आगामी निर्वाचनमा कांग्रेसले जित्नैपर्ने केही कारण :: अधिवक्ता दामोदर पौडेल

नेपाली काङ्ग्रेस देशको सबैभन्दा पुरानो कहिल्यै बूढो नहुने राजनीतिक दल हो । यो दलको स्थापनादेखि हालसम्म आधिकारिकताको प्रस्टता छ । नेपालका कम्युनिस्ट पार्टीहरूमा अहिलेसम्म पनि स्थापनाको आधिकारिकता कसमा भन्ने सवाल अस्पष्ट रहिरहेको छ । काङ्ग्रेस राजनीतिक मुद्दामा कहिलै असफल भएन र यसले उठाएका सवालहरू कहिल्यै अप्रासङ्गिक भएनन् । यो दलले लिएको सुरुदेखिको बहुदलीयता र बहुलवादको मान्यता पहिला कम्युनिस्टहरूका लागि प्रतिक्रियावादी थियो । अहिले एमालेका लागि अपरिहार्य भएको छ । एमाओवादीका लागि पनि विदेशीलाई बिन्तीपत्र चढाउँदा अपरिहार्य भएको देखिएको छ । अर्थात् प्रचण्डले झारखण्डमा माओवादीले बम हानेर धेरैलाई मार्दा त्यसको भत्र्सना मात्र गरेनन् बरु लोकतन्त्र र शान्तिपूर्ण प्रतिस्पर्धाबाटै सबैको हित हुनेसमेतका विचार उल्लेख गरेर भारतीय राष्ट्रिय काङ्ग्रेस (काङ्ग्रेस आई) की अध्यक्ष एवम् शालीन नेतृ सोनिया गान्धीलाई पत्र लेखे । यो माओवादीको काङ्ग्रेसको बाटोमा आउने कार्य नै हो । पूर्वपञ्चहरू र मधेसवादी दलहरूले लोकतन्त्र र बहुलवादलाई आत्मसात् गरिरहेको बताएका नै छन् ।
यो दल किन कहिल्यै बूढो हुँदैन त भन्दा यसको अवस्था फोनिक्स भन्ने चराको जस्तो छ । अरबमा एउटा काल्पनिक चराबारे कथा छ कि त्यो चरो बूढो हुँदै गएपछि आफँैले आफँैलाई जलाउँछ र शुद्ध गर्दछ । त्यो जलेको खरानीबाटै जलिसक्नासाथ त्यो फोनिक्स चरा जवान भएर बिउँतिन्छ । काङ्ग्रेस पनि स्वतन्त्र सञ्चारमाध्यम, जनताको अभिमत बुझ्ने निर्वाचनसमेतका प्रक्रिया, सबै दलको समान हैसियतमा आधारित प्रतिस्पर्धासमेतका माध्यमबाट फोनिक्सजस्तै समयसमयमा जवान बनिरहन्छ । यो कार्य कम्युनिस्ट, एकदलीय पृष्ठभूमि भएका दलहरू तथा जातीय र क्षेत्रीय दलहरूबाट हुने सम्भावना अत्यन्त न्यून हुन्छ ।
००७ साल र त्योभन्दा पहिलादेखि २०५० सालसम्म एक्लै लोकतन्त्र तथा बहुलवाद एवम् न्यायिक सर्वोच्चताको लक्ष्यमा अडिग काङ्ग्रेसको लक्ष्य अहिले राष्ट्रिय लक्ष्य नै बनेको छ । एमालेले बहुदलको पुनस्र्थापना हुँदा यसको आलोचनात्मक समर्थन गरेको थियो अब भने एमाले पूर्ण लोकतन्त्रवादी भएको छ । काङ्ग्रेसको लक्ष्य भनेको लोकतान्त्रिक पद्धतिमा आधारित मानवअधिकारसहितको समानता र विकासको माध्यमबाट सबैलाई देशको मूलधारमा ल्याउनु हो । त्यसैले बीपीले भन्नुभएको थियो कि गरिबको हित नहुने र जीवनस्तर नउठ्ने विकास विकास नै होइन । उहाँको अर्को भनाइ थियो कि उहाँले राजनीति गर्नाको प्रमुख कारण हरेक नेपाली आफूजस्तै मध्यम वर्गमा पर्न सकून् र सबैले सन्तुलित आहार, सफा पानी, औषधिमूलोको उचित प्रबन्ध, स्वस्थकर वासस्थान र शिक्षाको उचित वातावरण पाऊन् । बीपीवादी बनेर बीपीका महान् विचारहरूमध्येको समाज विकासशील छ र त्यसैले विकासको क्रममा पुराना विचारलाई नयाँ विचारले प्रतिस्थापन गर्दछ भन्ने धारणालाई काङ्ग्रेसले आत्मसात् गर्ने भएकाले व्यक्तिमा आधारित वादमा यो दल नलाग्ने भए पनि बीपीका विचारबाट भने यो दल भावनात्मक रूपमा सदैव परिचालित छ ।
०४६ सालपछिको काङ्ग्रेसको पहिलो सरकार हुँदा नेपालको वार्षिक विकास दर करिब ६ प्रतिशत भएकोमा त्यो भारतको सो समयको भन्दा बढी थियो र चीनको नजिकको वृद्धिदर थियो । त्यही कारणले देशमा उद्योगहरूको स्थापना, रोजगारीका अन्य स्रोत, स्वरोजगारीका लागि शान्तिसमेतका प्रत्याभूतिले गर्दा नेपालीले देशमा नै श्रम गरेर देशको विकास गर्दै आम्दानी गरेका थिए र बिदेसिनेको सङ्ख्या अपेक्षाकृत कम थियो । हामी नेपालीले ०५१ सालसम्मका अनुभवलाई सोच्यौँ भने आफँै प्रस्ट हुन्छ । सोचौँ त्यसबेलासम्म गरिबसमेतको जीवन अहिलेको भन्दा राम्रो थियो नै, अब अझ राम्रो हुनुपर्नेमा हामी पीडामा छौँ । सडक, विद्युत्, सञ्चार, खानेपानी तथा विद्यालयसमेतमा भएका लगानी र प्रतिफलले जनताको आशा अझ बढिरहेको थियो । काङ्ग्रेसले अझ गरोस् वा काङ्ग्रेसको विकल्पमा आउनेले काङ्ग्रेसको भन्दा राम्रो गरोस् भन्ने थियो । तर, काङ्ग्रेसपछि माओवादीको हिंसा सुरु भयो र त्यसपछिका सरकारले अशान्तिको कारणले केही पनि राम्रोसँग गर्न सकेनन् । विकास, शान्ति र प्रगतिशील समानताभन्दा जनतालाई भ्रम दिएर सस्तो लोकप्रियता कमाउने कार्यमात्र भए । आफ्नो गाउँमा आफँैले भ्रष्टाचार गर्ने र असह्य र मत दिन जानसमेत नसक्ने सीमान्तकृत भिखारीको अवस्थामा पुगेका गरिब, वृद्ध–वृद्धाहरू र पीडित महिलालाई सहयोग होइन केही हुनेहरूलाई राज्यको ढुकुटीबाट सहयोग गरेर मत बटुल्ने राजनीति गर्ने कार्य भयो ।
विकास, रोजगारी, शान्तिसमेत काङ्ग्रेसको जिम्मा र सस्तो लोकप्रियता तर लोडसेडिङ र विकासप्रति बेवास्ता र जनता र सम्पत्ति तथा विकासलाई तहसनहस गर्ने कार्य अरू दलको जिम्मा परेकोजस्तो देखिएको हामी नेपाली जनताले सोच विचार गरेमा प्रस्ट हुन्छ । आफ्ना जति नै विरोधी भए पनि सङ्गठित रूपमा जनताको विरुद्धमा काङ्ग्रेस कहिल्यै उत्रेन र विरोधीको सम्मान गर्‍यो । व्यक्तिहरूले केही कमजोरी गरेका भए ती कार्य मानवले गर्न सक्ने भएकाले कुनै पनि दलको आवरणमा हुने कार्य दण्डनीय हुनुपर्छ भन्नेमा काङ्ग्रेस दृढ रह्यो । बहुलवाद, स्वतन्त्र सञ्चारमाध्यम तथा न्यायिक स्वतन्त्रता जनताकै लागि भनेर नै काङ्ग्रेसले आफ्नो मुख्य एजेन्डा बनाएको थियो र छ ।
झुटा आश्वासनको भरमा जनतालाई भ्रममा पारेर मर्ने र मार्नेसम्मको कार्यमा यो दलले कहिल्यै उतारेन । जनताबीचको शत्रुता होइन मित्रतामा आधारित समानता यसको लक्ष्य रह्यो । त्यसैको उदाहरण हो कि काङ्ग्रेसका सबै दलीय र भ्रातृ सङ्गठनका तहमा दलित, महिला, मधेसी, मुस्लिम आदिवासीसमेतलाई सबैभन्दा पहिला समेट्ने कार्य गर्‍यो । यस्तो कार्य अहिलेसम्म अन्य कुनै दलबाट पूर्ण रूपमा हुन सकेको छैन । देशको पहिलो राष्ट्रपतिमा तराईवासी विद्वान्लाई र उपराष्ट्रपतिमा दलित विद्वान्लाई काङ्ग्रेसले उठायो । अन्य दलहरूले साथ दिएको भए अहिले देशका उपराष्ट्रपतिसमेत दलित व्यक्ति हुनुहुने थियो । नारा होइन व्यवहार काङ्ग्रेसको लक्ष्य भएको छ । व्यवहारमा कुन ठूलो कार्य अन्य दलहरूले काङ्ग्रेसले भन्दा राम्रो गरेका छन् ? समावेशीको सवालमा, विकासको कार्यमा तथा जनताको जीवनस्तर उठाउने कार्यमा र शान्तिको पक्षमा भन्नेबारेसमेत काङ्ग्रेसबाट भएका कार्यहरूबारे हामीले राम्रोसँग सोचे सत्य छर्लङ्ग हुन्छ नै । काङ्ग्रेसले चाहेको सङ्घीयता पनि स्वर्गीय सन्त विद्वान् काङ्ग्रेस नेता भीमबहादुर तामाङले उल्लेख गर्नुभएको जस्तै विभेद मेटिने र सबैको अस्तित्व भेटिने किसिमको हो । पायक, क्षमता र सबैको अस्तित्वको संरक्षणमा आधारित सङ्घीयता काङ्ग्रेसको चाहना हो । गरिबी निवारणका लागि जग्गाको हदबन्दीको क्रान्तिकारी व्यवस्था पनि काङ्ग्रेसको सरकारको समयमा नै भएको हो । यसरी सबै पक्षमा काङ्ग्रेसलाई तुलनात्मक रूपमा अरू कुनै पनि दलहरूभन्दा अग्रगामी दल भन्ने धेरै आधार छन् ।
काङ्ग्रेसले अवस्थाअनुसार दलको समेत विवादलाई जनताको निर्णयका लागि लग्नुपर्छ र जनतालाई नै सबै विवादको निर्णायक अधिकारी बनाउनुपर्छ भन्ने मान्यता लिएको छ । त्यही कारणले ०५१ सालमा चुनाव भएको हो तर यसलाई बारम्बार गलत अर्थ लगाउने गरिन्छ । प्रधानमन्त्री २ महिनासम्म करिब कोमामा रहेर पनि निकास नदिने होइन, निकासका लागि सकेसम्म दलहरूबीच र दलभित्र पनि सहमति हुनुपर्छ र त्यसलाई समय दिन आवश्यक हुन्छ र सो नभएमा अन्तिम र निर्णायक अधिकारी जनता नै हुन् भन्नेमा काङ्ग्रेस दृढ थियो र छ, त्यही सोचको उपज ०५१ सालको चुनाव हो । यसलाई नकारात्मक रूपमा हेर्नु जनतालाई विश्वास नगर्नु हुन्छ ।
भ्रष्टाचारबारे पनि आफ्नै दलका व्यक्ति भ्रष्ट भए पनि कारबाही गर्नुपर्छ भन्ने लोकतन्त्रको र काङ्ग्रेसको मान्यता नै हो । तर, एमालेले खुलामञ्चबाट भ्रष्टाचारी भनेका नेतालाई अहिले पनि ठूला पदमा राखेको छ । प्रचण्डसमेतले लडाकुको पैसा खाएको विवाद छ र लडाकुहरूले नै पूरा पैसा नपाएको बताएका नै हुन् । वैद्य पक्षधरहरूले उनीहरूको भ्रष्ट कार्यहरूको भण्डाफोर गरिरहेका छन् । यसले देशमा भ्रष्ट को ? भन्नेमा जनतामा भ्रम छैन केवल काङ्ग्रेसमा भएका भ्रष्टहरूलाई बचाउने कार्य भएन र कानुनअनुसार भयो भन्ने हो र यो सकारात्मक पक्ष हो । अन्य दलहरूमा भ्रष्टहरूको विरुद्धमा कारबाही गर्ने साहस भएन । सत्य भने बाहिर आयो । अझै अन्य दलहरू लोकतन्त्रको पक्षमा आए पनि पूर्णरूपमा लोकतन्त्रको संस्कारमा आएका छैनन् भन्ने यसले देखाउँछ ।
