जातीयताको आगो निभाउने जिम्मेवारी कांग्रेसको पोल्टामा :: दामोदर पौडेल

जातीय तिक्तता होइन समान हैसियत र विकास आफ्नो लक्ष्य रहेको मधेसका सन्तनेता भनिने महन्थ ठाकुर बारम्बार भन्ने गर्छन् । तर, व्यवहारत: त्यस्तो भइरहेको छैन । मधेसी नेताहरू दलभन्दा व्यक्ति, समूह र जातको विवादमा अल्झेका छन् । मधेसी मूलका भनिने लेखक श्रीमननारायण भन्छन्, ‘मधेसवादी दलमा जातिवाद हावी भएको छ । …नेपालीभाषी मधेसवादी नेता शरत्सिंह भण्डारीको मुद्दा (सेनासमेतमा मधेसीको प्रस्ट व्यवस्था समेत)मा मधेसवादी दलहरू जति प्रखर रूपमा प्रस्तुत हुनुपथ्र्यो त्यति हुन सकेनन्, यसमा सङ्कीर्णता देखियो । …आफ्नो जाति या वर्गका मान्छे जुन पार्टीमा भए पनि नम्र व्यवहार गर्ने वा भित्री रूपमा सहयोग गर्ने मधेसवादी दल र तिनका नेताहरूमा देखिन्छ ।’ त्यस्तै, फोरमबाट काङ्ग्रेस फर्किएका विद्वान् डा. तिलक रावलको अनुभूति छ, ‘फोरमलगायतका मधेसी दलहरू फुट्दा विरक्त लाग्यो । गच्छदार र उपेन्द्रले आफ्नो दललाई राष्ट्रिय दल बनाउने भन्नुहुन्थ्यो तर उल्टो भयो, त्यसैले मलाई विरक्त लाग्यो ।’ यस्ता उदाहरण धेरै छन् र आफैँमा विभाजित घरले अरूलाई केही दिन सक्दैन भन्ने उखानलाई हामीले ध्यान दिनैपर्छ ।
अर्कोतर्फ नेपाली काङ्ग्रेसको आधारको रूपमा मधेस रहेको हो । गएको चुनावमा मधेस काङ्ग्रेसको लागि सोचेजति सकारात्मक रहेन । तर, मधेसका मतदाताले चहलपहल भएजस्तो गरेर मधेसी दलहरूलाई मात्र मत दिएनन् । मधेसवादी भन्नेहरूको त्यति ठूलो दबाबका बाबजुद मधेसका मतदाताले हामी सबै नेपाली हौँ र एक हौँ भन्ने सन्देश दिए । यहाँ नेपाली भनेको अर्थ नेपालीभाषी भनिएको होइन बरु नेपालमा बस्ने भनिएको हो । आखिर भारतलाई पनि हिन्दुस्तान भनिन्छ र हिन्दी भनिन्छ । के सबै हिन्दुस्तानीहरूको भाषा हिन्दी हो र ? त्यस्तै सबै नेपालीको मातृभाषा नेपाली नहुनु स्वाभाविक हो ।
इतिहासमा मधेसमाथि एकप्रकारको अन्याय भएको हो । त्यसो त भाषिक र सांस्कृतिक आधारमा नेवार माथि भएको हो, जनजाति, दलित माथि भएको हो र धेरै माथि भएको हो । अब त्यो अन्यायको बदला लिने समय हो कि अन्यायको अन्त्य गरेर समानताका साथ बस्ने समय हो भन्ने सवाल प्रमुख भएको छ । यदि यसरी नसोच्ने हो भने देशमा जहिले पनि काटमार मात्र हुनेछ । व्यावहारिक अर्थमा राष्ट्रभरि नै प्रत्यक्ष प्रभाव भएका दलका नेता कार्यकर्ता र तिनका मधेसका मतदातालाई केही मधेसवादीले पहाडिका दलाल भन्ने गरेको पनि सुनिन्थ्यो तर अहिले त्यसै भन्ने हो भने राष्ट्रपति र उपराष्ट्रपतिलाई मधेसका भनिने हुँदा पहाडियालाई मधेसीका दलाल भन्ने ? उपप्रधानमन्त्री तथा गृहमन्त्री थारू थिए । के सबै प्रहरी थारूका दलाल भए ? यी समस्याका समाधान होइनन् । यथार्थमा भन्ने हो भने पहाडमा बाहुन, क्षेत्री, गिरी, ठकुरी र नेवारहरूले राजनीतिकसमेतका फाइदा लिएका थिए र प्रशासनिक पद ओगटेका थिए । पहाडमा पनि अन्य जातजातिहरू यस अर्थमा पीडित थिए । तर, यी जातिको सङ्ख्या पहाडमा करिब ५० प्रतिशत छ । त्यस्तै मधेसमा बाहुन, राजपुत, भूमिहार, कायस्थहरूको सङ्ख्या दुई प्रतिशतजति होला र यी जातले