शम्भु थापा र लोकतन्त्र :: देव प्रकाश त्रिपाठी

तत्कालिक श्री ५ महाराजाधिराज ज्ञानेन्द्रका हातपाउ चलमलाउन थालेपछि एकथरी मानिसमा छटपटी बढेको महसुस गरिन्थ्यो भने अर्काथरीमा आशा र भरोसा । ०५९ सालको असोजमा शेरबहादुर देउवा नेतृत्वको सरकार बर्खास्तगीमा पर्नु प्रजातन्त्रसम्मत घटना थिएन, राजाबाट ‘ट्रायल बेसिस’मा चालिएको कदम थियो त्यो । तर, त्यस घटनाले प्रजातन्त्रका तत्कालिक प्रवक्ता गिरिजाप्रसाद कोइरालालाई त्यति नै प्रसन्न तुल्याएको महसुस गरिएको थियो जति पूर्वपञ्चहरूलाई । प्रजातन्त्रप्रतिकूल कदमले एक प्रजातन्त्रवादी नेतालाई प्रसन्न तुल्याएको घटनाका रूपमा असोज १८ (०५९) को शाही कदमलाई लिन सकिन्छ । तथापि कालान्तरमा गिरिजाप्रसाद कोइरालादेखि भरत विमल यादवसम्मले राजाका अनेक निर्णयबाट झस्किने स्थिति बन्यो र प्रजातन्त्र पुनस्र्थापनाका स्वरहरू उठ्न थाले । राजाबाट किस्ताबन्दीमा सुरु भएको ‘टेक ओभर अभियान’ ०६१ माघ १९ मा उत्कर्षमा पुग्यो, राजा शासन गर्न इच्छुक रहेछन् भन्ने यथार्थबोध आमनेपाली र अन्तर्राष्ट्रिय समुदायलाई समेत भयो । राजाको कदमलगत्तै जनस्तरबाट गम्भीर प्रतिक्रिया उत्पन्न हुने जुनस्तरको आशा त्यसबेला राखिएको थियो, त्यसअनुरूप भएन । दलका नेताहरूको भूमिका र व्यवहारबाट आजित भएका जनताले गह्रौँ मनले भए पनि त्यसबेला राजाका निर्णयलाई अनुमोदन गरेको यथार्थ हामीले व्यहोरेका हौँ । शाही कदमविरुद्ध सञ्चालित सङ्घर्षका कार्यक्रमहरूमा टिठलाग्दो उपस्थितिले सर्वसाधारण जनता राजाका पक्षमा नभए पनि दलहरूका विरुद्ध भएको सङ्केत गरेको थियो । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा भएको सङ्घर्षका कार्यक्रमहरूमा समेत सीमित मानिसको सहभागिताले जनता प्रजातान्त्रिक शक्ति र प्रजातन्त्र पक्षधर नेताहरूप्रति निराश रहेको आभाष दिलाएको थियो । ०६२ मङ्सिरमा सात दल र माओवादीबीच सम्झौता भई सङ्घर्षको उद्घोष हुँदा पनि जनसाधारणको ध्यान सङ्घर्षपट्टि गएन । तर, हिन्दी सिनेमाका नायक–खलनायकको पञ्जामा परेकी आफ्नी पे्रमिकालाई बचाउन आएको शैलीमा जब शम्भु थापा सडकमा प्रकट भए त्यसबेला आन्दोलनलाई बेग्लै र नयाँ ऊर्जा प्राप्त भएको स्मरण आज पनि धेरैलाई हुनुपर्छ । त्यसताक लाग्थ्यो– ‘प्रजातन्त्रको ठाउँमा ‘लोकतन्त्र’ यिनै शम्भु थापालाई चाहिएको छ ।’ उहाँ नेपाल बार एसोसिएसनका अध्यक्ष हुनुहुन्थ्यो, पदीय उचाइले बढाएको तौलमा शम्भु थापाको ज्यान र वाकपटुता सुनमा सुगन्धझैं बन्न पुगेको थियो । शम्भु थापाको सक्रियता र आन्दोलनकारी अगुवाका रूपमा उहाँको चर्चा र लोकप्रियताले गिरिजाप्रसादजस्ता ठूलठूला नेताहरूलाई गिज्याइरहेको अनुभूति गराउँथ्यो । लाठीको प्रहार खेप्न तयार, थुनिन पनि तयार र बोलेर जनसमूहलाई शाही कदमविरुद्ध जुरुक्कै उचाल्न पनि सक्षम एकै व्यक्ति शम्भु थापा आन्दोलनको मैदानमा यत्रतत्र सर्वत्र छाउनुभएको थियो । त्यसैले वीर गोर्खालीमध्येका धेरैलाई ‘यो लोकतन्त्र भन्ने तत्वचाहिँ पत्रकार र वकिललाई, वकिलहरूमध्ये पनि शम्भु थापालाई चाहिएको रहेछ भन्ने भान पर्न गएको थियो । शम्भु थापाहरूले धेरै दिन सडक तताएपछि मात्र सडकमा जनता उत्रने क्रमारम्भ भई आन्दोलनकारी दलहरूको इज्जत रक्षा हुन पुगेको स्मरण पनि हामीमध्ये धेरैलाई हुनुपर्छ । लोकतन्त्रका लागि समर्पित तिनै शम्भु थापाले जीवनमा यसअघि कहिल्यै भोग्नु नपरेको सास्ती व्यहोर्नुपर्ने अवस्था आइलागेको छ । लोकतन्त्र कानुनको शासन हो, कानुन अन्धो हुन्छ र जतिसुकै अग्लो भए पनि शम्भु थापालाई समेत छोड्दैन भन्ने यथार्थबोध यतिबेला हामी सबै नेपालीलाई गराएको छ । राजाकै शासनकालमा पनि शम्भु थापाको जीवनस्तर साधारण जनताको भन्दा धेरै माथिको थियो र राजाकै सरकारले पनि थापालाई ‘यसरी’ सताउने सामथ्र्य राख्न सक्थ्यो । तर, खै किन हो कुन्नि, राजाको सरकारले गर्न नचाहेको या नसकेको काम ‘लोकतान्त्रिक सरकारले’ गरिदिएको छ । शम्भु थापालाई आफैँ यसरी कुनै दिन ‘लोकतन्त्रपीडित’ होइनुपर्ला भन्ने आभास सायद कहिल्यै भएन । आशा र अनुमानभन्दा धेरै भिन्न अनुभूति यतिबेला थापालाई भइरहेको महसुस हामी गर्न सक्दछौँ । अहिले शम्भु थापामाथि जसरी जुन प्रकारले प्रश्नहरू उठेका छन् यसैगरी औंला उठाउने हो भने निसाना नसोझिने पात्र यो मुलुकमा कति बाँकी रहलान् यो एक त्रासमयी अहम् प्रश्न बनेको छ । निरङ्कुश तन्त्रमा अँध्यारा पक्ष धेरै हुन्छन्, पारदर्शी समाज निर्माणका लागि शम्भु थापाले लोकतन्त्रको लडाइँ लड्नुभएको हो भने आफ्नाबारेका खोजीनितीप्रति उहाँ सकारात्मक नहुनुपर्ने कारण रहन्न । राजनीति, अर्थतन्त्र, समाज र व्यक्तिको पारदर्शितालाई लोकतन्त्रले अनिवार्य सर्त बनाउँछ भनेर बुझ्ने सबैको जीवनशैली पारदर्शी रहेको महसुस गर्न पाएको स्थिति अहिले होइन । हिजो लोकतान्त्रिक आन्दोलनमा एक सजीव उदाहरण बन्नुभएका शम्भु थापाले आफूप्रतिको खोजीनितीलाई एउटा अवसरका रूपमा प्रयोग गर्न सक्नुभयो भने त्यसले अपारदर्शिता निषेधको अध्याय सुरु गर्न सहयोग पु-याउने विश्वास गर्न सकिन्छ । शम्भु थापाजी आफ्नो क्षेत्रका उचाइदार व्यक्ति हुनुहुन्छ, वर्तमान उचाइ प्राप्त गर्ने क्रममा कति मानिस स्वाभाविक किसिमले उहाँका बैरी बन्न पुगेका छन् भने त्यसलाई सहज रूपमा लिनु उपयुक्त हुन्छ । शत्रुले पनि आफ्ना कमजोर पक्षमा प्रहार गर्ने हुन्, तिनका प्रहारको अन्दाज शम्भु थापाजत्तिका मानिसले गर्नुभएकै थिएन, यसो भन्न सकिन्न । कसैको आग्रह या पूर्वाग्रहका कारण राहु–केतुहरूको सक्रियता बढेको हो भने पनि शम्भु थापा आतङ्कित या त्राहीमान हुनुपर्ने कारण छैन । समृद्धि, शुद्धता र कानुनी राजका अभियन्ता आफ्नै परीक्षाको घडीमा विचलित भइदिँदा त्यसको सन्देश राम्रो जाँदोरहेनछ । शम्भु थापाले आफ्नो विशेषज्ञता बेचेर जीवन गुजारा गरेको संसारलाई थाहा छ, कुनै अर्कै गुप्त धन्धा छ शम्भुको भन्न अहिलेसम्म कसैले सकेका पनि छैनन् । र, कुनै पनि निकायले त्यस्तो प्रमाणित गर्न सक्ने विश्वास गरिएको पनि छैन । लोकमानसिंह कार्कीको नामै लिएर उहाँले आफूमाथि प्रतिशोध राखिएको बतारहँदा त्यसलाई शोभनीय मानिएको छैन । हिजो राजा ज्ञानेन्द्रलाई चुनौती दिँदै सडकमा छाती खोलेर उत्रिएकै शैलीमा ‘लौ मेरो कुनै गल्ती छ भने देखाउ’ भन्न सकेको भए शम्भु थापाको उचाइ थपिनेमा शङ्का गर्नुपर्ने थिएन । शम्भु थापा नामलाई शोभा नदिने प्रकारले प्रतिक्रिया प्रकट हुँदा कतै कुनै खोट पो छ कि भनी आशङ्का गर्नेलाई ठाउँ मिलेको छ ।
हामीलाई थाहा छ, केही उच्चपदस्थ कर्मचारी या पूर्वकर्मचारी, कतिपय सत्तासीन राजनीतिकर्मी, तस्कर तथा गलत धन्दामा संलग्न व्यापारीबाहेक सबै नेपालीको कमाइ शुद्ध छ र शुद्ध भएको किटान गर्न सकिन्छ । तर, कमाइ शुद्धीको पुष्टि कानुनी ढङ्गले मात्र खोजिने हो भने यसबाट उन्मुक्ति पाउने नेपाली कोही बाँकी रहलान्, भन्न सकिन्न । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा कसैलाई लाग्नु भनेको गङ्गटोले पक्रनु बराबर हो, छुटे पनि शरीरमा चोट पु-याएकै हुन्छ । यसर्थमा शम्भु थापामाथि पनि चोट पुग्न सक्ला, तर आफैँले ल्याएको लोकतन्त्रले दिएको चोट मानेर शम्भु थापाजीले चित्त बुझाउनुहुने आशा र अनुमान गरिएको छ ।

३ आश्विन २०७०, बिहीबार ०३:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

प्रधानमन्त्रीलाई मुख्य सचिवको निवासमा सारियो

निरोज कुमार थापा, काठमाडौँ, २२ मंसिर । १० दिन लामो अस्पताल बसाईँबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई सरकारी निवास..

ठूला करदाता कार्यालयले एनसेललाई तोक्यो २२ अर्ब ४४ करोड कर

काठमाडौँ, २२ मंसिर । ठूला करदाता कार्यालयले एनसेललाई २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ ।..

८ एसपी र २१ डिएसपीको सरुवा (सूचीसहित)

काठमाडौँ, २१ मंसिर । नेपाल प्रहरीले ८ एसपी र २१ डिएसपीको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले उनीहरुको..

उपप्रधानमन्त्री पोखरेलले भने, ‘सीमा समस्या विरासतकै रुपमा आएको छ’

काठमाडौँ, २० मंसिर । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले मूलुकको सीमा समस्या विरासतकै रुपमा आएको बताएका..

अमेरिकाले भन्यो, ‘हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक बन्दिनोस्’

काठमाडौँ, १९ मंसिर । नेपाल भ्रमणमा रहेका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी..