देश र प्रचण्डको सम्बन्ध रेखा र छविको जस्तै ! :: देव प्रकाश त्रिपाठी

नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नेहरूलाई नेपालीका रूपमा बुझिने हुनाले छविलाल उर्फ पुष्पकमल दाहाल उर्फ प्रचण्डलाई जान्नेबुझ्नेहरूले उनलाई नेपाली मान्ने गरेका छन् । मध्यनेपालको कास्की जिल्लामा जन्मिएकोले पनि उनलाई नेपाली आवरणमा देखापर्न सजिलो भएको छ । नेपाली भाषामा बोल्ने, नेपालकै राज्यसत्ता ताक्ने र बेलाबखत भादगाउँले टोपीमा सजिएर सार्वजनिक समारोहमा प्रस्तुत हुने गरेकोले पनि प्रचण्ड नेपाली भएको ठम्याइ धेरैको छ । तर, नेपाल देश र प्रचण्डबीचको सम्बन्धका स्वार्थहरूको अन्वेषण तथा विश्लेषण गर्दा नेपाल र प्रचण्डको सम्बन्ध रेखा थापा र छवि ओझाबीचको सम्बन्धसँग पूरापूर मेल खाने देखिन्छ । जनता र देशसँग प्रचण्डको साइनो रेखा थापा र छवि ओझाको भन्दा भिन्न कुन अर्थमा मात्र देखियो भने रेखा र छवि दुवैले आफ्ना निजी सन्तुष्टि र खुसीका लागि एक–अर्कालाई उपयोग गरेका थिए, तर देशले व्यक्तिविशेषलाई उपयोग गर्ने चेतना–सामथ्र्य नराख्ने हुनाले प्रचण्डसँग देशको सम्बन्ध दोहोरो सन्तुष्टिको हुन सकेन, एकोहोरो मात्र रह्यो, रहँदै छ । प्रचण्डले आफ्ना निम्ति देशको उपयोग–प्रयोग उपभोग खुब मज्जाले गरिरहेका छन् । भोकमरीको पीडाले सताएर जीवनमरणको दोसाँधमा छटपटिइरहेकी आमाको छाती चुस्न नछोड्ने ‘दुष्ट’ बालकझैं प्रचण्ड आफ्नै सन्तुष्टिका निम्ति देशको दोहन गर्न निर्लज्ज यत्नशील छन् । छवि र रेखाको सम्बन्धमा आत्मीयता, भावुकता र जिम्मेवारी पक्ष रुग्ण, स्वार्थ र मोज पक्ष बलवान भएको महसुस गरिन्थ्यो । उनीहरू पतिपत्नीजस्ता देखिन्थे, तर रहेनछन् । विगतमा कसैले तिनलाई श्रीमान्–श्रीमती भनिदिँदा त्यसको प्रतिवाद दुबैजनाबाट हुँदैनथ्यो, साँच्चैका पतिपत्नी हुन् कि भनेझैं गरी हाँसीहाँसी स्वीकार गर्थे र कसैले दुईलाई अलग्याएर बुझ्दा पनि रेखा र छवि त्यसको प्रतिवाद गर्दैनथे । वास्तवमा रेखा थापा र छवि ओझाबीच ठानिएजस्तो कुनै सम्बन्ध नै रहेनछ, नितान्त निजी चाहना र बाध्यताले मात्र दुईलाई एउटा सम्बन्धको त्यान्द्रोले अड्याएको रहेछ भन्ने अहिले आएर उजागर भएको छ, धेरै लामो समयसम्म धेरै मानिस भ्रममा परे– रेखा र छवि पति–पत्नी हुन् भनेर । रेखालाई देश मान्ने हो भने छवि प्रचण्ड हुन्, जसले रेखाको जवानी कैदमा लिए भन्नुपर्ने हुन्छ । छविलाई देश ठान्ने हो भने रेखा प्रचण्ड हुन् जसले छविको भद्रपन र कमजोरीको लाभ मज्जाले उठाइन् । देश र जनतासँग प्रचण्डको सम्बन्ध पनि रेखा र छविको भन्दा भिन्न नरहेको तथ्य बुझ्नेहरूले बुझिसकेका छन्, बुझ्न बाँकीहरूले पनि लामो समय अब प्रतीक्षा गर्नुपर्ने छैन ।
प्रचण्डका विचारमा देश हात्ती हो र यसमा उनले चढ्नैपर्छ, प्रचण्डको विचारमा देश दाना हो र उनीचाहिँ कुखुरा हुन्– खानैपर्छ, प्रचण्डको विचारमा देश विछ्यौना हो र उनले त्यसमा लडिबुडी गर्न पाउनैपर्छ, प्रचण्डको विचारमा उनी बल्छी हुन् र देश माछा हो– पर्नैपर्छ । त्यसैले उनले आफ्नो इच्छापूर्तिलाई सधैँ उच्च प्राथमिकतामा राखिरहे र राख्दै छन्, देशको प्राथमिकताप्रति उनी सरोकारविहीन छन् । आफ्ना आकाङ्क्षा पूर्ति गर्ने क्रममा प्रचण्ड जोसँग जस्तोसुकै सम्पर्क–सम्बन्ध बनाउन पनि तत्पर थिए र छन् । प्रचण्डले आफ्ना सम्बन्ध भारतीय नेता राजीव गान्धीको हत्यारा टोली लिट्टेसँग रहेको रहस्योद्घाटन एक समारोहमा केही दिनअघि मात्र गरेका छन् । कथित जनयुद्धको दर्मियानमा लिट्टेसँग सहयोग लिएको सगौरव घोषणा गरेपछि प्रचण्डले अब कुनै दिन कुख्यात आतङ्ककारी एवम् ‘अण्डरवल्र्ड डन’ दाउद इब्राहिमसँगको सम्बन्धको पनि खुलासा गर्ने आशा राखिएको छ । हिंसात्मक युद्धकालमा प्रचण्डले दाउद इब्राहिमसँग हातहतियार प्राप्त गर्ने गरेको र नक्कली भारतीय मुद्रा व्यापारमा समेत संलग्न रहने गरेको समाचार आए पनि सोको पुष्टि हुन बाँकी थियो । जातीय आधारमा देश विभाजन गराउने युद्धमा सरिक लिट्टेसँगको सहकार्यलाई सगौरव स्वीकार गर्ने प्रचण्डले समयाक्रममा दाउदसँगको सम्बन्धबारे पनि सार्वजनिक गर्ने विश्वास गर्न सकिन्छ । तर, लिट्टे होस् या दाउद, भारत होस् या चीन, गिरिजाप्रसाद हुन् या ज्ञानेन्द्र, झलनाथ हुन् या मोहन वैद्य हरेकसँगको सम्बन्धलाई आफ्नो वैयक्तिक स्वार्थकेन्द्रको वरिपरि रिङ्ग्याउन सक्ने ‘क्षमता’ प्रचण्डले प्रस्तुत गरिरहँदा उनको देशसँगको सम्बन्धबारे चासो राख्नु उपयुक्त ठानिएको छ । देश र प्रचण्डबीचको सम्बन्धबारे स्पष्ट हुन केही तथ्यहरूले सहयोग पु-याउने विश्वासका साथ त्यस्ता केही पक्षहरूको सङ्क्षिप्त चर्चा यहाँ गर्न खोजिएको छ ।
देशको भौतिक संरचना र प्रचण्ड
आजको पचास वर्षअघि नेपाल विकासोन्मुख एक गरिब देशका रूपमा विश्वमानचित्रमा अवशिष्ट थियो र अहिले पनि यसले आफ्नो स्वरूपमा आवश्यकताअनुरूपको परिवर्तन ल्याउन सकेको छैन । सडक, सञ्चार र विद्युत्लाई विकास र समृद्धिको निम्ति प्राथमिक एवम् अनिवार्य सर्त मानिन्छ । शिक्षाको विकासका निम्ति विद्यालय तथा क्याम्पस भवनहरूको निर्माण, स्वास्थ्य सेवाका लागि अस्पताल र स्वास्थ्यचौकीहरूको निर्माण तथा आर्थिक गतिविधिमा बढोत्तरीका निम्ति बैंकहरूको विस्तार अत्यन्त आवश्यक ठानिन्छ । प्रचण्डले आफूलाई सत्ता केन्द्रमा पु-याउन रचिएको हिंसात्मक युद्धमा देशको भौतिक संरचनाहरू ध्वस्त पारिए । त्यसै पनि कमजोर एवम् न्यून भौतिक संरचना भएको यस मुलुकलाई माओवादी युद्धले जर्जर तुल्याइदिएको छ । देशलाई अलिकति पनि माया गर्ने मानिसले कल्पना गर्न नसक्ने कार्य प्रचण्डले व्यवहारमै गरेर देखाइदिए । सयौँ गाविस भवन, पुल, सरकारी कार्यालय र सडकसमेतमा क्रान्तिको नाममा पु-याइएको गम्भीर क्षतिको पूर्ति अहिलेसम्म हुन सकेको छैन । आफ्नो स्वार्थको निम्ति देशलाई ध्वंश बनाइएको योभन्दा कुरूप दृष्टान्त सम्भवत: अर्को हुनेछैन । कथित जनयुद्धका नाममा खर्बौंबराबरको क्षति देशले व्यहोर्नुपरेको छ ।
देश, पार्टीका लडाकु र प्रचण्ड
जनविश्वास आर्जन गरेर सत्ता केन्द्रमा पुग्ने सुनिश्चितता नेपालको संविधान २०४७ ले हरेक नेपालीलाई दिएको थियो । तर, जनविश्वास आर्जन गर्ने ढिलो बाटोभन्दा हिंसा र आतङ्कको छोटो बाटो प्रचण्डको रोजाइमा प-यो । राज्यसत्ता प्राप्तिको लडाइँमा निश्चित विचारको भारी बोकाएर हिँडाइएका लडाकु वास्तवमा प्रचण्ड र उनको पार्टीको निजी सम्पत्ति थियो । प्रचण्डको ‘निजी सम्पत्तिको रक्षा तथा पालनपोषणमा’ राज्यले बीस अर्बभन्दा बढी रुपैयाँ खर्च गर्नुप-यो या खर्च गराइयो । प्रचण्डको लडाकु जत्थाको पालनपोषणमा खर्च गरेको रकमले मात्र ६०० (छ सय) मेगावाटभन्दा बढीको विद्युत् आयोजना सम्पन्न हुनसक्थ्यो । देशप्रति अलिकति पनि ममता भएका मानिसले गर्नै नसक्ने र गर्न नहुने काम प्रचण्डले गरिदिए । यसबाट प्रचण्डको देशसँगको सम्बन्ध कस्तो रहेछ भन्ने स्पष्ट हुन पुगेको छ । आफ्ना लागि खटेका लडाकुको जिम्मा आफैँले लिइदिएको भए प्रचण्डमा देशप्रति ममता रहेको बुझ्न सकिन्थ्यो, लिएनन्, राज्यले ठूलो मूल्य चुकाउनुप-यो, प्रचण्डमा कुनै ग्लानिभाव या पश्चाताप देखिएको छैन ।
लडाकुको नाममा अर्बौं रकम हजम
पार्टीका लडाकुको पालनपोषणमा अर्बौं रुपैयाँ खर्च गराएर देशलाई क्षति पु-याउने काम एकातिर भएको छ भने अर्कोतिर हुँदै नभएका लडाकुको नाममा समेत दुई अर्बभन्दा बढी रकम असुलेर प्रचण्डले देशप्रतिको आफ्नो सक्कली नियत प्रस्तुत गरेका छन् । देशप्रति अलिकति पनि माया–ममता हुने मानिसले गर्न नसक्ने काम प्रचण्डले गरेपछि उनी देशलाई कसरीसम्म दोहन गर्न चाहन्छन् भन्ने स्पष्ट गरेको छ ।
जातीय तथा क्षेत्रीय सद्भावमा विचलन
कुनै पनि मुलुक एउटा मुलुकका रूपमा रहन त्यहाँ बसोबास गर्ने मानिसबीच सद्भाव र एकता कायम हुन अनिवार्य मानिन्छ । देशका बासिन्दाबीच उत्पन्न हुने मनमुटाव, टकराहट र द्वन्द्वले देशको अस्तित्व नै सङ्कटमा पु-याउन सक्छ भन्ने कुराको दृष्टान्त सोभियत सङ्घ, युयोस्लाभिया, इथियोपिया, सुडान र बुरुण्डीलगायतका मुलुकले देखाएका छन् । बहुजातीय एवम् बहुभाषिक समुदायको बसोबास रहेको मुलुक नेपालको अस्तित्व जातीय एवम् क्षेत्रीय सद्भाव र एकतामा टिकेको छ । यही संवेदनशीलतालाई बुझेर राष्ट्र निर्माता पृथ्वीनारायण शाहले ‘नेपाल चार वर्ण छत्तीस जातको साझा फूलबारी हो, सबैलाई चेतना भया’ भनी समयमै हामीलाई सचेत गराएका हुन् । तर, प्रचण्डले देशको मर्ममा प्रहार गर्दै जातीय र क्षेत्रीय भडकावलाई प्रश्रय दिए, यो भडकावको व्यवस्थापन गर्न सकिएन भने नेपालको एकता र अस्तित्व रक्षा गर्न मुस्किल पर्ने देखिँदै छ । जातीय र क्षेत्रीय सद्भाव बिथोल्ने काम देशलाई पे्रम गर्ने कसैले पनि गर्न सक्दैन, प्रचण्डले गरेका छन्, यस प्रकरणले पनि प्रचण्ड र देशको नाता उजागर गरेको छ । शदियौँदेखि आपसमा सद्भावपूर्ण सम्बन्ध राखेर बसोबास गरिरहेका नेपालीबीच फाटो ल्याउन प्रचण्डले निर्वाह गरेको भूमिकाले उनको कृत्रिम देशभक्तिको प्रमाण पेस गरेको छ ।
सत्ताकेन्द्रित सोच र व्यवहार
प्रचण्डहरू सशस्त्र सङ्घर्षमा संलग्न हुँदा तिनका सबै माग देश र जनतासँग सम्बन्धित थिए । तर, २०६३ सालमा खुला राजनीतिमा प्रवेश गरेपछि भएका द्विपक्षीय र बहुपक्षीय बैठकहरूमा प्रचण्डले आजसम्म देश र जनताका निम्ति एउटै एजेण्डा प्रस्ताव गरेका छैनन् । उनका सबै प्रस्ताव आत्मकेन्द्रित र सत्ताकेन्द्रित रहने गरेका छन् । देशमा बेरोजगारी बढेकोबढ्यै छ, टे«ड युनियनहरूको व्यवहारका कारण राष्ट्रिय अर्थतन्त्रमा धक्का पुगेको छ, भ्रष्टाचार गाउँदेखि केन्द्रसम्म संस्थागत भएको छ, जनताको जिउधनको सुरक्षा हुन सकेको छैन, अपराधीकरणले सिङ्गै मुलुकलाई गाँजेको छ, अराजक ढङ्गले बढेको महँगीले जनताको दैनिक जीवनलाई कष्टकर बनाएको छ, प्रशासन जनमुखी हुन सकेको छैन, राष्ट्रियता र सार्वभौमिक स्वतन्त्रतामा गम्भीर क्षति पुगेको छ, औद्योगिक विकास अवरुद्ध भएको छ, वैदेशिक एवम् आन्तरिक लगानीको वातावरण बन्न सकेको छैन । तर, प्रचण्डले देश र जनसरोकारका यस्ता कुनै पनि विषयलाई आफ्नो एजेण्डा बनाउन चाहेका छैनन् । यसले पनि प्रचण्डको देशसँगको नाता कुन तहको छ भन्ने खुलस्त गरेकोे छ ।
रेखा र छविबीचको सम्बन्ध जुन वास्तवमा रहँदै रहनेछ त्यसले मुलुकलाई कुनै असर नगर्नुको कारण राज्य सञ्चालनसँग असम्बन्धित भएकोले हो । प्रचण्ड राजनीतिक भूमिकामा छन् र राज्य सञ्चालन प्रक्रियाबाट उनलाई पूर्ण रूपले वञ्चित गर्ने स्थिति बनिसकेको छैन । त्यसैले देशसँग प्रचण्डले कायम गरेको कृत्रिम नाताबारे जनतालाई सचेत तुल्याउन सकियो भने मात्र देशको अस्तित्व र स्वतन्त्रता रक्षा गर्न सकिने स्थिति बनेको छ । प्रचण्ड र देश सँगै रहन नसक्ने जुन अवस्था सिर्जना भएको छ, त्यसले हामी जनतालाई प्रचण्ड या देश दुईमध्ये एउटा रोज्नुपर्ने स्थितिमा पु-याएको छ ।

२६ भाद्र २०७०, बुधबार २१:०२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

प्रधानमन्त्रीलाई मुख्य सचिवको निवासमा सारियो

निरोज कुमार थापा, काठमाडौँ, २२ मंसिर । १० दिन लामो अस्पताल बसाईँबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई सरकारी निवास..

ठूला करदाता कार्यालयले एनसेललाई तोक्यो २२ अर्ब ४४ करोड कर

काठमाडौँ, २२ मंसिर । ठूला करदाता कार्यालयले एनसेललाई २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ ।..

८ एसपी र २१ डिएसपीको सरुवा (सूचीसहित)

काठमाडौँ, २१ मंसिर । नेपाल प्रहरीले ८ एसपी र २१ डिएसपीको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले उनीहरुको..

उपप्रधानमन्त्री पोखरेलले भने, ‘सीमा समस्या विरासतकै रुपमा आएको छ’

काठमाडौँ, २० मंसिर । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले मूलुकको सीमा समस्या विरासतकै रुपमा आएको बताएका..

अमेरिकाले भन्यो, ‘हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक बन्दिनोस्’

काठमाडौँ, १९ मंसिर । नेपाल भ्रमणमा रहेका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी..