गलत विचार मोर्चामा एउटा ठीक मान्छे :: देवप्रकाश त्रिपाठी

पृथ्वीका हरेक मानिसमा सकारात्मक र नकारात्मक गुण/प्रवृत्ति विद्यमान रहन्छ– यो शाश्वत सत्य हो । सृष्टिमा आजसम्म सकारात्मक गुणहरूले मात्र भरिपूर्ण कुनै एक मानिस भेटिएका छैनन् र नकारात्मक प्रवृत्ति मात्र भएको मानिस पनि प्राप्त गर्न मुस्किल हुन्छ । त्यसैले मानिसको मूल्याङ्कन सकारात्मक या नकारात्मक प्रवृत्तिको मात्राका आधारमा हुने गर्दछ । देवता तहमा गणना भएकाहरूसमेतमा आलोचना पक्ष रहने–देखिने गरेको सन्दर्भमा मानिसको मूल्याङ्कन सकारात्मक गुणहरूको मात्राका आधारमा गरिनुलाई स्वाभाविक मानिन्छ र मानिस मूल्याङ्कनको परम्परा यसरी नै बसेको पनि छ । यहाँ डा. बाबुराम भट्टराईका बारेमा सङ्क्षिप्त चर्चा गर्न खोजिएको छ । प्रवेशिका परीक्षामा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्नुअघिको बाबुराम या भारतमा अध्ययन गरेर एक दक्ष आर्किटेक्ट बनेका बाबुरामको नभई प्रधानमन्त्री बन्नुअघि र त्यसपछिका बाबुरामका बारेमा, माओवादी बाबुराम र राजनीतिकर्मी बाबुराम, अनि हिसिला यमीसँग जोडिएका बाबुराम र स्वतन्त्र बाबुरामका बारेमा केही शब्द खर्च गर्नु सान्दर्भिक देखिएकोले उहाँबारे केही चित्रण गर्ने प्रयास गरिएको छ ।
महत्त्वाकाङ्क्षा बौद्धिक एवम् विद्वान् मानिसमा पनि हुनसक्छ र मूर्खमा पनि, तर आफ्नो महत्त्वाकाङ्क्षा पूरा गर्न अपनाइने साधन र साध्यमा भने दुईबीच भारी अन्तर रहन्छ । मूर्खहरू आकाङ्क्षा पूरा गर्न जस्तोसुकै साधन पनि अपनाउन सक्छन्, त्यस्ता मासिनको चाहना ठाउँ–कुठाउँ ‘एक्स्पोज’ भइरहेको हुन्छ । तर, बौद्धिक या विद्वान् मानिसको महत्त्वाकाङ्क्षा ठाउँ–कुठाउँ त्यसरी चुहिँदैन, बडो शालीन र सूक्ष्म तवरमा आकाङ्क्षा पूर्ति गर्न विद्वान्हरू खप्पीस हुन्छन् । बाबुराम भट्टराई आफ्नो विषयका ज्ञाता हुन् भन्नेमा कसैले शङ्का गरिरहनुपर्दैन र तीक्ष्ण बुद्धि तथा निश्चित ज्ञानको प्रचुरता रहेका कारण मानिसहरूले उनलाई एक विद्वान् एवम् बौद्धिक व्यक्तिका रूपमा आत्मसात् गरेका छन् । तर, आफ्नो महत्त्वाकाङ्क्षा परिपूर्ति गर्ने सन्दर्भमा उनले विगतमा अवलम्बन गरेको काइदा भने सौम्य र शालीन हुन सकेन । साध्य प्राप्तिका लागि बाबुरामले प्रयोग गरेको साधन सभ्य मानव समाजका निम्ति एक चुनौती अवश्य बनेको छ । यसो भनिरहँदा बाबुरामलाई यो तथ्य अस्वीकार्य हुनसक्ला, उनी भन्न सक्छन्– बेथिति र विकृतिविरुद्धको त्यो एउटा विद्रोह थियो– विद्रोह सौम्य र शालीन नहुनसक्छ । तर, यहीँनेर स्मरण गरिनुपर्ने सत्य के हो भने विद्रोह सिद्धार्थ गौतमले पनि गरेका हुन् र करमचन्द गान्धीले पनि । यिनले अत्यन्त शालीन विद्रोह गरे र अजर–अमर छन् । तर, माओ शैलीको विद्रोह बाबुरामले गर्नुअघि माओत्सेतुङ स्वयम्ले गरेका हुन्, उनी चर्चित अवश्य भए तर महान् या विवादरहित कहिल्यै हुन सकेनन्, त्यसैले माओको स्मरण अर्कै रूपमा गरिन्छ । चर्चा नारायणसँगै हिरण्यकष्यपुको पनि हुने गर्छ, कृष्णसँगै कंश र युघिष्ठिरसँगै सकुनीको पनि नाम आउँछ । तर, तिनको नाम स्मरण हुँदा व्यक्तिका अन्तरमनमा बेग्लाबेग्लै भाव सृष्टि हुने गर्दछ । बाबुराम भट्टराईमा गान्धी बन्न सक्ने क्षमता भएर पनि उनी गान्धीपथ अवलम्बन नगरेर माओपथ अपनाउन किन बाध्य भएका हुन् यस प्रश्नको जवाफ जीवनको उत्तरार्धमा स्वयम् बाबुरामबाट नै पश्चात्तापसहित आउने अपेक्षा गरिएको छ ।
बाबुराम भट्टराईको अन्तिम गन्तव्य प्रधानमन्त्री पद थियो, यसो भनेर अपमान गर्न नसकिने/नहुने स्थिति उनी स्वयम्ले व्यवहारत: सिद्ध गरिसकेका छन् । बरु उनी देशका निम्ति आफ्नो क्षमताको सम्पूर्ण उपयोग गर्न चाहन्छन् र त्यसनिम्ति उच्चपदीय जिम्मेवारी हासिल गर्न खोज्नु उनको बाध्यता बनेको थियो । करिब साढे दुई शताब्दी लामो नेपाली इतिहासमा पृथ्वीनारायण शाह र जंगबहादुर राणा जुन कारणले स्मरणीय बनेका छन् अर्को बेग्लाबेग्लै कारणले बीपी कोइराला, गणेशमान सिंह। कृष्णप्रसाद भट्टराई र राजा महेन्द्र पनि स्मरणयोग्य तहमा पुगेको यथार्थलाई कसैले अस्वीकार गरे पनि सत्य त्यही नै हो । यीबाहेक राजा या प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्ने मौका पाएका हरेकको सम्झी–सम्झीकन मूल्याङ्कन गर्नुपर्ने अवस्था छ । केहीलाई छोडेर विगतमा प्रधानमन्त्री बनेका अधिकांश ‘नेता’हरूको अन्तिम गन्तव्य सर्वोच्च पदमा पुगेर आफू सामान्य मानिसभन्दा निकै भिन्न रहेको देखाउनुबाहेक अरू केही थियो भन्न सकिने अवस्था रहेन । यसर्थमा बाबुराम भट्टराईलाई अपवादका रूपमा लिन सकिन्छ, उनी सर्वोच्च पदीय हैसियत प्राप्त गर्न मात्र चाहँदैनथे, प्राप्त हैसियतलाई केही गर्ने अवसरका रूपमा प्रयोग गर्न पनि चाहन्थे भन्ने उनको व्यवहारले प्रमाणित गरेको छ । जीवनको महत्त्वपूर्ण समय ध्वंसात्मक क्रियाकलापमा बिताएको भए पनि उनमा निर्माणको क्षमता जीवित रहेको देखियो । त्यसैले प्रचण्ड प्रधानमन्त्री रहँदाका नौ महिनाजस्तो तनावमय अवस्था बाबुरामको कार्यकालमा रहेन । डेढवर्षे प्रधानमन्त्रीत्व कालमा बाबुरामले राजधानीको सडक सुधारबाहेक देखिने अरू कुनै ठोस कार्य गर्न सकेनन्, तथापि केही गर्न खोज्ने या केही गर्नसक्ने मानिसको छवि उनले कायम राखेका छन् । अवसर पाए भने अरूले भन्दा बाबुरामले बढी केही गर्न सक्छन् भन्ने आमविश्वास जुन उनले आर्जन गरेका छन् एउटा राजनीतिकर्मीका निम्ति यो ठूलो सफलताको पाटो हुनसक्छ । देशमा दर्जनौँ नेता प्रधानमन्त्री भइसकेका छन् र दोहोर्‍याई–तेहेर्‍याई प्रधानमन्त्री बन्ने लाइनमा करिब आधा दर्जन नेता अहिले प्रयत्नशील रहेको पनि देखिँदै छ । माधव नेपाल या शेरबहादुर देउवा पुन: प्रधानमन्त्री बने पनि उनीहरूबाट दैनिक काम चलाउनेबाहेकको थप क्षमता प्रस्तुत नहुने ठानिन्छ भने प्रचण्ड प्रधानमन्त्री बनेको अवस्थामा केही न केही उपद्रव मच्चाइने जननिष्कर्ष रहेको पाइन्छ । तर, बाबुरामले पुन: प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त गरे भने उनीबाट विकास निर्माणका केही न केही काम हुने विश्वास जनतामा अझै कायम छ । जनस्तरमा यसप्रकारको विश्वास कायम राख्ने सफलता सितिमिती कसैलाई प्राप्त हुने गर्दैन, जुन बाबुरामलाई प्राप्त भएको छ । भ्रष्टाचार, नगद सङ्ग्रह या अन्य प्रकारका अनियमिततामा बाबुरामलाई मुख्य पात्र अर्थात् ‘इनिसिएटर’का रूपमा लिइएन । गल्ती गरेर होस् या नगरीकन पनि उनकी पत्नी हिसिलाको नाम अनेकौँ अनियमितताहरूसँग जोडिँदै आयो । बाबुरामको आलोचना गर्न व्यग्रतापूर्ण प्रतीक्षा गर्नेहरूलाई हिसिला यमी नामले यति ठूलो साथ दियो कि यमीलाई देखाएर बाबुरामतिर सोझ्याउने काम ‘प्रभावकारी रूपमा’ हुँदै आयो । ह्युगो चाभेज र नेल्सन मण्डेलाका पत्नीहरू यसरी नै बद्नाम भएपछि उनीहरूले आ–आफ्ना पत्नीसँग पारपाचुके गरेका थिए । पौराणिक कालका रामले सीतासँग जोडेर आफ्नो बद्ख्वाइँ भइरहेको चाल पाएपछि सीताप्रति पूर्ण माया–ममता हुँदाहुँदै पनि परित्याग गरेका थिए । तर, राजनीतिका लागि पत्नी त्याग गर्नुलाई बाबुरामले उचित ठानेनन् सायद । त्यसैले बाबुराम हिसिलासँगै छन्, आलोचकहरूले हिसिला देखाउँदै उनीमाथि प्रहार गर्ने मौका पाइरहेका छन् । हिसिलाबिनाको स्वतन्त्र बाबुराम पूर्वप्रधानमन्त्रीहरूमध्ये सक्षम र स्वच्छ छन् भन्ने तथ्य विपक्षीहरूले समेत सकारेका छन् ।
बाबुराममा देश निर्माणको दृष्टि, कल्पना र प्रतिबद्धता छ भन्ने जनविश्वास भङ्ग भएको छैन । अवसर पाए उनले थप केही गर्ने आशा गरिँदै छ । तर, रोचक पक्ष के छ भने स्वयम् बाबुरामआबद्ध पार्टीले उनीमाथि भरोसा राख्दैन । पार्टीको आन्तरिक शक्ति सन्तुलनमा उनी सधैँ रक्षात्मक भूमिका निर्वाह गर्नुपर्ने अवस्थामा छन् । बाबुरामका समर्थक एवम् शुभचिन्तकहरू पेरिसडाँडा र त्यसको आसपासमा भन्दा सडकतिर भेटिन्छन् । उनी आफूलाई देशभक्त ठान्छन् र देशभक्त होइनन् भन्नुपर्ने कुनै ठोस प्रमाण नभेटिएको अवस्थामा उनीमाथिको आरोपलाई ‘मिथ्या उवाच’का रूपमा लिन सकिन्छ । तर, विगतमा बाबुरामले प्रस्तुत गरेको व्यवहारले उनी निश्चित विचारलाई केन्द्रभूमिमा राखेर स्वपरिचालित हुने व्यक्ति भएको दर्शाएको छ । विचारभूमिमा केन्द्रित हुँदा उनको दिमागबाट कहिलेकाहीँ राष्ट्रियताको पाटो छुट्ने या प्राथमिकतामा पर्दै नपर्ने गरेको भने अवश्य देखिन्छ । राजासहितको नेपालभन्दा बरु नेपाल नै चाहिन्न भन्ने तहको वैचारिक अडानले बाबुराम राष्ट्रभक्तचाहिँ होइनन् कि भन्ने पनि कतिपयलाई लाग्न सक्छ, तर राष्ट्रवादी बन्न व्यक्तिमा देश निर्माणको दृष्टिकोण र प्रतिबद्धता अनिवार्य रूपमा निहित हुनुपर्छ भन्ने तथ्यगोचर गर्दा उनी गैरराष्ट्रवादी भएको निष्कर्षमा पुग्न सकिँदैन । बरु माओवादी आन्दोलनभित्र संशोधनवादी, उदारवादी, दक्षिणपन्थीजस्ता दर्जन आरोप व्यहोरेका बाबुरामका कतिपय अभिव्यक्ति प्रजातन्त्रको मूल मर्ममै प्रहार गर्ने प्रकारका रहे । न्यायपालिका र व्यवस्थापिकाको अधिकारसहितको कार्यपालिकाको पक्षमा वकालत गरेर बाबुरामले आफूमा निहित अपरिपक्वताको प्रदर्शन गरेका होइनन् भने उनी मौका परे तानाशाहको भूमिका निर्वाह गर्न तत्पर छन् भन्ने स्पष्ट सङ्केत दिएको मान्नुपर्छ । राजनीतिक भूमिकामा आफ्नै पार्टीका अध्यक्ष प्रचण्डभन्दा अतुलनीय रूपमा परिपक्व मानिएका बाबुरामले त्यसप्रकार प्रजातान्त्रिक मूल्य–मान्यताविपरीतको अभिव्यक्ति दिएपछि उनी पनि प्रचण्डझैँ तानाशाह बन्न तीव्र लालायित रहेछन् भन्ने टिप्पणी जनस्तरमा समेत हुन थालेको थियो । सर्वोच्च अदालतका कतिपय महत्त्वपूर्ण निर्णयहरू कार्यान्वयन गराउनेतर्फ उनले दर्शाएको उदासीनताले पनि उनको छविमा हिसिलाभन्दा ठूलो ग्रहण लगाएको छ ।
भिन्न विचार समूहप्रति यदाकदा प्रकट हुने कठोर प्रहारले उनको अपरिपक्वताको सङ्केत त गरेकै हुन्छ, एउटा निरङ्कुश र अधिनायकवादी चिन्तन छचल्किएको आभास पनि गराउँछ । यस्ता कतिपय कमजोरीका बाबजुद पूर्वप्रधानमन्त्रीहरूमध्ये बाबुराम भट्टराई नै सर्वाधिक सक्षम र विकास निर्माणप्रति प्रतिबद्ध नेताको छवि बनाउन सफल भएका छन् । उनी स्वतन्त्र चिन्तन गर्न सक्ने कोटिका मानिस हुन् भन्ने देखिन्छ, तर उनको संलग्नता स्वतन्त्र चिन्तनलाई पूर्ण निषेध गर्ने समूहमा रहिआएको छ । देश निर्माणका लागि स्वतन्त्र एवम् नवीनतम् चिन्तन गर्ने मानिसको खाँचो प्रजातान्त्रिक आन्दोलनमा खट्किएको छ । प्रजातान्त्रिक आन्दोलनमा क्रियाशील डा. रामशरण महतलगायतका विकासप्रेमीहरूले सर्वोच्च जिम्मेवारी प्राप्त गर्ने स्थिति बनेको भए पनि ‘मनस्थिति’ बन्न नसक्दा प्रजातान्त्रिक आन्दोलनप्रतिको भरोसामा खिया लाग्न सक्ने चिन्ता बढ्दै छ । बाबुराम भट्टराई राजनीतिक हैसियत र विकासप्रेमी छविका कारण उचाइ लिन सफल भए पनि उनी हिँडेको बाटोले प्रजातन्त्र र स्वतन्त्रता सम्बद्र्धनको गन्तव्य तय नगर्ने त्रास विद्यमान छ ।
