पृथ्वीनारायण देशकै नायक थिए भने सालिक किन भत्काइयो ? :: अधिवक्ता दामोदर पौडेल

माओवादीका अध्यक्ष प्रचण्डले गत ०६९ चैत २७ गते बाग्लुङमा आफ्ना कार्यकर्ता भेलामा भनेछन् कि उनी पृथ्वीनारायण शाहपछिका देशका ‘हिरो’ (नायक) हुन् । उनका अनुसार यसरी यो देशमा दुईजना मात्र ‘नायक’ भएकोमा ती नायकबारे उनीहरूका विश्लेषण गर्नु सान्दर्भिक नै होला । 
प्रचण्डले कार्यकर्तामाझ यो पनि भनेछन्– देशमा ठूलो चुनौती आइपरेको छ र अवस्था अत्यन्त जटिल छ । अझ उनले थपेछन् कि दशवर्षे जनयुद्ध उनको नेतृत्वमा भएकाले पनि उनी देशको ‘हिरो’ हुन् । यी दुई हिरोबीच विश्लेषण किन पनि आवश्यक छ भने पहिलो हिरोले आफू देशको हिरो भएको कहिल्यै दाबी गरेनन् । उनले देशलाई एकताको सूत्रमा गाँसे । हामी सयौँ फूलका थुङ्गा भन्ने भावना फैलाए । चार जात छत्तीस वर्णको साझा फूलबारी भन्ने उनको भनाइ अहिले पनि हामी सबै एक हौँ भन्नेमा आधारित छ ।
जे होस्, पृथ्वीनारायण शाहले खुनी आक्रमण गरेर नेपाल बनाएका हुन् भन्ने प्रचण्डले आफ्नो विचारमा एकप्रकारले क्रान्तिकारी परिवर्तन गरेका हुन् । अहिले उनले पृथ्वीनारायण शाहलाई हिरो त स्वीकार गरे ! उनको यो आत्मालोचना पहिला हिंसात्मक आन्दोलनताका राजासँग भएको अघोषित सम्झौताजस्तै भएको छ । कतै यो अघोषित सम्झौताले राजसंस्थालाई पुनर्जीवन नदेओस् । इतिहास त्यति निष्ठुर हुँदैन, यसले वर्तमानमा भन्दा विगतका कार्यलाई बढी न्याय दिन खोज्छ । पृथ्वीनारायण शाहले जनतालाई काट्दै हिँडेको सुनिएको थिएन । युद्धको समयमा बन्दुक र खुँडा–खुकुरीले आम्ने–साम्ने परेका शत्रुहरू मारिन्थे । पृथ्वीनारायण शाहका सेनाले सुत्केरीलाई मार्ने, बलात्कार गर्ने, मानिसको समूहमा अन्धाधुन्ध आक्रमण गर्ने सुनिएको छैन । उनले मानिस मार्ने कार्यलाई सकेसम्म निषेध गर्न खोजेको त उनीमाथि कीर्तिपुरेमाथि नाक काटेर अन्याय भयो भन्ने भनाइबाट पनि प्रस्ट हुन्छ । केही कीर्तिपुरका बासिन्दाको नाक काट्नेसम्म काम भएको रहेछ । यसबाट उनको विजय यात्रामा मानिस मार्ने कार्य सुराकी, बदला आदिको नाममा गर्ने गरिएको रहेनछ भन्ने प्रस्ट छैन र ?
अमेरिकामा रेड इन्डियन र अस्ट्रेलियामा त्यहाँका आदिवासीमाथि इतिहासमा भएका गल्तीका लागि त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसमेतले राष्ट्रका सामु माफी मागेका छन् । नेपालमा भने व्यवस्थापिकाबाट इतिहासमा भएका कमजोरीको आत्मालोचना गरेर या देशमा सबै एक र बराबर भएकाले इतिहासका गल्तीबाट सिक्ने भन्ने धारणा राख्ने कार्य कहिल्यै भएन । माओवादीबाट देश र जनताको नाममा आफ्नो दल र कार्यकर्ताको हितका लागि मनग्य मानिस मार्ने कार्य भयो । लाखौँ अक्षम्य अपराध भए । परिणाममा जनताले थप गरिबी र अशान्तिबाहेक अरू केही पाएनन् । अब हामी नै भनौँ प्रचण्ड केको हिरो ? उनी अवश्य पनि एउटा कामका लागि हिरो हुन् । उनले गिरिजाको भनाइ र आग्रहलाई मानेर मानिस मार्न संस्थागत रूपमा चाहिँ बन्द गरे । उनले पुल, सडक, गाडी आदि बिगार्ने कार्य पनि रोके । अर्थात् गिरिजाले नभनेको भए र उनले भनेर पनि नमानेको भए अहिलेसम्म प्रचण्डहरूले लाखौँ मानिस मार्न सक्दथे । खर्बौंको सम्पत्ति नास गर्न सक्दथे । देशलाई विदेशलाई लगेर बुझाउन पनि सक्दथे । तसर्थ उनमा अरू दुई लाख मानिस मार्ने क्षमता थियो भने करिब बीस हजार मानिस मात्र मारेकोले एक लाख असी हजार मानिसको ज्यान आफँैबाट बचाएकोमा उनी अवश्य पनि यसका लागि हिरो हुन् । सम्पत्ति नास गर्न छोडेकोमा पनि हिरो नै हुन् । विदेशलाई यो देश नबुझाएर केवल प्रधानमन्त्री बन्ने चाबीसम्म बुझाएकोमा पनि दलको अध्यक्षको हैसियतले उनी हिरो नै हुन् । उनले आफूलाई हिरो घोषणा गरे । पहिला देशको पहिलो राष्ट्रपतिको घोषणा गरेकोमा त्यो घोषणा भित्तामा नै सीमित रहेको थियो । अब उनको हिरोको घोषणाले उनलाई कहाँ पुर्‍याउने हो हेर्न बाँकी छ । तर, केही कास्टिङचाहिँ भएको छ । सीआईएका एक अधिकारीले देशलाई र समाजलाई तहसनहस पारेर गृहयुद्धमा पुर्‍याएर टुक्राटुक्रा पार्ने हो भने त्यो देशमा जातीयता तथा क्षेत्रीयताको आगो सल्काइदिनुपर्छ त्यो देश आफँै बल्छ, अरूले बाल्नुपर्दैन भनेका थिए । तर, देशका रियल हिरोहरू अर्थात् पृथ्वीनारायण शाहका मानसपुत्र/पुत्रीहरूले देशमा जातीयताको नारालाई समातेर विखण्डन हुन दिएनन् । एकता प्रदर्शन गरे । देशलाई एक राख्ने नेपाली जनता महान् छन् । नत्र एउटा देश बनाउने हिरो अर्को देश भत्काउने हिरोको कहानीले कथा सक्ने थियो । अ अक्षरबाट नाम भएका व्यध्mि देशको राजा हुने पहिलो शाहवंशीय राजाबाट ज्ञ अक्षरमा पुग्दा अन्त्य भएजस्तै पबाट देशको एकीकरण सुरु भएर पबाटै देशको अन्त्य पनि हुने अवस्था भएको भए एकाथरी हिरोहरूले एकताका लागि एकताविरोधीको विरुद्धमा वैचारिक खाल्टो खने र अन्त्यमा आएका हिरोहरूले एकता पक्षधरहरूलाई पुरेर कथाको अन्त्य गर्न चाहे । हुन पनि प्यार से सुरु प्यार से अन्त्य भन्ने हिन्दी गानाजस्तै उनीहरू पनि पबाटै नाम उठेका परेछन् ।
त्यसैले हामीले हिरोको पहिचान गर्नैपर्दछ । राष्ट्रको एकताले राष्ट्रको पहिचानलाई बलियो बनाएको हुन्छ । पृथ्वीनारायण शाहको एकीकरणको अभियानले एकतामा बाँघेको यो देशमा पृथ्वीनारायण शाहको सम्झनामा राष्ट्रिय एकता दिवस पुस २७ गते मनाइँदै आएको थियो । तर, प्रचण्डका कार्यकर्ता प्रधानमन्त्री भएको सरकारले राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय दिवसको रूपमा मान्ने परपरालाई अन्त्य गरिदियो । पृथ्वीनारायण शाह मात्र होइन धेरै सपुतहरूको नाउँ जोडिएको यो दिवसको अन्त्य हुनु राष्ट्रिय एकतालाई राम्रो नमान्नेहरूको लक्ष्यको प्रतिफल हो । तर, अहिले आएर पृथ्वीनारायण शाहलाई किन हिरो भनियो ? उनको सालिकसमेत उनीहरूले नासेका हुन् । पृथ्वीनारायण शाह देशका हिरो हुन् भने उनको सालिक किन तोडियो ? उनको नाममा रहेको पृथ्वीनारायण नगरपालिकाको नाम किन बदल्ने दुष्प्रयास भयो ? उनको स्मरण गर्नु मात्र पनि किन अपराध ठानियो ? उनका तोडिएका सालिक तिनै हातबाट पुनर्निर्माण गराउने नैतिकता छ कि छैन त ? यी सवालका जवाफ चाहियो । देशको एकताको अभियान पनि गोर्खाका महान् सपुतबाटै सुरु र उनको इतिहासलाई नामेट पारेर जनतालाई देशविहीन बनाउने षड्यन्त्र गर्नेको डफ्फा पनि गोर्खा र चितवनको संगम नै भयो ।
जनताको मत होइन बन्दुक प्रमुख हो भन्ने सोचले अहिले माओवादीमा काम गरे पनि देशमा काम गरेको छैन । आज जनताको मत पनि चाहिने भएको छ । जनताको मत लिन अब पृथ्वीनारायण शाहको नाम लिनुपरेको छ । सम्भव छ कि प्रचण्ड र बाबुरामले गोर्खामा गएर पृथ्वीनारायण शाहको सालिक बनाउन लगाएर अनावरण गरून् । जनतालाई मत लिन र मूर्ख बनाउन अनि आफ्नो असली अनुहार नराम्रो भएपछि छोप्न र लक्ष्यमा एक कदम पछि हटेर भने पनि केही समय पनि पुग्ने तयारीस्वरूप उनीहरूले यसो गरेमा अन्यथा नमानौँ । प्रचण्डउवाचका रूपमा ‘त्यो सालिक पुरानो भएकाले हामीले एक क्रान्तिकारीका रूपामा नयाँ राख्न फोडेका थियौँ र फोर्नलाई लाग्ने पैसा पनि देशवासीका लागि बचाएका थियौँ, अब हामी नयाँ नेपालमा नयाँ सालिक राख्न आएका छौँ’ भन्ने निर्लज्ज उद्घोष सार्वजनिक हुन पनि बेर छैन । त्यतिबेला जनताले ताली बजाएर प्रचण्ड र उनको पार्टीलाई मत दिने कि के गर्ने ? सजग हुनुपर्ने यहीँनेर हो ।
जनता अब प्रस्ट दुई कित्तामा बाँडिनुपर्ने अवस्था आएको छ । एउटा जातको आधारमा देशलाई खण्डित गर्ने तयारीस्वरूप जातीय राज्य बनाउने र जनता लडाएर यो देशलाई नेपाली जाति थिए र तिनैको चिहान हो भन्ने इतिहास रच्ने ? अर्को हो देशमा सबै जनतालाई समेट्ने किसिमले जातीय अग्राधिकार होइन, सबै जातिको समान अधिकारमा आधारित, समावेशी, सङ्घीय लोतान्त्रिक देश बनाउनेहरू मिलेर यो देशलाई जोगाउने । पहिलोको नेतृत्वकर्ता माओवादी हो भने दोस्रो मोर्चाको नेतृत्वकर्ता स्वाभाविक रूपमा काङ्ग्रेस हो । एमालेजस्ता कम्युनिस्ट भएर पनि परिपक्व राष्ट्रवादी शक्तिहरू यसमा अहम् हिस्सेदार हुन् । तर, जनता यो संविधानसभाको चुनाव भएमा प्रस्ट हुनैपर्छ कि यो जीवनमरणको सवाल हो । जनताले चुनावमा देश र जनताको पक्षमा मत दिनुपर्छ । अझ मधेसमा बहुजातीय संरचनालाई मेलमिलापपूर्ण रूपमा अगाडि बढाउन मधेसी जनताले महान् निर्णय लिन सक्नुपर्छ । अन्यथा यो देश शक्तिराष्ट्रहरूको प्रत्यक्ष वा परोक्ष रूपमा युद्धभूमि हुनेछ ।

३० श्रावण २०७०, बुधबार १३:०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

भारतीय सेना फीर्ता र नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन

काठमाडौँ, २७ मंसिर । संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर अविलम्ब नेपालको नयाँ नक्सा..

भिम रावलको आक्रोश, ‘नयाँ नक्सा बनाउन कसले रोक्यो ?’

काठमाडौँ, २७ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता भीम रावलले नेपाली भूमी समेटेर नयाँ नक्सा..

चिसोले देशभरको जनजीवन प्रभावित, यस्तो छ ३ दिनको मौसमी पूर्वानुमान

काठमाडौँ, २७ मंसिर । बुधबार बेलुकाबाट नेपाल प्रवेश गरेको पश्चिमी निम्न चापीय प्रणालीका कारण देशभरको मौसम बदली..

विशेष दूत बनाएर माधब नेपाललाई भारत पठाउने कुरा हल्ला मात्रै

काठमाडौँ, २६ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतसँगको सीमा विवाद मिलाउन..

नेपाल छिर्‍यो पश्चिमी वायु, भारी हिमपातको सम्भावना

काठमाडौँ, २६ मंसिर । बुधबार साँझ पश्चिमबाट न्युन चापिय प्रणाली नेपाल प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका..