सेना कसरी उत्रन्छ, हामी पनि हेर्छौं: सीपी गजुरेल

० तपाईंहरू आखिर चुनावबाट पछि हटिछोड्नुभयो, होइन ?
– हामी पछि हटेका होइनौँ, सहमति तोडेर हामीलाई निर्वाचनमा सहभागी नगराउने र देशलाई फेरि द्वन्द्वतिर लैजाने यो चारदलीय सिन्डिकेटको रणनीतिअनुरूपको परिणति हो । वार्ता उनहरूले तोडेका हुन्, हामीले होइन ।
० खिलराज रेग्मीले राजीनामा दिनुपर्छ भनेर अडान लिने तपाईंहरू, अनि कसरी उनीहरूले वार्ता तोडेको भन्न मिल्छ ?
– खिलराज रेग्मीले प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्ने कुरा त बुर्जुवा डेमोक्र्यासीको सिद्धान्तले पनि मागिरहेकै विषय हो नि । हामीले कुन अनौठो र अर्घेलो कुरा ग-यौँ र ? राज्यको कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका एउटै व्यक्तिमा केन्द्रित गरिदिनु त विडम्बना र दुर्भाग्यको कुरा हो नि त । वास्तवमा उनीहरू हामीलाई निर्वाचनमा आएको देख्नै चाहन्नन् भन्ने हाम्रो अनुमान सही सिद्ध भएको छ । चारदलले भन्थे कि यो हामीले बनाएको सरकार हो, हामीले जे भन्यो त्यही हुन्छ । तर, हामीले भन्दै आयौँ कि रेग्मी सरकार चार दलको वशमा रहँदैन, निरङ्कुश भएर जानेछ । प्रधानन्यायाधीशबाट राजीनामा दिन रेग्मीजीले नमान्नुको अर्थ सरकार निरङकुश दिशातिर लम्किसकेको भन्ने नै हो । चारदलीय इशारामा यो सरकार चल्छ भन्ने भ्रम अब कसैले नपाल्दा हुन्छ ।
० तपाईंहरूले खिलराज भनेका चार दलको कठपुतली हो भनेर पनि त भन्नुभएको थियो, त्यसलाई त रेग्मीजीले तोडिदिनुभयो नि, होइन र ?
– हामीले त अब यो देश निरङ्कुशतातिरै जान्छ पनि त भनेका थियौँ नि । हेर्नुहोला रेग्मीजी अब निरङ्कुश तानाशाहीको अवतारमा देखिँदै जानुहुनेछ ।
० उहाँले त मङ्सिरमै चुनाव गराउँछु भनिरहनुभएको छ, कसरी तानाशाही बन्नुहोला र ?
– निर्वाचन त फासीवादी व्यवस्थामा पनि हुन्छ, पञ्चायतमा पनि भएकै थियो । निर्वाचन र डेमोक्र्यासी पर्यायवाची हो भनेर जो भनिन्छ, बकवास हो त्यो ।
० तपाईंहरू निर्वाचनको पक्षमै हुनुहुन्न भन्ने शङ्का दलहरूमा जो थियो, त्यो सत्य रहेछ भन्ने भएन र अब ?
– कुनै पनि हालतमा हामीलाई चुनावमा सामेल नगराई एकतर्फी रूपमा चुनावको नौटङ्की गर्ने गुरुयोजना नै थियो उनीहरूको ।
० त्यसो भए अब हुने संविधानसभाको निर्वाचनमा तपाईंहरू भाग लिनुहुन्न ?
– कसरी लिने ? हाम्रो त दल दर्ता भएको छैन, नामावली नै दर्ता भएको छैन हाम्रो । बहिष्कार गर्ने चुनावमा किन दर्ता गर्ने भनेर सुरुदेखि नै हामी लागेको देख्नुभएको थिएन र ?
० यो सबै गर्न समय थपिदिने कुरा त गरेकै छन् नि दलहरूले ?
– भो कसैको यस्तो निगाह हामीलाई चाहिएन । कुरा त गोलमेच सम्मेलनमा जाने भन्ने पनि त गरिएको थियो, त्यो रातारात कसको इशारामा किन बदलियो ? समस्या समाधानको बाटो त त्यहाँबाट निस्कन्थ्यो नि, किन पछि हटेको ?
० तपाईंहरूले यसो भनिरहे पनि जनता त चुनावको पक्षमा गइसके, कसरी चुनाव बहिष्कार गर्न सक्नुहुन्छ ?
– जनता चुनावको पक्षमा गएकै छैनन् । सङ्कटकालको बेला पूर्वराजा ज्ञानेन्द्रले गराएको चुनाव जत्तिको पनि हुनेछैन यो चुनाव, लेखेर राख्नुहोस् । यो निर्वाचन जनताले चाहनुपर्ने कुनै कारण पनि छैन । यो चुनाव संविधान बनाउनका लागि रचिएको पनि होइन, नितान्त प्रायोजित हो । त्यसैले यो चुनाव त कुनै हालतमा हुन दिनुहुँदैन ।
० सेनाको साथ लिएर पनि चुनाव गराउने निचोडमा पुगिसकेका छन् नि प्रमुख दलहरू त ?
– कसरी सेना सडकमा उत्रिँदोरहेछ हामी पनि हेरौँला नि त । हामी कतै जाँदैनौँ, नेपालमै छौँ, हेर्छौं । सेनाले ब्यारेक छोड्ने आधार के हो ? ब्यारेकबाट सेना बाहिर निस्कनुपर्ने नेपालको अहिलेको परिस्थिति हो र ? यो हुनै सक्दैन ।
० सरकारले चाह्यो भने त निस्कन्छ नि ?
– नेपाल कोसँग लड्दै छ र सेना उत्रने ? त्यस्तो सङ्कटकाल के आइप-यो र सेना निस्कने ? सेना उत्रनुको मतलब त देशमा सैनिक शासन आयो भन्ने पो हुन्छ त । त्यस्तो भएमा त सैनिक शासनविरुद्ध जनता उत्रनुपर्ने हुन्छ । यसरी त अर्को खालको परिस्थिति पो निम्तिने भयो त मुलुकमा । राजाको कालमा पनि नभएको सैनिक शासन आउला त यो ‘जनताको शासन’ भनिएको बेला ? हेर्नुहोस्, अब यो मुलुकमा निर्वाचन हुँदैहुँदैन । अब यिनीहरू देशलाई सङ्कटकाल र निरङ्कुशतामा धकेल्ने गुरुयोजना लागू गर्नेतिर लाग्नेछन्, शान्तिप्रक्रिया पनि अब निश्चित रूपमा यिनले भङ्ग गर्ने छन्, चाँडै नै शान्तिप्रक्रिया भङ्ग गर्नेछन् ।

३ आश्विन २०७०, बिहीबार ०३:४३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै संक्रमितको संख्या बढी हो ।..

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले..

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..