‘सेना आए हात मिलाइन्छ’– नेत्रविक्रम चन्द (सचिव, नेकपा–माओवादी)

नेपाल कम्युनिस्ट पार्टी नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द हार्डलाइनर नेताको रूपमा परिचित छन् । पार्टीको रणनीतिकारमध्ये एक मानिने चन्द प्रस्ट वक्ता छन्, बौद्धिक बहस गर्न रुचाउँछन् । पछिल्लो समयमा चीनले विश्वास गरेको व्यक्तित्वको रूपमा पनि उनलाई लिइन्छ । चीन भ्रमणपछि घटना र विचार साप्ताहिकसंगको कुराकानी :

० तपाईंको पार्टीभित्र मङ्सिर ४ को चुनावमा जाने र नजाने भन्ने विषयमा तीव्र विवाद रहेछ नि, किन यस्तो ?
– हाम्रो पार्टीमा चुनावमा जाने या नजाने भन्ने कुनै विवाद छैन । हाम्रो पार्टीले त यथास्थितिमा चुनावमा नजाने, बहिष्कार गर्ने भन्ने स्पष्ट धारणा सार्वजनिक गरिसकेकै छ त ।
० तपाईंको पार्टीका महासचिव रामबहादुर थापा ‘बादल’ले त चुनावमा भाग लिनुपर्छ भन्न थाल्नुभएको छ नि ?
– खै ! मलाई पत्यार लागेन उहाँले कतै त्यस्तो कुरा गर्नुभयो होला भनेर । बादलजीले नै हो रत्नपार्कमा साङ्केतिक मतपेटिका फुटाएर चुनाव बहिष्कारको औपचारिक सुरुवात गर्नुभएको ।
० तर, उहाँले त चुनावको विकल्प छैन भन्नुभएको छ नि ?
– हामीसँग (पार्टीमा) त भन्नुभएको छैन, तपाईंहरूसँग भनेको भए त्यसको प्रमाण पनि त होला नि । वास्तवमा हाम्रो पार्टीभित्र कुनै पनि नेताले अहिलेसम्म चुनावमा जानुपर्छ भनेर मत प्रस्ताव गरेका छैनन् । पोखरा बैठकबाट सर्वसहमत निर्णय भएको हो चुनावमा नजाने, बहिष्कार गर्ने भनेर । सहमति भयो भने मात्र जाने हो, अन्यथा चुनावमा जाने कुरा आजका दिनसम्म कुनै नेताले गरेका छैनन् ।
० बादल, पम्पा भुसालगायतका नेताबाट निर्णयमा पुनर्विचार गर्नुपर्ने माग उठाइएको छ भनिन्छ नि तपाईंको पार्टीभित्र ?
– छैन–छैन । यो सब बेतुकका हल्ला हुन् । हामी सब पार्टीको निर्णयप्रति एकढिक्का वा एकमत छौँ । मङ्सिर ४ को चुनाव बहिष्कारकै मार्गमा हामी गइरहेका छौँ । यो चुनाव निरङ्कुशताको प्रतीक हो, यो लोकतन्त्र र शान्तिका विरुद्धमा छ, त्यसैले यसलाई पूर्ण रूपले असफल पार्नुपर्छ भन्नेमा हाम्रो पार्टी एकमत छ । आजको नेपालमा यही तरिकाले गरिने चुनावको औचित्य छैन भन्नेमा हामीभित्र मात्र एकमत रहेको नभई काङ्ग्रेस, एमालेजस्ता पार्टीभित्र पनि यस्तो आवाज उठिरहेको अवस्था छ । चुनावको विकल्प छैन भन्ने यी पार्टीभित्र त यस्तो आवाज उठेको छ भने हाम्रो पार्टीले त जन्मँदैमा यस्तो संविधानसभाको औचित्यमाथि प्रश्न उठाएको छ । संविधानसभामाथि खेलबाड गरिएकैले त हामीले पार्टी नै पुनर्गठन गर्नुपरेको हो ।
० हिजो पार्टी बैठकबाट जनविद्रोहमा जाने भनी गरेको निर्णय त विवादमै प-यो नि होइन ?
– छैन–छैन, परेको छैन । देशमा यत्रो बेथिति छ, यत्रो असन्तुष्टि छ जनतामा, अनि विद्रोहको कुरा कसरी विवादमा पर्छ ? विद्रोह भनेको के हो र ? जनताले राज्यबाट आधारभूत कुरा पनि नपाउँदा त्यसमा असन्तुष्टि जनाउनु, सुनुवाइ भएन भने अलिक चर्को आवाजमा कराउनु र अझै सुनुवाइ नभए आन्दोलनको शक्ति प्रयोग गर्नु नै त हो विद्रोह भनेको । यस्तो विषयमा कसरी विवाद हुन्छ हाम्रो पार्टीभित्र ? सरकारी मिडियाले नै चुनावी सर्भेक्षण गरेका हामी देखिरहेका छौँ, त्यसमा एकजना नेपालीले पनि चुनाव हुन्छ भनेर किटानी गर्न सकेका छैनन् । बरु यस्तो तालले खै के चुनाव होला र ? भन्दै निराशा व्यक्त गर्ने गरेका छन् । सहमतिबाट संविधान बनाए हुन्छ, यत्रो खर्च गरिरहनै पर्दैन भन्ने जनभावनाअनुसारकै हाम्रो पनि धारणा हो ।
० जनता त संविधानसभा निर्वाचनकै पक्षमा छन् नि, किन बुझ पचाउनुहुन्छ तपाईंहरू ?
– जनता यस्तो चुनावको पक्षमा छँदै छैनन् भन्ने म दाबीका साथ दोहो-याउन चाहन्छु । हेर्नुस्, यो चुनावमा एक खर्ब खर्च हुँदै छ । औपचारिक रूपमै १६ अर्ब खर्च हुने बताइएको छ भने यहाँ खर्ब खर्च हुनेवाला छ । राज्यको यत्रो रकम किन खर्च गर्ने ? बेकारमा नेपाली जनताले यत्रो ऋणको भार किन बोक्ने ?
० सरकार त चुनावको तयारीमा जुटिसक्यो नि ?
– सरकारको इच्छा पनि चुनाव गराउने छैन । मसँग पनि खिलराज रेग्मीको कुरा भएको छ । उहाँले पनि सहमतिमै निर्वाचन गर्नुपर्छ भन्नुभएको छ । माधवजी र सुशीलजीहरूको दबाब छ भन्नुहुन्छ तर कसको दबाब हो त्यो उहाँहरूलाई नै थाहा होला । उहाँहरू माओवादीबिनाको निर्वाचन हुँदैन पनि भन्नुहुन्छ ।
० तपाईहरूबिना पनि चुनाव भयो भने नि ?
– त्यो सम्भव छैन, असफल हुन्छ । जनता सहभागी नभएको, जनता सन्तुष्ट नभएको र शान्ति प्रक्रियाको जो मुख्य पक्ष हो त्यो सहभागी नभएको चुनाव हुनै सक्दैन । शान्तिसम्झौतामा माओवादी र प्रजातन्त्रवादी मिलेर राज्य चलाउने भनेको छ । माओवादी नै बाहिर रहेपछि गरिने चुनाव केको लागि भन्ने गम्भीर प्रश्न उठ्छ । तपाईंहरूले प्रचण्ड र बाबुरामजी छन् भन्नुहोला, उहाँहरू त माओवादी नै होइन । त्यो उहाँहरूले आफैँ स्वीकार गरिसक्नुभएको छ । अहिले आन्दोलनको उपलब्धिलाई उल्टाउन संविधानसभाको निर्वाचन भनिँदै छ ।
० चुनाव रोक्ने तागत छ तपाईहरूसँग ?
– छ, त्यसको प्रमुख सूत्र भनेको जनता नै हो । युवा बुद्धिजीवी, मजदुर, किसान र कानुन व्यवसायीहरू सबै अहिले विपक्षमा छन्, यस्तो अवस्थामा चुनाव हुन सक्दैन । यो नै हाम्रो बहिष्कारको मुख्य आधार हो ।
० सेना परिचालन गरेर चुनाव गरियो भने ?
– सेना परिचालन गरेर चुनाव हुनै सक्दैन । के नेपाली सेना काङ्ग्रेसको हो ? कि प्रचण्डजीको पेवा हो ? नेपाली सेना त राष्ट्रको हो । सङ्क्रमणकालीन अवस्थामा कुनै पनि सरकारले आमसहमतिबिना सेना परिचालन गर्न सक्दैन । यदि सेना प्रयोग भए त्यो प्रेम गरेर हत्या गरेजस्तो हुन्छ । सेना परिचालन भए हामी सेनासँग हात मिलाएर हिँड्छौँ । म जनरलहरूलाई अपिल गर्छु परिचालन नहुनलाई । हाम्रो सेना प्रहरीसँग सहकार्य हुन सक्छ । उनीहरूले पनि हाम्रो कुरा बुझेका छन् । त्यसैले हामीविरुद्ध परिचालन हुने कुरा हुँदैन । तर, हामी फुटेको अवस्था छ भनेर पेल्ने नीति लिइयो भने हतियार रातारात आउन सक्छ ।
० चीनले हतियार दिन्छु भनेको छ ?
– म पटक–पटक चीन भ्रमणमा जानुको अर्थ यो लगाउनु हुँदैन । चीन हतियारको खानी होइन । मलाई अरूसँग होइन, नेपाली जनतासँग विश्वास छ । हतियार लिन चीन जान पर्दैन । चीनले निर्वाचनको विषयमा पनि केही भनेको छैन । उनीहरू अहस्तक्षेपको नीतिमा छन् । चुनाव नेपाली नागरिकको कुरा हो, नेपाली जनताले जे चाहन्छन् त्यसको पक्षमा हामी छौँ भनेर चीनले स्पष्ट भनेको छ ।
० गोलमेच सम्मेलनको सहमति भएको थियो, कुरा कसरी बिग्रियो ?
– सबैले भनेकै हो, तर म पनि अचम्मित छु । बच्चा जन्मेको खुसियाली मनाउन नपाउँदै मलामी जानुपर्ने अवस्थाजस्तै भो । यसमा नेपालका नेताहरूको विवेक प्रयोग भएको छैन । सहमति भएर गोलमेचमा जान खुसी हुनुभएको थियो, तर दुई दिनपछि हुँदैन भन्नुभयो । त्यसको कारण कि उहाँहरूले गोलमेच नै बुझ्नुभएको थिएन किचाहिँ जहाँबाट अनुमति लिनुपर्ने थियो अनुमति नलिई गरेकोले पछि झपार खाएपछि फिर्ता लिएको हुनुपर्छ ।

२६ भाद्र २०७०, बुधबार २१:१० मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

चन्द्रमामा मानव जीवनको सम्भावनातर्फ नयाँ खुट्किलो : नासा

न्यूयोर्क । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले चन्द्रमाको सतहमा पानी रहेको पुष्टि गरेको छ । पानीको केमिकल कम्पाउण्ड पाइनु त्यहाँ..

दशैँको टीका लगाउन हिँड्नेको चहलपहल कम

दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं..

राप्रपा अध्यक्ष थापा अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण..

गैरआवासीय नेपाली नागरिकता ऐन छिट्टै पारित हुने

लन्डन । संघीय संसद्, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपालको संविधान २०७२ मा..

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ ।..