पढेका थिए र जनसङ्ख्याको अनुपातमा यिनीहरूको राज्यका निकायमा पहुँच पहाडिया उच्च जातिको भन्दा कम थिएन र छैन । पीडा भनेको मधेसका अरू बहुसङ्ख्यक र पहाडका अन्य जातजातिको हो र महिलाको पनि हो । यसलाई सम्बोधन गर्न आवश्यक छ । यो पक्षलाई मधेसी मतदाताले राम्रोसँग बुझ्न आवश्यक छ । मधेसका उपल्लो जातले पहाडिया उपल्ला जातकाले भन्दा कम समावेशिता पाएका थिएनन् र समास्या पीडित जातको थियो र छ । तर, अहिलेको मधेसवादी नाराबाट तिनै मधेसका उच्च जातले नै बढी फाइदा लिएका छन् । यसमा सबै मधेसका पीडितको ध्यान जान आवश्यक छ ।
एउटा किसानको छोरालाई सर्पले टोकेर मारेछ र त्यही रिसमा किसानले सर्पको पुच्छर काटिदिएछ । पछि सधैँ सर्पको डर हुने गरेको र मरेको छोरो फर्केर पनि नआउने भएकाले किसानले सर्पलाई अब अतीत बिर्सिएर मिलाँै भनेछ । सर्पले भनेछ अँ हँ न म मेरो पुच्छर काटिएको बिर्सन्छु न तिमी आफ्नो छोरोलाई मैले मारेको बिर्सन्छौ भनेछ । हामीले सर्पको जस्तो सोच राख्ने हो भने आफूलाई बर्बाद गर्दछौँ र समाजलाई पनि अधोगतिमा लान्छौँ । केही राजनीति गर्नेले आफ्नो फाइदाका लागि आगो लगाउने कार्य गर्लान् तर टोलमा आगो लाग्दा नास हुने हामीहरूकै हो, फाइदाको काम गर्नेहरू भाग्छन् । हामीहरूको चाहना र विवाद जे भने पनि समान हक हो, कसैको बढी लिन र खान होइन । समानतामा आधारित संविधान र कानुन बनाउने र लागू गर्ने हो भने त्यसले समाधान दिन्छ । आज जातको राजनीति गर्नाले भोलि उपजातको कुरा आउँछ र क्रमश: टोलमा पनि अलगअलग जातका लागि अलगअलग बस्ती बनाउनुपर्ने अवस्था आउँछ भन्ने बुझ्न आवश्यक छ । त्यसैले देशभर नै जात र क्षेत्रको आधारमा प्रान्त र अधिकार होइन सबैलाई समान हक स्थापित हुने अधिकार र प्रान्त खोज्न आवश्यक छ ।
चाहे मधेसका हौँ वा पहाडका वा कुनै जाति वा समूहका किन नहोऔँ, हाम्रा आवश्यकता समान छन् भने मिलेर अगाडि बढौँ र समानता नदेखिएको ठाउँमा समानताको आवाज उठाऊँ । यो कार्य राष्ट्रिय दलले राम्रोसँग उठाउन सक्छ । हिजो अराष्ट्रिय तत्त्व र भारतीय दलाल भनेर काङ्ग्रेसलाई पहाडमा आरोप लाग्दा मधेसले काङ्ग्रेस राष्ट्रियताको मियो भएको जवाफ दिएको थियो । आज पहाडमा अपेक्षाकृत रूपमा जनता कम्युनिस्ट र विशेषत: माओवादीसँग वाक्क भएका छन् र काङ्ग्रेसलाई सुन्न थालेका छन् । काङ्ग्रेस शान्ति दिने र अशान्ति नगर्ने र गरी खान दिने, विकास गर्नेसमेत दल रहेछ र जनतालाई भ्रम बाँड्ने दल रहेनछ भन्ने बुझ्दै गएका छन् । मधेसले यस अवस्थामा काङ्ग्रेसको साथ दिएर शान्ति, समानता, विकास र मेलमिलापलाई परिपक्व बनाउन आवश्यक छ । यसले लोकतान्त्रिक गणतन्त्रमा आधारित सङ्घीय राष्ट्र बनाउन पनि सहयोग हुनेछ ।
मधेसका दलहरूले जनताले दिएको विश्वासलाई विकास र जनताको हितबाट अगाडि बढ्ने माध्यम बनाउन सकेनन् । उनीहरू नेतृत्वको लागि र सरकारी पदका लागि दल फोर्न मात्र केन्द्रित भए । मधेसवादी दल जसरी यो देशमा अन्य दलहरू कहिल्यै फुटेका थिएनन् । सत्ताका लागि र नेतृत्वका लागि दल नै फोर्नेहरूले जनतालाई के दिने ? अर्कोतर्फ गौंड गरेर हेर्ने हो भने मधेसका दलहरूमा भएको विभाजन मधेसका जातीय रूपमा पनि फुटेको मान्ने आधार छन् । जातीय आधारमा नै दलहरू फुट्ने, नेतृत्वका लागि नै दलहरू फरक हुने हो भने जनताले राहत कहिले पाउने ?
मधेसमा केही हदसम्म भारतीय पक्षधरको भावना पनि पाइन्छ । यो सोच नितान्त गलत हो र मधेसका आमजनतालाई यसमा विश्वास छैन । के मरिसरमा भारतीय मूलका मानिस बढी भएकाले भारतीय प्रभावको आधारमा काम हुन्छ ? के फिजीमा भारतका लागि काम हुन्छ ? त्यसो होइन । संयोगले कुनै राष्ट्र बने पनि नेपाली, भोजपुरी, मैथली, अवधि आदि बोल्नेहरू नेपालमा भन्दा भारतमा नै धेरै छन् । जनसङ्ख्याको आधारमा हिन्दू, मुसलमान, क्रिश्चियन आदि पनि नेपलामा भन्दा भारतमा कति बढी छन् । तर, धेरै कुरा सोच्नभन्दा यो सानो भूभाग विविधताले भरिएको छ, यसको सदुपयोगबाट धेरै फाइदा लिन सक्छौँ, बिजुली मात्र बनाएर विदेशलाई बेच्न सकेमा पनि हामीले वर्षको खर्बौंको आम्दानी गर्न सक्छौँ, खानी, पर्यटन, विविध जडीबुटीसमेतले हामीलाई सम्पन्न बनाउन सहयोग गर्छन्, तर यी वस्तुको सदुपयोग हुन आवश्यक छ भन्ने सोच हामीमा आउन पर्दछ ।
मधेसवादी दलहरूका कारण जनताको हितभन्दा बढी पदको मोह, जनतामा विकास र समानता होइन द्वेष फैलाउन चाहने, असुरक्षाको अवस्था बढाउने कार्य भएको त छैन भन्ने जनतामा आशङ्का छ । मधेसी दलको कारणले मधेसमा नागरिकताको सम्बन्धमा केही गरेका छाँै भन्नेबाहेक अरू कुनै पनि भन्ने स्थुल आधार देखिएको छैन । त्यसैले नेपाली काङ्ग्रेसले अहिले पनि मधेसमा समानता, समावेशीकरण, समान विकास, समान हैसियतको आधारमा गरिने व्यवहारका लागि प्रतिबद्धता जाहेर गरेको छ र अझ गर्न आवश्यक पनि छ । जनताले पनि एकताको सर्तमा र समानताको सर्तमा काङ्ग्रेसलाई विश्वास गर्दा अरूको भन्दा राम्रो प्रतिफल हुन्छ भन्ने इतिहास र वर्तमानका आधारमा विश्लेषण गर्न आवश्यक छ ।
हरेक अन्यायको प्रतिकार, समानताका साथ मिलेर बस्ने सबैको अधिकार भन्ने नारा काङ्ग्रेस र मधेसका सबै न्यायप्रेमी जनताको हुन आवश्यक छ । यही नै उन्नति र शान्तिको आधार पनि हो । काङ्ग्रेस जनताको हो । यो दललाई गल्ती गरेमा जनताले सजाय दिन सक्दछन् र सुध्रिएर आएमा पुन: साथ दिन सक्छन् । यो प्रस्टता अरू दलमा छैन । आज मधेसलाई अरूको अधिकार अलिकति पनि चाहिएको छैन र आफ्नो अधिकार कति पनि गुमाउनुपर्ने अवस्था पनि मन्जुर छैन र जहिलेको लागि पनि यो आवश्यकता हो । काङ्ग्रेसले यो सोचलाई व्यवहारमा उतार्न सक्नुपर्छ ।
माओवादी नेताहरू पहाड छोडेर तराईमा चुनाव लड्ने सपना देख्नुमा मधेसीलाई भ्रम बाँड्नु हो र पहिलाको चुनाव क्षेत्रमा आफ्नो आधार खस्केको देख्नु हो भन्ने हामीले भुल्न हुँदैन । माओवादीको जातीय आगो मधेसवादीभित्रै पनि सल्केको छ । सीआईएका एक पूर्वअफिसरले लेखेका थिए कि कुनै समाज र देशलाई बर्बाद गर्नु छ भने त्यहाँ बम–बारुद होइन जातीयता र जातीय द्वेषको भावना फैलाउने वातावरण बनाउनुपर्छ, त्यो देश र समाज आफँै तहसनहस हुन्छ । त्यसको आगो सल्काउने काम माओवादीले गर्‍यो र अब निभाउन मेचीदेखि महाकाली र हिमालदेखि तराईसम्मका सबैले पहल गर्नु आवश्यक छ । यसको मियो काङ्ग्रेस नै हुनसक्ने देखिन्छ ।

 

१६ श्रावण २०७०, बुधबार १०:४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

प्रधानमन्त्रीलाई मुख्य सचिवको निवासमा सारियो

निरोज कुमार थापा, काठमाडौँ, २२ मंसिर । १० दिन लामो अस्पताल बसाईँबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई सरकारी निवास..

ठूला करदाता कार्यालयले एनसेललाई तोक्यो २२ अर्ब ४४ करोड कर

काठमाडौँ, २२ मंसिर । ठूला करदाता कार्यालयले एनसेललाई २२ अर्ब ४४ करोड ५३ लाख रुपैयाँ कर निर्धारण गरेको छ ।..

८ एसपी र २१ डिएसपीको सरुवा (सूचीसहित)

काठमाडौँ, २१ मंसिर । नेपाल प्रहरीले ८ एसपी र २१ डिएसपीको सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले उनीहरुको..

उपप्रधानमन्त्री पोखरेलले भने, ‘सीमा समस्या विरासतकै रुपमा आएको छ’

काठमाडौँ, २० मंसिर । उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले मूलुकको सीमा समस्या विरासतकै रुपमा आएको बताएका..

अमेरिकाले भन्यो, ‘हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक बन्दिनोस्’

काठमाडौँ, १९ मंसिर । नेपाल भ्रमणमा रहेका एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी..