पहिचान मेटाउनेहरूको पनि पहिचान गर्ने कि ? :: देवप्रकाश त्रिपाठी

राज्यको कुनै धर्म हुँदैन भन्ने तर्क गर्दै नेपाली जनताको चाहनाविपरीत नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको ६ वर्ष पूरा भएको छ । राजनीतिकर्मीले हिन्दूराष्ट्रको पहिचान बलजफ्ती खोसेका कारण नेपालमा पूर्ण प्रजातन्त्र स्थापना भएको दाबी गरिए तापनि बहुसङ्ख्यक जनता यही विषयलाई लिएर असन्तुष्ट छन् । जातीय, क्षेत्रीय, भाषिक, सांस्कृतिक पहिचानका मुद्दालाई प्राथमिकताका साथ उठाइँदा राष्ट्रिय पहिचानका विषयलाई ओझेलमा पार्ने काम राजनीतिक क्षेत्रबाट भइरहेको छ । विश्वमा चार दर्जनभन्दा बढी मुलुक इस्लामिक पहिचानमा र ६ दर्जन मुलुक इसाई पहिचानमा रहिरहेको यस कालखण्डमा हिन्दूराष्ट्रको पहिचानमा रहेको एक मात्र मुलुक नेपाललाई धर्मनिरपेक्ष घोषणा गर्दा पश्चिमा इसाई तथा नेपालको स्वतन्त्र एवम् मौलिक भूमिकाप्रति अरुचि राख्नेहरूले बहादुरी महसुस गरेका पनि होलान् । तर, कम्तीमा आफूलाई नेपाली ठान्नेहरूका निम्ति यो कुनै बहादुर या गौरवको विषय रहेन । कुनै पनि धर्मावलम्बी या धर्म–सम्प्रदायका मानिस आफ्नो धर्मप्रति गौरवानुभूति गर्छन् । हरेक धर्म आ–आफ्नै मौलिक शास्त्र, परम्परा र मान्यतामा आधारित छन् । सनातनी हिन्दूबाहेक अन्य सबै धर्मको संस्थापक र प्रारम्भकाल पनि निश्चित छ । तर, सनातनी हिन्दूधर्मको कुनै एक संस्थापक छैनन् र यसको प्रारम्भकाल पनि अथाह छ । स्वस्थानी, रामायण, महाभारत या पुराण पढेर हिन्दूधर्मलाई बुझ्न पनि सकिँदैन । अनादी कालमा ऋषिमुनिहरूद्वारा रचना गरिएका ब्रह्माण्ड र जीवनदर्शनसम्बन्धी शास्त्रहरू हिन्दूधर्मको आधारका रूपमा रहेका छन् भने वेदले जीवन–जगत्लाई निर्देशित गरेको छ । विद्वान्हरू हिन्दूधर्मलाई एउटा जीवन–पद्धतिका रूपमा पनि व्याख्या–विश्लेषण गर्ने गर्छन् । एउटा व्यक्ति आकार देवी–देवतालाई मानेर पनि हिन्दू हुन सक्छ र निराकार परमेश्वरलाई मात्र आत्मसात् गर्नेहरू पनि हिन्दू धर्मावलम्बी बन्न सक्छन् । महिला आकृतिलाई शक्तिको स्रोत मानेर पूजा गर्ने कुनै धर्म छ भने त्यो पनि हिन्दू नै हो । धर्म–सम्प्रदायभित्र पूर्ण स्वतन्त्रताको रक्षा पनि यही सनातन धर्मले नै गरेको छ । यति हुँदाहुँदै पनि यसै धर्ममाथिको प्रहार तीव्र पारिएको छ । राष्ट्रिय पहिचान मेटेर जातीय वा क्षेत्रीय पहिचानलाई चुचुरोमा पुर्‍याउन चाहनेहरूले दर्शाएको व्यवहार तथा तिनको अभिव्यक्ति हेर्दा लाग्छ– तिनलाई यस देशको सार्वभौमिक सर्वोच्चता र राष्ट्रिय पहिचानसँग शदीयौँ पुरानो वैरभाव छ । देशको मौलिकताका अवयवहरू निस्तेज तुल्याइएबापत कतिले गुप्त दान, दक्षिणा या पुरस्कार पनि पाए होलान्, तर आमनेपाली जनता अपमान र उपेक्षाको अस्त्र प्रहारबाट सख्त घाइते बनेको महसुस गर्दै छन् । यी कथित आधुनिकतावादी या क्रान्तिकारीहरूको भ्रान्तिकारी भूमिकाको रापमा पिल्सिएका नेपाली जनताको चेतावनीपूर्ण प्रश्न छ– के तिमीमा कुनै पाकिस्तान, साउदी अरेबिया, इरान या भ्याटिकनसिटीलाई धर्मनिरपेक्ष तुलाइनुपर्छ भनी आवाज उठाउने सामथ्र्य छ ? धर्मका नाममा जहाँ युवायुवतीलाई प्रेम गरेबापत ढुङ्गाले हिर्काएर मार्ने कानुन र परम्परा छ, जहाँ गाडी चलाएबापत महिलालाई कोर्रा वर्षाउने सजाय तोकिन्छ, जहाँ बहुविवाहलाई कानुनी मान्यता प्राप्त छ, जहाँ धर्मकै कारण मानिसलाई कालो कपडाभित्र लुकेर हिँड्न बाध्य पारिन्छ र जहाँ फरक धर्मका अनुयायीहरूलाई जनावरसरह व्यवहार गरिन्छ त्यहाँ हुनुपर्ने होइन र सुधार ? त्यस्ता मुलुकमा सुधारका निम्ति आवाजको ‘आ’सम्म गर्न नसक्ने एनजीओ, आईएनजीओ र तीद्वारा पोष्यपुत्रहरूले सनातनी हिन्दू र बौद्धमार्गीहरूको उदारपनाको फाइदा यहाँ उठाएका छन् । यी धर्मपिपासुहरूकै कारण भगवान् गौतम बुद्धको उद्गम मुलुकमै बौद्ध धर्मावलम्बीहरूको प्रभाव र मात्रा ह्रास हुने स्थिति बनेको छ । नेपालको पछिल्लो जनगणनाले दर्शाएको तथ्याङ्कले आमसनातनी तथा बौद्धमार्गीहरूलाई गम्भीरतापूर्वक सोच्न बाध्य तुल्याएको छ । आफ्नो गुजाराका लागि धर्म नास गराउन खोज्नेहरू, राष्ट्रको मौलिक पहिचान मेट्न अग्रसर रहनेहरू वास्तवमै राष्ट्रद्रोही होइनन् भन्न सकिएन, चाहे ती राजनीतिक आवरणमा हुन् या कुनै गैरसरकारी संस्थाको कवचमा, तिनलाई चिन्ने र चिल्ने ठीक समय आएको छ, सकिँदैन त्यसो गर्न भने हामी सबैको सिद्धिने बेला भएको बुझ्नुपर्ने हुन्छ । 

विश्वका सात अर्बभन्दा बढी जनसङ्ख्यामा सबभन्दा ठूलो सङ्ख्या इसाईहरूको रहेको तथ्याङ्याकले देखाएको छ । पछिल्लो जानकारीअनुसार दुई अर्ब बीस करोड मानिस इसाई धर्ममा आस्था राख्छन् । विश्वमा सनातनी हिन्दूहरूको सङ्ख्या एक अर्बभन्दा बढी भएको अनुमान गरिन्छ । सनातन धर्मावलम्बीहरूको सबभन्दा ठूलो सङ्ख्या भारतमा छ, जहाँ ८२ करोडभन्दा बढी हिन्दू बसोबास गर्छन् । तर, प्रतिशतका हिसाबले नेपालभन्दा अग्रपङ्क्तिमा पर्न आउँछ । नवीनतम् गणनाअनुसार नेपालमा दुई करोड २७ लाख ३६ हजार नौ सय ३४, नौ दशमलब दुई प्रतिशत हिन्दू रहेका बंगलादेशमा एक करोड ५६ लाख ७५ हजार नौ सय ८४, तीन प्रतिशत हिन्दू भएको इन्डोनेसियामा एक करोड ३५ लाख २७ हजार सात सय ५८, पाकिस्तानमा करिब ७४ लाख, मलेसियामा करिब ३० लाख, श्रीलङ्कामा करिब २६ लाख, अमेरिकामा करिब ११ लाख, इंग्ल्यान्डमा करिब साढे १० लाख र युनाइटेड अरब इमिरेट्समा करिब १० लाख सनातनी हिन्दूको बसोबास रहेको छ । तर, विश्वमा यतिबेला एउटै पनि हिन्दूराष्ट्र छैनन् । जब कि संसारका ७० भन्दा बढी मुलुक इसाई बाहुल्य छन् र तिनले औपचारिक या अनौपचारिक तवरले राज्य सञ्चालन प्रक्रियामा इसाई मूल्य, मान्यता र परम्परालाई पछ्याउने गर्छन् । स्वतन्त्रताको उच्चतम् अभ्यास भइरहेको संयुक्त राज्य अमेरिकामा समेत इसाई संयन्त्र र प्रभाव सर्वत्र देखिन्छ । अमेरिकी राष्ट्रपतिले बाइबल छोएर शपथ लिन्छन् भने त्यहाँको सिक्कामा समेत इन गड वि ट्रस्ट ९क्ष्ल न्यम ध्भ त्चगकत० लेखिएको हुन्छ । अर्जेन्टिना, बोलिभिया, कोस्टारिका, डेनमार्क, एलसाल्भाडोर, इंग्ल्यान्ड, ग्रिस, जर्जिया, आइसल्यान्ड, माल्टा, मोनाको, नर्वे र भ्याटिकनसिटीले राज्य धर्मका रूपमा इसाईलाई ग्रहण गरेका छन् । यीबाहेक लग्जेम्बर्ग, लिथिवानिया, लेसोथो, केन्या, इटाली, आयरल्यान्ड, हङ्गेरी, होन्डुरस, ग्रिनल्यान्ड, इथियोपिया, फिनल्यान्ड, फ्रान्स, जर्मनी, घाना, हाइटी, ग्वाटेमाला, जिम्बाबे, मेक्सिको, नामिविया, निकारागुवा, कोलम्बिया, बुरुन्डी, बुल्गेरिया, ब्राजिल, अर्मेनिया, जाम्बिया, युक्रेन, उगान्डा, स्वाजिल्यान्ड, स्पेन, त्रिनिदाद, टोङ्गा, कङ्गो, अस्ट्रिया, बेलारुस, अस्ट्ेरलिया, इस्टटिमोर, इक्वेडर, रुवान्डा, रोमानिया, पपुवान्युगिनी, पराग्वे, पेरू, फिलिपिन्स, पोल्यान्ड, पोर्चुगललगायतका इसाई बहुल मुलुकहरूले राज्य सञ्चालन प्रक्रियामा कुनै न कुनै रूपले इसाई परम्परा एवम् मूल्य–मान्यतालाई अवलम्बन गरिरहेका छन् । विपन्न, गरिब र कमजोर चेतनास्तरका मानिसलाई धर्म परिवर्तन गरी इसाईकरण गर्न विश्वव्यापी अभियान चलाइरहेका इसाई मठाधीशहरूले लाओस, इराक, उज्वेकिस्तान, यमन, माल्दिभ्स, सोमालिया, साउदी अरेबिया, इरान, अफगानिस्तान र उत्तरकोरियालाई इसाईहरूका निम्ति खतरनाक मुलुक मानेका छन् । हिन्दूराष्ट्रको पहिचान मेट्ने सफलता प्राप्त गरेपश्चात् नेपाललाई इसाईकरण गर्न उनीहरूले आफ्नो ध्यान केन्द्रित गरेका छन् र यहाँ ०६३ को राजनीतिक परिवर्तनयता मात्र साढे सात हजार चर्च खोलिसकेका छन् । आफ्ना मुलुकलाई धर्मसापेक्ष व्यवहारअन्तर्गत सञ्चालन गरिरहेका उनीहरूले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउन अनेक कसरत गरे र यतिबेला नेपाल इसाईहरूको फुटबल मैदान बन्ने खतरा बढेर गएको छ । विश्वको एक मात्र हिन्दूराष्ट्रलाई आफ्नो मौलिक पहिचानबाट विस्थापित गर्न सक्नुलाई सम्भवत: क्रिश्चियनहरूले धेरै ठूलो सफलता ठानेका छन् ।
इसाईबाहेक विश्वमा ५१ मुलुक त्यस्ता छन् जसले इस्लामलाई राज्यधर्मका रूपमा अङ्गीकार गरेका छन् । यमन, वेस्टर्न सहारा, उज्वेकिस्तान, यूएई, युगान्डा, तुर्कमेनिस्तान, टर्की, ट्युनिसिया, ताजिकिस्तान, सिरिया, सुरिनाम, सुडान, सोमालिया, सियरालियोन, सेनेगल, साउदी अरेबिया, कतार, प्यालेस्टाइन, पाकिस्तान, ओमन, नाइजेरिया, मोजाम्बिक, मोरक्को, अफगानिस्तान, अल्जेरिया, अजरवैजान, बहराइन, बंगलादेश, बु्रनाई, क्यामरुन, चाड, कोमोरस, जिबोटी, इजिप्ट, गाम्बिया, गिनिया, गिनियाबिसाउ, गुयना, इन्डोनेसिया, इरान, इराक, जोर्डन, कजाकस्तान, कुवेत, किर्गिस्तान, लेवनान, लिबिया, मलेसिया, माल्दिभ्स, माली र मारिटानिया गरी ५१ मुलुकले इस्लामलाई राज्यधर्मका रूपमा अपनाएका छन् । ती मुलुकमा कानुनसमेत इस्लाम धर्ममा आधारित भएर निर्माण र प्रयोग गरिन्छ । यिनलाई धर्मनिरपेक्ष राष्ट्र बनाइनुपर्ने आवाज कहीँ कसैले उठाएको सुनिँदैन र पश्चिमा मुलुक जसले हामीलाई धर्मनिरपेक्षताको अर्ती दियो तिनले पनि इस्लामिक मुलुकमा कुनै माखो मार्न सकेका छैनन् । ८० प्रतिशतभन्दा बढी सनातनी हिन्दूले बसोबास गरिरहेको भारतले आफूलाई हिन्दूराष्ट्र घोषित गर्न खोजेको या चाहेको छैन । ८२ प्रतिशत सनातनीहरूको बसोबास रहेको नेपाल हिन्दूराष्ट्रको पहिचानमा रहँदा पनि यहाँ धार्मिक स्वतन्त्रतालाई क्षति पुर्‍याउने कुनै कार्य भएको थिएन । धनको बलमा ललाइफकाई वा बलजफ्ती धर्म परिवर्तन गराउने प्रक्रियालाई मात्र यहाँ निषेध गरिएको थियो । त्यही प्रावधानलाई पनि सहन सकेनन् र पश्चिमाहरूद्वारा ठूलो धनराशि खर्च गरी नेपाललाई धर्मनिरपेक्ष तुल्याइयो । परिवर्तनको नाममा नेपाली राजनीतिकर्मीले धार्मिक साम्राज्यवादीका अघिल्तिर घुँडा टेके र देशको मौलिक पहिचान मेटिदिए । नेपाली जनताको भोलापन र सनातनी हिन्दूहरूको उदारताको लाभ इसाई कठमुल्लावादीहरूले उठाएका छन् । तर, नयाँ संविधान नबनिसकेको र देशको राज्य–प्रणाली तय भइनसकेको यस अवस्थामा नेपाली जनताले पूर्वनिर्णयमा एकपटक पुनर्विचार गर्नुपर्ने भएको छ । राजतन्त्रको रिस राजा ज्ञानेन्द्रमाथि र ज्ञानेन्द्रको रिस राष्ट्रिय पहिचानमाथि पोख्ने अल्पबुद्धिका राजनीतिकर्मीहरूको आपराधिक निर्णयलाई सच्याउन नेपाली जनताले एकपटक विवेक र स्वाभिमानको प्रयोग गर्न आवश्यक छ । होइन भने बाइबललाई स्वागत गरेर राजपाठ तथा राज्यको स्रोत इसाईहरूलाई सुम्पने अफ्रिकी मुलुकहरूले आज जुन पीडा र सास्ती भोगिरहनुपरेको छ हामीले पनि चिरकालसम्म ठीक त्यस्तै परिणति व्यहोर्नुपर्नेछ । हिन्दुस्तानको स्वतन्त्रतापछि मिजोरम र नागाल्यान्डमा बाइबल लिएर घुसेका इसाईहरूले त्यहाँका सिधासादा जनतालाई भड्काएर जसरी अलग राज्यको माग गर्ने तहसम्म पुर्‍याएका थिए त्यसैगरी नेपालमा पनि जातीय तथा धार्मिक ढङ्गको विजारोपण गरेर हाम्रो राष्ट्रिय एकता र सद्भावलाई बिथोल्न हदैसम्मका क्रियाकलाप नगरिएला भन्न सकिन्न, स्वाभिमानी हरेक नेपालीले गम्भीरतापूर्वक सोच्ने बेला आएको छ ।

१९ असार २०७०, बुधबार २१:३६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

Email Subscription

विशेष

सबै

दुई अध्यक्षबीचको विवाद मिलाउन ४ सदस्यीय अनौपचारिक कार्यदल

काठमाडौँ, २१ असार । सत्तारूढ दल नेकपाभित्र चुलिएको विवाद थप बढ्न नदिन दुई अध्यक्ष सकारात्मक भएका छन् । प्रधानमन्त्री निवास..

कोरोना विरुद्द लड्न आईएलओले एनआरएनएलाई दियो ५ करोड १० लाख अनुदान

काठमाडौँ, २० असार । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)ले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई ४ लाख २४ हजार ३१० डलर..

उमा थापाको शनिवारिय कोशेली, कथा: ‘देउता आएनन्’

काठमाडौँको माघ महिनाको मुटु नै कठ्याङ्ग्रिने जाडो त्यसमाथि केही दिनदेखि एकनासले झरी परिरहेको छ । शीतल बेलुकीको..

नेकपा स्थायी कमिटी बैठक सोमबार सम्मका लागि स्थगित

काठमाडौँ, २० असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक असार २२ गते सम्मका लागि..

शुक्रबार ६ उडानबाट ९ सय बढीलाई काठमाडौँ ल्याईयो, कुन एयरलाइन्सबाट कति ?

काठमाडौँ, १९ असार । शुक्रबार ६ वटा अन्तराष्ट्रिय उडानमार्फत विभिन्न देशबाट ९१७ जनालाई काठमाडौँ ल्याईएको छ ।..