गोलमेच बैठक गर्न तयार भएकाहरु कसको इसारामा पछि हटे ? :: मोहन वैद्य (अध्यक्ष, नेकपा–माओवादी)

० राजनीतिक दलहरूसँग तपाईंहरूको वार्ता किन सफल हुन सकेन ?

– खै ! हामी पनि आश्चर्यमा परेका छौँ । गोलमेच बैठकका निम्ति तयार भएका दलका नेताहरूको मनस्थिति दुई दिनमै अकस्मात् किन परिवर्तन भयो भन्ने कुरा रहस्यपूर्ण नै छ । गोलमेच बैठक गर्ने, अन्तरक्रिया र गृहकार्य गर्ने, त्यसैबाट सहमति जुटाएर संविधानसभाको चुनावमा जाने र संविधान बनाउने भन्ने विषयमा सौहार्दपूर्ण कुराकानी र सहमति भएको थियो । अर्को बैठकमा गोलमेच बैठकका कार्यविधि आदिबारे आ–आफ्ना विचार लिएर भेट्ने र छलफल अघि बढाउने भन्ने सहमति भएको हो । तर, अर्को बैठक बस्नै नपाई हामीसँग बैठक नै नबस्ने एकतर्फी घोषणा कथित ठूला दलका नेताहरूले गरे, यसो किन गरे भन्ने खोजीकै विषय बनेको छ ।
० तपाईंहरूले स्वीकार गर्नै नमिल्ने प्रकारको एजेन्डा प्रस्तुत गर्न लागेकाले दलहरू रिसाएका रहेछन् नि, होइन र ?
– एजेन्डा प्रस्तुत गर्दै नगरी बैठक तिरस्कार गरियो । आ–आफ्ना एजेन्डा लिएर आउने र छलफल गर्ने त भनिएकै थियो । बैठक गर्ने भनेकै छलफलका निम्ति त हो, एजेन्डा प्रस्तुत गर्दैमा त्यो पास हुनैपर्छ या हुन्छ नै भन्ने त छैन नि । हामीले त गोलमेच सम्मेलन कसरी गर्ने, त्यसमा को–को बस्ने, त्यसको विधि र प्रक्रिया के हुने भन्ने विषयमा टुङ्गोमा पुग्नका लागि छलफल गर्न प्रस्ताव ल्याएका थियौँ । यी विषयमा छलफल नै नगरी कसरी गोलमेच बैठक सम्पन्न हुन सक्छ त ? के हामीले यसरी छलफल गरौँ भन्नु गल्ती हो ? बैठकमा उहाँहरूले पनि आफ्ना कुरा राख्नुहोला, हामी पनि आफ्ना कुरा राख्छौँ, त्यसमा के ठीक, कति ठीक, कति बेठीक भनेर बहस हुन्छ, अनि मात्र न सहमतिमा पुग्ने हो । तर, सुरुमै तिम्रा एजेन्डा कामै नलाग्ने छन् भन्ने हचुवा आरोप लगाएर पन्छिने काम गरियो । त्यसो हो भने वार्ता केका लागि त ? वार्ता नगरेर आ–आफ्ना एजेन्डा र नीति बोकेर आ–आफ्नै तालले हिँडे भइगयो नि ! हामीले बोकेका एजेन्डाजति कानुनविपरीत र उहाँहरूले गरेका कामचाहिँ सबै कानुनसम्मत हुन् ? संविधान र कानुन मिचेर दलहरूले कति काम–कुरा गरेका छन्, यसको हिसाब कसले राख्ने ? सहमतिका माध्यमबाट समस्याको हल गर्ने भन्ने नै हाम्रो उद्देश्य थियो र वार्ताका लागि हामी तयार भएका थियौँ । तर, दलहरूले पूर्वाग्रही व्यवहार प्रदर्शन गरे ।
० जे होस्, तपाईंहरूले अप्ठ्यारा बुँदाको प्रस्ताव गर्नाले नै वार्ता भाँडियो, होइन र ?
– कसरी हामीले भाँड्यौँ ? हामीले अप्ठ्यारा बुँदा राखेका थियौँ भने छलफलमा उत्रिएर यसो नगरौँ भन्दा भइहाल्थ्यो नि ! त्यतिबेला हामी आफ्नो तर्क प्रस्तुत गरेर उहाँहरूलाई कन्भिन्स गर्ने प्रयास गथ्र्यौं, हामीले नसके उहाँहरूले हामीलाई कन्भिन्स गर्दा भइहाल्थ्यो । छलफल गर्नै नचाहने अनि हामीमाथि वार्ता भाँडेको भनी आरोप लगाउने ? कहाँसम्म न्यायसङ्गत छ यो कुरा ?
० तपाईंहरूले निर्वाचनको मिति परिवर्तन गर्ने, सरकार फेर्ने कुरामा अडान लिनुभएका कारण दलहरूले वार्ता तोड्नुपरेको भन्ने कुरा छ नि, यथार्थ के हो त ?
– हामीले त आफ्नो कुरा राख्ने नै भयौँ नि । सुरुदेखि नै राख्दै आएको कुरा नै हो नि त्यो त । त्यसैका लागि त छलफल गर्नुपर्‍यो भनेको नि । छलफलमै नबसेपछि, हाम्रो तर्क सुन्दैनसुनेपछि दोषी हामी भयौँ कि दलहरू ? जम्मै कुरा उहाँहरूले गरेकै सही हो भनेर मानिदिनुपर्ने भए त हामीले किन आफ्ना कुरा राखिरहनुपथ्र्यो र ? गोलमेच सम्मेलनमा सबैलाई समेटेर समस्याको हल गरौँ भनेर किन भन्नुपथ्र्यो र ? उहाँहरू गलत बाटो हिँडिरहनुभएको छ, यसरी जनताले चाहेको वास्तविक संविधान बन्न सक्दैन भनेर त गोलमेच बैठकको अवधारणा ल्याउनुपरेको हो । हामीले चुनावको मिति र सरकार परिवर्तन नगरी वार्तामा बस्दैनौँ भनेर अडान लिएको भए हामीले अर्घेल्याइँ गरेको ठहरिन्थ्यो होला, यिनै विषयलाई छलफलबाट टुङ्गो लगाऔँ भनेर वार्तामा आउँदा वार्तै नगर्ने अनि उल्टै चुनाव भाँड्नका लागि यो सब गरिरहेको भन्ने फजुलको आरोप लगाएर हामीलाई बाइपास गर्न खोजिएको छ । नियोजित ढङ्गले नै यो सब गरिएको हामीलाई शङ्का लागेको छ । त्यसैले वार्ता हामीले होइन उहाँहरूले नै एकतर्फी रूपमा तोडेको हो ।
० चुनावको मिति सार्न मिल्दैन भन्ने त उच्चस्तरीय समितिमा रहेका पाँच दलको बटमलाइन हो नि, यो थाहा थिएन र तपाईंहरूलाई ?
– सबै कुरा यथास्थितिमा राखेर चुनाव हुन सक्दैन र हामी त्यसरी चुनावमा सहभागी हुँदैनौँ भन्ने हाम्रो पनि त बटमलाइन हो नि ! तपाईंहरू गलत गरिरहनुभएको छ, तपाईंहरू सच्चिनुपर्‍यो, तपाईंहरूले सहमति तोड्नुभएको छ भनेर त हामीले भन्दै आएकै हौँ । यसरी आ–आफ्ना अडान कायम रहेकाले यसलाई तोड्नका लागि त छलफल गर्नुपरेको हो । केही हाम्रा कुरा लागू गर्ने केही अर्को पक्षको लागू गर्न तयार हुने मानसिकताबाटै हामी वार्ताका निम्ति तयार भएका थियौँ । हाम्रो यस सद्भावनाको उपेक्षा गर्ने काम भएको छ ।
० त्यसो भए छलफलपछि तपाईंहरू मङ्सिर ४ कै लागि पनि तयार हुन सक्नुहुन्थ्यो त ?
– जनताका मुद्दा सम्बोधन हुनेगरी संविधानसभाको निर्वाचन मङ्सिर ४ सम्ममै सम्भव हुन्छ भने हामीलाई केको आपत्ति ? छलफल गरेर त्यो सम्भव छ भन्ने हामीलाई बुझाउन किन नसकेका दलहरूले ? चुनावको मितिलाई नै हामीले इस्यु बनाएका त हौइनौँ नि बाबा । के चुनावको मिति सर्दैमा देश र जनताका समस्या हल हुने हो र ? हामीले चाहेको त सबै समस्या हल हुनेगरी छलफलमा जुटौँ, यसो गर्दा समय लम्बिन सक्छ, त्यसैले चुनावको मिति पनि सर्न सक्छ, यसका लागि मानसिकता बनाएर अघि बढौँ भन्ने पो हो त । त्यत्तिकै चुनाव भँडुवाको आक्षेप लगाएर बद्नाम गर्न खोज्ने ? चुनाव त यी दलहरूले नै भाँड्न लागेको प्रस्टै छ नि ।
० अधिकांश दलका नेताहरू सहमत भएको विषयमा पनि तपाईंहरू अर्घेल्याइँ गरिरहनुभएको छ, होइन र ?
– कस्तो दलका नेता ? हामी पनि त दलकै नेता हौँ नि ! उनीहरू मात्रै ब्रह्मा, विष्णु, महेश्वर हुन् र जे चाह्यो त्यही हुने ? पञ्चायतकालमा राजाले जे चाह्यो त्यही गर्थे, आज यी नयाँ राजाहरू त्योभन्दा पनि निम्नस्तरको व्यवहार गरिरहेका छन् । अरूको कुरै नसुन्ने, केही कुरा राख्न खोज्दा सुनुवाइ गर्नुको साटो आरोप र अपहेलित गर्न खोज्ने । के यही हो लोकतन्त्र ? हाम्रो साथमा आमनेपाली जनता छन् भन्ने किन बुझ्दैनन् यी नेताहरू ? यस्तै हो भने अब इतिहासले निसाफ गर्छ । हामी यिनीहरूसँग भिख मागेर जनताको अधिकार स्थापित गर्न लागिपरेका होइनौँ । सबै कुरा इतिहासले नै निर्धारण गर्छ ।
० तपाईं त चुनावको माहोल बनाउनेभन्दा उग्र कुरा पो गरिरहनुभएको छ त ?
– यथार्थ धरातलमा उभिएर सत्य कुरा गर्दा उग्र कुरा गरेको ठहर हुन्छ भने भन्नु केही छैन, तर यथास्थितिको चुनावबाट जनताको संविधान बन्दैन, समस्या समाधान हुँदैन भन्नेमा हामी क्लियर छौँ ।
० त्यसो भए के तपाईंहरू चुनावको खिलाफमै जाने त अब ?
