पत्रकारहरूबीच ‘कित्ताकाट’ भएपछि… :: वीरेन्द्रमणि पौडेल

कुनै बेला एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड चितवन भरतपुरको उकालोनजिक रहेको होटल रोयल सेन्चुरीमा आउँथे । पत्रकार सम्मेलन आयोजना गर्ने कुरा हुन्थ्यो । जिल्लाका भरिपेट भात खाएका, आधा पेट खाएका, मोटरसाइकल चढ्ने, साइकल चढ्ने, पैदलै हिँड्ने, काङ्ग्रेसले दिएको दुदुमाम खाने, एमालेले पालेका, एनजीओले स्याहारेका, सफासुग्घर भएर हिँड्ने, कहिलेकाहीँ मात्रै नुहाउने, पेटभरि रक्सी खाने, अड्कलेर खाने, कहिल्यै नखाने, लुकी–लुकी खाने, चुरोट तान्ने, खैनी च्याप्ने, अचाक्ली मिहिनेत गर्ने, मिहिनेत नगरी खाने इच्छा पाल्ने, आफ्नो मिहिनेतमा विश्वास गर्नेलगायत रङरङका पत्रकारलाई माओवादी पत्रकार सुरेशचन्द्र अधिकारीले टेलिफोन गरेर डाक्थे । पत्रकारहरू आउँथे र प्रचण्डलाई सुहाउने प्रश्नहरू तेस्र्याउँथे । प्रचण्ड पनि रमाई–रमाई, कुम हल्लाई–हल्लाई जवाफ दिन्थे । कम्तीमा पत्रकारहरूको सङ्ख्या पचासजति हुन्थ्यो । 
काङ्ग्रेस नेता शेरबहादुर देउवा पनि त्यही होटलमा आउँथे । आधा काङ्ग्रेसी कार्यकर्ता आधाआधीजसो पत्रकारको रूपमा रहेका भाइहरूले फोन गर्थे । पत्रकारलाई डाक्थे, पत्रकार हो कि हो कि जस्तालाई पनि डाक्थे । मेसो मिलेसम्म पत्रकारहरू कार्यक्रममा गइदिन्थे । रामचन्द्र पौडेल आउँदा पनि त्यस्तै हुन्थ्यो अवस्था । एमालेवाला माधव, ओली, वामदेव, झलनाथ आउँदा पनि पत्रकारहरू भेला हुन्थे । मोहनविक्रम सिंह, नारायणमान बिजुक्छे, चित्रबहादुर केसी र बादल आउँदा पनि कनिकुथी भ्याएसम्म पत्रकारहरू त्यहाँ भेला भइदिन्थे । तर, आज समय बदलियो ।
मान्छेहरूलाई अचम्म लाग्न सक्छ कि अबउप्रान्त हरेक दृष्टिकोणले महत्त्वपूर्ण सावित नेपालको चितवन जिल्लामा पत्रकार सम्मेलन हुन सक्ने स्थिति देखिएन । पत्रकार सम्मेलन हुन नसक्नुमा कारण थुप्रै छन् । थुप्रै कारणमध्ये केही कारणबारे बुँदागत रूपमा छलफल गरौँ ता कि यस्तो अवस्थाबारे सबैलाई जानकारी होस् र सच्याउन प्रयत्न पनि सम्बन्धित पक्षहरूबाट हुन सकोस् ।
क) चरम राजनीतीकरण : चितवनका पत्रकार चरम राजनीतीकरणको सिकार बने । बिचरा चितवनमा क्रियाशील पत्रकार कुनै कोणबाट पनि कमजोर र अनुशासनहीन छैनन् तर राजनीतिको सेफ्टीट्याङ्कमा राजनीतिक दलहरूले नजानिँदो पाराले यिनलाई जाके, चुर्लुम्मै डुबाए । एकीकृत नेकपा माओवादीले क्रान्तिकारी पत्रकार सङ्घको नाममा केही पत्रकारलाई जाक्यो । प्रेस चौतारी नाम दिएर सङ्गठित गरी एमालेहरूले पार्टीको निजी पत्रकार समूह खडा गर्‍यो । उसले त्यसरी नै जाक्यो । नेपाली काङ्ग्रेसले प्रेस युनियन खडा गर्न लगायो र पार्टीहितमा काम गर्न लगायो । पत्रकारहरू पार्टीपार्टीमा बाँडिए र आफूले समर्थन गरेको पार्टी र नेताको फोटो ठूलो र अरूलाई झिँगाको टाउकोबराबर साइजमा प्राथमिकता दिए । विस्तार–विस्तार कुन पत्रकार कुन पार्टीको समर्थनमा छन् देखिन थाले । यो कार्यले निरन्तरता पाउँदै गर्दा पत्रकार–पत्रकारबीच पनि हार्दिकतामा कमी आउन थाल्यो । भेटघाट पातलियो र प्रचण्ड आउँदा माओवादी समर्थक पत्रकारबाहेक अरू पत्रकार कार्यक्रममा जान हिच्किचाए । काङ्ग्रेस, एमालेका काठमाडौंका ठूला नेता चितवन आउँदा पनि स्थिति उस्तै देखियो । काङ्ग्रेसी नेता आउँदा काङ्ग्रेसी पत्रकार मात्रै र एमालेका नेता आउँदा चाहे एयरपोर्टमा होस् चाहे पार्टी अफिसमा, एमाले समर्थक पत्रकार मात्रै उपस्थित भए । त्यसकारणले पनि होला हिजोआज काठमाडौंका प्राय: सबै पार्टीका नेताले चितवनका दलमार्फत आफ्ना निजी पत्रकारलाई फोन गरेका छैनन् र पत्रकार सम्मेलन नामको कार्यक्रम अति न्यून हुँदै गएको छ ।
ख) काठमाडौं जाने चाहना : अवसर र पैसा त्यतै भएर होला खुबी भएका–नभएका सबै पत्रकार काठमाडौं जान लालायित देखिए, जसका कारण चितवनमा पत्रकार सङ्ख्या पातलियो र कुनै कार्यक्रम आयोजना गरेर पत्रकार डाक्दा दुई–पाँच जनाको उपस्थिति पनि सम्भव भएन । यो अवस्था बुझेपछि सङ्घ–संस्था र दलहरूले पत्रकार सम्मेलन नगरी आ–आफ्ना कार्यक्रमबारे कागजमा लेखेर पत्रपत्रिकाको कार्यालयमै गएर बुझाउने वा एफएम, टेलिभिजनहरूलाई टेलिफोन/फ्याक्समार्फत जानकारी गराउने प्रक्रिया अपनाउन थाले ।
ग) आफू मात्रै बाँच्ने चाहना : पूराका पूरा भन्न मिल्दैन तर अधिकांश चितवनका उद्योगी, व्यापारीहरू आफू एक्लै बाँच्न सकिन्छ भन्ने सोचका साथ प्रस्तुत भए । अर्थात्, पत्रकारलाई सञ्चारमाध्यमले बचाएको हुन्छ र सञ्चारमाध्यमलाई हामी उद्योगी–व्यवसायीले सक्दो विज्ञापनमार्फत बचाउनुपर्छ भन्ने सोच राखेनन्, चाहेनन् वा बुझेनन् कारणहरू जुनकुनै हुन सक्लान् तर सानो सङ्ख्याका उद्योगी–व्यापारीले सहयोग गरे धेरैले गरेनन् । उद्योगी–व्यवसायीहरूमध्ये दुई प्रतिशत्ले पनि विज्ञापन दिन डाकेनन् । निवेदन दिएर विज्ञापन माग्दासमेत चासो दिएनन् । यो खालको उपेक्षाका कारण चितवनमा थुप्रै पत्रपत्रिका बन्द भए । पत्रकारले रोजगारी गुमाउँदा स्वाभाविक रूपमा पत्रकार सङ्ख्या पातलियो र चितवनमा पत्रकार सम्मेलन हुनै नसक्ने स्थिति देखापर्‍यो ।
ग) सरकारी कार्यालय, भरतपुर नगरपालिका र जिविसद्वारा गरिएको उपेक्षा : चितवनका सरकारी कार्यालयमा कतै धेरै कतै थोरै आर्थिक भ्रष्टाचार र अनियमितता त पक्कै भएको होला । कर्मचारीहरूले ल्याप्पलुप्प पारेर आफू र आफ्ना परिवारका पेटमा दाना त हाले, हालेकै होलान् तर यी कार्यालयले पत्रपत्रिका किनेर पढिदिए पनि सहयोग हुन्थ्यो, किनेनन् । यिनले भने ‘बजेट छैन, काठमाडौंबाट निस्किने ‘फलानो’ पत्रिका किन्न मात्रै बजेट छ, अरूलाई छैन ।’ भरतपुर नगरपालिकाको उपेक्षा झनै कहालीलाग्दो छ । देशभरिमा बेइज्जती नगरपालिकाको रूपमा चर्चा पाएको छ । अहिले एकलौटी रूपमा कर्मचारीको हातमा नगरपालिका पर्न गएको छ । कागज मिलाएर जति लुँड्याए पनि हुने । यो नगरपालिकामा जनप्रतिनिधिले काम गर्दा त एउटा डोजरको पछाडिको चक्काको टायरको खरिद मूल्यमा चार लाख असी हजारको बिल बनाएर ‘हाम’ गरिन्थ्यो भने अहिलेका कर्मचारीहरूले कति रकम गाँजेमाजे गरेका होलान् ? सबै कर्मचारी बेइमान छैनन्, आधाआधी इमानदार र आधाजसो खतरनाक छन् भन्ने भनाइ छ । खाने मामलामा केही कर्मचारी कार्यकारी अधिकृतको उस्तै परे ‘फलानो ठाउँमा’ तेल घस्न पनि पछि पर्दैनन् भन्ने भरपर्दो खबर छ । नगरपालिकालाई कुन्नि केको राज्य भनेझैं लुट्नचाहिँ हुने तर जिल्लाका पत्रिकालाई विज्ञापनमार्फत बाँच्ने प्रक्रियामा सहयोगी बन्न नहुने । पत्रपत्रिकालाई विज्ञापन दिन मिल्छ–मिल्दैन भन्ने प्रश्नको जवाफ यस्तो आउँछ ‘तीन सय रूपैयाँभन्दा बढीको विज्ञापन दिने नीति छैन ।’
जिल्ला विकास समितिले विकासका कामै नसकी, नगरी कुन्नि को–कोसँग मिलेर लाखौँलाख हजम गर्दा अख्तियारले स्थानीय विकास अधिकारीलाई कानुनी डण्डाले खप्परमा हानेको चर्चा अहिले पनि सेलाएको छैन । यी कागज मिलाएर दाम खान पल्किएकाहरूसमेतले स्थानीय पत्रपत्रिकालाई गतिलै ढङ्गले उपेक्षा गरे । सामान्यभन्दा सामान्य रकमबराबरको विज्ञापन दिएर सहयोग गर्न सक्थ्यो तर हेप्नसम्म हेप्यो । पत्रकारहरू काङ्ग्रेस, एमाले, एमाओवादी र अन्य अन्य दलमा विभाजित हुन पुग्दा हेपाइलाई बल मिल्यो ।
घ) गरिबीको मारमा पत्रकार : मान्छेको दुनियाँमा मात्रै इज्जत र धनको चर्चा हुन्छ । पशुपन्छीको दुनियाँले इज्जत र धन चिन्दैन । तर, मान्छेको दुनियाँले स्वीकारेको धन र इज्जत एकै व्यक्तिलाई प्राप्त हुन बडो कठिन हुने रहेछ । त्यसैले दुईमध्ये एकलाई छान्न अनिवार्य हुँदोरहेछ । इज्जत छान वा धन । धन छाने इज्जतलाई दाउमा लगाउनुपर्ने, इज्जत छाने धनको अभावमा पिल्सिनुपर्ने । अपवादलाई छाडेर प्राय: सबै पत्रकारले इज्जतलाई छाने । त्यसैले सामान्यभन्दा सामान्य गर्जो टार्नसमेत पत्रकारहरू असफल देखिए । श्रीमतीले बेलुका घर फर्किंदा ‘एक पोका नुन जसरी पनि लिएर आउनु’ भन्दा त्यो सामान्य आवश्यकता पनि पूरा गर्न एकखाले पत्रकार असमर्थ हुन पुगे । यस्तो अवस्था झेल्नुपर्दा स्वाभाविक रूपमा यिनलाई कसको सेवा गरेर के हुने रहेछ र ? भन्ने भावना जागृत भयो । चाहे जोसुकैले पत्रकार सम्मेलनको नाममा डाकोस् जानै पो किन पर्‍यो र ? भन्ने खालको चिन्तनले काम गर्‍यो । यसकारण पनि पत्रकार सम्मेलनमा पत्रकार सङ्ख्या धेरै पातलियो ।
ङ) चितवनका नेताहरूको स्वार्थी स्वभाव : आ–आफ्ना दलका राजनीतिक गतिविधि जनताको माझमा पत्रकारहरूले सञ्चारमाध्यममार्फत पुर्‍याइदिऊन् भन्ने चाहना दलका नेताहरूले राखे । त्यो चाहनाको उदार दिलले स्वागत गर्दै धेरैभन्दा धेरै पत्रकारले समाचार छापे, प्रसारण गरे, फुके । तर, कुनै पनि दलका कुनै पनि नेताले पत्रकारले के खायो, कसरी बाँच्यो, बालबच्चा कसरी पालेको छ, पढाएको छ भनेर चिन्ता लिएनन् । सिर्फ आफू, आफ्नो परिवार र आफ्नो दल बाँचे अरू बाँच्न जरुरी छैनझैं ठाने । दलकै नेता सांसद हुन्छन्, मन्त्री, प्रधानमन्त्री हुन्छन् । राजतन्त्र ढलेपछि त अब राष्ट्रपतिसमेत बन्न ढोका खुलेको छ । यी पदहरूमा पुग्दा मान–सम्मान मात्र होइन नियत खराब भएकाहरूले अकुत सम्पत्तिसमेत कमाउन सक्छन् । पत्रकार कहिल्यै सांसद, मन्त्री, प्रधानमन्त्री वा राष्ट्रपति हुने लाइनमा उभिँदैनन् । यस्तो वास्तविकता थाहा भईकन चितवनका राजनीतिक नेतृत्वपङ्क्तिले कहिल्यै पनि काम गरेर खाने पत्रकारमाथि सहयोगी आँखाले हेरेनन् । यिनले चाहेको भए भरतपुर नगरपालिकामा हुने आर्थिक भ्रष्टाचार र जिल्ला विकास समितिमा हुने अनियमिततालाई कम गर्न सक्थे र चुहावटबाट जोगिएको रकम पत्रपत्रिकालाई बाँच्नेसम्मको विज्ञापनमार्फत सहयोग गर्न सक्थे । जहाँ भेटे पनि चितवनका पत्रकारहरूले विक्रम, अविनाश, देवी, कृष्णलाल, भीमबहादुर, टेकप्रसाद, जगन्नाथ, अनिल, शोभा, रामहरि, मोहनमणि, विजय, विकास, रामकृष्ण, ठाकुर, बद्रीलगायतका नेताहरूलाई नमस्कार गरेकै छन्, सम्मान दिएकै छन् । तर, यिनको बुद्धिको घैँटोमा कहिल्यै घाम लागेन । आफ्नो र राजनीतिक दलको अस्तित्व जोगाउने काम पत्रकारले गरिरहेका छन् यिनलाई बचाउनुपर्छ भन्ने यिनले कहिल्यै सोचेनन् । यिनीहरूको स्वार्थको लेवल धेरै माथि उक्लियो । स्वार्थले अन्धो हुन पुग्दा यिनले आफ्नो कर्तव्य बिर्सिए । पत्रकारको सहयोगको अपेक्षा त गरे तर सहयोग एकतर्फी हुन सक्दैन भन्ने सत्यलाई सीधै अस्वीकार गरे । त्यसको परिणाम बिस्तारै–बिस्तारै देखिँदै छ । पत्रकार र नेतागणबीच भेटघाट निकै कम हुँदै गएको छ । यदि यही अवस्था रहिरह्यो भने उसै त राजनीतिक नेतृत्वको छवि जनताको नजरमा गिर्दो छ त्यसमाथि पत्रकारको मन कुँडिँदै गएर उस्तै परे दलका नेताहरूसँग भेटै नहुने स्थिति सिर्जना भयो भने त्यो जत्तिको दु:खदायी दिन चितवनका नेताहरूका लागि अरू हुने छैन । बुझ्न चाहनेले ठीक समयमा समस्या ठीक ढङ्गले बुझ्ने प्रयास गरून्, बुझेर समाधान ठीक समयमा खोजून् । यदि अहिलेकै अवस्थामा सम्बन्धित पक्षहरू टसमस नगरी बस्ने हो भने चितवनमा आउने दिनहरूमा पत्रकार सम्मेलन हुने छैन । दलहरूले आफ्ना कार्यक्रम र विचार झ्याली पिटेर जनताको माझमा लैजानुपर्ने अवस्था आउनेछ । राजनीतिक दलहरू, उवासङ्घ नारायणगढ, जिल्ला विकास समिति चितवन, उद्योग सङ्घ चितवनलगायतले बेलैमा सक्रियता देखाए बेग्लै कुरा, ख्यालख्याल सोचे त्यो अवस्था शीघ्र आउनेछ, पक्कापक्की आउनेछ ।

९ श्रावण २०७०, बुधबार ०७:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

दुई अध्यक्षबीचको विवाद मिलाउन ४ सदस्यीय अनौपचारिक कार्यदल

काठमाडौँ, २१ असार । सत्तारूढ दल नेकपाभित्र चुलिएको विवाद थप बढ्न नदिन दुई अध्यक्ष सकारात्मक भएका छन् । प्रधानमन्त्री निवास..

कोरोना विरुद्द लड्न आईएलओले एनआरएनएलाई दियो ५ करोड १० लाख अनुदान

काठमाडौँ, २० असार । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई ४ लाख २४ हजार ३१० डलर..

उमा थापाको शनिवारिय कोशेली, कथा: ‘देउता आएनन्’

काठमाडौँको माघ महिनाको मुटु नै कठ्याङ्ग्रिने जाडो त्यसमाथि केही दिनदेखि एकनासले झरी परिरहेको छ । शीतल बेलुकीको..

नेकपा स्थायी कमिटी बैठक सोमबार सम्मका लागि स्थगित

काठमाडौँ, २० असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक असार २२ गते सम्मका लागि..

शुक्रबार ६ उडानबाट ९ सय बढीलाई काठमाडौँ ल्याईयो, कुन एयरलाइन्सबाट कति ?

काठमाडौँ, १९ असार । शुक्रबार ६ वटा अन्तराष्ट्रिय उडानमार्फत विभिन्न देशबाट ९१७ जनालाई काठमाडौँ ल्याईएको छ ।..