मिति सारेर पनि वैद्य समूहलाई निर्वाचनमा सहभागी गराउनु पर्छ :: अशोक मेहता, (नेपालविद्, भारतीय सेनाका पूर्वजनरल)

० नेपालमा संविधानसभाका लागि दोस्रो निर्वाचन हुने या नहुने संशय बाँकी नै छ, तपाईं नेपालको राजनीतिक मामलाबारे विशेष चासो राख्ने र विश्लेषणसमेत गर्ने व्यक्ति हुनुहुन्छ, तपाईंको नजरमा आगामी मङ्सिर ४ मा संविधानसभाको निर्वाचन होला कि नहोला ?
– जहाँसम्म मैले बुझेको छु नेपालमा दोस्रो संविधानसभाको निर्वाचन सम्भव छ । भएन भने त नेपालले ठूलो मौका गुमाउँछ, झन् पछि पर्ने अवस्था आउँछ । किनकि, संविधानसभाबाट संविधान बनाउने यो नै अन्तिम मौका हो भन्ने मलाई लाग्छ । पटक–पटक संविधानसभाको निर्वाचन भइरहन सम्भव हुँदैन, जनताले त्यो अवसर दिइरहन मुस्किल पर्छ । त्यसैले एक शुभचिन्तकका रूपमा म आग्रह गर्न चाहन्छु कि नेपालका सबै राजनीतिक दल मिलेर यो निर्वाचनमा सहभागी हुनुहोस् । चुनावको विरोध गर्दै आउनुभएका मोहन वैद्य पनि चुनावमा सहभागी हुनुहोस् भनी म अनुरोधात्मक सुझाव दिन चाहन्छु ।
० मोहन वैद्यजीले चुनावमा नजाने भन्नुभएको छ, अप्ठ्यारा–अप्ठ्यारा सर्त अघिसार्नुभएको छ, नेकपा–माओवादीजस्तो महत्त्वपूर्ण शक्ति नै सहभागी नभए कसरी चुनाव होला त ?
– मैले सुनेको छु कि मोहन वैद्य नेतृत्वको पार्टीले गोलमेच सम्मेलन, चुनावको मिति सार्ने र मन्त्रिपरिषद् अध्यक्षले प्रधानन्यायाधीशबाट राजीनामा दिनुपर्ने भनी तीनवटा सर्त अघिसारेको छ, वार्ताबाट यसको समाधान निस्कन्छ । उहाँहरू वार्ताका लागि तयार रहेको सूचना मैले पाएको छु । मलाई लाग्छ कि मोहन वैद्यजीलाई यो निर्वाचन नेपालको हितमा छ, लोकतन्त्रको हितमा छ भन्ने राम्रो ज्ञान छ । त्यसैले उहाँ पनि सुरक्षित अवतरणको बाटो पाएमा निर्वाचनमा जानुहुन्छ । त्यसका लागि चुनावको मिति केही पछि सार्न र खिलराज रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा गराउन प्रमुख दलहरू तत्पर हुनुपर्ने अवस्था आउन सक्छ, जसले वैद्यजीलाई जितको अनुभूति गराउँछ र त्यसले अन्य पक्षलाई खास घाटा पनि गराउँदैन । यसरी अन्तत: सबै सहभागी भएर चुनाव हुने माहोल निर्माण हुनसक्छ ।
० मङ्सिर ४ गतेका लागि निर्धारण गरी सोअनुरूपको तयारी अघिबढिसकेको परिवेशमा नेकपा–माओवादीको चाहनाअनुरूप त्यो मिति सार्नुपर्छ भन्ने तपाईंको आशय हो ?
– बाधा अड्काउ फुकाउको सहारा लिएर राष्ट्रपतिद्वारा निर्वाचनको मिति २०–२५ दिनजति पर सार्नुमा त्यस्तो खास आपत्ति मान्नुपर्ने कारण म देख्दिनँ । तर, म जोड दिएर भन्न चाहन्छु कि मङ्सिरभित्रै चुनाव हुनुपर्छ, धेरै पछि सार्न खोज्नु घातक हुनसक्छ ।
० अनि गोलमेच सम्मेलन गर्न पनि दलहरू तयार हुनुपर्ने भयो होइन त वैद्यजीलाई चुनावमा लैजानका लागि ?
– हो, हो । दुईपक्षबीच कम्प्रोमाइज हुनुपर्छ यस्ता विषयमा । तर, चुनाव हुन नदिने प्रकारका बहानाबाजी गरिएचाहिँ वैद्यजीहरू चुनावमा नगए पनि चुनाव रोकिनुहुन्न, हुनैपर्छ । राम्रोचाहिँ यसैमा हुन्छ कि यथासम्भव वैद्यजी पनि निर्वाचनमा सामेल हुनुपर्छ । यसो हुन सके नेपालको दूरगामी हित हुनेछ ।
० वैद्यजी चुनावमा सामेल भए त राम्रै होला, नभएमा पनि चुनाव गर्नैपर्छ भने त त्यो चुनावले समस्या समाधान गर्नुको साटो झन् बल्झाउँदैन र ? संविधान प्राप्त होला र नेपालमा ? त्यसले भोलि फेरि द्वन्द्व निम्त्याउँदैन र ?
– द्वन्द्व निम्तने गरी असन्तुष्ट पक्षलाई भड्काउने होइन कि लोकतान्त्रिक प्रक्रियामा ल्याउन पहल गरिरहनुपर्छ । असन्तुष्ट पक्षको जायज कुराहरूको सुनुवाइ पनि गर्नुपर्छ राज्यले । यसो गरिएमा आक्रोश कम हुन्छ र विश्वास बढ्छ । तर, कुनै एउटा पार्टीले राजनीतिक प्रक्रियाबाट आफूलाई विमुख गराउँदैमा मुलुक यथास्थानमा रोकिएर बस्न भने सक्दैन, बस्दैबस्दैन, मिल्दैमिल्दैन ! मेरो भनाइको मतलब वार्ताको निम्ति सबै पक्ष लचकदार हुनु आवश्यक छ, यथासम्भव वैद्यजीहरूलाई चुनावका निम्ति तत्पर गराउनुपर्छ, भएभरको जोड लगाउँदा पनि भएन भने त उहाँहरूलाई उहाँहरूकै स्थानमा रहन दिएर अन्य सबै पक्ष निर्वाचन प्रक्रियामा होमिनुपर्छ ।
० भनेपछि भारत यसपटक नेपालमा जसरी पनि संविधानसभाको निर्वाचन भएको हेर्न चाहन्छ, होइन त ?
– भारत मात्र होइन चीन, युरोपियन युनियनलगायत सबै अन्तर्राष्ट्रिय निकायले यसको समर्थन गरेका छन् । नेपालमा चुनाव हुनु सार्कराष्ट्रको पनि हितमा छ, सबैभन्दा महत्त्वपूर्ण त वैद्यजीहरूको पनि हितमा छ । यो कुरा मोहन वैद्यजीले राम्रैसँग बुझ्नुपर्ने हो । यो बुझेर वैद्यजीले पनि यसपटकको संविधानसभा निर्वाचनको समर्थन गर्नैपर्छ ।
० यसपटक चुनावको समर्थन नगरे वैद्यजी र नेकपा–माओवादीको राजनीतिक भविष्य के होला ?
– यो चुनाव संविधान निर्माणका लागि हो, फेरि संविधानसभाबाट संविधान बनाउने कुरा त मोहन वैद्यजीकै एजेण्डा पनि हो । यस्तो महत्त्वपूर्ण चुनावमा भाग नलिनुको मतलब नेपालको भाग्य र भविष्य कोर्ने ऐतिहासिक अवसरबाट आफूलाई विमुख गराउनु हो । के वैद्यजी देशको संविधान बनाउने कार्यमा कुनै योगदान गर्न नचाहनुहोला र ?
० वैद्यजीको पार्टीका कतिपय नेताहरू आवश्यक परे फेरि हतियार उठाउने कुरा गर्छन्, यस्तो सम्भव होला ?
– आजको परिवेशमा फेरि सशस्त्र युद्धमा जाने कुरा अव्यावहारिक त छँदै छ असम्भव पनि होला भन्ने मलाई लाग्छ । हतियार उठाउँदा मोहन वैद्य र उहाँको पार्टीलाई मात्र होइन सिङ्गो नेपाललाई नै नोक्सान पुग्छ, नयाँ नेपाल निर्माणमा ठूलो धक्का पुग्छ । हतियार छोडेर एकपटक चुनावमा सहभागी भइसकेको पार्टी हो वैद्यजीको पार्टी । अब उल्टो कदम चाल्नुहोला भन्न त्यति सजिलो छैन ।
० भविष्यमा प्रचण्ड र वैद्यजीको मिलन हुन सक्ला कि नसक्ला ?
– नसक्ने कुरा छैन, राजनीतिमा कतिबेला के सम्भव हुन्छ भन्न सकिन्न । पहिले–पहिले प्रचण्डहरू लोकतान्त्रिक मार्गमा आउँदैआउँदैनन् भन्ने ठानिन्थ्यो, तर आज उहाँहरू लोकतान्त्रिक बाटो पहिल्याउन कसरतरत हुनुहुन्छ । यस्तै वैद्यजीहरू पनि लोकतन्त्रको मार्गमा आउनैपर्ने हुन्छ । त्यस अवस्थामा उहाँहरूको सबभन्दा नजिकको मित्र तत्कालका लागि प्रचण्डजीहरू नै हुनुहुनेछ । यसर्थ वैद्य र प्रचण्डजीहरूको मिलन सम्भव देख्छु म ।
० नेपालमा फेरि कतिपयले राजसंस्था पुनस्र्थापनाको माग गर्दै छन्, यस्तो सम्भव होला ?
– नेपाल लोकतान्त्रिक मार्गमा हिँड्ने कोसिस गर्दै छ, भावी निर्वाचनले यो कदमलाई अझै सबल तुल्याउँछ । त्यसैले म जोड दिएर भनिरहेको छु कि वैद्यजीहरू पनि निर्वाचनमा आएर लोकतन्त्रलाई बलियो बनाउने प्रयासमा सहभागी हुनु आवश्यक छ । लोकतान्त्रिक मार्गबाट मुख्य राजनीतिक दलहरू नै च्यूत हुने हो भने त जे पनि हुन सक्छ । मैले भने कि राजनीतिमा सम्भावनाहरू हुन सक्छन्, तर जहाँसम्म नेपालमा राजसंस्थाको पुनस्र्थापनाको प्रश्न छ यो त्यति सजिलै अब सम्भव हुने देखिन्न ।
० आवश्यक पर्‍यो भने अबको चुनावमा नेपाली सेना परिचालित हुन सक्ला कि नसक्ला ?
– नेपालको सेना ‘सिभिलियन कन्ट्रोल’मा आइसकेको छ । त्यसैले ऊ सरकारको मातहत रही अह्राएबमोजिम काम गर्छ भन्ने मेरो बुझाइ हो । यसर्थ, चुनावको बेला सेनाको प्रयोग गर्न आवश्यक देख्यो भने सरकारले गर्न सक्छ, निर्देशनअनुरूप सेना परिचालित हुन सक्छ ।
० नेपालमा सैनिक शासनको सम्भावना तपाईं देख्नुहुन्छ कि देख्नुहुन्न ?
– त्यो सम्भावना म देख्दिनँ । त्यो असम्भव नै छ भन्दा हुन्छ ।
० नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाको भारत भ्रमणलाई तपाईंले कसरी हेर्नुभएको छ नि ?
– भारतले नेपालका सबै महत्त्वपूर्ण नेताहरूलाई पालैपालो सद्भावना भ्रमणमा आमन्त्रण गरेअनुरूप कोइरालाजीको भारत भ्रमण भएको हो । प्रचण्डजी, देउवाजी, माधव नेपालजीले पनि भारतको औपचारिक भ्रमण गरिसक्नुभएको छ र कोइरालापछि अब मधेसी नेताहरूको पालो छ । छिमेकी देशका नेताहरूलाई सद्भावना भ्रमणमा आमन्त्रण गर्नु कुनै अस्वाभाविक विषय त होइन । यस्तै भ्रमणको निम्तो चीनले पनि गर्न सक्छ, गरिरहेको छ । यो स्वाभाविक प्रक्रियाअन्तर्गत नै पर्छ । वर्तमान सन्दर्भमा नेपालले गर्न लागेको संविधानसभाको निर्वाचन किन गर्नुपर्‍यो, प्रक्रिया कहाँ पुग्यो, नजिकको छिमेकी हुनुको नाताले भारतले सघाउन सक्ने या सघाउनुपर्ने कुनै कुरा छन् कि भन्नेलगायतका सवालमा विचार–विमर्श गर्नका लागि मुख्य दलका शीर्ष नेताहरूको भ्रमण महत्त्वशाली हुन्छ ।

२ भाद्र २०७०, आईतवार ०७:३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

यो साता विदेशमा थप एक नेपालको निधन

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली..

कर्णाली सरकारले कोभिड सङ्क्रमितको निःशुल्क उपचार गर्ने

काठमाडौं । कर्णाली प्रदेश सरकारले कोभिड –१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ ।..

घटस्थापनापछि सात दिनमा दुई लाख बढीले छाडे उपत्यका

काठमाडौं । घटस्थापनापछि सात दिनमा दुई लाख बढीले उपत्यका छोडेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार..

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रको नाममा सम्बोधन (पूर्णपाठसहित)

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू, नेपालीहरुको ठूलो चाड, बडादशैं शुरु भइसकेको छ। यस महान् अवसरमा सर्वप्रथम म..

गोरखाबाट हनुमानढोका दरबारका लागि पठाइयो फूलपाती

गोरखा दरबारस्थित दशैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक..