‘भिजन’विहीन सिजनका नेताहरू र बाबुरामको कदम :: शिवजी श्रेष्ठ

वर्तमान विश्व राजनीतिक परिदृश्यमा नेल्सन मण्डेलाको चर्चा भएझैँ नेपाली राजनीतिक परिदृश्यमा बाबुराम भट्टराईको परिचर्चा भइरहेछ । ती दुवै प्रसङ्ग यसर्थ कि नेल्सन मण्डेला मृत्युशय्यामा छन् र बाबुराम भट्टराईले आकस्मिक रूपमा पार्टीको उपाध्यक्षबाट त्यागपत्र दिएका छन् । यी दुई व्यक्तित्वको समानता पदीय ‘त्याग’सँग सरोकारका विषय हुन् । फरक यति कि मण्डेलाको त्याग ‘निस्वार्थ’र परिवर्तनकामी । तर, बाबुरामको त्याग संशयपूर्ण जो कुनै स्वार्थवश आएको हो कि भन्ने प्रश्नहरूबाट घेरिएको छ ।
वास्तवमा राजनीतिमा कतिपय त्याग सामयिक हुन्छ, कतिपय असामयिक । कतिपय स्वार्थपूर्ण कपटी ‘त्याग’ हुन्छ भने कति निस्वार्थ । त्यही ‘त्याग’को भित्री पाटोमा रहेको रहस्यले नै त्यस ‘पात्र’को भविष्य निर्धारण गर्दछ । अझ भनौँ, त्यस पात्रको मात्र होइन, त्यस पात्रले नेतृत्व गरेको संस्था वा राष्ट्रको भविष्य पनि निर्धारण गर्दछ वा गरेको छ ।
नेपालको शाहवंशीय इतिहासमा राजा रणबहादुर शाहले राजगद्दी त्यागेर ‘स्वामी महाराज’ बने, तर केही समयमा नै फर्केर सत्ताखेलमा समावेश हुँदा भाइ शेरबहादुर शाहद्वारा काटिए । राणाशासकहरूमा जुद्धशमशेरले ‘श्री ३’ पदवी त्यागेर ‘राजर्षि’ कहलिँदै रिडीमा बसे, तर पुन: शक्तिमा फर्कने लोभले राणाशासनको अन्त्यपश्चात् आफैँ असुरक्षित महसुस गरेर भारतको देहरादुन स्वनिर्वासनमा गए । राणा शासनको अन्त्यपश्चात् राणा–काङ्ग्रेस सरकारका गृहमन्त्री बीपी कोइरालाले विद्यार्थी चिनियाँकाजी मारिएको (प्रहरीद्वारा)मा राजीनामा दिए । (सम्झौताअनुसार एउटा पक्षले राजीनामा दिए सरकार स्वत: भङ्ग हुने) तसर्थ राजा त्रिभुवन, नेहरू, भारतीय राजदूत सीपीएन सिन्हाले राजीनामा फिर्ता लिन दबाब दिए, तर बीपीले मानेनन्, आफ्नो ‘त्यागपत्र’मा अडिग रहेँ । जसले इतिहासलाई एउटा मोड दियो, नागरिक सरकार गठन भयो, नैतिक राजनीतिको सुरुवात पनि भयो । जसले बीपीलाई नेपाली राजनीतिको केन्द्रमा स्थापित पनि गरायो । उनै बीपी कोइरालाले भइरहेको नेपाली काङ्ग्रेसको सभापति पद त्यागिदिए, अनि २०१२ माघ (जनवरी १९५६) मा भएको छैटौँ महाधिवेशनमा सुवर्णशमशेरलाई सभापति बनाएर आफू कार्यसमितिमा समेत बसेनन् । तर, त्यही महाधिवेशनमा सभापति सुवर्णशमशेरले पहिलोपटक ‘हाम्रा नेता’ भनेर बीपीलाई सम्बोधन गरे । पदले होइन, त्यागले नेतालाई आदरार्थी तवरले स्थापित गर्दोरहेछ ।
सायद बाबुराम भट्टराईले यी कुरा महसुस गरे वा गर्न खोज्दै छन् वा तात्कालिक कुराहरूबाट निर्देशित छन्, त्यो समयले देखाउने कुरा हो, या यो पनि २०५१ मा संयुक्त जनमोर्चा अनि २०६१ मा पोलिटब्युरोबाट राजीनामा दिएकै प्रकरणजस्तै हो । भट्टराईले बुझ्नैपर्ने वा महसुस गर्नुपर्ने कुरा उनको यस ‘त्यागपत्र’ले ल्याएको ‘लहर’ र ‘तरङ्ग’ । उनले पार्टीभित्र मात्र होइन अन्य पार्टीमा समेत ल्याएको सकारात्मक हलचल । राजाको पालामा दिइने ‘मानार्थ शाही पाश्र्ववर्ती’जस्तो आर्यघाटमा चितामा राखेपछि मात्र जर्नेली पोसाक फुकाल्ने प्रवृत्तिबाट प्रताडित नेपाली राजनीतिक नेतृत्वमा यो सकारात्मक पहल हुनसक्छ, यदि यसबाट बाबुराम डगमगाएनन् भने । अनि प्रधानमन्त्री हुँदा भत्किएको छवि पुन:निर्माणका कोसेढुङ्गा पनि बन्न सक्छ ।
गणेशमान सिंहले धेरै त्याग र तपस्या गरे– नेपाली राजनीतिमा । तर उनलाई साँच्चै ‘गणेशमान सिंह’ भनेर सदाबहार स्थापित गरेको हो– २०४६ चैतमा प्रधानमन्त्री पदलाई लत्याएपछि । स्वास्थ्यको कारण देखाएर कृष्णप्रसाद भट्टराई सक्षम छन् भनी उनैलाई प्रधानमन्त्रीमा प्रस्ताव गरे । को छन् नेपाली राजनीतिमा आफू हुँदाहुँदै अरूलाई सक्षम देख्ने ? उनी अर्थात् गणेशमान सिंह कहिल्यै सरकारी पदमा मन्त्रीभन्दा माथि र पार्टीको पदमा केन्द्रीय सदस्यभन्दा माथि आएनन् । तर, नेपाली काङ्ग्रेसमा कति छन् प्रधानमन्त्री, उपप्रधानमन्त्री, सभापति, उपसभापति अनि महामन्त्री भएकाहरू । तर ती कहाँ छन् ? पदले होइन ‘त्याग’ले बन्छ स्थान । शैलजा आचार्य भौतिक रूपमा छैनन्, तर उनलाई यसकारण पनि सम्झिन्छ कि जसले कृषिमन्त्री हुँदै आफ्नो मन्त्रालयमा भ्रष्टाचारको जालो छ, छानबिन होस् भनेर संसद्मा बोलिदिइन् । सरकार प्रमुखले गलत बोलेको भनेर सच्याउन दबाब दिए, तर उनले त्यागपत्र दिइन् । ‘असल मन्त्री’ भएकोले ‘त्यागपत्र’ फिर्ता लिन सबैले दबाब दिए, यतिसम्म कि गणेशमान सिंहले समेत सम्झाए तर उनले मानिनन्, तब गणेशमान सिंहले टिप्पणी गरेका थिए ‘महिला, राजनीतिज्ञ, त्यो पनि अविवाहित, आफ्नो हठ कहाँ छाड्छे र ?’ तर, त्यही असल हठ नै उनलाई चिरस्मरणीय राख्ने कदम बन्यो ।
नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले ०६५ सालको संविधानसभामा पराजित भएपछि तत्कालीन कावा सभापतिबाट राजीनामा दिए, तर सभापतिको अनुरोधमा ‘त्यागपत्र’ फिर्ता लिए, यदि त्यतिखेर आफ्नो ‘त्याग’मा अडिग भइदिएको भए आज उनको स्थान र छवि बेग्लै बन्न सक्ने थियो ।
कुनै पनि नेताले राजनीतिमा पटकपटक मौका पाउँछन्, तर ‘राजनीतिज्ञ’ बन्ने मौका विरलै पाउँछन्, जसलाई सदुपयोग गर्न सके ऊ सदा स्मरणीय ‘राजनेता’ बनिरहन्छ । आफूलाई सक्षम त सबैले ठान्छ, तर अरूले के ठान्छन् भन्ने कुराले भने अर्थ राख्छ । नेपाली राजनीतिमा क्रान्ति र आन्दोलनबाट आएका नेतृत्वहरूले देश परिवर्तनमा पनि आफूलाई सक्षम मानिरहे । विश्वको नवीनतम् राष्ट्र ‘इस्टटिमोर’ भर्खर स्वतन्त्र भएको थियो । सन् २००१ मा संविधानसभाबाट संविधान बने लगत्तै राष्ट्रपतिको निर्वाचनमा खडा हुँदा गुरिल्ला नेता जनाना गुज्माओलाई आफ्नो पार्टी र विपक्षी पार्टीले समेत अनुरोध गर्दा उनले भनेका थिए, ‘म गुरिल्ला युद्धको नेतृत्व गर्न सक्षम छु, तर देश निर्माणको नेतृत्व गर्न त्यति सक्षम छैन ।’ राष्ट्रपति हुन अस्वीकार गरेका थिए, तर सबै पक्षको अनुरोध र दबाबपश्चात् ५२ वर्षीय उनी राष्ट्रपति हुन तयार भए । सबैमा सक्षम र पारङ्गत छु भन्ने हाम्रा नेतृत्वपङ्क्तिलाई यो एउटा असल शिक्षा पनि हो । हाम्रा नेतृत्व, कतिपयले मौका पाएर परीक्षामा सामेल मात्र होइन असफल पनि भइसके तर पनि त्यसको स्वीकारोक्ति देखिएको छैन । तर, अहिले बाबुराम भट्टराईको कदम, त्यसको एउटा स्वीकारोक्ति पनि हुनसक्छ ।
कुनै पनि पार्टी वा राष्ट्र हाँक्न समसामयिक भिजन (दूरदृष्टि) चाहिन्छ । समसामयिक भिजन नहुनु भनेको ‘बूढोगोरुले…’ जस्तै हो, जसले ओगट्न त सक्छ तर औचित्य सावितचाहिँ गर्न सक्दैन, न त अरूलाई नै औचित्यमा सावित गर्ने मौका दिन खोज्छ । नेपालमा सबै पार्टीहरूमा देखिएको ‘आर्यघाटमा पुगेर जर्नेली पोसाक’ उतार्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने कार्यका लागि बाबुराम भट्टराईको कदम एउटा पहल बनोस् न कि घुर्की र बार्गेनिङको उपाय । बेलायत, अमेरिकाका सरकारप्रमुखहरू पदबाट निवृत्त हुँदा पाँच दशक पनि राम्ररी काटेका हुन्नन्, अझ बेलायतका प्रधानमन्त्री र विपक्षी दल लेबर पार्टीका नेताले त ४५ वर्ष पनि राम्ररी काटिसकेका छैनन् । वृद्ध नेतृत्वले अभिभावकत्व दिन सक्छ, तर समसामयिक नेतृत्व दिन समसायिक युवा नेतृत्व नै बढी सक्षम हुन्छन्, जसले समयअनुसारको भिजन पनि लिएर आएको हुन्छ । हाम्रो देशमा सिजनअनुसार धेरै नेता आए, तर भिजनसहितका नेता किन आएनन् वा आए पनि असफल रहे । तसर्थ, कुनै पनि नेतृत्व चाहे त्यो पार्टी परिचालनमा होस् वा सरकार सञ्चालनमा, उनको भिजन एकपटक मात्र कामयावी हुनसक्छ । जब त्यो भिजन कामयावी हुन सक्दैन, तब अर्को भिजनकारीको लागि मार्ग प्रशस्त गर्नु बुद्धिमानी हुन्छ । त्यो बुद्धिमानी एमाओवादी मात्र होइन सबै राजनीतिक नेतृत्वमा जरुरी छ, जो सामयिक नेपाली राजनीतिमा असफल देखिइसकेका छन् । तब समय छँदै गगन थापा, योगेश भट्टराई, नन्दकिशोर पासाङहरूले आफ्नो ‘भिजन’को परीक्षा दिने मौका पाउनेछन् ।

२६ असार २०७०, बुधबार ०७:४८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

दुई अध्यक्षबीचको विवाद मिलाउन ४ सदस्यीय अनौपचारिक कार्यदल

काठमाडौँ, २१ असार । सत्तारूढ दल नेकपाभित्र चुलिएको विवाद थप बढ्न नदिन दुई अध्यक्ष सकारात्मक भएका छन् । प्रधानमन्त्री निवास..

कोरोना विरुद्द लड्न आईएलओले एनआरएनएलाई दियो ५ करोड १० लाख अनुदान

काठमाडौँ, २० असार । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई ४ लाख २४ हजार ३१० डलर..

उमा थापाको शनिवारिय कोशेली, कथा: ‘देउता आएनन्’

काठमाडौँको माघ महिनाको मुटु नै कठ्याङ्ग्रिने जाडो त्यसमाथि केही दिनदेखि एकनासले झरी परिरहेको छ । शीतल बेलुकीको..

नेकपा स्थायी कमिटी बैठक सोमबार सम्मका लागि स्थगित

काठमाडौँ, २० असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक असार २२ गते सम्मका लागि..

शुक्रबार ६ उडानबाट ९ सय बढीलाई काठमाडौँ ल्याईयो, कुन एयरलाइन्सबाट कति ?

काठमाडौँ, १९ असार । शुक्रबार ६ वटा अन्तराष्ट्रिय उडानमार्फत विभिन्न देशबाट ९१७ जनालाई काठमाडौँ ल्याईएको छ ।..