जिम्मेवार नेताका गैरजिम्मेवार भूमिका :: विनोद नेपाल

मतदाता नामावली अद्यावधिक गर्ने कार्य सम्पन्न भएको छ । केही दिनपछि निर्वाचन आचारसंहिता लागू हुने जनाइएको छ । तर, निर्वाचन क्षेत्र निर्धारण आयोग आफ्नो काम कसरी गर्ने भन्ने अन्योलमा परेको छ । यसैबीच वार्ताका लागि तयार भएको भनिएको वैद्य माओवादीविरुद्ध उसको गठबन्धनका ३३ दलमध्ये ३२ दल एकजुट भएपछि वैद्य माओवादीले ससर्त वार्तामा नबस्ने भन्दै फेरि वार्ताबाट टाढिन खोजेको सङ्केत गरेको छ भने तराईका सशस्त्र समूहहरूले विभिन्न व्यक्ति लक्षित चेतावनी जारी गरेका समाचार आएकाले निर्वाचन अझै पनि चुनौतीपूर्ण रहेको देखिएको छ ।
यी सबै अप्ठेराको समाधान खोज्नु जिम्मेवार दल र नेताको जिम्मेवारी हो । तर, केही नेताका भूमिका हेर्दा लाग्छ ती परिस्थिति सम्हाल्नेभन्दा भड्काउनेतर्फ उद्यत् छन् । यस क्रममा एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जातीय पहिचानको माग राख्दै आन्दोलन गरिरहेका जनजाति नेताहरूलाई समानुपातिकको सिट सङ्ख्या घटाउने निर्णयविरुद्ध आन्दोलन गर्न सुझाव दिएको समाचार आएको छ । स्मरणीय छ, गत फागुन ३० गते चार प्रमुख शक्तिबीच सामनुपातिकतर्फको सिट सङ्ख्या दुई सय ४० मात्र राख्ने सहमति भई बाधा अड्काउ फुकाइएपश्चात् वर्तमान गैरराजनीतिक चुनावी सरकार गठन भएको थियो । प्रचण्डले समानुपातिक निर्वाचन प्रणालीको सिट सङ्ख्या घटाउने निर्णयविरुद्ध जनजातिले सडक आन्दोलन गरे आफूले साथ दिने प्रतिबद्धता पनि व्यक्त गरेका समाचारहरूमा जनाइएको छ । उनले आदिवासी जनजाति महासङ्घको टोलीले समानुपातिकको सिट सङ्ख्या घटाउने निर्णय खारेजीलगायत माग राख्दै गत सोमबार पेस गरेको ज्ञापनपत्र बुझ्दै प्रचण्डले सो धारणा राखेका हुन् ।
प्रथम संविधानसभाले म्याद सकिनु केही दिनअघिदेखि विवादित विषयमा छलफल चलाउने क्रममा पनि यस किसिमको विरोधाभास देखिएको थियो । एकातिर विवादित विषयमा सहमति खोज्ने भन्दै भेला र बैठक गर्ने अर्कोतिर असन्तुष्ट र खासगरी जातीय पहिचानसहितको राज्यको माग गर्नेहरूलाई उक्साएर उनैले एकल जातीय पक्षधरहरूलाई सडकमा उत्रन बल प्रदान गरेका थिए । जसको परिणामस्वरूप संविधानसभाको अवसान भएको थियो । प्रचण्डले यसपटक पनि जनजाति नेताहरूलाई यो मागलाई लिएर सडक सङ्घर्षमा उत्रिए आफूहरू त्यसमा सहयोग गर्न तयार रहेको तथा जनजाति नेताहरूको उक्त मागका सम्बन्धमा अन्य दलका नेताहरूसँग छलफल गर्ने बताएका हुन् ।
लम्बिँदो सङ्क्रमणका कारण मुलुकको सम्पूर्ण क्षेत्र कमजोर हुँदै गएको छ । आर्थिक स्थिति कमजोर भएको तथ्याङ्कहरूले देखाएका छन् भने सामाजिक क्षेत्रमा विभिन्न किसिमका असन्तुष्टि बढ्नुका साथै विभिन्न किसिमका अपराधहरू बढेका छन् । असुरक्षा, अराजकता र दण्डहीनताले प्रश्रय पाइरहेको छ । यस्तो अवस्थाबाट मुक्त हुनका लागि कसैका व्यक्तगत, समूहगत वा दलगत स्वार्थभन्दा मुलुकको स्वार्थ प्राथमिकतामा पर्नुपर्नेमा जिम्मेवार नेताहरूबाट यस किसिमका अनावश्यक र अनुचित आश्वासन बाँड्नु र गलत मागलाई सहयोग गर्ने भनी त्यस्ता आन्दोलनलाई उक्साहट र सहयोग गर्ने वचन दिनु विडम्बनाको विषय हो ।
हामीलाई चाहिएको शान्ति–सुरक्षा र समृद्धि हो । आ–आफ्नो पेसा व्यवसाय निर्वाध गर्न पाउने र आफ्नो संस्कार, संस्कृति, परम्परा र प्रचलनमा कसैबाट कुनै किसिमको अवरोध नहोस् भन्ने आमआकाङ्क्षा हो । अधिकार खोज्नेहरूले कर्तव्य पनि बुझ्नुपर्छ । कस्तो अधिकार खोज्नु ठीक र कस्तो बेठीक भन्ने पनि बुझ्नुपर्छ । झन्डै सवा सय जातजाति र भाषाभाषी भएको मुलुकमा जातीय राज्यका कुरा गर्नु उचित हो–होइन त्यस्ता आन्दोलनमा लाग्नेहरू स्वयम्ले बुझ्नुपर्ने हो भने सस्तो लोकप्रियताका लागि मुलुकको विभाजनमा रम्न चाहने तत्त्वको उक्साहट र सहयोगमा त्यस्ता आन्दोलनमा लाग्नेहरूलाई समर्थन गर्ने र अझ आन्दोलन चर्काउन सुझाव दिनु ठूला नेताको जिम्मेवारी हो । तर, यिनै नेताका यस्ता भूमिकाले यी नेता मुलुकमा शान्ति–सुव्यवस्था चाहन्छन्, निकास चाहन्छन् वा अशान्ति, अराजकता र अस्थिरता– गम्भीर प्रश्न उठेको छ ।
निर्वाचनबिना मुलुकले निकास पाउने सम्भावना छैन । यही वास्तविकतालाई महसुस गरी निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचनका लागि गैरराजनीतिक सरकार पनि गठन भइसकेको छ । यस परिस्थितिमा सबैले वास्तविकतालाई बुझी यथार्थको धरातलमा ओर्लिएर आ–आफ्नो जिम्मेवारी बहन नगरे घोषित निर्वाचन सम्भव नहुने र निर्वाचन नभए मुलुक भयङ्कर अप्ठ्यारोमा पर्नुका साथै राष्ट्रिय स्वाभिमान नै सङ्कटमा पर्ने भएकाले कसैले कुनै किसिमको बहाना बनाएर वा अवरोध उत्पन्न गरेर निर्वाचन भाँड्ने प्रयत्न आत्मघाती हुने कुरा महसुस गर्नुपर्ने हो । स्थानीय निकाय झन्डै डेढ दशकदेखि जनप्रतिनिधिविहीन भएका र पहिलो संविधानसभा असफल भएको कारण मुलुकमा कुन तन्त्र चलिरहेको छ भन्नेमै अन्योल भइरहेको अवस्थामा निर्वाचनका माध्यमबाट जनताका प्रतिनिधिको शासन स्थापित गर्नका लागि सबैको प्रतिबद्धता आवश्यक भएकोले यसैका लागि आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्ने हो । तर, अनुचित र नाजायज मागप्रति समर्थन जनाउनुले निर्वाचनमा अवरोध उत्पन्न गर्न खोजेको देखिन्छ जुन विडम्बनापूर्ण विषय हो ।
यो कसैका प्रति अनुचित, अस्वाभाविक सहानुभूति दर्शाउने र निहित स्वार्थका लागि सहयोगको वाचा गर्ने वा नचाहिँदो मागमा सहमति जनाएर अनपेक्षित परिस्थिति सिर्जना गर्ने नभई आ–आफ्ना स्वार्थलाई थाती राख्दै घोषित निर्वाचनको सफलताका लागि आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने समय हो । यसैले जिम्मेवार र नेतृत्व तहका नेताहरूले त झन् सस्ता कुरामा रमाउने गल्ती गर्नै हुँदैन । जिम्मेवार नेताले जिम्मेवार भूमिका खेल्नुपर्छ । परिस्थितिलाई भड्काउन जसले पनि सक्छ, जिम्मेवार नेताहरूले त सम्हाल्न सक्नुपर्छ । असन्तुष्टलाई सम्झाइबुझाइ सहमतिमा ल्याई बिग्रन थालेको परिस्थितिलाई सम्हाल्नुपर्छ । सम्हाल्नेभन्दा भड्काउने प्रयत्न हुनुले विभिन्न आशङ्का उत्पन्न हुन्छ । नेतृत्व कुशलता पनि सम्हाल्नुमै देखिन्छ, भड्काउनुमा होइन । यसैगरी नेताको सफलता भनेकै परिस्थितिलाई आफ्नो नियन्त्रणमा राख्न सक्नु हो भन्ने कुरा प्रचण्डलगायत सम्पूर्ण नेताले बुझ्नु जरुरी छ । निर्वाचनको कुरा गर्ने तर निर्वाचन बिथोल्ने गतिविधिलाई प्रोत्साहन गर्नेजस्ता कार्यमा सहभागी बन्नुहुँदैन । यसले मुलुकलाई थप अस्थिरता र अराजकतातर्फ धकेल्ने भएकाले आफूलाई जिम्मेवार ठान्ने नेताहरूले यस विषयमा अत्यन्त गम्भीर ढङ्गबाट सोच्नु जरुरी छ ।

२ श्रावण २०७०, बुधबार ११:४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

दुई अध्यक्षबीचको विवाद मिलाउन ४ सदस्यीय अनौपचारिक कार्यदल

काठमाडौँ, २१ असार । सत्तारूढ दल नेकपाभित्र चुलिएको विवाद थप बढ्न नदिन दुई अध्यक्ष सकारात्मक भएका छन् । प्रधानमन्त्री निवास..

कोरोना विरुद्द लड्न आईएलओले एनआरएनएलाई दियो ५ करोड १० लाख अनुदान

काठमाडौँ, २० असार । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई ४ लाख २४ हजार ३१० डलर..

उमा थापाको शनिवारिय कोशेली, कथा: ‘देउता आएनन्’

काठमाडौँको माघ महिनाको मुटु नै कठ्याङ्ग्रिने जाडो त्यसमाथि केही दिनदेखि एकनासले झरी परिरहेको छ । शीतल बेलुकीको..

नेकपा स्थायी कमिटी बैठक सोमबार सम्मका लागि स्थगित

काठमाडौँ, २० असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक असार २२ गते सम्मका लागि..

शुक्रबार ६ उडानबाट ९ सय बढीलाई काठमाडौँ ल्याईयो, कुन एयरलाइन्सबाट कति ?

काठमाडौँ, १९ असार । शुक्रबार ६ वटा अन्तराष्ट्रिय उडानमार्फत विभिन्न देशबाट ९१७ जनालाई काठमाडौँ ल्याईएको छ ।..