पछिल्लोपटक पार्टीको उपाध्यक्ष पद त्याग गरेर उनी चर्चामा छन् । यद्यपि उनको पदत्यागलाई कतिपयले नकारात्मक अर्थ लगाएका छन्, केहीले राष्ट्रपति या प्रधानमन्त्री पद सुनिश्चितताको प्रयास पनि भनेका छन् । सम्पूर्ण राज्य, राज्यशक्ति, राजा या राजकुमारजस्तो अति सम्मानित पद परिवार, दरबार सबै त्यागेर सत्मार्गको खोजीमा निस्केका सिद्धार्थ गौतमका त अनगिन्ती आलोचक थिए भने बाबुरामको आलोचना या उनीमाथि आशङ्का उत्पन्न हुनुलाई अस्वाभाविक मान्नु नै अस्वाभाविक छ । उनको चाहना राष्ट्रपति पद हो भने उनी अब सम्मानित जीवन जिउन मात्र चाहन्छन् भनेर बुझ्नुपर्ने हुन्छ, प्रधानमन्त्री पदको सुनिश्चितता कम्तीमा आफूसम्बद्ध पार्टीभित्रबाट खोजेका हुन् भने उनी देशलाई योगदान दिन अझै इच्छुक र प्रतिबद्ध छन् भनेर स्वाभाविक रूपमा लिन सकिन्छ । सबै आकार–प्रकारका पदीय जिम्मेवारीप्रतिको आशक्ति समाप्त भएर त्यागको प्रारम्भ भएको हो भने पनि मुलुकमा राजनेता या महान् साधुसन्तको उदय हुने ठानेर खुसी नै हुन सकिन्छ । सत्ताका निम्ति हिंसात्मक युद्धको अगुवाइ गरी हिँड्नेहरू पनि कालान्तरमा त्याग र अहिंसाका प्रतिमूर्ति बन्न सक्छन् भन्ने दृष्टान्त बाबुरामले पेस गर्न खोजेका हुन् भने त्यो झनै उत्तम हुन्छ । बाबुरामलाई जुन काँटी र कोटिका मानिस मानिए पनि त्यो मान्नेहरूको स्वतन्त्रताको कुरा हो, तर कतिले अस्वीकार गरे पनि एक आशलाग्दा नेताका रूपमा उनी अवश्य स्थापित छन् । दानवहरूको हुलमा मानव, बाँदरहरूको बथानमा हनुमान र अरिङ्गालको झुण्डमा माहुरी शोभनीय नभएझैं ध्वंशकारीहरूको भीडमा बाबुराम ‘एक्स्ट्रा’ देखिएका छन्, ‘एक्स्ट्रा’ मानिसको ‘बजार’ प्रजातान्त्रिक आन्दोलनमा मात्र सुरक्षित हुने गर्दछ । कम्युनिस्ट आन्दोलनमा ‘एक्स्ट्रा’को हालत ट्राटस्की र लिन प्याओको जस्तो हुन्छ भन्ने सत्य बुझेका बाबुरामले हाल अलमलिएको झाडीमै आफूलाई सीमित राख्ने हो भने सबभन्दा ठूलो क्षति पनि अन्तत: उनैले व्यहोर्नुपर्नेमा शङ्का नगर्दा हुन्छ । बाबुरामले यसरी पदत्याग गर्दा त्यसबाट सर्वाधिक आहत कोही भएका छन् भने ती प्रचण्ड नै हुन् । बाबुरामले बेग्लै तर सकारात्मक राजनीतिक अभ्यासको आरम्भ गर्न खोजेका भए आफूभन्दा बाबुराम लोकप्रिय र बहुमान्य हुने पीडा प्रचण्डमा उत्पन्न हुने, उपाध्यक्ष पद त्याग गरेर राष्ट्रपति या प्रधानमन्त्री पदको सुनिश्चितता खोजेका भए त्यसले पनि प्रचण्डलाई नै पीडा हुने भएकोले बाबुरामको पदत्यागबाट सर्वाधिक आहत प्रचण्ड बन्न पुगेका छन् भन्न सकिन्छ । जे भए पनि विध्वंशका व्यवस्थापकहरूसँग निर्माणका कुशल व्यवस्थापक सधैँ सँगै रहन कठिनाइ हुन्छ भन्ने कुराको दृष्टान्त बाबुराम बनेका छन्, अगाडिको यात्राका बारेमा गम्भीरतापूर्वक सोच्न सकेनन् भने बाबुराम ट्राटस्की या लिन प्याओ नबने पनि सीपी मैनाली बन्नचाहिँ अब धेरै लामो प्रतीक्षा गरिरहनु नपर्ने हुनसक्छ, त्यसबेला बाबुरामको भूमिका विभिन्न गोष्ठी र सेमिनारहरूको शोभा बढाउनमा मात्र सीमित हुनेछ ।

२ श्रावण २०७०, बुधबार २२:५७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

दुई अध्यक्षबीचको विवाद मिलाउन ४ सदस्यीय अनौपचारिक कार्यदल

काठमाडौँ, २१ असार । सत्तारूढ दल नेकपाभित्र चुलिएको विवाद थप बढ्न नदिन दुई अध्यक्ष सकारात्मक भएका छन् । प्रधानमन्त्री निवास..

कोरोना विरुद्द लड्न आईएलओले एनआरएनएलाई दियो ५ करोड १० लाख अनुदान

काठमाडौँ, २० असार । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई ४ लाख २४ हजार ३१० डलर..

उमा थापाको शनिवारिय कोशेली, कथा: ‘देउता आएनन्’

काठमाडौँको माघ महिनाको मुटु नै कठ्याङ्ग्रिने जाडो त्यसमाथि केही दिनदेखि एकनासले झरी परिरहेको छ । शीतल बेलुकीको..

नेकपा स्थायी कमिटी बैठक सोमबार सम्मका लागि स्थगित

काठमाडौँ, २० असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक असार २२ गते सम्मका लागि..

शुक्रबार ६ उडानबाट ९ सय बढीलाई काठमाडौँ ल्याईयो, कुन एयरलाइन्सबाट कति ?

काठमाडौँ, १९ असार । शुक्रबार ६ वटा अन्तराष्ट्रिय उडानमार्फत विभिन्न देशबाट ९१७ जनालाई काठमाडौँ ल्याईएको छ ।..