नागरिकताको सवाललाई बनाइनुहुन्न राजनीतिक मसला :: त्रिभुवनचन्द्र वाग्ले

‘Citizenship consists in the service of the nation’

– Jawaharlal Nehru

I love my country. And I would have to renounce my Spanish citizenship to become a U.S. Citizen.

– Antonio Banderas, Spanish film actor and director.
सन् १८८९ मा जन्मनुभएका जवाहरलाल नेहरू र १९६० मा जन्मनुभएका एन्टिनियो बान्डरसबीच तुलना गर्न मिल्ने धेरै सन्दर्भ देखिँदैन । नेहरू नेता, बान्डरस अभिनेता, निर्देशक । नेहरूले भारतलाई बेलायती उपनिवेशबाट मुक्त गराउन योगदान दिनुभयो । बान्डरसले स्पेनिस चलचित्रलाई विश्वमा चर्चित बनाउन विशेष योगदान दिनुभयो । आ–आफ्ना मुलुकमा उहाँहरू उत्तिकै लोकप्रिय हुनुहुन्छ । विश्व राजनीतिमा नेहरूले आफ्नो विशेष स्थान बनाउनुभएको छ । खासगरी दक्षिण एसियामा नेहरू राजनीतिशास्त्रका विद्यार्थीका लागि शोधग्रन्थ बन्नुभएको छ । विश्वका स्पेनिस र अङ्ग्रेजीभाषी मात्र होइन फ्रेन्च अन्य भाषीबीच बान्डरसले त्यस्तै विशिष्ट स्थान बनाउनुभएको छ । उहाँहरू एक शताब्दी अन्तरका छुट्टै विधाका पात्र हुनुहुन्छ । उहाँहरूका कतिपय सन्दर्भ भने मिल्दाजुल्दा छन् भने कति फरक छन्, यी सबै पक्षमा तुलना गर्नु लेखको उद्देश्य होइन । नेपाली राजनीतिक सन्दर्भमा घरिघरि दोहोरिरहने नागरिकताको सन्दर्भमा उहाँहरूले झन्डै एक शताब्दीको अन्तरमा व्यक्त गर्नुभएका विचार समान र मननीय देखिएका छन् ।
वर्तमान रेग्मी सरकार बनेपछि यो सरकारको काम संविधानसभाको निर्वाचन सम्पन गर्नु हो भनिएको थियो । चार राजनीतिक शक्तिले ११बुँदे सहमतिमार्फत सरकारलाई संविधानसभाको दोस्रो निर्वाचनको कार्यभार सुम्पिएका पनि हुन् । तर, धेरैले यो पनि भनेका थिए कि रेग्मी सरकारको मुख्य काम निर्वाचनलाई अगाडि राखेर विदेशीलाई नेपाली नागरिकता दिनु हो । नेकपा–माओवादीसँग गठबन्धनमा रहेका ४२ मध्ये केहीले बाहेक सबै दलले निर्वाचनका नाममा विदेशीलाई नागरिकता दिने, त्यही आधारमा उनीहरूलाई मतदाता बनाउने, यस्ता मतदाताको आधारमा संविधानसभाका सदस्यको सङ्ख्या निर्धारण गरी संविधानसभा र संसद् बनाउने, अनि तिनै प्रतिनिधिमार्फत राष्ट्रियताका सवालमा फैसला गराई सिक्कमको संसद्को निर्णयले आफ्नो देश भारतमा विलय गराएजस्तै नेपाललाई वैधानिक किसिमबाटै भारतमा विलय गराउने दीर्घकालीन योजनाअन्तर्गत वर्तमान सरकारको उपयोगिता गैरनेपाली खासगरी भारतीयलाई नागरिकता प्रदान गर्नका गरिएको विचारहरू सार्वजनिक गरे । यिनै घटना, आरोप र शङ्काबीच नेहरू र बान्डरसले नागरिकताका सन्दर्भमा व्यक्त गर्नुभएका विचार मननीय देखिएका छन् । नेहरूले Citizenship consists in the service of the nation भनेर राष्ट्रभक्तिबाट नागरिकता बन्दछ भन्नुभयो । बान्डरसले I love my country. And I would have to renounce my Spanish citizenship to blecome a U.S. Citizen. (म आफ्नो देशलाई माया गर्ने भएकाले अमेरिकी नागरिक हुनैका लागि स्पेनिस नागरिकता त्याग्ने छैन ।) धेरै परिवेश भिन्न भए पनि नागरिकताको सन्दर्भमा नेहरू र बान्डरस भनाइ धेरै नजिक छन् । यद्यपि राजनीतिशास्त्रका धेरै विद्वान्ले राज्य, राष्ट्रियता र नागरिकताबारे धेरै पुस्तक र दर्शन जारी गरेका छन् ।
नेपाली सन्दर्भमा नागरिकताको प्रमाणपत्रका सम्बन्धमा धेरै नै विरोधाभाषपूर्ण विचारहरू मन्थनमा रहेका पाइन्छ । नागरिकताको सवाल राष्ट्रियतासँग जोडिन पुग्दछ । मधेसी दलहरूले नागरिकता प्रमाणपत्रलाई राजनीति गर्ने साधन बनाएका छन् । केही दलहरूले मधेसी दलहरूले गैरनेपालीलाई नेपाली नागरिक बनाउनकै लागि यस्ता माग गरिरहन्छन् भन्ने आरोप लगाउने गरेका छन् । आरोप र शङ्काभन्दा पनि यी समस्यालाई बृहत् दृष्टिकोण राखेर समाधान गर्नु बुद्धिमत्ता हुनेछ ।
मुलुुकको सम्पन्नता र विपन्नताले पनि नागरिकतालाई आकर्षक र विकर्षक गर्दोरहेछ । दुई जर्मनीबीचको विकासअन्तरले बर्लिनको पर्खाल ढल्यो । आज त्यही अवस्थाको पुनरावृत्ति दुई कोरियाबीच हुने देखिएको छ । जबसम्म नागरिकले कुनै मुलुकको नागरिक हुनुको गर्व गर्दैन त्यहाँ देशभक्तिको अङ्कगणित कमजोर हुन्छ नै । विदेशी नागरिकले नेपाली नागरिकता पाउनुहुँदैन भनेर गरिएको चिन्ता स्वाभाविक छ तर हाम्रो मुलुकको अवस्थालाई हेर्ने हो भने सांसद, उच्च तहमा पुगेका निजामती, सेना र प्रहरीहरू अमेरिका र अन्य विकसित मुलुकमा बस्न पुगेका छन् । यस्तै प्रकारका जनशक्ति र चेतनशील युवा डीभी लटरीमार्फत अमेरिका जान लालायित देखिन्थे । लुकेर, भागेर वा विभिन्न तरिकाले मुलुक छाड्न चाहन्छन् यस्ता युवा । लाखौँ रुपैयाँ लगानी गरेर तयार भएका चिकित्सक वा नर्स आज अस्ट्रेलिया र अमेरिका पुगेका छन् । खेलाडी पाएसम्म विदेश गएपछि नेपाल फर्कन चाहँदैनन् भन्ने आरोप र केही उदाहरण छन् । यस्ता मानसिकता बोकेका नागरिकले पाएको नागरिकताको प्रमाणपत्रले नेपाली राष्ट्रियता प्रवद्र्धन गर्छ ? नेहरू वा बान्डरसका भनाइमा नागरिकताको प्रमाणपत्र अर्थात् कागजी लिखतभन्दा देशभक्तिको भावनालाई नागरिकताको आधार बनाइएको स्पष्ट हुन्छ ।
किन मुलुकमा यस्तो अवस्था आउँछ ? के ती नेपाली जो नेपाल छाड्न चाहन्छन् ती वैगुनी हुन् देशप्रति ? छोरीको अपहरण गर्ने व्यक्तिलाई फिरौती बुझाउँदै डा. उपेन्द्र देवकोटाले भन्नुभएको थियो, बाबु मैले यो पैसा धेरै दु:ख गरेर कमाएको हुँ यसको सदुपयोग गर, तिम्रा बालबच्चा पढाउने काममा प्रयोग गर । कुन मानसिकता लिएर देवकोटा नेपालमा रहिरहनुभएको छ ? कत्रो पीडा, कुनै अभिभावकले सहन सक्छ सन्तानको अपहरण र चेतावनी । के नेहरूले भनेजस्ते देशभक्ति देवकोटाले गर्नुभएको छैन ? हो, देवकोटाले मुलुकका ऐनकानुन छलेर अथाह सम्पत्ति कमाएको भए राज्यले आफ्ना संयन्त्रको प्रयोग गरेर यस्ता दुरुपयोग रोक्नुपर्दछ तर जहाँ देवकोटा सुरक्षित हुँदैन, जहाँ उद्योग व्यवसायीहरू सधैँ चन्दाआतङ्कबाट प्रताडित हुन्छन् त्यहाँ नेहरूले भनेझैँ देशभक्ति गर्ने वातावरण रहन्छ ? आज विद्यालयका बच्चालाई सगरमाथामा पुग्ने पहिलो व्यक्ति नेपाली तेन्जिङ नोर्गे शेर्पा हो भन्दै गर्दा उनले नेपाली नागरिकता त्यागेको घटना पनि सुनाइयो भने त्यो शिशु विद्यार्थीको मनोविज्ञान कता डोहोरिएला ? उदीतनारायण झाको उदाहरणले नागरिकता गर्वलाई कसरी बुझाउन सकिन्छ भन्ने तर्कमा पनि गहन दृष्टि दिनुपर्ने हुन्छ । यस सन्दर्भमा यति नै बुझ्न पर्याप्त होला कि, विवाहको दर्ता प्रमाणपत्रले विवाहप्रति अविश्वस्तहरूलाई कानुनी सुरक्षा र राहत देला तर विवाहको गरिमा, आदर्श, औचित्य त्यस्तो लिखतबाट होइन भावनाबाट पुष्टि हुनुपर्दछ तब मात्र विवाहको भावनात्मक गरिमा रहन्छ । भारत स्वतन्त्रतासङ्ग्राम हुँदै गर्दा कतिपय भारतीले त्यो सङ्ग्रामलाई असहयोग गरी बेलायतीसँग मिलेको घटनाले गान्धी ज्यादै घायल हुनुहुन्थ्यो । त्यस्ता नागरिकले भारत सरकारले उपलब्ध गराएका जतिसुकैवटा नागरिकताका प्रमाणपत्र छातीमा झुन्ड्याए पनि त्यस्ता व्यक्ति नेहरूको शब्दमा नागरिक हुन सक्दैन । नेपाली नागरिकता प्रमाणपत्र वितरण र प्राप्तिमा राज्य, व्यक्ति र अधिकारीहरूका कमी–कमजोरी रहेका देखिन्छन् । यहीँनेर नेपाली नागरिकता प्रमाणपत्र वितरणमा कोही चाहिनेभन्दा बढी उदार हुने र कोही अनावशयक अनुदार हुनुपर्ने आवश्यकता रहनुहुँदैन । नागरिकताको सवालमा अति नरम र गरम हुने दुवै प्रवृत्ति मुलुकका लागि घातक हुन्छन् । यस्ता संवेदनशील विषयलाई राजनीति गर्ने माध्यम बनाइनुहुँदैन । यो केही कानुन र केही भावनाको पक्ष पनि हो । राजनीतिका लागि गरम मसला बनाइनुहुँदैन नागरिकताको सवाल ।

