मधेशमा मृगतृष्णाको राजनीति :: राजेश अहिराज

मधेशी दलका नेताहरुको यात्राले अझ स्थायित्व पाएको छैन । राजा, कांग्रेस, एमाले, माओवादी र विदेशीको पाउपुजा  गरेर विचार र पार्टी परिवर्तन गर्दै सत्ता स्वार्थ पूर्ति गर्दै आएका अधिकांश मधेशी नेताहरु अब नयाँ स्थानको खोजीमा लागेका छन् । जतिपटक मन्त्री भएपनि, जति धेरै खाए पनि नथाक्ने मधेशी नेतृत्व अब तीन धारमा लागेका छन् । पहिलो धारका मधेशी नेताहरु पहाडीलाई लोभ्याउँदै समानुपातिक मतको लोभमा पहाडतर्फ पार्टी विस्तार गर्दै लगिरहेका छन् । दोस्रो धारका नेताहरु आज पनि ठूला दल र विदेशीलाई सन्तुलन पुजा गर्दै एकीकरण र मुद्दा छनौटमा लागेका छन् । तेस्रो धारका नेताहरु आ–आफ्नो कालमा गरेका भ्रष्टाचारलाई लुकाउन र कानूनबाट जोगिन पार्टी परित्याग र पार्टी एकीकरणको राजनीति गर्न थालेका छन् । सत्तामा छँदा आफ्नो मूल्यमान्यता र मुद्दालाई बिर्सेका लोभीपापी नेताहरुले अहिले अख्तियारबाट जोगिन मधेशवादको बाक्लो डसना ओढ्न थालेका छन् र कतिपय त माओवादी पार्टीमै प्रवेश गरेका छन् । समग्रमा विभिन्न दलबाट मधेश कित्तामा राजनीति गर्न आएकाहरु आ–आफ्नो व्यक्तिगत स्वार्थ पूर्ति गरिसकेपछि आफू अगाडि देखिएको राजनीतिक अँध्यारोबाट जोगिन मृगतृष्णाको राजनीतिमा लागेका छन् । दाताहरुको दबाबका कारण कहिले एकीकरण त कहिले माओवादीकरणमा लागेका मधेशी नेताहरुको साझा भविष्य अँध्यारोमा छ । आठ वर्ष निरन्तर मधेशलाई दोहन गर्न सफल कतिपय मधेशी दलहरु अब पहाडका गरीब, दलित, आदिवासी र स्थानीयको मत दुरुपयोग गर्न पहाडतर्फ लम्कन थालेका छन् । मधेशमा आफ्नो भविष्य नरहेको थाहा पाएपछि कतिपय मधेशी नेताहरु पहाड धाउन थालेको कुरा सबैले बुझे हुन्छ ।
मधेश आन्दोलनपछि शक्तिको रूपमा स्थापित मधेशी दलहरू विगतका वर्षहरूमा फुट्नमै व्यस्त रहे । टुटफुट भइरहने दलका रूपमा मधेशी दलहरू चिनिन थाले । मधेश आन्दोलनका एजेण्डाप्रतिको धोका, सत्तास्वार्थ र द्रव्य मोहका कारण मधेशी दलहरूले मधेशी जनताको विश्वास गुमाइसकेका छन् । मंसिर ४ मा चुनावको घोषणा भइसकेको अवस्थामा फेरि सत्तामा आउन मधेशी दलहरूसँग चुनावमा जानुको विकल्प छैन । अब चुनावमा जाने कसरी भन्ने कुरा यी दलहरूको टाउको दुखाईको विषय बनेको छ । व्यक्तिवादी, जातिवादी, अवसरवादी चरित्र देखाइसकेका मधेशी दलका नेताहरू आ–आफ्नो राजनीतिक भविष्यप्रति निकै चिन्तित देखिएका छन् । सत्ताको बानी परिसकेका मधेशी दलका नेताहरूलाई अब फेरि कसरी सत्तामा पुग्ने भन्ने कुराले चिन्तित तुल्याएको छ । मधेशी दलका नेताहरूलाई राम्ररी थाहा छ कि मधेशमा आफ्नो वर्चस्व बचाइराख्न मिलेर जानुको विकल्प छैन । विगतमा सत्ता, पैसा र नेतृत्वका लागि फुटेका दलहरू अहिले आएर लाजै नमानि एकिकरणको कुरा गर्दैछन् । कुरा नगरोस् पनि कसरी उनीहरूसँग अरु कुनै विकल्प पनि त छैन । मधेशी दलहरू एक्ला–एक्लै चुनावमा जान सक्ने अवस्था छैन । त्यही भएर विगत दुई वर्षदेखि मधेशी दलहरू एकीकरणको कुरा गदैछन् । तर, नेताहरू जतिसुकै एकिकरणका कुरा गरे पनि सफल हुन सकेका छैनन् । यदि नेताहरूमा विगतको फुट प्रवृत्ति बदलिएको भए अहिलेसम्म एकिकरण पनि भई सक्थ्यो । तर, यसो हुन सकेको छैन । मधेशी दलहरूले एकातिर एकीकरणको कुरा गर्दैछन् भने अर्कोतिर संगठन विस्तारमा लागेका छन् । अझ् संगठन विस्तारलाई बढी महत्व दिएका छन् । यस्तो गतिविधिले कतै उनीहरू एकिकरणको नाटक मात्र त गरिरहेका छैनन् भने शंका उब्जिएको छ । यदि यसो हो भने विभिन्न पक्षहरू हुन सक्छन् । मधेशी दलका ठूला नेताहरूमध्ये अधिकांश अख्तियारको छानबिनमा परेका छन् । यस्तो अवस्थामा फुटेर अगाडि बढियो भने अख्तियारले समाउन सक्ने डरले पनि एकिकरणको कुरा ल्याएको हुन सक्छन् मधेशी दलहरू ।
दाता रिझाउने प्रयास :
मधेशवादी दलहरू आफ्ना जनता, ठूला पार्टी र दातृ निकायलाई रिझाउनका लागि एकिकरणको नाटक गरिरहेका छन् । मुद्दा भन्दा पनि पद प्यारो रहेकोले मधेशी पार्टीहरूबीच एकीकरण सम्भव नभएको हो । कतिपय मधेशी दलहरू आपसमा एकता नगर्ने तर, मधेश इतरका राजनीतिक शक्तिसँग अप्राकृतिकसम्बन्ध जोड्दै बसेका छन् । हुन त मधेशी नेताका निमित्त यो ठूलो कुरो होइन । ठूला दलबाट चोइटिएर मधेश कित्तामा राजनीति गर्न आएकाहरू ठूला दललाई मधेश विरोधी भनेर मधेश मत जम्मा पारे । चुनावमा विजयी भएपछि तिनै ठूला दल कांग्रेस, एमाले र माओवादीको पाउँपूजा गरेर सत्तामा छिरे । मधेशी जनतालाई पहाडीलाई धपाउनु पर्छ भनेर उचाल्नेहरू काठमाडौंमा तिनै पहाडीसँग अप्राकृतिकसम्बन्ध जोडेर सत्तामा बसिरहे । यदि कांग्रेस, एमाले र माओवादी मधेश विरोध थियो भने मधेशी दलहरू तिनीहरूसँग मिलेर सत्तामा किन गए ? कहिले ठूला दल, कहिले मधेशी जनता, कहिले विदेशी शक्ति त कहिले सत्तालाई रिझाउँदै र झुक्याउँदै संसदीय राजनीति गर्दै आएका मधेशी दलहरू अब पुनः बाहिरी शक्तिको दबाबमा एकिकरणको नाटक गर्दै बसेका छन् । मधेशी पार्टीहरूबीच एकिकरणको प्रपञ्चका बारे तमलोपाका महामन्त्री तथा प्रवक्ता सर्वेन्द्रनाथ शुक्ला भन्छन्– ‘एकिकरणको इमान्दार प्रयास भइरहेको छैन, कसैलाई देखाउन र सुनाउनका निमित्त बाहिरी मिडियाहरूमा प्रचारवाजी मात्रै हुँदैछ ।’ तमलोपा र सद्भावनाबीचको एकिकरणको सन्देश यो भन्दा पृथक छैन । सद्भावना पार्टीले तमलोपासँग कार्यगत एकता गर्ने र बाँकी मधेशी दललाई निषेध गर्ने भित्री मनशाय बोकी एकिकरणको प्रचारबाजी गरेर देशी–विदेशी शक्ति र जनतालाई रिझाउने प्रयास गर्दैछ । फोरम नेपाल र तमलोपाबीचको एकिकरणको संवाद झण्डाको रंगमै टुंगियो । विजय गच्छदारको पार्टी फोरम लोकतान्त्रिक एकिकरणभन्दा पनि पहाडतिर संगठन विस्तार गर्ने र पहाडी वर्चस्वको राजनीतिक शक्तिसँग साँठगाँठ गरी चुनावी रणनीति तयार गर्ने कार्यमा लागे । सद्भावना (सरिता गिरी), तमलोपा नेपाल (महेन्द्र राय), राष्ट्रिय सद्भावना (रामनरेश राय) बीचको एकिकरणको प्रयास पदको बाँडफाँड नमिल्दा श्री गणेश नै हुन सकेन । संघीय सद्भावना (अनिल झा), मजफो गणतान्त्रिक (राजकिशोर यादव), रामसपा (शरत् सिंह भण्डारी) लगायतका पार्टी कहाँ, कसरी, कुन तहमा र को सँग जान सकिन्छ वा कसले आफूसँग राख्ला भन्ने मृग तिष्णाको दौडमा लागेका छन् ।
एक्ला–एक्लै मधेशमा जान नसक्ने अवस्था :
मधेशी जनतासँग गरेका बाचाहरू पूरा गर्न नसकेर पुनः मधेशमै जान सक्ने अवस्था नरहेका कारण पनि कतिपय मधेशी नेताहरू सामूहिक रूपमै मर्ने वा बाँच्ने रणनीतिका तहत आकर्षक नारा र तुच्छ सोचका साथ एकीकरणको प्रयासमा जुटेका छन् । मन्त्री पदका निमित्त पार्टी फुटाएकाहरू आफ्नो सिंगो अनुहार लिएर मधेशमा गए पनि सकुशल फर्किने अवस्था नरहेका कारण अधिकांश दलहरू मोर्चाबन्दी गरेर जान चाहेका छन् । मधेशी जनताका सवालहरूका उचित जवाफ दिन सक्ने कार्य र हैसियत नरहेका कारण पनि आफूले गरेको मधेश विरोधी क्रियाकलापमा अन्य मधेशी दलले प्रश्न नउठाइदियोस् भन्ने भित्री चाहनाकै कारण व्यावसायिक नेताहरूबीच एकिकरणको प्रयास थालिएको छ ।
मधेशी जनता झुक्याउने प्रपञ्च :
संविधानसभाको निर्वाचनपछि मधेशी जनतासँग गरिएका बाचाबन्धनहरू बिर्सेर ठूला दलका पाउँपूजा गर्दै सिंहदरबारको परिक्रमा गरिबसेका अधिकांश मधेशी मन्त्रीहरूका कार्यशैली र परिणामहरू मधेश विरोधी देखिए । सत्ताका लागि जुनसुकै दलसँग जस्तो सुकै सम्झौता गरी मन्त्रालय हत्याएका मधेशी नेताहरूले गरेका क्रियाकलाप र त्यसबाट भएका उपलब्धीको विवेचना गर्दा मधेशी जनता आफूलाई ठगिएको पाए । मधेशी पार्टीहरू किन र कसका लागि फुटे भन्ने प्रश्नका जवाफ फुट्नेहरूसँग पनि रहेन । विगतका छ वर्षमा मधेशका निमित्त केही गर्न नसकेका मधेशी नेताहरू अब मधेश जान सकिराखेका छैनन् । एकिकरण गर्न सकियो भने सबै खालका बेइमान, भ्रष्टाचारी र मधेशी विरोधीहरू साझा रूपमा मधेश जान पाउँदा केही हात लाग्न सक्छ कि भनि दिवा स्वप्नका साथ मधेशी जनतालाई झुक्याउन एकीकरणको नाटक गर्दै बसेका छन् । एकातर्फ एकिकरणको प्रपञ्च हुँदैछ भने अर्कोतर्फ सहयात्री पार्टीकै नेता तथा कार्यकर्ता थुतेर अविश्वासको वातावरण बनाइँदैछ । कसैले आफूलाई एकताको विरोधी नभनुन् भनेर एकताको नाममा गरिने सम्पूर्ण बैठकमा आफ्ना उपस्थिति देखाउन पछि पर्दैनन् मधेशी पार्टीहरू । तर, भित्री मनदेखि जनतालाई पुनः कसरी ठग्न सकिन्छ भन्ने उद्देश्यका साथ एकिकरणको प्रयास गरिँदैछ । जसबाट देशी विदेशी शक्ति र जनतालाई एकसाथ झुक्याउन सकियोस् । एकिकरणको नाममा अपराधी, चोर, डाँका, भ्रष्टाचारी र मधेश विरोधीहरूसँग समेत हात मिलाइँदैछ ।

३२ श्रावण २०७०, शुक्रबार १२:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

विशेष दूत बनाएर माधब नेपाललाई भारत पठाउने कुरा हल्ला मात्रै

काठमाडौँ, २६ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतसँगको सीमा विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले..

नेपाल छिर्‍यो पश्चिमी वायु, भारी हिमपातको सम्भावना

काठमाडौँ, २६ मंसिर । बुधबार साँझ पश्चिमबाट न्युन चापिय प्रणाली नेपाल प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका..

बुधबारबाट मौसम बदली, यस्तो छ ३ दिनको अनुमान

काठमाडौँ, २५ मंसिर । जल तथा मौसम विज्ञान विभागले आजबाट नेपालको मौसम बदली हुने जनाएको छ । विभागका अनुसार हाल..

किन ओरालो लाग्दैछ सुनको भाउ ?

निरोज कुमार थापा, काठमाडौँ, २३ मंसिर । गत बिहिबारदेखी सुन तथा चाँदीको भाउमा ओरालो लाग्ने क्रम सुरु भएको छ । गत..

१७ दिनपछि ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन् । नयाँ मन्त्रीलाई बधाई..