ– के अब देश र नेपालको राज्यले आफ्नै अस्तित्व पनि लामो समय जोगाइराख्न सक्ला?

१६ आश्विन २०७०, बुधबार २१:४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

विशेष दूत बनाएर माधब नेपाललाई भारत पठाउने कुरा हल्ला मात्रै

काठमाडौँ, २६ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतसँगको सीमा विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले..

नेपाल छिर्‍यो पश्चिमी वायु, भारी हिमपातको सम्भावना

काठमाडौँ, २६ मंसिर । बुधबार साँझ पश्चिमबाट न्युन चापिय प्रणाली नेपाल प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका..

बुधबारबाट मौसम बदली, यस्तो छ ३ दिनको अनुमान

काठमाडौँ, २५ मंसिर । जल तथा मौसम विज्ञान विभागले आजबाट नेपालको मौसम बदली हुने जनाएको छ । विभागका अनुसार हाल..

किन ओरालो लाग्दैछ सुनको भाउ ?

निरोज कुमार थापा, काठमाडौँ, २३ मंसिर । गत बिहिबारदेखी सुन तथा चाँदीको भाउमा ओरालो लाग्ने क्रम सुरु भएको छ । गत..

१७ दिनपछि ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन् । नयाँ मन्त्रीलाई बधाई..