१३ भाद्र २०७०, बिहीबार ०७:५५ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

उपप्रधानमन्त्री पोखरेलले भने, ‘सीमा समस्या विरासतकै रुपमा आएको छ’

काठमाडौँ, २० मंसिर । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले मूलुकको सीमा समस्या विरासतकै रुपमा आएको बताएका छन् । सीमा बचाऔं..

अमेरिकाले भन्यो, ‘हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक बन्दिनोस्’

काठमाडौँ, १९ मंसिर । नेपाल भ्रमणमा रहेका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी..

हाइब्रिड गाडीको भन्सार छुट खारेज

निरोज कुमार थापा, काठमाडौँ, १९ मंसिर । सरकारले हाइब्रिड गाडीको आयातमा दिईदै आएको भन्सार छुट खारेज गरेको छ । अर्थ..

प्रधानमन्त्रीको दूत बनेर भारत जान पाएनन् माधव नेपाल

निरोज कुमार थापा, काठमाडौँ, १८ मंसिर । नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको भारत भ्रमण रोकिएको छ । भारतले..

गृहले फेर्‍यो ५ जिल्लाका सिडिओ, को कहाँ पुगे ?

निरोज कुमार थापा, काठमाडौँ, १७ मंसिर । गृह मन्त्रालयले ५ जिल्लाको प्रमुख जिल्ला अधिकारी (सिडिओ) फेरबदल गरेको छ ।..