एकपटकको नेपाली सधैंको नेपाली :: रामप्रताप थापा (संरक्षक गैर आवासीय नेपाली संघ)

नेपालबाट विदेश जाने क्रम रोकिएको छैन । विभिन्न देशमा पुगेका नेपाली संगठित हुने क्रम पनि बढेको छ । यो विदेशप्रतिको आकर्षण होइन, बाध्यता हो । साथै उनीहरुले विदेशी नागरिकता लिनु भनेको उनीहरुले त्यो देशप्रति गरेको सेवा र बौद्धिक क्षमताको कदर हो । ती देशले उनीहरुलाई निरन्तर रूपमा त्यहीँ राख्नका लागि पनि नागरिकता दिएका हुन् ।
ज्ञानआर्जन, रोजगारलगायतका अवसरको खोजीमा विदेश जानुपर्ने बाध्यता पनि छ । तर, विदेशी गए पनि कसैले आफ्नो देशलाई बिर्संदैन । आर्जित ज्ञान, सीप र पूँजी कसरी जन्मभूमिमा लान सकिन्छ रु अधिकांशका मनमा यही प्रश्न सधैं उठिरहेको हुन्छ । यसको प्रमाण यहाँ आइरहेको ठूलो रकमको रेमिट्यान्स पनि हो । पैसा मात्र होइन ज्ञान, सीप र नयाँ-नयाँ व्यवसायसहित नेपाल फर्किने नेपालीहरूको संख्या बिस्तारै बढिरहेको छ । विदेशमा धन कमाएका नेपालीले सञ्चार, जलविद्युत्, बैंक तथा वित्तीय, पर्यटनजस्ता क्षेत्रमा अर्बौं लगानी गरेका उदाहरण छन् । विदेशमा लगानीका अवसर नभएर होइन, देशको मायाले पनि पुँजी, ज्ञान र सीप यहाँ आएको हो ।
चीनमा पहिले लगानी भित्रयाउने आप्रवासी चिनियाँहरू नै थिए । भारतको बैंगलोरलाई सूचनाक्रान्तिको नमूनासरह बनाउने विदेशमा ज्ञान, सीप र धन कमाएका भारतीयहरू नै हुन् । जापानको अर्थतन्त्रमा पनि विदेशबाट सिकेर आउनेको योगदान निकै ठूलो छ । थुप्रै देशमा यस्ता उदाहरण छन् । यदि सन्सारभरि फैलिएका नेपालीहरुको सीप र पूँजीलाई परिचालन गर्ने हो भने नेपाल पनि केही वर्षभित्रै यस्तै उदाहरण बन्न सक्छ ।
सन् १९७० दशकयता विश्वमा भएको राजनीतिक परिवर्तन र यातायातको सुगमताले आप्रवासीको संख्या बढेको छ । यसभन्दा अघि पनि देश-विदेश जाने प्रचलन नभएको होइन । तर, विशेष गरी सन् १९९० पछि उच्च शिक्षा तथा रोजगारीको अवसर खोज्दै विदेश जाने नेपालीहरुको संख्या ह्वात्तै बढेको देखिन्छ । यसपछि विकसित-अल्पविकसित देशले अप्रवासीका लागि नीतिहरू बनाउन थाले । जसअनुसार विश्वका झन्डै १ सय ५० देशले द्वैध नागरिकतालाई पहिलो प्राथमिकतामा राखेका छन् । विगत एक दशकयता नेपालमा पनि विदेशमा बस्ने नेपालीप्रति देशको के दायित्व हुन्छ भन्ने बहस भइरहेको छ । यस्ता बहसमा विदेशीमा बस्ने अधिकांश नेपाली देशभित्र आर्थिक विकास र सामाजिक क्षेत्रमा ठूलो योगदान दिन सक्छन् भन्नेमा स्पष्ट देखिन्छन् ।
नयाँ बन्ने संविधानमा नेपाली नागरिकता निरन्तरताको व्यवस्था हुन सक्यो भने यसबाट विदेशमा बस्ने नेपालीलाई आफ्नो जन्मभूमिमा सीप, ज्ञान र धन लिएर आउने आधार तयार हुन्छ । यसले जहाँ रहे पनि मेरो देश नेपाल हो, त्यहीँ केही गर्छु भन्ने महसुस गराइरहन्छ । यो एउटा गर्व गर्ने विषय पनि हो । विदेशबाट आफू आउने मात्र होइन, पर्यटन प्रवर्द्धन, निकासी व्यापार विस्तारलगायत धेरै क्षेत्रमा आप्रवासी नेपाली सक्रिय हुन सक्छन् । देशको सद्भावना दूतका रूपमा काम गर्न सक्छन् । साथै, वैधानिक रूपमा त्यहाँका सरकार र नागरिकसँग नेपालको पक्षमा बहुआयामिक लविङ पनि गर्न सक्छन् । यसले नेपाललाई फाइदाबाहेक कहीँ पनि बेफाइदा हुँदैन ।
नेपालमा तोकिएको मिति र प्रकृया अनुसार नै संविधान निर्माण भईदिएको भए हामीले नागरिकताको बिषयमा यति सम्म हण्डर र दुःख भोग्नु पर्दैन थियो । किनभने तत्कालिन संविधानसभाका सदस्यहरु, देखि प्रमुख राजनीतिक दलका शिर्षसम्म गैरआवासीय नेपालीहरुको लागि नागरिकताको ब्यवस्था गर्न सकारात्मक भईसकेका थिए ।
तर एनआरएनलाई नेपाली नागरिकता दिनै हुन्न भन्ने मात्रै होइन बिदेश गएका नेपाली अव नेपालीमा फर्किनु पनि कुनै आवस्यकता छैन भन्ने सम्ममा तर्कहरु यदाकदा सुनिदै आएकाछन् । हाम्रो भनाई कुनै पनि नेपालीले विदेशी नागरिकता प्राप्त गरेमा नीजको नेपाली नागरिकता स्वत खारेज हुने वा त्याग्नु पर्ने प्रावधान झिकि दिने वा बिदेशी नागरीकता लिदा नेपाली नागरिकता त्याग गर्नुपर्ने बाध्यता नरहने भन्ने सुझाव तत्कालिन संविधानसभाका सदस्य, दलका नेता र नेपाल सरकारलाई दिइएको हो ।
तर बास्तविकतालाई बुझ्ने हो भने हाम्रो माग दोहोरो नागरिकता थिएन र होइन । सत्यता के हो भने यो दोहोरो नागरिकता अर्थात नेपाली नागरिकता कायम राख्ने माग युरोप अमेरीकामा बसोबास गरिरहेका नेपालीको मात्र नभई सम्पूर्ण गैरआवासीय नेपालीको संयुक्त चाहना र माग हो । हामी बिदेशमा रहदा पनि नेपाली भएर बस्न पाउने अनि हाम्रो देश नेपाल हो भन्ने गौरव गरेर देश जान पाइयोस भन्ने हो । न त यो हाम्रो पुस्ताको लागि मात्र अत्यन्त आवस्यक कुरा हो । यो त हाम्रो पुस्तौ पुस्ता सन्ततीहरुको लागि हो भन्ने कुरामा बिश्वस्त बनाउन हामीले बिभिन्न किशिमका छलफल र अन्तकृया मात्रै होइन सबैजसो शिर्ष नेता र सरकारी अधिकारीहरुलाई व्यक्तिगत रुपमा भेटेर पनि भन्यौं। बिदेशमा आउने हरेक नेतालाई गैरआवासीय नेपालीसाथीहरुले पनि बिभिन्न किशिमले भनिनै रहनु भयो । फलस्वरुप हामीले कार्यदलको तर्फबाट राजनीतिक दल देखि भोलि संविधान लेख्ने हैसियतमा रहेका नेता देखि दलहरुसम्मलाई नागरिकता नहुदाको अवस्था र दिदा नेपालले पाउने फाईदाको बारेमा एक हद सम्म ‘कन्भिन्स’ गर्न सक्यौं । तर कर्मचारी प्रशासन र केही बुद्धिजीवीहरुले यो बिषयलाई सहजरुपले लिन सकिरहेको देखिदैन ।
नागरिकता शब्दसँग नागरिकका नागरिक अधिकार बिभिन्न रुपले गासिएका हुन्छन् । त्यसैले अहिलेको गैरआवासीय नेपाली सम्बन्धी ऐनले गरेको परिचयपत्रले गैरआवासीय नेपालीको आकांक्षा पुरा गर्दैन ।
नेपालीसग कानुनी रुपमा उसको सम्बन्धको आधारलाई चुस्तदुरुस्त राखिरहनको लागि गैरआवासीय नेपाली निश्चित समयमा नेपाल आउनु अनिवार्य हुनसक्छ जसले नेपालको अर्थतन्त्रको मेरुदण्ड पर्यटनलाई परिणाममुखी सहयोग हुन्छ । जबकी एक व्यक्ति नेपाल आएर र्फकदा कम्तीमा दुई, तीन लाखसम्म खर्च गरेको हुन्छ जुन पर्यटन विकासमा सकारात्मक उपलब्धी हो । त्यसको लागि, राज्यले गैरआवासीय नेपालीहरू लिन होइन नेपाललाई दिन आइरहेका छन् भन्ने सोचको विकास गरेर उनीहरूको लागि ढोका खुल्ला गर्ने अवस्थामा पुग्नुको विकल्प छैन ।