– यस्तै हालमा त हामी बहिष्कारमै जाने हो भनेर आज होइन निकै पहिलेदेखि नै भन्दै आएका हौँ । बहिष्कारको नीतिसँगसँगै वार्ताको ढोका पनि खुल्लै राख्ने हाम्रो नीति छ, अझै पनि दलहरूले पुनर्विचार गरून् ।
० किन अन्य दलहरूको मात्रै कुरा गर्नुहुन्छ, तपाईंहरूको चाहिँ दायित्व छैन र मुलुकका समस्या समाधानका लागि ?
– दायित्व छ भन्ने बोध गरेर त हामी यी कुरा गरिरहेका छौँ त ।
० अनि किन निर्वाचनको यत्रो विरोध गरिरहनुभएको छ त ?
– निर्वाचनले मात्रै सबै निकास दिन्छ र ? निर्वाचन त पञ्चायतकालमा पनि हुन्थे । के त्यसले निकास दियो ? निकास दिएको भए पटक–पटक आन्दोलनमा किन होमिए त दलहरू ?
० लोकतन्त्रका लागि थिए नि ती आन्दोलन, अब त लोकतन्त्र हासिल भइसक्यो नि होइन र ?
– के यस्तै हुन्छ लोकतन्त्र ? लोकतन्त्र हो भने हाम्रो कुराको सुनुवाइ किन भइरहेको छैन ? यो लोकतन्त्र होइन, यो त अभिजाततन्त्र हो अभिजाततन्त्र । दर्जनका दर्जन दललाई पाखा लगाएर मनपरी गर्न खोजिनु लोकतन्त्र हुन्छ ? यो त ठेट अभिजाततन्त्र हो ।
० संविधानसभाबाट संविधान बनाउने अभियानमा सरिक नभई पछि हट्ने तपाईंहरूको प्रवृत्तिचाहिँ कुन तन्त्र हो नि ?
– हामी पछि हटेका होइनौँ, हट्न बाध्य तुल्याइँदै छ । हामीलाई कथित ठूला दलहरूले धोका दिएका छन् । दुई दिनअघि गोलमेच बैठक बस्न सहमति जनाउनेहरू एक्कासि कसको इसारामा पछि हटे ? किन नेपाली जनतालाई धोका दिने काम भयो ? उनीहरू इन्टेन्सनल्ली पछि हटेका छन्, यसमा गम्भीर रहस्य छ । चुनाव त हामी पनि चाहन्छौँ, तर अरूको इसारामा नक्कली निर्वाचन होइन, वास्तविक चुनाव चाहन्छौँ ।
० अझ प्रस्टसँग भनिदिनुहोस् त, तपाईंहरू आगामी संविधानसभाको चुनाव उपयोग गर्ने कि नगर्ने ?
– प्रस्टै भनिसक्यौँ त मौजुदा हालतमा यो चुनावको उपयोग होइन बहिष्कार गर्ने हो भनेर । कथित लोकतन्त्रवादी दलका नेताहरूले हामीलाई लिएर चुनावमा जान नचाहेको प्रस्टै भयो, यस अवस्थामा हामी आफ्नै प्रकारले बहिष्कारमा जान्छौँ । गोलमेच सम्मेलनका निम्ति उहाँहरू तयार हुनुभयो, राजनीतिक इमानदारी देखाउनुभयो, लोकतान्त्रिक प्रवृत्ति देखाउन सुरु गर्नुभयो भन्ने हामीलाई लागेको थियो । तर, यो सब मिथ्या रहेछ । उहाँहरू सुध्रिनुभएको रहेनछ । त्यसैले अब बहिष्कार र आन्दोलनको विकल्प नै रहेन हाम्रासामु । यस्तो पञ्चायतीकालको भन्दा निकृष्ट चुनावमा हामी सरिक हुने त कुरै आउँदैन ।
० तपाईंजस्तो जनभावना बुझेको नेताले आजको युगमा यस्तो जनभावनाविपरीतको कुरा गर्न सुहाउँछ र भनेको ?
– जनभावनाअनुरूपकै कुरा गरिरहेको छु म । अन्य दलका नेताहरूलाई म चुनौती दिन चाहन्छु कि जनताको हकहितका लागि तपाईंहरू राजनीति गर्नुस्, देश र जनताको खिलाफमा गरिने क्रियाकलाप राजनीतिअन्तर्गत पर्दैनन् । को जनताको पक्षमा छ र को विरोधी भन्ने इतिहासले एक दिन छर्लङ्गै पार्नेछ, यो पनि मेरो चुनौती नै भयो दलका नेताहरूलाई ।
० तपाईं चुनौती दिने कुरा गर्नुहुन्छ, उता दलहरूले निर्वाचन सम्पन्न गरी मुलुकलाई संविधान, शान्ति र विकासको बाटोमा लैजाने कसम खाइसके, के भन्नुहुन्छ ?
– खुट्टी देखेरै चाल पाइसकियो यी दलहरूले संविधान, शान्ति र विकासको बाटोमा मुलुकलाई लैजान्छन् कि कुन रसातलमा भसाउँछन् भन्ने त । आफूले नसकेर ‘लौ न हजुर संविधान बनाइदिनुस्’ भनी हात जोड्दै निर्दलीय चरित्रको शासन–व्यवस्था उनीहरू नै निम्त्याउँदै छन्, यिनले देश बनाउने ? सक्ने भए त आफैँले गर्थे होलान् नि, लोकतन्त्रको राग अलाप्दै इतिहासले नै दुत्कार्ने यस्तो निर्दलीय नजिर खडा गर्न लागिपर्थे ?

१२ भाद्र २०७०, बुधबार ०८:५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिकामा एकै दिन थपिए ९१ हजार ५३ कोरोना संक्रमित

न्यूयोर्क । हिजो बिहीबार अमेरिकामा ९१ हजार ५० जना कोरोना भाइरसका संक्रमित थप भएका छन् । यो अहिलेसम्मकै संक्रमितको संख्या बढी हो ।..

मुकेश चौरसिया हत्याको किटानी जाहेरी दर्ता

पर्सा । पर्साको बिन्दाबासिनी गाँउपालिकाका नेकपा कार्यकर्ता मुकेश चौरसियाको हत्याको किटानी जाहेरी आज प्रहरीले..

चन्द समूहका कम्पनी कमिसारसहित दुई जना पक्राउ

काठमाडौं । नेत्रविक्रम चन्द समूहका कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा..

चितवनमा सङ्कलित प्लाज्मा अन्य जिल्लामा

क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले सङ्कलित कोभिड–१९ सङ्क्रमण भई निको भएकाका प्लाज्मा अन्य जिल्लामा पठाउन..

प्रहरीको गोलीबाट अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेल्फियामा तनाव

न्यूयोर्क । अमेरिकाको पेन्सिलभेनिया राज्यस्थित फिलाडेल्फिया शहरमा प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको..