नेपालमा राजनेता नै छैनन् :: तारिणीदत्त चटौत (नेता, नेपाली कांग्रेस)

० सरकारले निर्वाचनको मिति त घोषणा गरेको छ, जनस्तरमा चुनावी माहोलले कति असर गरेको देख्नुहुन्छ ?
– । निर्वाचनको मिति घोषणा त भएको छ, तर चुनाव हुने हो कि होइन भन्ने आशङ्का कायम नै छ । पहिले चार वर्ष समय र अर्बौं रकम खर्च गरेर पनि संविधान निर्माण हुन नसकेकोमा जनतामा निराशा छ । देशमा नेता नै भएनन् भन्ने आमधारणा छ तर पनि अघिल्लो संविधानसभाको निर्वाचनको तुलनामा यतिबेला नेपाली काङ्ग्रेसप्रति जनतामा चासो, चाहना र विश्वास बढेको मैले पाएँ । पुरानो र जिम्मेवार पार्टी त काङ्ग्रेस नै हो भन्ने धारणा जनतामा जागेको देखियो । केही गर्छ भने काङ्ग्रेसले नै गर्छ भन्ने महसुस जनताले गर्न थालेका रहेछन् ।
० यसरी काङ्ग्रेसप्रति एकाएक जनतामा विश्वास कसरी पलायो होला ?
– खासगरी एमाओवादीले अवसर पाएर पनि केही गर्न नसकेको, उल्टै राजनीतिक माहोल बिगारेको र प्रचण्डले दिएका आश्वासन हावा सावित भएको अनि उनले पटक–पटक बोली फेर्ने गरेको कुरासँग जनता वाक्क–दिक्क भएका रहेछन् । एमाओवादीलाई मौका त दिएको तर केही गर्न सकेन भन्ने वितृष्णा जागेको रहेछ । विगत चार वर्षमा एमाओवादी र एमालेकै नेताहरू प्रधानमन्त्री भएर सरकार चलाए, तर राष्ट्रका लागि केही गर्न सकेनन् र संविधान पनि बनाउन सकेनन् । यसरी काम गर्ने खालका पार्टी खास नदेखिएकोले काङ्ग्रेसप्रति नै जनतामा आशा र भरोसा जागेको हो भन्ने लाग्छ ।
० चुनाव आएपछि मात्र जिल्ला र आफ्नो क्षेत्रमा देखापर्ने गरेको भन्ने आरोप छ नि काङ्ग्रेस नेताहरूमाथि, तपाईं के भन्नुहुन्छ ?
– यो कुरालाई पूरै इन्कार गर्न सकिन्न । अलिक ढिलाढाला टाइपकै हुन्छन् काङ्ग्रेसी नेता भन्ने गुनासो र आलोचना नसुनिएको होइन, तर सबै नेतामा यो कुरा लागू नहुन सक्छ । जहाँसम्म मेरो सवाल छ, जे गर्छु भनिन्छ क्षमताले भ्याएसम्म त्यो गर्ने र नसक्ने कामलाई गर्छु भनेर जनतालाई झुटो आश्वासन दिनुहुन्न भन्ने मेरो मान्यता छ । आफ्नो क्षमता र परिस्थितिले भ्याएसम्म समग्र नेपाल र नेपालीको हितमा काम गर्ने, नभए आफ्नो जिल्ला वा क्षेत्रका जनताका लागि सदैव प्रयासरत रहने कोसिस गर्दै आएको छु । जिल्लामा विकासको कुरा गर्नुपर्दा स्वास्थ्य, शिक्षा, खानेपानी, यातायात, सञ्चारजस्ता कुरामा ०४८ देखि ०५१ भित्र जति विकासका काम भएका थिए, तुलनात्मक रूपमा त्यति काम पछिल्ला वर्षहरूमा हुनै सकेनन् । ०५० को सन्दर्भ म सम्झन्छु– छिमेकी भारतको बरेलीबाट चार घन्टा लगाएर महेन्द्रनगरमा घुइँचो मानिस आउँथे । किन भनेर बुझ्दा त युरोप/अमेरिकामा फोन गर्न त्यसरी नेपाल पस्ने रहेछन् । नेपालबाट विदेश फोन गर्न सस्तो मात्र नभई सेवा पनि गुणस्तरीय हुने भएकाले उनीहरू त्यसरी आउँदारहेछन् । यसरी सुदूरपश्चिम मात्रै नभएर देशका गाउँ–गाउँमा सञ्चार सुविधा पुगेको थियो । मैले भन्न खोजेको– मौकामा त्यसरी विकासका काम पनि गरियो । तर, पछि माओवादीको कथित जनयुद्धका कारण गाउँ जान सकिने अवस्था पनि भएन, विकास पनि गर्न सकिएन, भएकै विकासका काम पनि कैयन त उनीहरूले ध्वस्त नै गरिदिए । त्यसैले नेताहरू गाउँ नै नजाने भन्ने त होइन, परिस्थिति नै त्यस्तो परेर पनि हो ।