अर्कोतर्फ भन्नैपर्छ कि विश्वमा कुनै पनि कम्युनिस्ट सत्ता भएको देशमा जनताले भ्रष्टाचारी नेताको विरोध गर्न पाउँदैनन् । उत्तर कोरियामा विरोध गर्नेलाई मृत्युदण्डसमेत हुन सक्दछ । चीनमा, भियतनाम तथा क्युवामा कम्युनिस्ट नेताको भ्रष्टाचारको विरोध जनताले गर्न सक्दैनन् वा पाउँदैनन्, गरे सजाय हुन्छ । चीनमा अहिले केही कम्युनिस्ट नेताहरूले भ्रष्टाचार गरेकाले सजाय गरिएको जनताले विरोध गर्न पाएर होइन कम्युनिस्ट पार्टीको आधिकारिक मतभन्दा बाहिर वा फरक मतका भएकाले भ्रष्टाचार गर्नेमध्येकालाई सजाय दिइएको हो । त्यसप्रकारको कार्य मूलधारवालाले गरेमा सजायको लागि पठाउने कार्य सायदै हुन्छ । नेपालमा पनि कम्युनिस्ट सर्वसत्तावाद आएमा हुने त्यस्तै हो ।
आज पनि सैद्धान्तिक स्पष्टता, बहुलवादसमेत प्रतिको आस्था भएको र विकास, समानता र शान्तिको फ्युजनबाट मात्र समग्र समाजको हित हुन्छ भन्ने प्रस्ट दृष्टि भएको एकमात्र दल काङ्ग्रेस नै हो । यो दलको विचार राम्रो छ तर पनि केही नेता र कार्यकर्ताको कारणले गल्ती भएका छन् भने असल व्यक्तिहरूले सहयोग गरेर र/वा यो दलमा समाहित भएर व्यावहारिक गल्तीलाई सुधारेर यसको सिद्धान्तअनुसार काम गरेर देशलाई समुन्नत गर्न सकिन्छ । विश्व अन्तरसम्बन्धित भएको यो समयमा काङ्ग्रेस मात्र एउटा यो देशको यस्तो ठूलो दल हो जसले दलको स्वार्थका लागि र जनतालाई मूर्ख बनाउन भारत, चीनजस्ता छिमेकी तथा अमेरिका आदि मित्रराष्ट्रहरूको सस्तो लोकप्रियतालाई आधार बनाएर विरोध कहिल्यै गरेन । काङ्ग्रेसको यो कार्य देशको सम्पत्ति हो र काङ्ग्रेस बलियो भएमा यही कारणले गर्दा चीन, भारतसमेतका देशहरूको सद्भाव र सहयोग धेरै बढी हुनु स्वाभाविक छ । यी कारणले गर्दा काङग्रेसको पकड जनहितकारी र देशको पक्षमा हुने छ तथा यसका लागि काङ्ग्रेसको जित हुनुपर्ने हुन्छ भन्ने सबैले बुझ्न आवश्यक छ ।

 

२३ श्रावण २०७०, बुधबार २२:२२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

विशेष दूत बनाएर माधब नेपाललाई भारत पठाउने कुरा हल्ला मात्रै

काठमाडौँ, २६ मंसिर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भारतसँगको सीमा विवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले..

नेपाल छिर्‍यो पश्चिमी वायु, भारी हिमपातको सम्भावना

काठमाडौँ, २६ मंसिर । बुधबार साँझ पश्चिमबाट न्युन चापिय प्रणाली नेपाल प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागका..

बुधबारबाट मौसम बदली, यस्तो छ ३ दिनको अनुमान

काठमाडौँ, २५ मंसिर । जल तथा मौसम विज्ञान विभागले आजबाट नेपालको मौसम बदली हुने जनाएको छ । विभागका अनुसार हाल..

किन ओरालो लाग्दैछ सुनको भाउ ?

निरोज कुमार थापा, काठमाडौँ, २३ मंसिर । गत बिहिबारदेखी सुन तथा चाँदीको भाउमा ओरालो लाग्ने क्रम सुरु भएको छ । गत..

१७ दिनपछि ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन् । नयाँ मन्त्रीलाई बधाई..