नेपाल राष्ट्रलाई एनआरएनहरुको नागरिकता कायमनै राख्दा कुनै हानी हुदैन । नेपालको बिकासमा आर्थिक र बौद्धिक सहयोग गर्नका लागि स्थापित संघले नेपालसग माग्ने होइन नेपाललाई दिने कुरा हो । त्यसैले हामीले माग्ने भनेको भइरहेको नेपाली नागरिकता छोड्नु नपरोस् भन्ने मात्रै हो ।
आज बिश्वबैक लगायत अन्तरष्ट्रिय संघसंस्थाहरुले गैरआवासीय नागरिकको लगानीको अत्यन्त महत्वपूर्ण स्थान हुने कुराको पुष्टि गरेका छन् । दोहोरो नागरिकता प्रवधानले नेपाली संस्कृति र समाजसग बिदेशमा आफ्ना आमा बुबा मार्फत मात्रै सम्पर्कमा आएका दोस्रो र तेस्रो पुस्ताको नेपालीहरुलाई नेपाल भित्राउन हौसला दिने छ । संसारमा पुगेर आफ्नो पौरखमा धन, बिद्या, बुद्धि आर्जन गरिरहेका नेपाली र तिनका सन्तति नेपाल प्रति बफादार भइरहन सकेमा नेपाल राष्ट्र कमजोर होइन समृद्ध बन्छ । त्यसका लागि नेपालको नागरिकताले एउटा जीवन्त तन्तुको काम गर्दछ ।
तीव्र गतिले आर्थिक वृद्धि गरिरहेका दुई छिमेकी मुलुकहरुबीच राष्ट्रियताको जगेर्ना गर्दै आर्थिक समृद्धिको बाटोमा अघि बढन देशभित्र वा बाहिर जहाँ बसेका भएपनि सबै नेपालीलाई एकजुट गर्नु समयको आवश्यकता भएको छ। बीपी कोइराला भन्नुहुन्थ्यो, राष्ट्रियता भनेको भूगोलमात्र होइन, जनता हुन्। आज हामीले बिर्सन नहुने कुरा के हुन् भने नेपाली जनता नेपाल भित्रमात्र सीमित छैनन्, आफ्नो पौरख देखाउंदै संसारभरि फैलिएर रहेका छन्। देशभित्र बसेका हुन् वा विदेशमा सबै नेपालीले हातेमालो गरी अगाडि बढेमा मात्र एउटा सक्षम र समृद्ध नेपालको निर्माण संभव छ। एक्काइसौं शताब्दीमा पनि आफ्नै माटोमा जन्मिएका आफ्नै दाजुभाइ दिदीबहिनीहरुलाई बाहेक गरेर नेपालको विकास सम्भव छैन। त्यसैले आशा गरौं, एक पटकको नेपाली सँधैको नेपाली भन्ने हाम्रो अभियानलाई दोश्रो संविधानसभाको चुनावमा भाग लिन लागिरहेका राजनीतिक दलहरुले मात्रै हैन, नागरिक समाज, बुद्धिजीवी, व्यवसायी र सन्चार क्षेत्र सबैको समर्थन प्राप्त हुनेछ। त्यसो त सकारात्मक सुझाव र स्वस्थ आलोचनालाई गैरआवासीय नेपालीहरुले सँधै स्वागत गरेकै छन्।
गैरआवासीय नेपाली संघका संरक्षक थापा संघद्वारा गठिन नेपाली नागरिकताको निरन्तरता संबन्धी कार्यदलका संयोजक पनि हुन्।

१० आश्विन २०७०, बिहीबार २३:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

विशेष दूत बनाएर माधब नेपाललाई भारत पठाउने कुरा हल्ला मात्रै

काठमाडौँ, २६ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतसँगको सीमा विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले..

नेपाल छिर्‍यो पश्चिमी वायु, भारी हिमपातको सम्भावना

काठमाडौँ, २६ मंसिर । बुधबार साँझ पश्चिमबाट न्युन चापिय प्रणाली नेपाल प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका..

बुधबारबाट मौसम बदली, यस्तो छ ३ दिनको अनुमान

काठमाडौँ, २५ मंसिर । जल तथा मौसम विज्ञान विभागले आजबाट नेपालको मौसम बदली हुने जनाएको छ । विभागका अनुसार हाल..

किन ओरालो लाग्दैछ सुनको भाउ ?

निरोज कुमार थापा, काठमाडौँ, २३ मंसिर । गत बिहिबारदेखी सुन तथा चाँदीको भाउमा ओरालो लाग्ने क्रम सुरु भएको छ । गत..

१७ दिनपछि ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन् । नयाँ मन्त्रीलाई बधाई..