० बाह्रौँ महाधिवेशनपछि काङ्ग्रेस भावनात्मक रूपले नै एक भएको दाबी गरियो, तर अझै पनि यो पार्टी फुटको मानसिकताबाटै चलिरहेको अनुभूति तपाईंलाई हुन्छ कि हुँदैन ?
– बाह्रौँ महाधिवेशनपछि पार्टी जसरी एकता साथ जानुपथ्र्यो त्यो रूपमा निश्चित नै जान सकेको छैन । प्रजातान्त्रिक पार्टीमा मतमतान्तर र छलफल हुन्छ नै, तर सधैँ तेरो र मेरो भनिराख्नु र यति–उति प्रतिशतको हिस्सा लगाइराख्नुले पार्टीमा सदा एकताको मानसिकताको अभाव देखिन्छ । हालै गरिएको विभाग गठनको सन्दर्भले पनि यस कुरालाई चरितार्थ गरेको छ । भागबण्डाको कारण पार्टीको सक्रिय सदस्यसम्म पनि नरहेका व्यक्तिलाई समेत विभाग सदस्यमा राखिएको उदाहरण भेटिएको छ ।
० विभाग गठनको कुरा झिक्नुभयो, सभापतिलाईसमेत गुमराहमा पारेर विभागका सदस्य मनोनयन गरियो भन्छन् नि, हो ?
– यो मैले प्रस्ट्याइरहनुपर्ने कुरा होइन, जगजाहेर नै भएको विषय हो । सभापतिज्यूको नजिक बसेर यसरी काम गर्ने साथीहरूका कारण सभापतिज्यूलाई मात्र होइन काङ्ग्रेसलाई नै हित हुँदैन ।
० तपाईंलाई पनि एउटा विभागको सदस्य राखिएको रहेछ, जिम्मेवारी त निर्वाह गर्नुहोला नि ?
– म गिरिजाबाबुकै पालामा केन्द्रीय सदस्यको जिम्मेवारी निर्वाह गरिसकेको, परराष्ट्र र प्रशिक्षण विभागको प्रमुख रहिसकेको व्यक्तिलाई अपमानित गर्ने हिसाबले एउटा विभागमा सदस्यका रूपमा नाम हालिएको रहेछ । पार्टीका हरेक जिम्मेवारी मैले इमानदारीपूर्वक निभाएको छु र भविष्यमा पनि दृढताका साथ पार्टीलाई लोकप्रिय एवम् गतिशील बनाउन म सदैव प्रतिबद्ध छु । तर, स्वाभिमानलाई तिलाञ्जली दिएर अपमानित हुने गरी विभागमा बस्दिनँ । यस्तो क्रियाकलापको सभापतिले गम्भीरतापूर्वक अनुगमन गरी सच्याउनेतर्फ लाग्नुपर्छ ।
० सभापतिसँग आफूले पाउनुपर्ने जिम्मेवारीको विषयमा कुरा गर्नुभएन तपाईंले ?
– धाइधाईकन सभापतिज्यूसँग आफ्नै लागि मात्र केही माग्ने प्रवृत्तिको व्यक्ति होइन म । पार्टीबाट लिनेभन्दा पार्टीका लागि सक्दो दिने गरेको मेरो पारिवारिक पृष्ठभूमि छ । अत्यन्त अप्ठ्यारो या प्रतिकूल समयमा पनि पार्टीका लागि सक्दो गरेबापत महानायक बीपीबाट समेत प्रशंसित पृष्ठभूमि बोकेको परिवारको सदस्य हुनुको नाताले पनि स्वाभिमान गिराएर पदका लागि मरिहत्ते गर्न सुहाउँदैन, मेरो व्यक्तिगत नेचरले पनि त्यसो गर्न दिँदैन । आवश्यक पर्दा म सोझै गणेशमानजी, किसुनजी, गिरिजाबाबुको समीप पुगेर आफ्ना विचार, धारणा वा सल्लाह–सुझाव राख्ने गरेको व्यक्ति हुँ भन्ने सभापतिज्यूलाई राम्रैसँग हेक्का छ । व्यक्तिगत स्वार्थबाट प्रेरित भएर मैले कहिल्यै कुनै सभापतिसँग केही मागेको छैन, आफूलाई उचित लागेको विषयमा गिरिजाबाबुसँग पनि बहस गर्ने गरेकै हुँ र यथार्थ एवम् लागेको कुरा स्पष्ट रूपमा राख्ने गरेको कुरा सुशील कोइरालाज्यूलाई राम्रै हेक्का छ । त्यसैले सभापतिज्यूले आफैँले बुझेर उचित जिम्मेवारी दिनुहुन्छ भने पार्टीका लागि तनमन लगाएर सक्रियताका साथ काम गरिन्छ ।
० तपाईंको बुझाइमा सभापतिलाई घेरामा राख्नेहरूको कमजोरी हो कि सभापतिकै कमजोरी देख्नुहुन्छ तपाईं ?
– शक्तिसम्पन्न व्यक्तिको निकट रहेर अनेक प्रपञ्च गर्ने प्रवृत्तिका व्यक्तिहरू जहिले पनि जहाँसुकै हुन्छन् । तर, त्यस्ता व्यक्तिले सन्निकटताको दुरूपयोग नगरून् भनेर सतर्क रहनुपर्ने काम भने मुख्य व्यक्ति अथवा अहिलेको सन्दर्भमा सभापतिज्यूको हो ।
० यस्तो अवस्थाले त पार्टीलाई झनै कमजोर पार्ने भयो, होइन त ?
– निश्चय पनि ! त्यसैले पार्टीका तीन प्रमुख नेताहरू मिलेर अघि बढ्ने प्रयत्न आजैबाट गर्नु जरुरी छ ।
० पार्टी सभापतिलाई छोडेर दोस्रा नेता शेरबहादुर देउवालाई हालै छिमेकी भारतले निम्त्याएर भ्रमण गराएको सन्दर्भलाई अनेक कोणबाट अथ्र्याइएको छ, तपाईंलेचाहिँ कसरी हेर्नुभएको छ नि ?
– यसमा मलाई धेरै केही भन्नु छैन । तर, पूर्वप्रधानमन्त्रीको नाताले शेरबहादुर देउवाजीको बढी उपयोगिता छिमेकी मित्रराष्ट्रले देखेको हुन सक्छ ।
० देउवाजीले भारतसँग बाटोघाटो, पुलपुलेसा आदिका लागि सहयोग माग्नुभएछ, के भन्नुहुन्छ ?
– ‘नेपाली नेतामध्ये बीपी कोइराला, कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारी प्रधानमन्त्रीका रूपमा भारत आएर ‘राष्ट्र’का मुद्दा उठाए, तर आजभोलिका नेताहरू केही माग्नुपर्दा देशका लागि होइन आफ्नो परिवार, समूह या आफ्नो हित हेरेर माग्ने गर्छन्’ भनी कुनै एक उच्च तहका भारतीय पदाधिकारीको भनाइ भनेर छापामा आएको छ । कतिपय काम विभागीयस्तरबाट पनि हुन सक्ने किसिमका छन् भने कूटनीतिक पाटो आफ्नो ठाउँमा छ । त्यसैलाई ध्यानमा राखेर पनि होला देउवाजीले यो र त्यो माग गर्नुभयो । जेसुकै भए पनि राष्ट्रहितमा कुरा उठाउनु सकारात्मक नै मान्नुपर्छ ।
० यो मुलुकमा राजनेताको पूरै अभाव हो कि कसो हो ?
– यसमा त कुनै सन्देह गर्नैपरेन नि ! मैले त यो देशमा राजनेता नै भएनन् भनेर पार्लियामेन्टमै पनि बोलेको हुँ । आजका दिनमा कुनै पार्टीमा पनि देखिएनन् हाइट भएका नेता त ।
० प्रचण्डजी हुनुहुन्छ नि हाइट भएको नेता, होइन र ?
– प्रचण्डजी त एउटा चटके सावित भइसक्नुभयो । उहाँको व्यवहार हेर्दा ‘राजनेता’ स्वीकार गर्ने स्थिति छैन । राजनेतामा त दशकौँपछिको सोच या भिजन हुनुपर्छ, प्रचण्डजस्ता बिहान गरेको कुरा बेलुकासम्ममा खण्डन गरिसक्ने नेतामा दशक त होइन दश घन्टाको पनि दूरदृष्टि छैन, राजनेता हुने त धेरै परको कुरा ।
० चुनावका लागि भनेर प्रधानन्यायाधीशको नेतृत्वमा सरकार बनाएको विषयमा पक्ष र विपक्षमा अझै पनि बहस जारी छ, तपाईं उचित या अनुचित के भन्नुहुन्छ ?
– यो परिस्थितिजन्य बाध्यताको उपज हो । तीन महिनाभन्दा बढी समय भइसकेकाले अब निर्वाचन सम्पन्न गराउनु नै अपरिहार्य आवश्यकता हो ।
० सरकारले चुनावको मिति तोक्यो, कतिपयले मङ्सिरमा पनि निर्वाचन हुँदैन भनिरहेका छन्, चुनाव होला ?
– चुनाव हुनेमा शङ्का कायम नै छ । मोहन वैद्य, उपेन्द्र यादवहरूलाई मनाउन नसकेसम्म चुनाव गर्न सकिन्न, जबर्जस्ती गराए त्यसको सार्थकता रहन्न भन्नेमा म स्पष्ट छु । त्यसैले असहमत दलहरूसँग वार्ता गरी सबैको सहभागितामा संविधानसभाको निर्वाचन गराउनुपर्ने आवश्यकता छ ।
० असन्तुष्ट पक्षलाई कसले मिलाउने त, सरकारले कि दलहरूले ?
– सरकारले पनि प्रयास गर्ने हो, तर चार मुख्य दलको विशेष जिम्मेवारी हो । शीर्ष चार नेता मात्रको होइन कि चार दलका नेताहरूले आ–आफ्नो हैसियतअनुसारको भूमिका खेल्नुपर्छ यस कार्यमा । सरकारका सदस्यहरू राजनीतिक व्यक्ति होइनन् । त्यसैले सरकारी हैसियतले लिने सहयोगको पाटो बेग्लै हो, तर मुख्य जिम्मेवारी त दलहरूकै हो । मुख्य दलका नेताहरूले मिलेर छलफलमा सहभागी भई, आफ्ना स्वार्थ चटक्कै छोडर फगत् देशलाई मुटुमा राखेर समस्या समाधानका उपायहरू खोजिनुपर्छ ।
० चुनाव नै आशङ्कामा छ भन्नुभयो, यदि चुनाव भयो भने संविधान बन्ने सम्भावनाचाहिँ कति छ होला ?
– सर्सर्ती हेर्दा हिजो पनि ‘जनसंविधान’ बनाउने र ‘लोकतान्त्रिक संविधान’ बनाउने भन्ने दुईपक्षीय झगडाका कारण संविधान बन्न नसकेको हो । त्यो विवाद अहिले पनि कायम नै छ । त्यसैले नेपाली काङ्ग्रेसलाई बहुमत दिएर अन्य लोकतान्त्रिक शक्तिहरूसमेतका आधारमा दुईतिहाइ बहुमत पुग्ने अवस्था सिर्जना हुन सके लोकतान्त्रिक संविधान बन्ने सम्भावना छ, अन्यथा त भोलि पनि विगतकै नियति दोहोरिएमा आश्चर्य नमान्दा हुन्छ ।
० अन्त्यमा ?
– यसपालि वर्षायामको प्रारम्भमै आएको भीषण बाढीले सुदूरपश्चिम र त्यसमा पनि दार्चुलामा खलङ्गा बजार, बाङ्गाबगर, गल्फमा पूरै बजारका घरहरू ध्वस्त भएर ठूलो क्षति भएको छ । त्यसैगरी पूरै कञ्चनपुर र त्यसमा पनि महाकाली नदीबाट भीमदत्त नगरपालिकाका १०, ११, १२, १३ र १४ नम्बर वडा र चाँदनी–दोधारामा बाढीले ठूलै क्षति पुर्‍याएको छ । बाढीबाट ठूलो क्षति व्यहोरेकालाई तत्काल राहत दिन र दीर्घकालीन घरवास आदि व्यवस्था मिलाउन सरकारसँग आग्रह छ । यसैगरी अन्य सङ्घ–संस्था र व्यक्तिहरूसँग पनि सहयोगको अपिल गर्दछु ।

२६ असार २०७०, बुधबार ०८:२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

विशेष

सबै

अमेरिका राष्ट्रपति चुनाव : अग्रिम मतदान गर्ने संख्या बढ्दो

न्यूयोर्क । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपतिको चुनावमा अग्रिम मतदान गर्नेको संख्या बढ्दो क्रममा देखिएको छ ।..

विप्लवद्वारा संघर्षका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेत्रविक्रम चन्द (विप्लव) समूहले सरकारविरुद्ध संघर्षका कार्यक्रम..

भारतमा अलपत्र परेका १८ नेपाली बालकको उद्धार

भारतको गाजियावादमा अलपत्र परेका १८ जना नेपाली बालकलाई उद्धार गरी नेपाल फर्काइएको छ । आफन्त नेपाल भन्ने..

कोरोना संक्रमितको उपचार नगर्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी : नेपाल

काठमाडौ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कोरोना संक्रमितको उपचार नगर्ने सरकारकोे निर्णय..

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं । कोरोन भाइरस संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । सुनसरीमा तीन, भक्तपुर, दाङ र रुपन्देहीमा..