चुनावमा कांग्रेस :: विपुल पोख्रेल

नेपाल अहिले निर्वाचनको मुखमा रहेको छ । चुनाव हुन्छ की हुदैन भन्ने आशंकामा अब परिवर्तन भएको छ । निर्वाचन नहुने कुरामा अब कमैलाई शंका छ । बरु निर्वाचनलाई बिथोल्ने बताइरहेका शक्तिहरुको असर कत्तिको हुन्छ भन्ने अनुमान तर्फ सबैको ध्यान केन्द्रित भएको पाइएको छ । यस्तो अनुमानका बीचमा दलहरुले आफ्नो चुनावी गृहकार्यलाई जोड दिइरहेका छन् । आफू ठूलो दल बन्ने लक्ष्यका साथ दलहरुले आफ्नो गृहकार्यलाई तिब्रता दिइरहेका छन् ।
यसै क्रममा नेपाली कांग्रेसका गृहकार्य पनि आफूलाई संबिधानसभाको सबै भन्दा ठूलो दलका रुपमा स्थापित गर्ने तर्फ केन्द्रित देखिएको छ । अघिल्लो संबिधानसभाबाट संबिधान बन्न नसक्नुको एउटा कारण आफ्नो उपस्थिती त्यहाँ कम रहनु हो भन्ने निश्कर्षमा पुगेको कांग्रेसले माओवादीका कारण संबिधान नबनेको र फेरी पनि माओवादी संबिधानसभामा यस्तै हैसीयतमा आए फेरी पनि संबिधान नबने निश्कर्ष कांग्रेसको छ । त्रीवेणीमा प्रस्तुत र काठमाण्डौमा पुनरलेखन भएर केन्द्रिय समितिबाट अनुमोदित पार्टीको प्रतिबेदनले यो निश्कर्षलाई स्पष्टताका साथ राखेको छ । अहिले हुन थालेको संबिधानसभाको निर्वाचन पछी बन्ने संबिधानसभाले संबिधान बनाउने कुराको ग्यारेण्टी गर्ने सन्दर्भमा कांग्रेसले जनतालाई आश्वास्त पार्नका लागि यो आफ्नो निश्कर्षका साथ जनतामा जाँदै छ । एउटा सत्य के हो भने, यसपटक भोट माग्न जाने नेताहरुलाई सामान्य नागरिक भनेर दलका नेताहरुले परिभाषित गर्ने नागरिकहरुले पनि प्रस्ट रुपमा ‘अघिल्लो संबिधानसभाबाट किन संबिधान बनेन?’ भनेर सोध्ने छन् । यो कुराको जवाफ दिनका लागि कांग्रेसले आफुलाई तैयार बनाएको देखिएको छ । अन्य दलहरु अझै पनि यो कुरामा स्पष्ट देखिन सकेका छैनन् ।
कांग्रेसले कुनै पनि हालतमा लोकतन्त्रका आधारभूत मान्यताको आधारमा बन्ने संबिधानको बिपक्षमा आफूलाई नउभ्याउने बचन अघिल्लो संबिधानसभाको निर्वाचन र संबिधान निर्माणका सबै प्रक्रियाहरुमा सहभागि हुँदा भन्दै आएको थियो । संबिधानसभामा रहेका सबै उपसमितिहरुमा कांग्रेसको प्रस्तुती यसै मुख्य अडानमा केन्द्रित रहेर भएको थियो । यो सार्वजनीक भएकै बिषय हो । एमाओवादीले लोकतन्त्रको आधारभूत मान्यता मात्र होइन, सभ्य समाज निर्माणका लागि महत्वपूर्ण र अनिवार्य मानिने बहुलवादलाई समेत अस्वीकार गरेकै हो । व्यक्तिको संपत्तिमाथीको हकलाई सैद्धान्तिक रुपमा माओवादीले संबिधानसभामा अस्वीकार गरेकै हो । प्रेस स्वतन्त्रताको सवालमा ‘सापेक्ष’ र ‘निरपेक्ष’ जस्ता शब्दावलीको प्रयोग गर्दै अलमलाउन खोजेकै हो । धरौटी राखेर मात्र सञ्चारमाध्यम चलाउने प्रस्ताव राखेर पुँजिपतिका हातमा संचारमाध्यमलाई सुम्पने नीति ल्याएकै हो । शासकीय स्वरुपको बहसका क्रममा लोकतान्त्रिक संस्था(संसद)को ठाँउमा व्यक्ति केन्द्रित सत्ता(कार्यकारी राष्ट्रपति)को प्रस्ताव गरेकै हो । न्यायालयलाई राजनीतिक संयन्त्र(संसद)को नियन्त्रणमा राख्ने पक्षमा उभिएकै हो । संघीयताको कुरा गरिरहँदा सामाजिक बिभेद र द्वन्द्व समाप्त गर्ने स्वरुपको प्रदेशहरु निर्माण हुनुपर्छ भन्ने मान्यताको विपरित गएर जातीय राज्यको कुरा गरेकै हो । संघीयताका आधारहरुमाथी बहसै नगरेर संख्यामा मात्र यो महत्वपूर्ण बहसलाई केन्द्रित गरेकै हो । माओवादीको यस्तो प्रस्तुती नरहेको भए अथवा लोकतान्त्रिक मान्यताका पक्षमा कांग्रेस दह्रोसंग नउभिएको भए संबिधान बन्थ्यो । अब नागरिकले रोज्नु पर्ने भएको छ की माओवादीले राखेका यीनै कुराहरु रहेको अलोकतान्त्रिक संबिधान निर्माण गर्ने की कांग्रेसले राखेको अडानमा आधारित भएको लोकतान्त्रिक संबिधान बनाउने ? यो सवालमा जनतालाई स्पष्ट पार्दै, अब हुँदै गरेको संबिधानसभाको निर्वाचन यस अर्थमा लोकतान्त्रिक मूल्य सहितको संबिधान बनाउने की अलोकतान्त्रिक संबिधान बनाउने भन्ने जनमतसंग्रहका रुपमा रहेको छ भन्ने कुरा बुझाउन सक्नु पर्दछ ।
जनताको सबैभन्दा ठूलो चिन्ता भनेको समयमा संबिधान किन बनाउन सकेनन् ? भन्ने नै हो । त्यसकारण अबको निर्वाचमा आफ्नो दैलोमा आउने नेताहरुसंग उनिहरुको यही गुनासो रहने छ । विकास निर्माण र नयाँ नेपाल निर्माणका आधारहरु दास्रो प्राथमिकतामा पर्ने छन् यो चुनावमा । हुन पनि संबिधानसभाको चुनावमा जाँदा विकास निर्माणका कुराहरु दास्रो प्राथमिकतामै राखिनु पर्दछ । संबिधान कस्तो बनाउने भन्ने सैद्धान्तिक कुरा र अघिल्लो संबिधानसभाबाट किन संबिधान बनेन भन्ने कुराको सही जवाफ नै जनतामा जाँदाका प्राथमिक मुद्दाहरु हुन् । कांग्रेसले आफ्नो राजनीतिक प्रतिबेदनमा यो कुरामा स्पष्ट पारेको छ । त्यसकारण जनतामा जाँदा कांग्रेस उचो मनोवलका साथमा जान सक्ने परिसथीति निर्माण भएको छ । कांग्रेसका लागि यो अत्यन्त अनुकुल परिस्थीति हुने छ । अन्य दलहरुले यो सवालमा आफूलाई अझै स्पष्ट बनाउन सकेको पाइएको छैन ।
यसबाहेक देश निर्माण, गरिवी निवारणका आधारहरु र संम्बृद्ध नेपाल निर्माणका सम्बन्धमा आफ्नो दृष्टिकोण स्पष्ट पार्नु पर्ने हुन्छ । अन्य दलहरुले लगातार कांग्रेसलाई यी सवालहरुमा स्पष्ट हुन नसकेको भनेर आलोचना गर्दै आएका छन् । कांग्रेसले सत्तामा रहँदा यस आक्षेपको चित्तबुझ्दो जवाफ दिन नसकेको भन्ने गुनासो भने छदैछ । यती हुँदाहँुदै पनि ठूलो समुदायको आशा र भरोसा भने कांग्रेस प्रति रहेको बिभिन्न सर्वेक्षणहरुले देखाइरहेका छन् । यो आशा र भरोसालाई आफ्नो ताजगीको आधार बनाएर कांग्रेसले गरिबी निबारणका लागि उत्पादन र रोजगारीका अबसर बढाउने योजना बनाई त्यसमा स्पष्ट भएर अबको निर्वाचनमा जानु पर्दछ । लोकतान्त्रिक संबिधान निर्माण गरेर गरिवी निवारणका लागि बिशेष योजनाका साथ अघि बढ्छौ भन्ने प्रतिबद्धता जनतासंग गर्ने समय पनि निर्वाचन हो । राष्ट्रिय पुँजिको विकास र संरक्षण गर्दै त्यसलाई समुदायको कल्याणकारी योजनामा लगानी गर्ने स्पष्ट खाकाका साथ कांग्रेस उभिनु पर्दछ ।
आर्थीक सम्बृद्धिका योजनाहरु आफूसंग रहेको दावी गर्ने कम्युनिष्ट पार्टीहरु सत्तामा पुगेर पनि बिशेष योजनाहरु ल्याउन सकेनन् । गरिवी निवारणका लागि योजनाहरु प्रस्तुत गर्न सकेनन् । उनिहरुका आश्वासन खोक्रा सावित भएका छन् । यी कारणहरुले पनि कांग्रेस प्रतिको आकर्षण जनतामा बढेको सर्वेक्षेणहरुले देखाएका छन् । त्यसैगरी लोकतन्त्र प्रतिको प्रतिबद्धता, बिधिको पक्षमा बलियोसंग उभिएको अबस्था र जनताको हक अधिकार स्थापित गर्ने कुरामा संझौता गरी कुनै प्रलोभनमा नपरेको चरित्रका कारण पनि कांग्रेस प्रतिको बिश्वासलाई जगाइदिएको छ । यसरी जनतामा पार्टी प्रतिको बिश्वास बढिरहेको कुरालाई नेतृत्वले बुझेर उचित व्यबस्थापनका साथ चुनावमा जाने चुनौतीलाई भने स्वीकार गर्नै पर्छ ।
स्थानीय स्तरमा बलिया बन्दै गरेका संरचनाहरुलाई गरिवी न्यूनिकरणको अभियानसंग जोड्दै लैजान सकिने अबस्था छ । सहकारी अभियान, सामुदायीक बनहरु, आमा समूहहरु जस्ता संरचनाहरुले अहिले सामुदायीकिकरणमा महत्वपूर्ण भूमिका खेलेका छन् । ती संरचनाहरुका सवल र खराव पक्षको अध्ययन गरी उनिहरुलाइृ पनि विकासको यात्रामा सहभागि गराउने योजना समेत यतिबेलाको माग हो । उद्यमशिल संस्कृतीको विकास र त्यसप्रति लाग्न आर्थीक सहयोग गर्ने संरचनाको रुपमा सहकारी आन्दोलनलाई अझ प्रखर र व्यबस्थीत रुपमा स्थापित गर्न सकिन्छ । एक सामुदायीक बन, एक साना उद्योगको नीति मार्फत समुदायलाई घरेलु उद्योग स्थापनागरी उत्पादन प्रक्रियासंग जोड्न सकिन्छ । आमासमूहहरुलाई बिपन्न बर्गका लागि सचेतना र अधिकारको उपयोग गर्न प्रेरित गर्ने इकाइको रुपमा विकास गर्न सकिने संभावना छन् । स्थानीय स्तरका यस्ता संरचनाहरुको उपयोग गर्दै सिंगो समुदायलाई गरिवी न्युनीकरण अभियानसंग प्रत्यक्ष जोड्न सकिने संभावनाहरु रहेका छन् । यी अबसरहरुको उपयोग गर्दै ‘सवल नागरिक, सम्बृद्ध राष्ट्र’ को भावनाका साथ कांग्रेसले अब जनताको सम्बृद्धिको माहा अभियानथाल्न आबश्यक छ । राजनीतिक रुपमा स्पष्ट रहेका कारण राजनीतिक आन्दोलनहरुमा जनताले कांग्रेसलाई साथ दिदै आएका छन् । प्रजातान्त्रिक समाजवादको सिद्धान्तमा टेकेर गरिब जनतालाइ सम्बोधन गर्नका लागि स्पष्ट योजनाका साथ आउने हो भने यो महाअभियानमा पनि उसले जनताको साथ पाउन नै छ ।
संबिधान निर्माणका सन्दर्भमा आफ्नो धारणा, विगतको संबिधानसभामा संबिधान बन्न नसक्नुका कारणहरु र गरिवी निवारण गर्दै सम्बृद्ध नेपाल निर्माणको योजनाका साथ जनतामा पुग्न सक्ने शक्तिलाइृ नै जनताले साथ दिने छन् । अहिले कांग्रेस यी तिनवटै कुराहरुमा अगाडी देखिने परिस्थीति छ । परिस्थीतिको सही उपयोग गर्न सक्ने हो भने कांग्रेसको अबस्थाका सन्दर्भमा सर्वेक्षणहरुले देखाएका तथ्य तथ्यांकहरु पूर्ण रुपले सत्य सावित हुने छन् ।

५ आश्विन २०७०, शनिबार १९:१४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

भारतीय सेना फीर्ता र नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन

काठमाडौँ, २७ मंसिर । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर अविलम्ब नेपालको नयाँ नक्सा..

भिम रावलको आक्रोश, ‘नयाँ नक्सा बनाउन कसले रोक्यो ?’

काठमाडौँ, २७ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले नेपाली भूमी समेटेर नयाँ नक्सा..

चिसोले देशभरको जनजीवन प्रभावित, यस्तो छ ३ दिनको मौसमी पूर्वानुमान

काठमाडौँ, २७ मंसिर । बुधबार बेलुकाबाट नेपाल प्रवेश गरेको पश्चिमी निम्न चापीय प्रणालीका कारण देशभरको मौसम बदली..

विशेष दूत बनाएर माधब नेपाललाई भारत पठाउने कुरा हल्ला मात्रै

काठमाडौँ, २६ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतसँगको सीमा विवाद मिलाउन..

नेपाल छिर्‍यो पश्चिमी वायु, भारी हिमपातको सम्भावना

काठमाडौँ, २६ मंसिर । बुधबार साँझ पश्चिमबाट न्युन चापिय प्रणाली नेपाल प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका..