स्वाभिमानीहरूको बिचल्ली :: देवप्रकाश त्रिपाठी

जीवनमा प्रगति गर्ने हो भने सबैसँग ‘कम्प्रोमाइजिङ’ व्यवहार गर्नुपर्छ भन्ने स्वेट मार्डेनको सुझाव छ । ‘हरेकको सकारात्मक कुरा गर र सम्बन्धित व्यक्तिका प्रति अत्यन्त सकारात्मक भएको सन्देश कुनै न कुनै माध्यमबाट पुर्‍याऊ’ भन्ने उनको भनाइ छ । अत्यन्त सामान्य लाग्ने यस्तो सुझावको कार्यान्वयन त्यस्ता मानिसले सजिलै गर्न सक्छन् जो आफैँमा धूर्त या रित्ता हुन्छन् । जो क्षमतावान् छन् र विषयलाई हेर्ने–बुझ्ने आफ्नै दृष्टिकोण हुन्छ ती मानिस सबैको प्रिय हुन सक्दैनन्, सबैको प्रिय बन्न पनि खोज्दैनन् र विवेकसम्मत व्यवहार गर्छन् । दृष्टान्तका रूपमा प्रचण्डलाई लिन सकिन्छ, उनी एउटा कहालीलाग्दो आपराधिक जगमा मौलाएका विषवृक्ष हुन्– स्वाभिमानी नेपालीको आँखामा । तर, तिनै प्रचण्ड आफूलाई सबैले देवताको रूपमा हेरून् भन्ने चाहन्छन्, रित्ता मान्छेहरू उनलाई देउता मान्न पनि तयार भइदिन्छन्, अनि प्रचण्डको ‘चलेका दिन’ मौका पाउने पनि तिनै रित्ताहरू हुन्छन् । सुशील कोइरालामा ‘डाइनामिज्म’को ठूलो अभाव छ, तर रित्ता मान्छेहरू कोइरालालाई भेट्दा ‘तपाईंजस्तो ‘डाइनामिक’ व्यक्तिहरू कोही नभएको’ बताउन हिचकिचाउँदैनन् । झलनाथ कुनै उद्यानमा ठड्याइएका विद्युतीय पुतला प्रतीत हुन्छन्, तर रित्ता मानिसहरू उनी नै सर्वाधिक योग्य, सक्षम र प्रिय भएको बताउन लज्जा महसुस गर्दैनन् । मुहारमा परिपक्वता देखिए पनि माधव नेपालबाट बालसुलभ चञ्चले व्यवहार अझै मेटिएको छैन, तथापि रित्ता मानिसहरू उनलाई भेटेर प्रशस्ति गाउन किञ्चित अप्ठ्यारो मान्दैनन् । शेरबहादुर देउवा आरजुको बगैँचामा सजाइएका एक शोभायमान कठपुतलीभन्दा बढी केही भएको महसुस बौद्धिक समुदायले गरेका छैनन्, तर एकथरी मानिस साक्षात शेरकै रूपमा देउवाको प्रशंसा गाउँछन् । आफ्नो प्रशस्ति गाएको सबै मानिसलाई मनपर्छ, राजनीतिकर्मीहरूलाई झनै मनपर्छ । आफूलाई गुण–दोषका आधारमा हेर्ने, स्वतन्त्र दृष्टिकोण बनाउने र विवेकसम्मत व्यवहार गर्ने कुनै पनि मानिस कोही पनि राजनीतिकर्मीको प्रिय बन्न सक्दैनन्, प्रिय बन्न नसक्नेले कुनै मौका पनि पाउँदैनन् । मौका तिनैले पाउँछन्– जसमा आफैँ क्रियाशील हुने क्षमताको न्यूनता हुन्छ, जसले नेताका अघिल्तिर आफू ‘यसम्यान’ भएको प्रमाणित गर्न सक्छ । विचार–दर्शनको ठूलाठूला कुरा गर्ने कम्युनिस्ट नेताहरू, भगवान् र भक्त परम्पराको सबभन्दा बढी बद्ख्वाइँ गर्ने उनीहरू सधैँ स्वामीभक्तहरूको खोजीमा हुन्छन् र भक्तहरूको उद्धारलाई तिनले देशलाई भन्दा बढी प्राथमिकता दिन्छन् । ट्राटस्की क्षमतावान् र स्वाभिमानसहितका कम्युनिस्ट थिए, लेनिन र स्टालिनको दृष्टिमा उनी सुपात्र कहिल्यै बन्न सकेनन् । लेनिनले आफ्नो भक्त भएकै कारण क्षमतावान् ट्राटस्कीलाई नरोजेर भक्त तर क्रूर तानाशाह स्टालिनलाई छाने, स्टालिनले पनि आफ्नो भक्त भएका कारण खु्रस्चेवलाई उत्तराधिकारी घोषणा गरेका थिए । यद्यपि सत्ताकेन्द्रमा पुगिसकेपछि खु्रस्चेवले आफू स्टालिन भक्त नभएको व्यवहारत: सिद्ध गरे, यसलाई अपवादको रूपमा लिन सकिन्छ । खु्रस्चेव स्वेट मार्डेनबाट प्रभावित थिए– यो भन्न सकिएन, तर व्यवहारत: खु्रस्चेवले मार्डेनको ‘सुझाव’लाई आत्मसात् गरेको देखिन्छ ।
दक्षिण एसियाली नेताहरू आफू देशका लागि भएको पुष्टि गर्न अनेकौँ कला प्रस्तुत गर्न खप्पीस मानिन्छन्, तर उनीहरूको व्यवहारले अर्कै तथ्य पुष्टि गर्दछ– आफू देशका लागि होइन देश आफ्ना लागि । कुमारभन्दा गणेश प्रवृत्तिले पुरष्कृत हुने मौका पाउने परम्परा र संस्कृति रहेको हाम्रोजस्तो मुलुकमा सयौँ कुमार सुमेरु पर्वततिर भड्किरहेका छन् र हलचल गर्न नसक्ने भुँडे गणेशहरू पुजित भइरहेका छन् । पार्टी नेतृत्वमा पुर्‍याउन या निर्वाचनमा उम्मेदवार बन्न र सांसद भए मन्त्री बन्न, योग्यता, क्षमता भए राजदूत या जीएम बन्न व्यक्तिमा ‘गणेश प्रवृत्ति’लाई अपरिहार्य ठानिन्छ । त्यसैले यहाँ देश र जनताका लागि कसले बढी योगदान दिन सक्छ भन्ने आधारमा कसैको रोजी–खोजी हुने गर्दैन, आफ्नो सेवक बन्ने ‘योग्यता’ कसमा बढी छ भन्ने आधारमा मान्छेको रोजी–खोजी गरिन्छ र महत्त्वपूर्ण जिम्मेवारीमा पुर्‍याइन्छ । कुनै पनि राजनीतिक दलको केन्द्रीय नेतृत्वमा पुर्‍याइएका, सांसद, मन्त्री, राजदूत, जीएम र संवैधानिक जिम्मेवारी दिइएका मानिसहरूको अध्ययन गरियो भने थोरै मात्र योग्य मानिसले मौका पाएको निष्कर्ष निकाल्न सकिन्छ । राजनीतिक दलका शीर्षस्थ नेताहरूको व्यवहार देशकेन्द्रित नभई आत्मकेन्द्रित हुनुको परिणाम नेपाल मात्र होइन, दक्षिण अमेरिका र दक्षिण एसियालगायत विश्वका कैयन मुलुकले भोगिरहेका छन् । नेपालमा व्यापारमा जस्तै राजनीतिमा पनि ‘सिन्डिकेट प्रणाली’ अर्थात् माफियागिरीको प्रभावकारिता निर्णायक तहको छ । आफ्नो प्रशंसा गर्नेहरूलाई मात्र योग्य र सक्षम देख्ने बाँकी सबैलाई निषेध गर्दै जाने प्रवृत्ति संस्थागत भएकोले हरेक राजनीतिक दलहरू ‘यसम्यान’हरूको झुण्डजस्तै देखिएका छन् । तिनै झुण्डका पनि सामान्य कार्यकर्ता र समर्थकहरू आफ्नो दललाई कसरी निर्वाचनमा विजयी गराउन सकिएला भन्ने विषयलाई लिएर चिन्तित छन्, तर नेताहरूचाहिँ ‘कसरी आफ्ना मानिसलाई बढीभन्दा बढी ‘टिकट’ दिलाउने र आफू प्रधानमन्त्री बन्न मार्ग प्रशस्त गर्ने भन्नेमै केन्द्रित देखिन्छन् । उम्मेदवार बन्ने व्यक्ति आफ्नो भक्त होस्, प्रतिस्पर्धी नेताहरूसँग लसपस नभएको होस्, आफैँले सोचेर निर्णय लिनेभन्दा आज्ञा पालन गर्ने क्षमता प्रबल होस्, आफूले दिनलाई रात भन्दा रात भन्ने र रातलाई दिन भन्दा दिनै भन्ने क्षमताको होस् र आफ्ना हरेक कदमलाई चुपचाप समर्थन गर्ने प्रवृत्तिको होस् भन्ने चाहना हरेक नेताहरूमा कम या बढी रहेको पाइन्छ । एकताका काङ्ग्रेसमा गिरिजाप्रसाद कोइराला सर्वशक्तिमान नेता हुनुहुन्थ्यो, उहाँले कृष्णप्रसद भट्टराईलाई तात्कालिक निर्वाचनपछिको प्रधानमन्त्री घोषणा गर्दा अनुयायीहरूले चुपचाप त्यस कदमको समर्थन गरेको र पछि किशुनजी प्रधानमन्त्री बनेको ६ महिना नबित्दै उहाँलाई पदमुक्त गरिनुपर्छ भन्दा त्यसको पनि अन्धाधुन्ध समर्थन गरेको घटनालाई आज्ञाकारिताको एउटा दृष्टान्तको रूपमा लिन सकिन्छ । त्यस्तै, गिरिजाप्रसादले ‘माले, मसाले र मण्डले एकै हुन्’ भन्दा त्यसको समर्थन गरेको र माओवादीसँग गठबन्धन बनाउँदा त्यसलाई समेत चुपचाप समर्थन गरेको सन्दर्भलाई पनि आज्ञाकारिताकै एक नमुनाका रूपमा लिन सकिन्छ । हो, यस्तै समर्थकहरू चाहन्छन् नेताहरू ।
यतिबेला मुलुकमा निर्वाचनको तयारी हुँदै छ । घोषित मितिमा निर्वाचन हुन सक्ने विषयमा केही सन्देह रहे पनि चुनावी वातावरण बनाउन खास–खास दलका नेताहरू कसरतरत छन् । चुनावको सम्भावना सँगैसँगै उम्मेदवारीको आकाङ्क्षा राख्ने नेता–कार्यकर्ता आ–आफ्नो पार्टीबाट टिकट प्राप्तिका लागि प्रतिस्पर्धामा जुटेका छन् । सम्भावित उम्मेदवारहरू नेताहरूको घरदैलो धाउने क्रम निकै बढेको छ । तर, क्षमतावान् र स्वाभिमानीहरू यसरी नेता रिझाउने दौडमा सामेल भएका छैनन् र हुन चाहँदैनन् पनि । कार्यकर्ताको स्वाभिमान नेताहरूका निम्ति ‘प्रमुख अयोग्यता’ हो । देश, प्रजातन्त्र र पार्टीप्रति मात्र इमानदार हुनुलाई उनीहरू ‘योग्यता’ ठान्दैनन् । आफैँ ‘यसम्यान’ को भूमिकामा अब्बल भएर प्राविधिक रूपमै भए पनि नेता बन्ने मौका पाएकाहरूले ‘क्वालिटी’ कार्यकर्तालाई योग्य देख्ने कुरै भएन । त्यसैले स्वाभिमानी कार्यकर्ताहरूको यसपटक पनि बिचल्ली हुने निश्चित मान्न सकिन्छ । स्वाभिमान नभएका या स्वाभिमान गुमाएका नेताहरूले जुन काँटी र कोटीका व्यक्तिलाई टिकट दिनेछन्, कार्यकर्ताहरू तिनको प्रचार गर्न र जनता त्यस्तालाई मतदान गर्न बाध्य हुने स्थिति फेरि पनि कायम छ । यसर्थ आगामी निर्वाचनमा पनि निम्नकोटिका व्यक्तिहरूमध्येमै हारजित हुने र जो निर्वाचित भए पनि नेपाली राजनीतिको निर्णायक तहमा ‘सी’ ग्रेडकाहरूको बाहुल्य रहनेमा शङ्का नगर्दा हुन्छ । निम्नकोटिका नेता समूहहरूबाट उच्चकोटिका काम हुने आशा गर्न सकिन्न, त्यसैले देश फेरि पनि जहाँको त्यहीँ या योभन्दा पनि तल जानेमा ढुुक्क हुनु भनेको वर्तमान देशको वास्तविकता बुझ्नु हो ।

 

९ श्रावण २०७०, बुधबार २२:४४ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

दुई अध्यक्षबीचको विवाद मिलाउन ४ सदस्यीय अनौपचारिक कार्यदल

काठमाडौँ, २१ असार । सत्तारूढ दल नेकपाभित्र चुलिएको विवाद थप बढ्न नदिन दुई अध्यक्ष सकारात्मक भएका छन् । प्रधानमन्त्री निवास..

कोरोना विरुद्द लड्न आईएलओले एनआरएनएलाई दियो ५ करोड १० लाख अनुदान

काठमाडौँ, २० असार । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई ४ लाख २४ हजार ३१० डलर..

उमा थापाको शनिवारिय कोशेली, कथा: ‘देउता आएनन्’

काठमाडौँको माघ महिनाको मुटु नै कठ्याङ्ग्रिने जाडो त्यसमाथि केही दिनदेखि एकनासले झरी परिरहेको छ । शीतल बेलुकीको..

नेकपा स्थायी कमिटी बैठक सोमबार सम्मका लागि स्थगित

काठमाडौँ, २० असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक असार २२ गते सम्मका लागि..

शुक्रबार ६ उडानबाट ९ सय बढीलाई काठमाडौँ ल्याईयो, कुन एयरलाइन्सबाट कति ?

काठमाडौँ, १९ असार । शुक्रबार ६ वटा अन्तराष्ट्रिय उडानमार्फत विभिन्न देशबाट ९१७ जनालाई काठमाडौँ ल्याईएको छ ।..